६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्य

धर्म प्रचारक दुई समूहको बिगबिगी- ‘पैसा र प्रलोभनमा धर्म परिवर्तन’

दाङ-सौडियार कर्जाहीका मनिराम चौधरी केही समयअघि हिन्दु धर्म त्यागेर इसाई धर्ममा लागे । तीन महिनासम्म घोराहीस्थित प्रतापी चर्चमा ‘संगति’ का लागि नियमित भएका उनी तीन महिनापछि भने त्यहाँ जान छाडे । झन्डै अढाई महिना मनिराम नआएपछि  चर्चमा सोधीखोजी हुन थाल्यो । उनको अवस्था बुझ्न चर्चका पास्टर नरबहादुर शाहले दुई धर्मगुरुलाई घरमा पठाए । मनिरामले भने ‘लाइन’ बदलिसकेका रहेछन् ।

‘आफूहरूलाई प्रभुको सच्चा अनुयायी दाबी गर्ने अर्को समूहले उहाँ (मनिराम) लाई समातिसकेको रहेछ,’ पास्टर शाहले सुनाए, ‘भोजभतेर खुवाएर ललाइफकाइमा पारेछन् ।’ लामो परामर्शपछि मनिरामलाई धर्मगुरुले ‘प्रभु’ को पुरानै घरमा फर्काए । ‘भोजभतेर खुवाए, अनि उनीहरू (नरबहादुरको समूह) गलत हो, हामी सही हौं भन्दै मलाई फकाएर आफ्नो समूहमा हाले,’ मनिरामलाई उद्धृत गर्दै शाह भन्छन्, ‘म त सुरुमा को सही, को गलत भनेर अक्क न बक्क भएँ ।’ अहिले मनिराम पुरानो प्रभुको घर प्रतापी चर्चमा नियमित संगतिका लागि आइरहेका छन् ।

धर्म एउटै– इसाई । बाइबल पनि एउटै । ‘प्रभु’ भने दुईथरी– पिता भक्त र माता भक्त । एकअर्काका घोर विरोधी । उनीहरू एकले अर्कालाई सिध्याएरै ‘लीला’ देखाउने होडबाजीमा छन् । एउटा समूह भन्छ– पिता प्रभु हुन् । अर्को समूहको त्यसमा विमति छ– माता प्रभु हुन् । यी दुई प्रभुका गुटबीच अहिले अनुयायी तानातान छ । आफूहरूलाई प्रभुका सच्चा अनुयायी दाबी गर्ने उनीहरू एकले अर्कोलाई स्वीकार गर्न मान्दैनन् । एकले अर्को समूहका अनुयायीलाई ललाइफकाइ गरेर आफ्नो समूहमा प्रवेश गराउने योजना दुबैले बुनिरहेका हुन्छन् । यी दुवै समूह एकअर्काका लागि जगजगी बनेका छन् ।

‘हामीहरूका लागि प्रभुको अर्को नयाँ समूह जगजगी बनिरहेको छ,’ पिता समूहका धर्मगुरु पास्टर शाह भन्छन्, ‘मान्छेलाई ललाइफकाइ गर्न पैसाको लोभ देखाएर आफूतिर तान्ने गलत काम भइरहेको छ ।’ तानातानकै कारण दुई समूहका थुप्रै अनुयायी ‘यताउता’ भइसकेका छन् । ‘हाम्रा धेरै भक्तलाई पैसाको लोभ देखाएर अर्को समूहले आफ्नो पक्षमा पार्न खोजिरहेका छन्,’ शाह भन्छन्, ‘इसाई धर्मका नाममा पैसाको खेती भइरहेको छ ।’ उनले आफूलाई पनि माता प्रभु समूहले ललाइफकाइ गरेर तान्न खोजेको उनले बताए । ‘म बाटोमा हिँडिरहेको बेला दुईचार जना आएर प्रलोभन देखाउँदै घेरे, अनि माताको बारेमा सुन्नुस् भनेर फलाक्न थाले,’ उनले केही समयअघिको घटना सुनाए, ‘पछि मैले हकारेपछि उनीहरु पाखा लागे ।’

रुकुम, तकसेरादेखि राप्ती अञ्चलमा रोपिएको इसाई धर्मको बीउ २०३९ सालदेखि दाङमा रोप्न थालिएको हो । डेबिड नाम गरेका अमेरिकीले २०२३÷०२४ सालतिर रुकुमको तकसेरामा इसाई धर्म प्रवेश गराएका थिए । इसाई धर्म विस्तारका लागि उनी त्यहाँ नौ वर्षसम्म बसेका थिए ।  

दाङमा पिता भक्त प्रभुको बीउ रोप्ने शाह पहिलो व्यक्ति हुन् । भूमिगत शैलीमा प्रभुको प्रचार गरेका शाह यसैकारण जेलसमेत बस्नुपरेको सुनाउँछन् । ६ वर्ष अघिसम्म दाङमा पिता प्रभुको एक्लो झुन्ड थियो । हजारौं दंगाली यही पिता भक्त प्रभुका अनुयायी बनेका थिए । प्रभुको यो समूहको एक्लो ‘राज’ ६ वर्ष अघिदेखि तोडिन थालेको हो । ‘कोरियाली’ इसाई दाङमै प्रवेश गरेर पिता भक्त समूहलाई गलत भन्दै प्रचार गर्न थाले । एक कोरियाली जीवित महिलालाई यो समूहले प्रभुको ‘अर्को रुप’ भन्दै उभ्याएको छ । उनीहरूको तर्क छ, ‘प्रभु माताका रुपमा कोरियामा आइसक्नु भएको छ, यसर्थ मातालाई मान्नुपर्छ ।’ यसै भनेर उनीहरूले माता प्रभुका अनुयायी बढाउन प्रचार अभियान तीव्र पार्न थाले । ‘प्रभुका सच्चा भक्त हामी हौं, हामीबाहेक अरु गलत हुन्,’ माता समूहको विश्व सुसमाचार प्रचार समाज परमेश्वरी मण्डलीका संयोजक प्रेमबहादुर रोकाक्षत्रीले भने, ‘हामी छुट्टैै समूह हौं, जिल्लाका अरु चर्चसँग हाम्रो कुनै सम्बन्ध छैन ।’

घोराहीमा रहेको अग्लो सेतो घर । यो घरको बाहिर अरु चर्चमा जस्तो बोर्ड टाँगिएको छैन । दोस्रो तलामा टाइसुटमा ठाँटिएका केही युवाले यो संवाददाता भ¥याङ उक्लँदै गर्दा रोके । ‘तल बस्नू’ भनेको केही बेरपछि चार पाँचजना टाइसुटमा ठाँटिएका व्यक्ति तल झरे । उनीहरू कुनै संस्थाका खाइलाग्दा कर्मचारी जस्तै देखिन्थे । तर परिचय दिँदैथे, ‘हामी अटो रिक्सा चलाएर बाँचेका छौं, यो हाम्रो धार्मिक आस्था मात्रै हो ।’ माता प्रभु भक्त यो समूह दाङमा पिता प्रभु भक्त समूहभन्दा सानो छ । यो समूह विस्तार क्रममा छ । यो समूहका अनुयायी अहिलेसम्म दाङमा चार सयको हाराहारीमा रहेको बताइन्छ ।

घोराहीमा एउटामात्र चर्च छ उनीहरूको । ‘हामी अहिले चार सयको हाराहारीमा छौं,’ माता प्रभु समूह संयोजक रोकाक्षत्री भन्छन्, ‘तर प्रचार अभियान तीव्र्र पारेका छौं ।’ प्रभुका अनुयायी बाइबल अनुसार चल्नुपर्ने भन्दै माता समूहले पिता समूहलाई बाइबलको उल्लंघन गरिरहेको आरोप लगाउँछ । ‘बाइबलमा पितालाई मात्रै हैन, मातालाई पनि मान्नुपर्छ भनिएको छ, क्रिसमस डे मनाउन बाइबलमा कतै भनिएको छैन,’ रोकाक्षत्री भन्छन्, ‘हामी बाइबलअनुसार चलेका छौं, अर्को समूहले बाइबलको सीमा नाघेको छ ।’ यस्तै ‘चर्चमा प्रभुको पुकार गरेर बिरामी निको पार्छौं’ भन्ने पिता समूहको दाबीलाई रोकाक्षत्री गलत बताउँछन् । ‘प्रभुको नाम जपेर बिरामी निको हुन्छन् भन्नु सरासर गलत हो,’ उनले भने, ‘प्रभुले मेरो प्रार्थना गरेपछि बिरामी निको हुन्छन् भनेर कतै भन्नुभएको छैन ।’

रोकाक्षत्री पनि आफ्नो समूहका अनुयायीलाई अर्को समूहले तानेको बताउँछन् । यी दुबैले एक अर्को समूहलाई विपन्नलाई आर्थिक प्रलोभनमा पारेर अनुयायी बढाइरहेको आरोप लगाउँछन् । ‘उहाँ (पिता समूह) लाई बाहिरबाट डोनेसन आउँछ, र अनुयायीलाई पैसाकै लोभ देखाएर तान्नुहुन्छ,’ रोकाक्षत्री भन्छन्, ‘हाम्रा धेरै साथीलाई उहाँहरू (पिता समूह) ले पैसाकै लोभ देखाएर आफूतिर तानिसक्नु भएको छ ।’ नौ वर्षसम्म पिता समूहमै रहेर प्रभुको संगति गरेका रोकाक्षत्रीले पिता समूहलाई ब्यापक बाह्य आर्थिक सहयोग आउने गरेको अनुभव सुनाए ।

आफ्नो समूहलाई बाह्य सहयोग नरहेको दाबी गर्ने उनले कोरियालीको सहयोग भने रहेको स्वीकारे । उनका अनुसार यो समूहका कोरियाली प्रत्येक महिनाको एक पटक जिल्ला फिरेर धर्मको प्रचार गरेकै हुन्छन् । ‘कोरियाली आउनु हुन्छ, उहाँहरूले हामीलाई प्रचारमा सघाउनु हुन्छ,’ रोकाक्षत्री भन्छन्, ‘तर आर्थिक सहयोग भने हुन्न ।’

२०३९ सालदेखि दाङमा जरा गाडेको पिता भक्त इसाई समूहले आफ्नो प्रचारलाई सामाजिक कार्य र उपचारसँग जोड्ने गरेको छ । सामाजिक कार्य गर्ने र त्यसको जस धर्ममा प्रवेश गराएर लिने पिता समूहको योजना हुन्छ । तर माता समूह भने खुलेआम बाइबल प्रचारको अभियानमा छ । प्रत्येक दिन बिहान दुई घन्टा यो समूहका अनुयायी बाइबल बोकेर प्रचारमा निस्कने गरेको रोका बताउँछन् । उनका अनुसार सार्वजनिक सवारी साधन, विद्यालय, पैदल यात्रु, सर्वसाधारणको जमघट स्थलमा पुगेर उनीहरूले प्रभुको प्रचार गर्छन् । ‘बस यात्रु, स्कुललगायत जहाँ मान्छेको मास हुन्छ, त्यहाँ पुगेर हामीले प्रचार गर्छौंं,’ रोका भन्छन्, ‘इच्छा भएका आउनु हुन्छ, नभएका आउनु हुन्न ।’ पिता भक्त समूहले भने माता भक्तले चोकचौतारोमै बाइबल प्रचार गरेर प्रभुको बदनाम गरिरहेको आरोप लगाउँछ । शाह भन्छन्, ‘गलत झुण्डको यस्तो कामले धर्मको बदनाम गर्ने काम भइरहेको छ ।’ उनले कोरियाली लगानीमा रमाउने नियतले एक समूहले प्रभुको गलत व्याख्या गर्ने काम भइरहेको आरोप लगाए । उनले प्रभुले माता नभई पितालाई मात्र मान्ने भनेकाले माताको प्रचार गलत रहेको दाबी गरे ।

प्रकाशित: २४ भाद्र २०७३ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App