काठमाडौं-सयौं थुंगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका मेचीमहाकाली
प्रकृतीका कोटी कोटी सम्पदाको आँचल
विरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभुमी, शान्तिभुमी तराई,पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभुमी नेपाल
बहुलजाती भाषाधर्म संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल
नेपाल देशको राष्ट्रगान नेपालीभुमीमा मात्र हैन विश्वका सुन्न लायक राष्ट्रगानहरुमध्येको एक मानिएको छ । नेपाली राष्ट्रगानको संगित र गीतमा उल्लेखित उत्कृष्ट भावहरुका कारण यो विश्वकै सुन्न लायक राष्ट्रगान बन्न सफल भएको हो ।
ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक सहभागी देशहरुको राष्ट्रिय गानमाथी भएको अध्ययनलाई आधार बनाएर उत्कृष्ट १० राष्ट्रियगानमा नेपाल सुन्न लायक तेस्रोमा राखिएकोे छ । ‘रिपब्लिक अर डेथ, ट्राभल्स इन सर्च अफ नेशनल एन्थेम’ पुस्तकका लेखक तथा अध्यनकर्ता एलेक्स मार्सलले गरेको अध्ययनलाई आधार दिदै बिबिसीले उत्कृष्ट राष्ट्रिय गानको सूची सहितको लेख प्रकाशित गरेको छ । मार्सलले द रियो २०१६ः‘मस्ट एमाजिन नेशनल एन्थेम्स’ शिर्षकमा उत्कृष्ट राष्ट्रिय गानको वर्णन गरेका छन् । उनले रियो खेलाडीहरुका लागि जति महत्वपूर्ण छ त्यति नै यहाँ बजेका राष्ट्रिय गानका संगितहरुले महत्वपूर्ण छ भनेका छन् । ‘संगितका फ्यानहरुका लागि यो संगितको स्वर्ग नै हो ,’उनले भनेका छन्,‘मात्र खेलका लागि मात्र हैन् साँच्चैको उत्कृष्ट संगितको घर समेत बनेको छ । यहाँ महत्वपूर्ण गीत र यसका शब्दहरु सुन्ने अवसर मिल्नेछ । ’
उनी आफ्नो अध्ययनका क्रममा अगाडी लेख्छन् ‘,राष्ट्रिय गान जसमा करिब एकमिनेटमा अरु संगितमा भन्दा धेरै भावहरु समावेश हुन्छन् । मान्छेहरुले यसलाई गाउँदै कतिपय युद्ध लड्छन् भने कतिपय आन्दोलनमा होमिन्छन् ।’ उनले रियोमा सहभागी केही देशहरुको राष्ट्रिय गान निकै दिक्क लाग्दो भएको समेत उल्लेख गरेका छन् । तर केही यस्ता गीतहरु छन् जुन स्थानिय लोक तथा पप गीतहरु जस्तो सुनिन्छन् ।
नेपालको राष्ट्रियगान उनको अध्ययनमा तेस्रो स्थानमा छ । राष्ट्रियगानहरुको शब्द,भाव र संगीतको आधारमा यो सूची तयार पारिएको उल्लेख गरिएको छ ।
नेपालको राष्ट्रगानको व्यख्यालाई ‘नेपाल,वि आर हन्ड्रेड्स अफ फ्लावर्स’ शिर्षमा यसरी व्याख्या गरिएकोे छ ,‘नेपालको राष्ट्रियगान प्रभावपूर्ण छ । सामान्य राष्ट्रियगानभन्दा फरक छ । यो कुनै सेनाको मार्चधुन वा चर्चहरुमा सुनिने क्वायरभन्दा फरक छ । यो रमाईलो स्थानिय लोक गीत जस्तो छ । जस्तो काठमाडौंका ट्याक्सीहरुमा बज्ने कुनै लोकप्रिय नेपाली गीतको टुक्रा जस्तै सुनिन्छ । यो एउटा त्यस्तो राष्ट्रिय गान हो जो क्यासियो किबोर्डमा मात्र बजाउन सकिन्छ । र यो धेरै खुशीपूर्ण छ । यो राष्ट्रियगानबाट धेरै कुरा सिक्न सकिन्छ । यो माओवादी क्रान्त्रिले ल्याएको परिवर्तनको उपज हो । ’
विविसीको सूचीमा नेपाल भन्दा अघि रुस र म्यानमारको राष्ट्रिय गान छन् । रुसका खेलाडी डोपिङ प्रकरणमा विवादित भएपनि उसको राष्ट्रिय गान भने सुन्न लायकको रहेको टिप्पणी लेखकले गरेका छन् । रियो ओलम्पिकमा डोपिङ अपराधका कारण सयभन्दा बढी रुसी खेलाडी प्रतिबन्धित भएका थिए ।
म्यानमारको राष्ट्रिगान भने परम्परागत धुनबाट शुरु भएर मिलिट्री मार्चपासको धुनसँग मिसिन्छ । लाग्छ डिजे बोर भएर तत्काल अर्को धुन बजाउँछन् ,उनको अर्को टिप्पणी छ ।
चौथोमा इजरायल ,पाँचौमा काजकिस्तान, छैटौंमा ब्राजिल, सातौमा चीन, आठौंमा मौरितानिया,नवौंमा कङ्गो र दशौं स्थानमा पराग्वेका राष्ट्रिय गान समामेश गरि बिबिसीले प्रकाशित गरेको उत्कृष्ट १० को सूचीमा राखेको हो ।
नेपालको राष्ट्रिय गानमा रचयिता साहित्यकार व्याकुल माइला हुन् । जब नेपाल राजतन्त्रबाट गणतान्त्रिक नेपाल भयो । तब राष्ट्रिय गानका लागि आव्हान गर्दा उनको शब्दहरु छनौटमा पर्यो । तर त्यो शब्दको भाव मिल्नेगरि संगित निर्माण गर्न कम सकस परेन् । गीत छनौट समितीमै रहेका बरिष्ट संगितकार अम्बर गुरुङलाई नै संगित निर्माण गर्ने जिम्मा दिईएको थियो । ‘कसैको सिफारिसले तिम्रो गीत छनौट भएको हैन यसको भाव र मर्महरुले गर्दा छनौट भएको हा’,छनौट भएपछि गुरुङले व्याकुल माईलासँग भनेका थिए ।
उनले राष्ट्रिय गीतको धुन तयार गर्न एक महिना एउटै कोठामा विताए । जसका कारण उनीभित्र दबेर रहेको रोग समेत बाहिरियो । ‘राष्ट्रिय गानकै लागि उहाँले १४ वटा धुन तयार गर्नु भएछ,’ व्याकुल माईला सम्झन्छन् ,‘हरेक धुन बनेपछि मलाई बोलाएरै सुनाउनुहुन्थ्यो ।’ ‘सुन त कस्तो बन्यो यो धुन ,’उनले राष्ट्रगान बन्ने ताकाको स्मरण गर्दै भने ,‘मलाई त्यो धुनमा गाउनै लगाउनुहुथ्यो ।’ उनका १४ वटा धुनमध्ये तीनवटा धुनमात्र सरकार समक्ष पेश गरिएको थियो । जसमा अहिले राष्ट्रिय गानमा रहेको धुन तत्कालिन सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु र दलका नेताहरुले उत्कृष्ट ठहर्याएका थिए । संसदमै बजाएर धुन छनौट गरिएको थियो ।
बुबाको राष्ट्रप्रेमको झल्को राष्ट्रिय गानमा पाउन सकिन्छ छोरा किशोर गुरुङ भन्छन् ,‘अन्तिम समयमा पनि जनताले मन पराउने गीत र धुनहरु बनाउन सक्रिय हुनु भयो ।’ राष्ट्रिय गानका संगितकार गुरुङको जेठ अन्तिम साता निधन भयो । तर उनले दिएको धुन नेपालीमाझ मात्र हैन अब विश्वमाझ नै घन्कदैछन् । उनी पश्चिमा संगितका ज्ञाता थिए । तर राष्ट्रिय धुन बनाउँदा त्यसको छायाँ समेत पर्न नदिई किवोर्डको धुनलाई नेपालीकरण गरे । जसलाई पश्चिमाहरुले नै नेपालको मौलिक धुनको मान्यता दिएको छ।
गत शुक्रबार रियो ओलम्पिक २०१६ शुरु भएको हो । ब्राजिली नृत्य साम्बाको मजासँगै ब्राजिलको राष्ट्रिय रंग पहेँलो र हरियोलाई विशेष महत्वका साथ प्रस्तुत गरिएको रियोमा खचाखच भरिएका ७८ हजार दर्शकका बीच विभिन्न देशहरुले आफ्नो राष्ट्रिय गान प्रस्तुत गरेका थिए । खेलको उद्घाटन सत्रमा ओलम्पिकको आफनै छुट्टै गान सकित विश्वका दुईसय आठ राष्ट्रका राष्ट्रगान प्रस्तुत गरिएका थिए। रियो ओलम्पिकमा विश्वभरबाट ५६ खेलमा सहभागि ६ हजार १ सय ८२ पुरुष र ५ हजार १ सय ६ महिला गरी कुल ११ हजार २ सय ८८ खेलाडीहरु सहभागी छन्।
प्रकाशित: २६ श्रावण २०७३ ०३:३१ बुधबार