२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

संविधान संशाेधनबाट एमाले भाग्न मिल्दैन : खनाल

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले पाँच दिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउने दाबी गरेक छन्। आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले अबको पाँच दिनभित्रमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका हुन्। ‘हाम्रो योजना सकेसम्म चाँडै मन्त्रिमण्डल विस्तार गर्ने भन्ने थियो, तर केही ढिला भयो,’ उनले भने, ‘अब काँग्रेसले पनि चार पाँच दिनभित्रै आफ्नो तर्फबाट मन्त्रिको नाम टुँगो लगाउने कुरा गरेको छ, चाँडै हुन्छ।’

साक्षात्कारमा बोल्दै खनालले मधेसी मोर्चाले अघि सारेका माग राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै भने, ‘मोर्चाले अघि सारेका माग सम्बोधन गर्ने जिम्मेवारी एमालेको पनि हो, यो जिम्मेवारीबाट एमाले पन्छिन मिल्दैन।’  संविधान कार्यान्वयनकालागि दलहरुबीच सहमति, सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ थियो।

उनले मन्त्रिपरिषदको पहिलो बैठकदेखि नै सरकारले महत्वपूर्ण निर्णयहरु गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनकालागि प्रधानमन्त्री दाहालले निर्देशन दिइसकेको बताए। खनालले सरकारले तात्कालीन, अल्पकालीन र दीर्घकालीन गरी तीन तहमा आफ्ना कामहरु गर्ने कार्यातालिका बनाएको र सोही अनुसार अघि बढ्ने बताए। सरकारको प्राथमिकतामा द्वन्द्वकालीन मुद्दालाई टुँगो लगाउने र भूकम्पपछिको मुलुकको पुननिर्माण सम्पन्न गर्ने रहेको बताए। उनले अघिल्लो सरकारले चीन, भारत लगायत अन्य राष्ट्रहरुसँग गरेका सम्झौताहरुलाई निरन्तरता दिने पनि जनाए।

जनताले प्रत्यक्ष राहत महशुस गर्नेगरी अहिले सरकारले महँगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न काम थालिसकेको उनको दाबी थियो। दलीय सहमति अनुसार नै स्थानीय निकायलगायत अन्य चुनावहरु हुने उनको विश्वास थियो। निर्वाचन कार्यातालिका अनुसार आगामी चैत्रसम्म चुनाव सम्पन्न गर्नुपर्ने भएकाले सरकारले सोही बमोजिम तयारी थालेको समेत उनले जानकारी दिए। खनालले भने, ‘मधेशी मोर्चापनि चुनावमा आउनुपर्छ, मोर्चाविनाको चुनावको कुनै अर्थ हुँदैन्।’ राज्यपुर्नसंरचनासम्बन्धी विवाद उठेपनि त्यसलाई दलीय सहमति अनुसार नै टुँगोमा पुर्याउने खनालले जनाए।

 

प्रकाशित: ३० श्रावण २०७३ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App