२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ। एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा आज विहान निधन भएको हो।

पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि (मंगलबार) विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ।

माओवादी समूहभित्र चाचा उपनामले चिनिने पाण्डेले जनयुद्धकालमा आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगठ्ठा र अन्य युद्ध सामाग्री भित्र्याएका थिए। पाण्डे १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर  समेत हुन्।

८ कक्षा पढ्दा अनेरास्ववियूको गुल्मी–अर्घाखाँची जिल्ला कमिटी सदस्य बनेका पाण्डेले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिष्ट  राजनीति शुरु गरेका थिए। पुष्पलाल समूह, नेकपा माले हुँदै ४० सालमा मोहन विक्रम सिहंको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोडेका थिए।  नेकपा मसालले माओवादी जनयुद्धको चर्को विरोध गरेपछि दीनानाथ शर्माको नेतृत्वमा विद्रोह गरेर पार्टी गठन गरी तत्कालीन नेकपा माओवादीसँग एकता गरेका थिए। पाण्डे जनयुद्धको दौरानमा पार्टीभित्र चर्को अन्तरविरोध हुंदा पनि प्रचण्ड–बाबुराम दुवैले अत्यन्तै विश्वास गर्ने थोरै मध्येको एउटा पात्रको रुपमा चिनिन्छन्। पाण्डेको आत्मकथा प्रकासन्मुख छ।

प्रकाशित: २९ कार्तिक २०७३ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App