१८ मंसिर २०७९ आइतबार
अन्य

'निर्वाण'को खोज

'त्यो पूर्णजागृत अवस्थालाई 'निर्वाण' भनिन्छ, जहाँ अहंकार लोप हुन्छ। मानिसलाई अस्तित्वको बोध हुन्छ। मनका सबैखाले द्वन्द्व मेटिन्छन्। र, उसले आफ्नो वास्तविक स्वरूप थाहा पाउँछ,' विश्वविख्यात दार्शनिक ओशोले भनेका छन्। 'निर्वाण'का लागि हरेक व्यक्ति उत्तिकै हकदार भए पनि पूर्णसजगता तथा विशिष्ट जागरणको स्थितिमा मात्र यसको अनुभूति गर्न सकिने उनको भनाइ छ।  

कृष्ण, बुद्ध, पतञ्जली, कवीर, नानकलगायत महान् सन्त तथा ऋषिमुनि 'निर्वाण' अर्थात् मोक्षबाट मात्र जीवनका दुःख–व्याधि अनि जन्म–मृत्युको चक्रबाट मुक्त हुनेमा मतैक्य छन्। उनीहरूले सुझाएका ध्यान–साधनाका बाटामात्र फरक छन्, आखिर उद्देश्य त जन्म, जीवन र मृत्युको यथार्थबोध हो। घनश्याम खड्काद्वारा लिखित 'निर्वाण' उपन्यास यही परमसत्य तथा मोक्षचेतको सेरोफेरोमा केन्द्रित छ। अध्यात्म, दर्शन र मनोविज्ञानको आधारभूमिमा सिर्जित यस कृतिको मूलभाव हो– दुःखको भुमरीबाट जीवनको रूपान्तरण गर्न सम्भव छ। भावातीत अवस्थामा स्थित भएर यही जीवनमा परमचैतन्यको साक्षात्कार गर्न सकिन्छ।

प्रशस्त धनदौलत र सांसारिक सुखसयल हुँदाहुँदै पनि मानिस दुःखी छ। दुःख हिजो थियो र आज पनि छ। युगौँदेखि यो चक्रले निरन्तरता पाइरहेको छ। यसबाट मुक्ति पाउन कैयौँ सिद्धपुरुषले आफूभित्र खोज गर्दै आएका छन्। राजकुमार सिद्धार्थ गौतमले राजसी ठाँट र दरबार छाडेर 'निर्वाण'को खोजमा वषर्ौंसम्म ध्यान–साधना गरे। दिव्य ज्ञान प्राप्त गरेपछि उनी भगवान् बुद्धका रूपमा चिनिए।

बौद्धमार्गीको साधनाको विशिष्ट स्थितिलाई व्याख्या गर्न पहिलेदेखि संस्कृतमा प्रयोग गरिँदै आएको 'निर्वाण'लाई पाली भाषामा 'निब्बाना' भनिन्छ। यो बौद्ध दर्शनको उच्चतम आध्यात्मिक लक्ष्य हो। यसले मानवजातिलाई जन्म–मृत्युको बन्धनबाट मुक्त गराउने विश्वास गरिन्छ। भगवान् बुद्धका चार आर्यसत्यमध्ये तेस्रो 'दुःखबाट मुक्ति पाउन सकिन्छ'ले 'निर्वाण'को अन्तर्निहित सत्यलाई इंगित गर्छ।

सम्यक दृष्टि, संकल्प, बाचा, काम, आजीविका, प्रयत्न, चेत र सम्यक समाधिलाई बुद्धले दुःखमोचनको अष्टांगिक (आठ) मार्गका रूपमा औँल्याएका छन्। योगका प्रणेता महाऋषि पतञ्जलीले पनि मोक्ष प्राप्तिका लागि साधकले अपनाउनुपर्ने आठ मार्ग सूत्रबद्धरूपमा देखाइदिएका छन्। ती हुन्– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। पतञ्जली र बुद्धले प्रतिपादन गरेको मार्गको सारमा त्यति ठूलो भिन्नता देखिँदैन।

बुद्ध, पतञ्जलीलगायत विभिन्न ऋषिमुनिले अनुभूतिजन्य ज्ञानका आधारमा प्रकाशमा ल्याएका मोक्षमार्गमा आधारित भएर खड्काले पूर्वीय दर्शनको सेरोफेरोमा उपन्यासको कथा बुनेका छन्। मुख्य पात्र बोधी, मोनिका, श्वेता र गुरु गोविन्द आफ्ना भोगाइ तथा साक्षात अनुभूतिबाट जीवन र जगतलाई चियाउन खोज्छन्। केही समयका लागि झुल्किने इन्टरनेसनल एयरवेजकी प्रमुख कार्यकारी दीप्तिको रवाफिलो भूमिकाले कथानकलाई जोड्नु त्यति अर्थपूर्ण छैन।

बोधी सहरको नामी मनोविज्ञ हो। उसले मानसिक समस्याग्रस्त मानिसको उपचार गरेर उनीहरूलाई बाँच्न सिकाउँछ। आत्महत्या गर्ने मनस्थितिमा पुगेका मानिसको जीवनको कथा पुनर्लेखन गराउन ऊ सफल भएको छ। बोधीमा कताकता आध्यात्मिक चेतनाको बीजारोपण भएको हुन्छ, 'निर्वाण' यात्रामा अघि बढेपछि उसको जीवन रूपान्तरित हुन्छ।

रेस्टुरेन्टमा बोधीको मोनिकासँग भेटघाटबाट उपन्यासको कथा सुरु हुन्छ। बोधीले मोनिकाबाट अन्य साधारण केटीजस्तै व्यवहार अपेक्षा गर्छ। प्रेम, यौन, रमाइलो र तृप्तिबारे कुरा गर्नुपर्ने बेलामा उसका प्रश्न पृथक हुन्छन्। जीवनका विविध आयाम, मृत्युपर्यन्त जीवन, परमसत्य आदिबारे उसले जिज्ञासा राख्छे। परम्परागतरूपमा बाँच्दै आएको जीवन देखेर उसलाई दिक्क लाग्छ। कताकता उसमा वैराग्य देखिन्छ।  'खानु, पिउनु, बिहा गर्नु, छोराछोरी जन्माउनु र हिँड्नुमात्रै जीवन हो भने यो झर्कोलाग्दो छैन त,' बोधीले सामान्य तरिकाले केही प्रश्नको जवाफ दिन्छ। केही प्रश्नलाई रमाइलोमा टार्न खोज्छ। तर, मोनिकाको ज्ञानको भोक त्यतिकै कहाँ टर्थ्यो र!

मध्यरात रेस्टुरेन्टबाट निस्केपछि उनीहरू मोनिकाको घर जान्छन्। बोधीलाई मोनिकाले एउटै ओछ्यानमा सुत्न आग्रह गर्छे। त्यहीँ निष्पि्कक्री लुगा फेर्छे। बाथरुमबाट तौलियामात्र बेरेर बाहिर आउँछे। मोनिकामा यौनकुण्ठाको कुनै अंश देखिँदैन। लाग्छ– बोधीलाई उसले एउटा आत्माको रूपमा हेरेकी हुन्छे न कि पट्ठो युवक! मोनिका मस्त निदाउँछे। बरु बोधी आफूभित्रको पशुत्व नजागोस् भनेर भयका बीच राति नै त्यहाँबाट भागेर घर आउँछ। 

बिनाखबर मोनिका सम्पर्कविहीन भएपछि बोधी चिन्तित हुन्छ। ऊ कहाँ गई? केका लागि गई? भन्ने पत्तो लाग्दैन। मोनिका हराएपछि एकाएक उपन्यासले नाटकीय रूप लिन्छ। फेसबुकमा मोनिकाले राखेको पुराना स्टाटस हेरेपछि थाहा पाउँछ–हवाईजहाज दुर्घटनामा परिवारका सबै सदस्य गुमाएपछि नितान्त एक्लो जीवन बाँच्दै आएकी रहिछ ऊ। 

अल्केमी इन्स्टिच्युटमा एक दिन पूर्वविद्यार्थी श्वेता उसलाई खोज्दै आइपुग्छे। १४ वर्षअघि आफूले दुर्गम गाउँको विद्यालयमा पढाएको विद्यार्थी श्वेतालाई बोधीले चिन्छ। त्यही बेलादेखि नै श्वेता बोधीप्रति आकर्षित थिई। प्लस टु सिध्याएर बरालिएको बोधीलाई श्वेताका बाबु अशोकले नै गाउँमा लगेर शिक्षकको जागिर दिएका थिए।

समयले पूरै कोल्टे फेरेको छ। श्वेता अहिले चर्चित चित्रकार भएकी छ। बोधी र श्वेताको पुरानो सम्बन्ध झ्याँगिएर प्रेमी–प्रेमिकाको तहसम्म पुग्छ। उनीहरूको मनमात्र होइन, तन पनि मिल्छ। आमाको देहान्तपछि श्वेताले झनै एकान्त महसुस गर्छे र बोधीमाथि नै आफूलाई समर्पित गर्छे। श्वेताका बाबु अशोकको पहिले नै मृत्यु भइसकेको हुन्छ।

बोधी श्वेतासँग रसरंग मात्र होइन, उसकी आमाको मृत्युलगायत हरेक घटनाको साक्षी हुन्छ। यस्ता घटना–परिघटनालाई साक्षीभावले हेर्दाहेर्दै बोधीमा क्रमिकरूपमा जागरणको द्वार खुल्दै जान्छ।

एक दिन बोधी र श्वेता समुद्रतट घुम्न गएका

बेला अचानक सामुद्रिक आँधी आउँछ। नियन्त्रण गुमाएपछि उनीहरूसहित अन्य यात्रु सवार पानीजहाज दुर्घटना हुन्छ। श्वेतासहित अधिकांश यात्रु समुद्रमा बेपत्ता हुन्छन्। अप्रत्यासित तथा अकल्पनीयरूपमा मोनिका त्यहाँ प्रकट भएर बोधीको उद्धार गर्छे। पेसाले चिकित्सक मोनिका साथी क्यारोलिनाको निमन्त्रणामा त्यहाँ घुम्न आएकी रहिछ। दुर्घटनाको खबर थाहा पाएपछि ऊ मानवीय हिसाबले उद्धारमा खटिएको कुरा पछि थाहा हुन्छ। उद्धारपछि मोनिकाले अस्पताल लगेर बोधीको उपचार गर्छे।

सन्चो भएपछि मोनिकाले बोधीलाई आफ्नो जीवनको फेहरिस्त सुनाउँछे। जुन समुद्रमा पानीजहाज दुर्घटना भएको थियो, हवाईजहाज त्यही समुद्रमा मोनिकाका बुबा, आमा र भाइको मृत्यु भएको थियो। भाग्यले ऊमात्र बाँच्न सफल भएकी रहेछ। त्यस घटनापछि नै मोनिका आनन्द र सत्यको खोजीमा लागेकी रहिछ।

गुरु गोविन्दसँगको संगतले उसको जीवन रूपान्तरण भएको रहेछ। मोनिकाकै माध्यमबाट बोधीले गुरुगोविन्दलाई भेटेपछि दिव्य ऊर्जाले उसलाई बेग्लै अनुभूति हुन्छ। केही दिनको आश्रम बसाइ अनि ध्यान–साधनाबाट उसले समाधिको अनुभव गर्छ। उसलाई वास्तविकरूपमा सत्यबोध हुन्छ।

पात्र, विषयवस्तु, परिवेश र कथानकका दृष्टिले उपन्यास बहुआयामिक छ। विकट गाउँ, सहर, समुद्रलगायत विभिन्न क्षेत्रमा घुम्छन् पात्रहरू। कतिपय स्थानमा पात्रको संवाद अस्वाभाविक लाग्छ। शिक्षक भएर बोधी दुई वर्षसम्म बसेको दुर्गम गाउँका पात्रहरूको बोलीचाली र रहनसहन कृत्रिम लाग्छ। त्यहाँको वास्तविक चित्र आउन सकेको छैन। थुप्रै ठाउँमा शुद्धाशुद्धि बिग्रिएकोले पढ्दा दाँतमा ढुंगा लागेजस्तो हुन्छ।

पछिल्तिरका 'आश्चर्य' 'मौन उत्सव' 'समाधि' 'प्रश्न' र 'बोध' च्याप्टर 'निर्वाण'का आयाममाथि केन्द्रित छन्। अगाडिका च्याप्टरमा अलि बढी गन्थन भएकाले झर्को लाग्छ। सुरुका च्याप्टरको चुस्त सम्पादन तथा पछाडिका च्याप्टरको अलि विस्तृतीकरण गर्न सकिने ठाउँ छ।

गुरुगोविन्दको सामीप्यमा रहनासाथ बोधीलाई गहन समाधि घटित हुन्छ। त्यति छोटो अवधिमा उसले त्यो तहको अनुभूति हासिल गर्नु अस्वाभाविक लाग्छ। आध्यात्मिक यात्रा जन्मौँजन्मसँग सम्बन्धित रहेको पछिल्ला परामनोवैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेका छन्। उपन्यासमा वर्णित बोधीको 'निर्वाण' स्थिति हेर्दा त्यो निर्विकल्प समाधिको प्रकृतिसँग मेल खान्छ। पतञ्जली योगसूत्रअनुसार सविकल्प समाधि (आरम्भिक अवस्था) मा साधकको चेतना विश्वतत्वमा समाहित भए पनि ऊ यस अवस्थाप्रति सचेत हुन्छ। निर्विकल्प समाधि (माथिल्लो आध्यात्मिक अवस्था) मा ऊ मोक्षातीत हुन्छ र हमेसा जागृत चैतन्य अवस्थामा रहन्छ। अब प्रश्न उठ्छ, गुरुगोविन्दसँग भेटेको केही दिनमै कसरी बोधीलाई समाधिको अनुभूति भयो?

बौद्ध दर्शनअनुसार राग, द्वैष, मोह वा अविद्याबाट मुक्त भएमा मात्र 'निर्वाण' प्राप्त हुन्छ। यसको सैद्धान्तिक व्याख्या सजिलोजस्तो लागे पनि यो आफैमा जटिल विषय हो। यसलाई सरल, सहज र बोधगम्य तवरमा औपन्यासिक रूप दिन सक्ने लेखकको खुबी तारिफयोग्य छ। उपन्यासमा लेखकले यति स्वैरकल्पना र भाषिक जादू भरेका छन् कि सुरु गरेपछि नसिध्याउन्जेल किताब छाड्नै मन लाग्दैन। त्यसैले भन्न मन लाग्छ– नेपाली साहित्यमा आध्यात्मिक विषयवस्तुमाथि लेखिएको सकारात्मक ऊर्जाले भरिएको यो सुन्दर सिर्जना हो। 

धेरैलाई थाहा नहुन सक्छ– बौद्ध दर्शन, मनोविज्ञान र ध्यान घनश्यामका अधिक रूचिका विषय हुन्। 'मैले 'निर्वाण'का कतिपय च्याप्टर गहिरो ध्यानपछि लेखेको हुँ,' भेटमा उनले भनेका थिए। त्यही भएर अध्यात्म र दर्शनसम्बन्धी आफ्ना अनुभव र अनुभूतिलाई उनले विभिन्न पात्रमार्फत् उपन्यासमा अभिव्यक्त गरेका छन्।  

कृति :  निर्वाण

कृतिः उपन्यास  

लेखक :  घनश्याम खड्का

प्रकाशक :  अल्केमी प्रकाशन

पृष्ठः २७९

मूल्य :  रु. ३९९

प्रकाशित: २२ श्रावण २०७३ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App