११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

बर्खाको उर्लंदो कहर

दार्चुलामा काकडा खोलाको बाढीले कटान गरेको क्षेत्र । तस्बिर: प्रेम चुनारा

दुई दिनदेखि अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकका विभिन्न भागमा जनधन क्षति भएको छ। सर्लाहीमा एक र दार्चुलामा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दार्चुला मालिकार्जुन–८ का २५ वर्षीया वसन्ती धामी, सर्मोली–४ का ७२ वर्षीय चन्द्रदेव पन्त, अपी–१७ की ६१ वर्षीया भागिरथी महरा र  सर्लाही हरिवन–४ का ३० वर्षीय उमेश महतो छन् ।
घरमाथिबाट झरेको पहिरोमा पुरिएर धामी, पन्त र महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।  हरिवन–४ का ३० वर्षीय महतोको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय, हरिवनले जनाएको छ । उनी दाउरा निकाल्न खोलामा पसेका थिए ।
अपी–१७, काकडामा पहिरोपछि स्थानीय खोलामा आएको बाढीले मूल सडकको पुलसमेत बगाएको छ । पहिरोकै कारण भारतसँग सिमाना जोडिएका जौैलजीवी प्रहरीचौकी भवनमा क्षति पुगेको छ ।
दार्चुलाको बाढीपहिरो प्रभावित क्षेत्रतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सुशीलसिंह राठौरले बताए । चौकीमा कार्यरत प्रहरी तथा बन्दोवस्तीका सामान सुरक्षित स्थानमा सारिएको डिएसपी राठौरले जानकारी दिए ।
महाकाली राजमार्ग दर्जन स्थानमा पहिरो जाँदा अवरुद्ध छ  । विद्युतको पोल ढलेपछि सेवा अवरुद्ध छ । जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार जिल्लाभरका दर्जन गाविसका सयौं घर उच्च जोखिममा छन् ।
दार्चुलाका निमित्त प्रजिअ विश्वामित्र कुइँकेलका अनुसार प्रभावित बस्तीमा  सयौं चौपाया पहिरोमा पुरिएका छन् । जिल्लाका डाँडाकोट, सर्माेली, खरकडा, लाली, रिठाचौपाता, बोहरीगाउ, गोकुलेश्वर, ग्वानी, शंकरपुर, भगवती, दत्तु, रानीशिखरलगायत गाविस पहिरो चपेटामा छन् । पहिरोले दजनौं घर भत्किएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ । अवद्ध राजमार्ग  खुलाउन सडक डिभिजन कार्यालय बैतडी, जिल्लास्थित महाकाली नदी नियन्त्रण आयोजना र दार्चुला–तिंकर सडक आयोजनालाई जिम्मेवारी दिइएको छ ।

पहिरोको डरले जाग्राम

पहिरोको डरले गोरखा, केरौंजाका करिब २ सय धुरीले घर छाडेपछि आसपासका गाउँले पनि त्रस्त छन् । भूकम्पपीडितले जाग्राम बसेर रात कटाएका छन्  । ‘२४ घन्टा भयो पानी रोकिएको छैन, पहिरो झरिरहेको छ,’ केरौंजाका सुकबहादुर गुरुङले भने, ‘गाउँ नै बग्छ कि भन्ने डर छ ।’
पहिरोबाट विस्थापित केही भूकम्पपीडित टहरा छाडेर अन्यत्रै आश्रय लिन हिँडेका छन् । केही झिटीगुन्टा बोकेर नयाँ ठाउँमा सर्न थालेका छन् । सदरमुकामबाट तीन दिनको पैदल दुरीमा रहेको केरौंजासम्म सडक सञ्जाल छैन । त्यहाँ खच्चडबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । सडक अवरुद्घ भएकाले स्थानीय बजारमा पनि दैनिक उपभोग्य वस्तुको अभाव भएको गुरुङले बताए ।
स्वाँराको गम्बाङ गाउँ पनि केरौंजाजस्तो दोहोरो पहिरोको बीचमा छ । दुई दिनदेखि निरन्तर पानी परिरहेकाले त्यहाँका २० घर जोखिममा छन् । उनीहरू दुःख बिसाउन छिमेकी गाउँ मझथर पुग्छन् । रातभरि डरैडरले जागा बस्नुपर्ने बाध्यता रहेको स्वाँराकी सलिना गुरुङले बताइन् । ‘ढुंगा खसेको आवाजले रातभर निद्रा पर्दैन, पहिरोले गाउँ बगाउन लागेको छ,’ उनले भनिन् ‘अरु ठाउँ जाने विकल्प पनि छैन ।’
उहिया–१ स्थित खोर्लाबेसी उत्तरी गोरखाको नाका हो । एकापट्टि बूढीगण्डकी नदी र अर्कापट्टि खहरे खोला रहेको उक्त स्थानमा गाउँमाथिको पहिरोले घर बगाएको छ । पहिरोको डरले केहीले गाउँ छाडेका छन् भने केही व्यापारी जोखिम मोलेर त्यहीँ छन् । ‘कहाँ, कस्तो पहिरो जान्छ, खतरा के छ भन्ने पीडितले जानेकाले पनि मानवीय क्षति भएको छैन,’ प्रजिअ नारायण भट्टले भने ।
गाउँबस्ती बाहेक पनि जताततै पहिरो छ । बारपाक–१ को स्नान गाउँ, सौरपानी, खरिबोट, लप्सीबोटका विभिन्न ठाउँमा भूकम्पपीडितका टहरा भत्किएका छन् । जंगल, सडक छेउछाउमा पहिरो खसेको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति, गोरखाले पहिरोबाट क्षति पुगेका र पहिरो जानसक्ने सम्भावित क्षेत्रबारे प्रहरी युनिटलाई विशेष ध्यान दिन निर्देशन दिएको छ ।
‘पहिरोको जोखिम  क्षेत्रमा विशेष निगरानी राख्न भनेका छौं,’ प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले भने, ‘तत्काल उद्धार गर्न सशस्त्र र नेपाल प्रहरीको टिम बनाएर परिचालन गरेका छौं ।’

दुई हजार घर जोखिममा

भूकम्पछि गोरखाका २२ गाउँका २ हजार २ सय १४ घरधुरीलाई पुनर्बास गराउनुपर्ने निर्णय जिल्ला दैवीप्रकोप उद्धार समितिले गृह मन्त्रालयलाई पठाएको थियो । क्षेत्र २ र ३ का एघार गाविसमा भूकम्पपछि पहिरो जानुका साथै जमिन भासिएकाले गाउँ पुनस्र्थापना गराउनुपर्ने निर्णय भएको थियो । तीमध्ये लाप्राकवासीलाई पुनस्र्थापना गरिने भनिए पनि अहिलेसम्म काम भएको छैन । स्थानीयले समितिमा दिएको निवेदन, अनुगमन क्रममा देखिएको अवस्था, क्षति विवरण र भौगोलिक बनावटका आधारमा दुई हजारभन्दा बढी घर पहिरोको जोखिममा रहेको निष्कर्ष निकालिएको थियो । बारपाकका ६ सय १५, केरौंजाका ४ सय, गुम्दाको सिंग्ला, लप्सीबोट, र यमगाउँका गरी ३ सय ४३ घर पहिरो जोखिममा छन् ।
त्यस्तै, लापु– १, २, ४ र ६ का ठाँटी, भीरकुना, पौटी, खानीगाउँका २ सय ४५ घर, मान्बुको घोरत र स्याम्चेतका २ सय पाँच घर, सिर्दीसको सानु फिलिम र देबलका ३५ घर, बापाकको मान्द्रे र कोंजेका १ सय घर पहिरा जोखिममा छन् । सिम्जुङ, पात्लेका ३० घर, सौरपानी, सिम्बुका २५ घर, घ्याल्चोक–२, ५, ८ र ९ का एक सय १६ घर, उहिया, खोर्लागाउँका १ सय गरी घर पहिरोको उच्च जोखिमा रहेको समितिले जनाएको छ ।

लामोसाँघु–जिरी सडक अवरुद्ध

वर्षाले दोलखाको जनजीवन अस्तव्यस्त छ  । पहिरोको कारण सरी गाउँका १५ परिवार विस्थापित भएका छन्  । गाउँमा भूकम्पपीडितका तीन अस्थायी टहरा पहिरोले बगाएको अर्जुन ओलीले जनाए । पहिरोका कारण गाउँ उच्च जोखिममा परेपछि १५ परिवार गाउँमाथिको इबिथानमा सरेका छन् ।  उत्तिसघारीको सीमबाट पहिरो झरोले थप २० परिवार उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका एघार  बस्ती पहिरोको उच्च जोखिममा छन् ।
‘जोखिमयुक्त बस्तीका परिवारलाई अन्यत्र सार्न पहल गरिरहेका छौं,’ प्रजिअ पुष्पराज शाहीले भने । उनले कतिपय बस्तीका गाउँलेले अन्यत्र सर्न नमानेको बताए ।
ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडक पहिरोका कारण अवरुद्घ छन् । चिलंखाका प्रविण खड्काका अनुसार सिँगटीबाट जिल्लाको उत्तरी भेगका सात गाविस जोड्ने सिँगटी–सोरुङ सडक दुई सातादेखि अवरुद्ध छ । सिगँटी– सोरुङ सडक खण्डको अधिकांश स्थानमा पहिरो झरिरहेको छ ।
राजधानीबाट जिल्ला जोडिने मुख्य लामोसाँघु–जिरी सडकको तीन ठाउँमा पहिरो गएकाले यातायात अवरुद्घ हुँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार लाँकुरीडाँडा गाविसको झिंगाने, भीमेश्वर नगरपालिकाको साखिने र काब्रे गाविसको खावा नजिक झरेको पहिरोले चार दिनदेखि यातायात अवरुद्ध  छ । ट्राफिक प्रहरीका जिल्ला इन्चार्ज दीपकप्रसाद चौलागाईंका अनुसार झिगाँनेको पहिरो नरोकिएकाले राति सवारी साधन चलेका छैनन् ।

जताततै पहिरो

अविरल वर्षासँगै भूकम्प प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा पहिरो खस्न थालेको छ । भूकम्पले धाँजा फाटेको जमिनमा वर्षाको पानी परेपछि पहिरो खस्न थालेको हो । पोहोर साल थोरै जमिनले अडेको रसुवाको हाकु गाउँ यस वर्ष भने बग्न थालेको छ ।
राम्चेबाट देखिने हाकुबाट भूकम्पपछि सबै विस्थापित भएका छन् । बचेको थोरै जमिनमा खेती लगाउन गाउँ जाने तयारीमा रहेका तिरुका कर्मा तामाङ पहिरो बग्न थालेपछि जान नसकेको बताउँछन् । ‘गाउँ जान त सक्ने अवस्था अब रहेन,’ उनले भने, ‘बचेको अलिकति पाखो पनि बग्न थाल्यो, सधै विस्थापित भएर बस्नुपर्ने भयो ।’ भूकम्पपछि केही स्थानीय जोखिम मोलेर गाउँ बसेका भए पनि पहिरो झर्न थालेपछि ती पनि विस्थापित शिविरमा आएको उनले बताए । ‘पहिरोले गाउँ जान सक्ने बाटोको निसानासमेत छैन,’ उनले भने, ‘जता आखाँ डुलाए पनि पहिरो बगेकोबग्यै छ, बीच बाटोबाट घर फर्के आएँ।’
गाउँको तल्लो भागबाट पहिरो नियमित खस्न थालेको छ । पहिरो क्षेत्र बस्तीबीचको दुरी सय मिटर छ । हाकु तिरु र गोगनेमा एक सय १५ घर छन् । पहिरो रोकिने कुनै छाँट देखिँदैन । जता हे¥यो उत्तै पहिरो नै पहिरो छ । कतै सुरक्षित ठाउँ देखिँदैन । रसुवा राम्चे– ४, ग्राङबाट हेर्दा पहिरो नगएको ठाउँ देख्न मुस्किल छ। ‘अझै ठूलो बर्षा हुँदा के हुने होला,’ एक स्थानीयले भने । पहिरो हेरेर बाटो काट्नुपर्ने बाध्यता आएको स्याफ्रुका धनबहादुर तामाङले बताए ।
एक सातादेखिको अविरल वर्षाले हाकु गाविस मात्रै नभएर पासाङल्हामु मार्गको सडक खण्डको राम्चे र मूलखर्कमा पनि पहिरो झरेको छ । क्षतविक्षत सडकमा मुस्किलले गाडी चलिरहेको रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीले बताए । ‘शुक्रबार हिलोमा गडेको एक कन्टेनर दिनभर लगाएर निकालेर सडक खुलाए पनि सडक जोखिमपूर्ण छ,’ उनले भने, ‘भूकम्पले जमिन चिराचिरा पारेकाले कहाँ पहिरो जान्छ भन्न सक्ने अवस्था छैन । अविरल वर्षाका कारण पहिरो नियन्त्रणमा समस्या भएको छ ।’ पहिरोले सडक अवरुद्ध भएपछि रसुवागढी क्षेत्रमा मात्रै १ सय ५० वटा कन्टेनर फसेको उनले बताए । पहिरोकै कारण रसुवागढी नाका पनि ठप्प छ । पहिरोकै कारण देखाउँदै चीनले रसुवागढी नाकाबाट सामान ओसारपसार बन्द गरेको जनाएको छ ।
नुवाकोटकोको उत्तरी हिमाली गाउँ साल्मे र धादिङ जिल्ला जोड्ने झोलुंगे पुल खोलामा आएको बाढीले बगाउँदा धादिङका ५ गाविसका स्थानीयको आवातजावत ठप्प भएको नुवाकोटका प्रजिअ विष्णुप्रसाद पोखरेलले बताए । नुवाकोटको मनकामना र तुप्चे जोड्ने पक्की पुलको आधा भाग सलाखु खोलाको बाढीले बगाउँदा भाल्चे, मनकामना, फिकुरी, काउले, साल्मे, बुङताङ लगायतका स्थानीय प्रभावित छन् । धादिङको गल्छी हुँदै नुवाकोट आउने बाटो शुक्रबार दिनभरजसो अवरुद्ध भएको पोखरेलले बताए।

(नरहरि सापकोटा,गोरखा/निराजन पौडेल, नुवाकोट/रमेश खतिवडा,दोलखा/प्रेम चुनारा,दार्चुलाको सहयोगमा)

 

 

प्रकाशित: १८ असार २०७३ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App