के लेख्ने ? किन लेख्ने ? कस्तो लेख्ने ? कसलाई लेख्ने ? यस्ता प्रश्नैप्रश्नहरूले घेरिएको हुन्छ साहित्य । विभिन्न विद्वान्ले विभिन्न मतद्वारा यसलाई परिभाषित गरिरहे पनि यी प्रश्नहरूले उत्तर माग्न भने कहिल्यै छाड्दैनन्– छाड्ने छैनन् । एउटै प्रश्नका अनेकौँ समकालीन उत्तरका कारण सबैले सबै कालमा आआफ्नो विचार स्थापित गर्ने मौका पाइरहेका हुन्छन् ।
लेखनका अनेकौँ प्रवृत्ति र शैली निरन्तर विकसित हुँदै आइरहने र पुराना छोडिँदै गइरहने हुँदा समकालीन पाठक समकालीन पठनमै सन्तुष्ट भइरहेको हुन्छ । ऐतिहासिक सन्दर्भलाई टेकेर लेख्नेले पनि वर्तमानलाई नै सम्बोधन गरिरहेको हुन्छ भने पाठक त त्यहाँ झन् आफ्नै जीवन खोजिरहेको हुन्छ । प्रत्येक शब्द, वाक्य र अनेकौँ बिम्बमा जीवन सजिएको हुन्छ अनुभूतिभरि । त्यसलाई शब्द र वाक्यमा सीमाभित्र बाँधेर देखाउन खोज्नु लेखनको बाध्यता हो । असीमितलाई सीमामा ल्याउने प्रयत्नको निरन्तरता नै लेखनको यात्राक्रम हो । जति लेखे पनि नसकिने र जसले लेखे पनि लेखिइरहने यो अथाह विषय आखिरीमा उत्थान हुने त जीवनबाटै हो ।
लेख्नलाई त अनन्त विषय छन्, तर हामी लेख्नचाहिँ किन जीवनकै वरिपरि अलमलिन्छौँ ? विज्ञान साहित्य लेखे पनि, तिलस्मी र युद्ध साहित्य लेखे पनि, त्यहाँ उपस्थित सन्दर्भ त जीवनमुखी नै हुन्छ । त्यो जीवनबोधको बिम्ब हुन्छ । बाँच्नु, फैलनु र अघि बढ्नु जीवनको सबैभन्दा महŒवपूर्ण प्राकृतिक बाध्यता हो । जन्मेपछि सबैभन्दा ठूलो युद्धको प्रारम्भ हुन्छ– शरीरको सुरक्षा । हुर्केपछिको प्राकृतिक जिम्मेवारी हुन्छ– आफ्ना माध्यमबाट धरतीमा जीवन फैलाउनु र सन्तान जन्माउनु अनि ती जन्मिएकालाई फेरि संरक्षण दिँदै तिनको सुविधाका निम्ति नयाँनयाँ सरल प्रविधिको खोज गर्दै अघि जानु । यसै खेलभित्र जीवनको रंगीन यात्रा अघि बढिरहेको हुन्छ । हुन त हामी लेखनमा अनेकौँ शैली, सिद्धान्त, उद्देश्य र मूल्यका कुरा गरिरहेका हुन्छौँ, तर यथार्थमा हामीबाट भइरहेका प्रत्येक काम क्लासिक मूल्यको महŒवाकांक्षाभित्र लट्पटिँदै वर्तमान सन्दर्भको सामान्य बिम्बखेल मात्र खेलिरहन्छौँ ।
जीवनलाई रंग दिन सकिएन भने बाँच्नुको अर्थ नै समाप्त हुन्छ । बचाइको रुढताले हामीलाई शताब्दीसम्म बाँच्ने आकांक्षा नै दिन सक्दैन, बरु नकारात्मकता र हीन ग्रन्थीहरू हामीभित्र सल्बलाउन थाल्छन् । त्यसैले जानेर वा नजानेर हामी कोही पनि कला र रूपको विरुद्धमा जान सक्दैनौँ ।
सैद्धान्तिकताभित्र उभिएर रूपवादको आलोचना गर्नेहरू पनि सारमा रूपवादी नै देखिन्छन् । रूपकै खेलभित्र सारको अभिनय गरिरहेका हुन्छन् । जीवन त रूपकै कारणले त छ नि ! देखिने कुरा पनि रूप नै हो । सारवाद भनेको त भक्तिवादी आध्यात्मिकताको आधुनिक प्रयोगमात्र हो । आध्यात्मिक भक्तिवादले भन्छ– जीवन केही होइन । यो संसार पनि केही होइन । यो सबै भ्रम हो, आँखाको रंगमात्र हो । यो नश्वर छ, क्षणिक छ । तर, यथार्थ र सत्य भनेको आत्मा हो, जो अजर छ, अमर छ । आत्मबोध गर, आत्मालाई चिन । सांसारिकता रूपमय छ । रूपको पछि होइन– आत्माको अमरताको पछि लाग । जन्म र मृत्युभन्दा पर आत्माको अनुभूति गर ।
भक्तिवादी साहित्यले रूपको खण्डन गर्दै सारको पक्षमा जुन आत्मवादी धारको व्याख्या गर्छ, त्यस्तै आधुनिक, सारवादीहरू पनि आत्मवादीकै रूपान्तरित चेतनाका संवाहक हुन् । रूपलाई अस्वीकार गरिनु काल्पनिक बिम्बलाई जीवनको सर्वाेत्तम बिम्ब ठान्नु आफैमा अनौठो कुरा हो । रूपबेगरको वस्तु नै के हुन्छ प्रकृतिमा ? प्रकृति आफै रूपमय छ । उसका अनेकौँ रूपले नै सृष्टिको अस्तित्व पनि छ । रूपको अन्त्य भनेको शून्यवाद हो । रूप नरहेको क्षण सारको बिम्ब पनि समाप्त हुन्छ ।
नेपाली साहित्यमा बेलाबेला सुनिने सारवादी चेतना सुन्दै काल्पनिक र यथार्थको विपर्यासमा उभिएको देखिन्छ, तर सारवादी ठूलो स्वरले गरेको गैरजैवनिक चिन्तनबारे कतै कुरा उठिरहेको म सुन्दिनँ । इन्द्रीयले थाहा पाउने सम्पूर्ण कुरा भने रूपमय हुन्छन् । सारो, गिलो, अमिलो, पिरो, रातो, सेतो, चिसो, तातो, अग्लो, होचो, मोटो, पातलो, लामो, छोटो, उकालो, ओरालो, टाढा, नजिक ...यी सबै कुरा के रूप होइनन् ? देखिने, छोइने, चाखिने सबै रूप होइन ? हामीले लगाउने लुगा, खाने भात, श्रीमतीको अनुहार, छोराको पाखुरा रूप होइन ? रत्नपार्कको भीड वा टुँडिखेलको भाषण रूप होइन ? सारवाद भनेको अदृश्य, अपरिभाष्य, निरपेक्ष र भ्रममय छ । जसले जतापट्टिबाट व्याख्या गरे पनि हुने अर्थ निरपेक्षताको ध्वनि बन्दछ ।
के हो सार ?
सारको अर्थ संश्लेषण पनि हुन्छ । अत्यन्त छोटोमा थोरैमा धैरै बुझ्नु पनि हुन्छ । रुढ सत्यको अंश पनि मानिन्छ । सारवादले जीवन चिनाउन सक्ने भए द्वन्द्व, युद्ध र संघर्षको के आवश्यकता हुँदो हो ? युद्ध पनि त रूपकै खेल त हो । एउटा रूपका विरुद्ध अर्काे रूपको उपस्थिति निरन्तर भइरहन्छ । रूपको अस्वीकार गरेर सारमा मात्र जानेहरू जीवनलाई कसरी बुझ्दा हुन् म भन्न सक्दिनँ ।
आजको युवा पुस्ताले बुझ्नुपर्ने यो नयाँ झमेला बेकारको भ्रममय जालो मात्र हो । हामी जीवनको पक्षमा छौँ भने यही संसार, यही युग, यही जीवनको सम्पूर्णलाई चिन्न सक्नुपर्छ । यो जीवन त्यागेर वा बर्बाद गरेर अर्काे जीवनको कल्पना फेरि पनि आत्मवादी चिन्तनको पथगामी बन्छ । हाम्रो देशमा अहिले सबैभन्दा लोकप्रिय भएको ‘सहिदविचार’ आत्मवादीहरूको पलायनगीत हो । बाँच्नुको विरुद्ध मर्न प्रेरित गर्ने र मरेर अमर बन्छ भन्ने चेतना अध्यात्मिक हो । मरेपछि पनि कोही अमर हुन्छ ? मरेपछि त मरिहाल्यो नि ! ऊ जो म¥यो, ऊ त म¥यो–म¥यो । बाँच्नेले उसको जति गीत गाए पनि के त्यो गीत उसले सुन्छ ? के उसको सम्झनामा टाँगिएका तुलहरू उसले देख्छ ? के उसको नाममा रोपिएका वृक्षहरू उसले देख्छ ?
बाँच्नेहरूले आफ्नै मनोरञ्जनका लागि मर्नेको चर्चा गर्छन्– गर्दै आएका छन् । उसलाई मराएर आफू सुखको सिरक ओढ्छन् । अमरता भन्नु एउटा कायर कल्पना हो । मृत्युचेत र मृत्युचिन्तन कुनै पनि जीवनवादी दृष्टिकोणको सिद्धान्त बन्न सक्दैन तर हाम्रो गीत, साहित्य, कविता, काव्य र भौतिकवादी राजनीतिक दर्शनसमेत मृत्युचिन्तनले दीक्षित छन् । मर्न प्रेरित गर्न रमाउँछन् । के आजको युवा पुस्ता तिनै पुराना थोत्रा दर्शनहरूकै ढ्वाङ बनेर बजिरहने ? के अबको लेखनमा पनि तिनै आत्मवादी र सारवादी उपदेशहरू दोहो¥याइरहने ? जीवनको यथार्थ मूल्यलाई बिर्सेर अदृश्य पराकाल्पनिकतालाई बाँच्ने आधार मान्ने ? अबका पुस्ता तथा युवा लेखकलाई यो ठूलो चुनौती छ । तिनले अब यो सोच्नु जरुरी छ ।
प्रकाशित: २२ आश्विन २०७३ ०८:३४ शनिबार