२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

जनकपुरमा १२ वर्षयताकै भारी वर्षा

जनकपुरको विभिन्न स्थानमा बिहीबार दिउँसो देखिएको दृश्य। तस्बिरः सुरेश यादव

जनकपुर– जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार बुधबार बिहान ८ः३० देखि बिहीबार बिहान ८ः३० सम्म १ सय १८ दशमलव २ मिलिलिटर वर्षा भएको छ।

यो २४ घण्टामा भएको वर्षाको पछिल्लो तथ्यांक हेर्दा झण्डै १२ वर्ष यताको सर्वाधिक वर्षा हो । त्यसो त वर्षाको दर मापन हिसाबले २४ घण्टा भनिएपनि बिहीबार बिहान करिब दुई बजेदेखि पाँच बजेसम्म (तीन घण्टा) अविरल झरी परेको थियो । सोही झरीले जनकपुरको अधिकांस भाग डुबानमा परेको छ ।

‘बिहीबार बिहान ८ः३० बजेसम्म पछिल्लो २४ घण्टामा १ सय १८ दशमलव २ मिलिलिटर वर्षा भएको छ । यो वर्षकै सबै भन्दा बढी वर्षा हो’ मौसम पूर्वानुमान शाखा प्रमुख झाले नागरिकसँग भने, ‘गत वर्ष २४ घण्टामा सर्वाधिक ८७ दशमलव २ मिलिलिटर मात्रै वर्षा भएको थियो।’

केही वर्ष अगाडी मात्रै जनकपुर आएकाले झाले यकिनसाथ दावी गर्न नसकेपनि सम्भवतः २०६१ साल यता बिहीबारको वर्षा ठूलो हुनसक्ने बताए । ‘आठ÷दश वर्ष अगाडीको यो रेकर्ड हुनसक्छ’ झाले भने, ‘जुलाई महिनाको १५ तारेखका दिन ३ सय ३९ दशमलव ५ मिलिलिटर वर्षा भएको थियो ।’ झाले जनाए अनुसार सन् २००४ को जुलाई १५ तारेखका दिन धेरै वर्षा भएको स्थानीय वयोवृद्ध रामकेवल यादवले बताए ।

अस्पतालदेखि बस्ती सबै डुबानमा

बिहीबार बिहान भएको अविरल वर्षाले जनकपुर अञ्चल अस्पतालदेखि अधिकांस सरकारी कार्यालय र बस्ती डुबानमा परेका छन् । अञ्चल अस्पतालको इमर्जेन्सी र बहिरंग विभागमा करिब आधा फिटसम्म पानी लागेको थियो भने अस्पताल परिसरमा दुई फिटसम्म पानी दिनभर जमिरहेको छ ।

जनकपुर प्रवेशद्वार पिराडी चोक, थापा चोक, मिल्स एरिया, भानु चोक, कदम चोक र अस्पताल अगाडी दिनभर पानी जमिरहेको छ । अधिकांस सडक नहर जस्तै बगिरहेको छ । फाटफुट मोटरसाइकल र रिक्सा नदीको डुंगा जस्तै देखिन्छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय, भूमिसुधार कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला पशु सेवा, वन, तथ्यांक विभाग लगायत कार्यालय डुबानमा परेका छन् ।

खासगरी अञ्चल अस्पताल पछाडीको बस्ती, देवी चोक क्षेत्र, किशोरी नगर, आनन्द नगर, बलुवा टोल, वैकुण्ठनगर, रजौल लगायत बस्तीका झण्डै एक हजार भन्दा बढी घरमा पानी जमेको छ ।

एशियाली विकास बैंकको ऋणअनुदानमा निर्माण हुन लागेको मुख्य नाला खनिएको र नगरपालिकाले नियमित सफाईमा ध्यान नदिएको कारण बस्ती डुबानमा परेको स्थानीयको गुनासो छ । ‘तीन वर्षदेखि ढल निर्माणको चर्चा चलेपनि वर्षात्को मुखमै आएर काम सुरु गरेपछि बस्ती डुवानमा परेको हो’ स्थानीय बेचन साहले भने, ‘मौसम अनुकुल सडक र नाला निर्माणको कार्य सुरु नहुनुका साथै नगरपालिकाले जिम्मेवारी वहन नगर्दा पनि जनता समस्यामा परेका छन् ।’ नगरपालिकाले यस्तो बेला वैकल्पिक ढल निकासको व्यवस्थामा ध्यान नदिएको साहको आरोप छ ।

जनकपुर उपमहानगर पालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइटेलले भने बिहीबार बिहानको अविरल झरीपछि स्काभेटर प्रयोग गरी ढल निकासको वैकल्पिक मार्ग खोल्न सुरु गरेको बताए। ‘वर्षा रोकिएपछि पिराडी चोकबाट नगर क्षेत्रमा जमिरहेको पानीको निकास खोल्ने काम सुरु भएको छ’ लुइटेलले भने ।

 

 

प्रकाशित: ६ श्रावण २०७३ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App