चूडामणि गौतम
‘नेपालको संविधान’ कस्तो आएछ त भन्ने खुल्दुली मेटाउन सर्वप्रथम पुस्तकको आवरण हेरेको मात्र के थिएँ, ममा अकस्मात् अभूतपूर्व हर्षातिरेकको वर्षा भयो । यस्तो अत्यधिक प्रफुल्लता किन आयो, म भन्न सक्तिनँ तर मलाई यस्तो सुखद् अनुभूति गुम्नै लागिसकेको अमूल्य रत्न अकस्मात् प्राप्त हुँदा भएको हुनुपर्छ— त्यस्तो रत्न हो परम्परागत रूपमा सबैले स्वीकारेको, हाम्रा स्वनामधन्य लेखक, साहित्यकारहरूले स्वीकारेको हिज्जे रहेको चिरपरिचित शब्द ‘कानून ।’
आवरण पृष्ठमै यस्तो सर्वस्वीकार्य हिज्जे भेटेपछि मलाई संविधानका सबै पृष्ठ हेर्ने कौतूहल जाग्यो किनभने प्रारम्भमै शुद्ध शब्दको रत्न प्राप्त भएपछि यसो हुनुमा नयाँ अनि वर्षैपिच्छे फेरिने गरेको हिज्जेले पीडित भएको मस्तिष्कमा नयाँ आशाको ज्योति सञ्चार भएको थियो ।
आफू शुद्ध र अशुद्ध भाषाको छ्यानब्यान गर्न नसक्ने, अशुद्ध र अस्वीकार्य हिज्जे जबर्जस्ती लाद्न खोज्ने अनि संविधानको शुद्ध र सर्वस्वीकार्य भाषालाई गलत देख्ने प्रज्ञा–प्रतिष्ठान र यस कृत्यमा निरन्तर उससँग काँधमा काँध मिलाउँदै आएको त्रिभुवन विश्वविद्यालयप्रति नेपाली भाषापे्रमीले हाँस्ने कि रुने ? यद्यपि, भाषिक विकृतिका विरुद्ध नेपाली–भाषा–प्रयोगकर्ताहरूको आक्रोश उर्लेपछि, हालै कतिपय वmुरामा त्रिविले सही बाटो पक्रन सुरसार गरेको देखिँदैछ ।
पाना पल्टाउँदै जाँदा आफूले चाहे जस्तै मोतीका दाना (साबिकदेखि सर्वस्वीकार्य तथा शुद्ध मानिएका शब्दहरू) भेट्दै गएँ । ती अनमोल दाना हुन्—
१. शुरू वा बीचमा दीर्घ ई वा ऊ हुने शब्दहरूमा— शहीद, बीच, नीलो, तरीका, खरीद, जीउ, सीप, जमीन, बीउ, पूँजी, गरीबी, तीस, महीना, तीन, पैंतीस, पच्चीस, नसीहत, बीस, छानबीन, वकील; छुवाछूत, कानूनी, पूरा, फूल, जासूसी, थारू, लागू, कसूर, कसूरदार, मजदूर, खेलकुद, चालू, महसूल, असूल, मौजूदा आदि।
(नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशमा माथिका शब्दहरूलाई यसरी विरूप बनाइएको छ— सहिद, बिच, निलो, तरिका, खरिद, जिउ, सिप, जमिन, बिउ, पुँजी, गरिबी, तिस, महिना, तिन, पैंतिस, पच्चिस, नसिहत, बिस, छानबिन, वकिल; छुवाछुत, कानुनी, पुरा, फुल, जासुसी, थारु, लागु, कसुर, कसुरदार, मजदुर, खेलकुद, चालु, महसुल, असुल, मौजुदा आदि ।)
२ तालव्य अर्थात् मोटो श हुने शब्दहरूमा— शहीद, निशान, एशियाली, पेशा, शर्त, मधेशी, सशर्त, दश, पेश्की, शुरू, पेश आदि ।
(यी शब्दहरूलाई यसरी विरूप बनाइएको छ— सहिद, निसान, एसियाली, पेसा, सर्त, मधेसी, ससर्त, दस, पेस्की, सुरु, पेस आदि ।)
३ संयुक्त अक्षर हुने शब्दहरूमा— समृद्धि, झण्डा, अंकित, विद्वेष, लिंग, उद्योग, मुद्दा, ठट्टा, विद्यालय, द्वन्द्व आदि ।
(उपर्युक्त संयुक्ताक्षर हुने शब्दहरूलाई यसरी विरूप बनाइएको छ— समृद्धि, झन्डा, अङ्कित, विद्वेष, लिङ्ग, उद्योग, मुद्दा, ठट्टा, विद्यालय, द्वन्द्व आदि ।)
४ व अक्षर हुने शब्द— विना।
(माथिको शब्दलाई यसरी विरूप बनाइएको छ— बिना ।)
५ नाम, सर्वनाम आदिको पछिल्तिर जोडिएर बहुवचन अर्थ बुझाउने प्रत्यय— हरू ।
(यस शब्दलाई यसरी विरूप बनाइएको छ— हरु ।)
यी यस्ता शब्द हुन् जुन शुद्ध छन् । नेपाली भाषा, साहित्य र समग्र वाङ्मयलाई आजको उँचाइमा पुर्याउने देवकोटा, सम, लेखनाथ, रिमाल, भूपि, कृष्णचन्द्र सिंह लगायतका मनीषीहरूले प्रयोग गरेका मानक शब्द हुन् यी । आजका प्रतिष्ठित साहित्यकार, लेखक, न्यायकर्मी, पत्रकार आदिले यिनै शब्दको प्रयोग गरिरहेका छन् । समग्र तराई क्षेत्रले यी शब्द यस्तै हिज्जेमा प्रयोग गरिरहेको छ । नेपालबाहिर विभिन्न देशमा छरिएर रहेका करोडौं नेपालीले पनि यी शब्द हिजोदेखि आजसम्म यस्तै रूपमा प्रयोग गरिरहेका छन् । तर प्रज्ञा प्रतिष्ठान र त्रिविवाला केही ‘विद्वान्’हरूले यी शब्दको हिज्जे बिगारेर अर्थात् दीर्घ ईकार–ऊकारलाई ह्रस्व इकार–उकार, ‘श’लाई ‘स’ अनि ‘व’ लाई ‘ब’ बनाएर, समग्रमा शब्दहरूलाई विरूप बनाएर लेख्ने गरेका छन् । विरूप बनाएर, बिगारेर लेख्न उर्दी जारी गरेका छन् । अनि केटाकेटीलाई पढाउने पाठ्यक्रममा समावेश गरिएका देवकोटालगायत प्रतिष्ठित साहित्यकारहरूका रचनालाई उनीहरूले प्रयोग गरेको हिज्जे बिगारेर, अशुद्ध बनाएर (उनीहरूको बौद्धिक अधिकारको हनन तथा अपमान गरेर) विकृत पारेर पढाउने गरेका छन् । यो अनधिकृत चेष्टा र अराजकताले नेपाली भाषा रोएको छ, नेपाली भाषाप्रेमी रोएका छन् । तर हाम्रो संविधानले शब्दको शुद्ध हिज्जे र शुद्ध रूपलाई स्वीकार गरेको छ । यस्तो देख्ता कुन नेपालीको छाती गर्वले चौडा नहोला र ?
हाम्रो संविधानले नेपालका सबै जाति, जनजाति र भाषाभाषीको अस्मिता तथा पहिचानको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र तदनुरूप संवैधानिक व्यवस्था पनि गरेको छ । यो समयको आवाज हो, समस्त नेपालीले स्वीकार गरेको वmुरा हो । अस्मिता तथा पहिचानको मूल आधार भाषा पनि हो । तर प्रज्ञा–प्रतिष्ठान र त्रिविवालाहरूले तराईलगायत नेपालका विविध क्षेत्रका विभिन्न भाषाभाषीले प्रयोग गर्दै आएका शुद्ध शब्दको शुद्ध हिज्जे जबर्जस्ती बिगारेर उनीहरूको हृदयमा चोट पु¥याएका छन्, अस्मिता र पहिचानमा धावा बोलेका छन् ।
तिनले विकृत पारेको हिज्जे हाम्रो संविधानले स्वीकारेको भए भाषागत रूपमा संविधानको मर्ममाथि ठूलो आघात पर्ने थियो । यही बुझेर हुनुपर्छ, संविधान सभाका सभासद र संविधान निर्माणमा सक्रिय समितिहरूले प्रज्ञा–प्रतिष्ठानले लादेको विकृत हिज्जेलाई संविधानमा स्थान दिएनछन् । नत्र, भाषागत रूपमा हाम्रो संविधान देशभर आक्रोश, विवाद र विरोधको विषय बन्ने थियो । प्रज्ञा–प्रतिष्ठान र त्यसले प्रकाशित गरेको ‘नेपाली बृहत् शब्दकोश’को वर्णविन्यास आज जसरी देशभर आक्रोशको विषय बनेको छ, अरू त अरू त्रिविकै नेपाली विभागले पनि जसरी खुलेर त्यसको सार्वजनिक आलोचना र विरोध गर्दै त्यसलाई अमान्य ठहर गरिरहेको छ, प्रज्ञा–प्रतिष्ठानको विकृतिपूर्ण वर्णविन्यास संविधानले स्वीकारेको भए यो पनि त्यसै गरी भाषागत आक्रोश, विरोध र अमान्यताको भुमरीमा परेर चरम विवादग्रस्त बन्ने थियो भन्ने स्पष्टै छ । प्रज्ञा–प्रतिष्ठानको विकृतिग्रस्त वर्णविन्यास स्वीकार नगरी शुद्ध र सर्वस्वीकार्य वर्णविन्यास प्रयोग गरेर हाम्रो संविधान त्यो विवाद र अस्वीकार्यताबाट जोगिएको मात्र छैन, नेपालभित्र र बाहिरका समेत नेपालीको मन जित्न सफल भएको छ । यसका लागि भाषाप्रेमी हामी सबैले संविधान सभा र त्यसमा रहेका सभासदहरूलाई जति धन्यवाद दिए पनि कम हुन्छ ।
यति मात्र होइन, बाल मैत्री, महिला मैत्री, वातावरण मैत्री, व्यक्ति मैत्री, पर्यावरण मैत्री जस्तो अशुद्ध भाषा यस संविधानमा छैन । ‘मैत्री’ शब्द संज्ञा वा नाम हो र यसको अर्थ ‘मित्रता’ हो । माथिका शब्द–समूहहरूमा भन्न खोजिएको चाहिं ‘मित्रतापूर्ण’ हो र यो शब्द ‘मित्रता’बाट बनेको विशेषण हो । भन्ने नै हो भने त यो शब्द अंग्रेजीमा ‘फ्रेन्ड्लि’ को अनुवाद हो । त्यसलाई ‘मित्रतापूर्ण’ त भन्न सकिएला तर ‘मित्रता’ भन्न पटक्कै मिल्दैन ।
तर, हाम्रा नेपालीका प्रा.डा.हरू ‘विद्यार्थीमैत्री, प्रविधिमैत्री’जस्ता अशुद्ध शब्द (नामलाई विशेषण जस्तो ठानेर) चलाइरहेका छन् । २०७३ असोज १५ को अन्नपूर्ण पोस्टमा प्रकाशित त्रिभुवन विश्वविद्यालयका नेपाली विभागको अध्यक्ष प्रा. डा. देवीप्रसाद गौतमकै लेखमा पनि यस्ता शब्दको प्रयोग भएको छ । उता, प्रज्ञा–प्रतिष्ठानका भाषाधिकारी प्राज्ञ प्रा.डा. हेमाङ्ग राज (वि.सं. २०६७ अघि चाहिं हेमाङ्गराज शुद्ध ?) अधिकारीका लेख पनि (“रचना” पूर्णाङ्क ११८; कान्तिपुर भदौ ८) यस्तै अशुद्ध शब्दबाट (सु?)शोभित हुँदै आएका छन् । (त्रिवि नेपाली विभागको त झन् के वmुरा गर्नु ? उक्त विभागको पूर्ण बैठकले यही २०७३ असोज १४ मा भाषाबारे गरेको निर्णय भनी हालै सार्वजनिक गरिएको अभिलेखमा ‘पुस्तकाकार रूपमा’ जस्तो हास्यास्पद शब्दावली निर्धक्क प्रयोग गरिएको छ । यस्ता ठाउँमा ‘आकार’ र ‘रूप’ दुवै शब्दको प्रयोग गर्नु पुनरुक्ति हो, कि ‘पुस्तकाकारमा’ अथवा ‘पुस्तकका रूपमा’ भने पुग्छ भन्ने सामान्य विद्यार्थीले समेत बुझ्न सक्ने वmुरा त्यत्रो नेपाली विभाग र त्यसको पूर्ण बैठकमा उपस्थित त्यत्रा प्रा.डा.हरूमध्ये कसैलाई पनि अत्तोपत्तो नहुनु कति लज्जाजनक विषय हो ! यसमा सहानुभूति बाहेक के नै व्यक्त गर्न सकिन्छ र !)
खुशीको कुरा चाहिं के हो भने संविधानले यस्ता भाषिक गल्ती पनि बोकेको छैन । ‘वातावरण मैत्री’ को सट्टा ‘वातावरण अनुकुल’ लेखिएको छ जुन शुद्ध छ । अरू शब्द पनि यसै गरी शुद्ध लेखिएका छन् । प्रज्ञा प्रतिष्ठान र त्रिविवालाहरूले सिके हुन्छ ।
‘संविधानकै भाषा गलत’ उपशीर्षकमा प्रज्ञा प्रतिष्ठानको भनाइ (नागरिक/२०७३ असोज १४) रहेको छ । उसले नयाँ संविधानमा परम्परागत रूपमा आम नेपाली–प्रयोगकर्ताहरू तथा स्वनामधन्य लेखक–साहित्यकारहरूले शुद्ध मानेर चलाइरहेका शब्दको वर्णविन्यासलाई चाहिं बिग्रेको देख्नुमा अर्को आश्चर्य भएको छ । हुन त ‘प्राज्ञ = प्र + अज्ञ” हुन्छ; तर यसमा रहेका अक्षर–अक्षर केलाएर गूढ अर्थ बुझ्ने सामर्थ्य ममा छैन भनिदिएपछि टन्टै सिद्धियो ।
धन्न जन प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानलाई संविधानको भाषा हेर्ने जिम्मा दिएनछन् । उसका वmुरा पत्याएनछन्, स्वीकार गरेनछन् र पो संविधान विरूप हुनबाट जोगिएछ । संयुक्त अक्षरका खुट्टा काट्ने विरूपीकरणबाट जोगिएछ । भाषिक रूपमा विवादग्रस्त र नेपाली जनताबाट अस्वीकार्य हुनबाट जोगिएछ । नत्र यस्तो हुन्थ्यो होला संविधानको प्रस्तावना—
“हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि ......।” कति हास्यास्पद हुन्थ्यो होला यो !
नेप्रप्र तथा त्रिविले वर्णविन्यासमाथि भाँडभैलो मच्चाइरहेका बेला पनि ‘रचना’ र ‘अभिव्यक्ति’जस्ता स्तरीय साहित्यिक पत्रिका; ‘शिक्षक’ तथा ‘हिमाल’जस्ता लोकप्रिय र गम्भीर पत्रिका; मदन पुरस्कार गुठीबाट प्रकाशित हुने ‘नेपाली’ र भारतको बनारसबाट प्रकाशित हुने ‘उदय’जस्ता ऐतिहासिक साहित्यिक पत्रिका आदिले वर्णविन्यास बिगार्न उक्साउने उनीहरू जस्ताका कामवmुरामा टेरपुच्छर नै लगाएनन् । यसै गरी सर्वोच्च अदालतको ‘नेपाल कानून पत्रिका (मासिक)’, कानून व्यवसायी क्लबको ‘कानून (द्वैमासिक)’ तथा कानून किताब व्यवस्था समिति (सरकारी प्रकाशन) बाट प्रकाशित हुने ‘ऐन तथा नियम’ आदिले पूर्ववत् शालीन तथा शिष्ट परम्परागत प्रचलित शुद्ध वर्णविन्यास नै प्रयोग गर्दै आएका छन् । वास्तविक ‘प्राज्ञ’ र ‘विज्ञ’ क्षेत्रले अशुद्धिलाई किन स्वीकाथ्र्यो र !
आफू शुद्ध र अशुद्ध भाषाको छ्यानब्यान गर्न नसक्ने, अशुद्ध र अस्वीकार्य हिज्जे जबर्जस्ती लाद्न खोज्ने अनि संविधानको शुद्ध र सर्वस्वीकार्य भाषालाई गलत देख्ने प्रज्ञा–प्रतिष्ठान र यस कृत्यमा निरन्तर उससँग काँधमा काँध मिलाउँदै आएको त्रिभुवन विश्वविद्यालयप्रति नेपाली भाषापे्रमीले हाँस्ने कि रुने ? (यद्यपि, भाषिक विकृतिका विरुद्ध नेपाली–भाषा–प्रयोगकर्ताहरूको आक्रोश उर्लेपछि, हालै कतिपय वmुरामा (मात्र) त्रिविले सही बाटो पक्रन सुरसार गरेको देखिंदै छ, जसलाई उसको आत्मालोचना सम्झेर स्वागत गर्नुपर्छ ।)
यसो गमिहेर्नोस् त, नेपाली वाङ्मयका दिवंगत विभूतिहरू ‘प्रज्ञा’ र ‘त्रिवि’ ले मच्चाएको भाषिक भाँडभैलोबाट त्यस लोकमा पनि कति आहत भएका होलान् । शायद, महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो अमर कृति ‘मुनामदन’को ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’लाई अनन्तलोकबाट मत्र्यलोकको पटाङ्गिनी अर्थात् प्रज्ञा प्रतिष्ठानतर्पm नजर लगाउँदै तलको हरफ थपेर गुनगुनाउँदा होलान्— ‘मानिस ठूलो प्रज्ञाले हुन्छ प्राज्ञले हुँदैन ।’
अन्तमा यसो भनौं- ‘धन्न जोगिएछ संविधान ! संविधान, सबै जातिको सम्मान !’
प्रकाशित: १३ कार्तिक २०७३ ०४:३१ शनिबार