सुकमायाले एक पटक झ्यालबाहिर हेरी ।
सुनसान थियो गाउँ ।
परतिर धान काटिरहेका महिलाहरु भूकम्पलाई विषय बनाएर गीत गाइरहेका थिए ।
गीतले कुनै उत्साह जगाउँदैनथ्यो । एक प्रकारले निरस थिए ती गीत । अघिल्ला वर्षहरूमा गाइने गीत र यस पटकको गीतका विषय फरक थिए । पहिलापहिला मायापिरतीका विषयले गीत भरिएका हुन्थे । तिनमा भरपूर व्यंग्य मिसिएका हुन्थे । कतिपय अवस्थामा ती गीत पुरुषका निम्ति बिझाउने काँडा बन्थे । तिनले केहीबेर नै भए पनि दुःख भुलाउँथे । गीतसँगै छिल्लिन्थे महिलाहरु, मनोरञ्जन गर्थे । तर यस पटक त्यो रौनक थिएन । गीत पुरानै लयमा थियो । त्यही लयमा भुइँचालोको विषय जबर्जस्ती घुसाइदिएका थिए उनीहरुले ।
सुकमायाले मनमनै भनी—
‘किन गाउँछन् यी आइमाइ यो भुइँचालाको गीत ?’
प्रहरी चौकीको झ्यालबाट केही नयाँ घर देखिन्थे । नयाँ घर नाममात्रका थिए । जस्तापाताले बारेका र छानो पनि जस्तापाताकै । झ्यालढोकाचाहिँ पुरानो । टल्कने जस्तापातामा पुराना काठका झ्यालढोका असाध्यै नसुहाउने देखिन्थे । त्यस गाउँका सबै घर भुइँचालोले भत्काइदिएको थियो । घरवारविहीन गाउँलेलाई सरकारले राहतस्वरुप जस्तापाता दिएको थियो । सुरुका दिनमा टाउको लुकाउन त्रिपाल र खान चाउचाउ–चिउरा दिएको थियो । टाठाबाठाहरुले तीन–चार पटक त्रिपाल लिएका थिए, चिउरा र चाउचाउ त एक वर्षसम्म खानपुग्नेगरी लिएका थिए । जस्तापाता पनि त्यसैगरी आवश्यकताभन्दा बढी लिएका थिए ।
अरुले जस्तै सुकमायाले पनि त्रिपाल र जस्तापाता पाएकी थिई । तर उसले एक पटकमात्रै लिएकी थिई । उसले भत्किएको घर भएकै ठाउँमा नयाँ घर बनाएकी थिई । भग्नावशेष बनेको घर पन्छाएर केही काठ निकालेर त्यो घर बनाएकी थिई ।
ऊ एक्लैले घर बनाउन कसरी सक्थी र !
गोरेबहादुरले उसलाई घर बनाउन सघाएको थियो ।
भुइँचालोले गाउँमा जनधनको ठूलो क्षति गरेको थियो । कतिपयलाई एक्लो बनाइदिएको थियो । उसको पति हीरा घरभित्रै पुरिएको थियो । निपर्सीपल्टमात्रै उसको लास सशस्त्र प्रहरीले निकालेको थियो । होटेल थियो गाउँमा सुकमायाको, घरभन्दा केही पर मान्छेको ओहोरदोहोर बढी हुने ठाउँमा । श्रीमान–श्रीमती मिलेर झण्डै वर्ष दिन अघिदेखि चलाएको उक्त होटेलमा निकै राम्रो व्यापार थियो । भुइँचालोले होटेलको पनि नामनिसाना राखेको थिएन ।
भुइँचालो आउँदा सुकमाया होटेलमै थिई । हीरा भने घर गएको थियो । हीराले त्यस दिन बिहानैदेखि रक्सी खाएको थियो । खाली पेटमा रक्सी परेपछि के चाहियो र !
ऊ काम गर्न नसक्ने अवस्थामा थियो । त्यसैले १० बजेतिरै सुकमायाले एक जना चिनजानको मान्छेको साथ लगाइदिएर हीरालाई घर पठाइदिएकी थिई । भुइँचालो आउँदा हीरा घरमा मस्त सुतिरहेको थियो ।
जमिन अनौठो ढंगमा हल्लन थालेपछि सुकमाया छिँडीमा रहेको होटेलबाट फुत्त बाहिर भागी र बाँची । मध्याह्नको समय भएकाले होटेलमा ग्राहक थिएनन् । उसको आँखाअघिल्तिर नै होटेल जमिनमा मिल्न पुगेको थियो । हुनसक्छ नसामा रहेको गोरेले भुइँचालो आएको पत्तै पाएन ।
र, आफ्नै घरले किच्यो उसलाई ।
उसले मोबाइल निकालेर हीराको नम्बरमा डायल गरी । तर सम्पर्क हुन सकेन । दर्जनौँ पटक गरी, तर लागेन फोन । त्यसपछि ऊ कुद्दै घरतिर गई । घर बाँकी थिएन । त्यहाँ उसको घर माटोको ढिस्कोमा परिणत भइसकेको थियो । झ्यालढोका ढिस्को छेडेर बाहिर निस्कन खोजिरहेका थिए । घर भत्किएर धुलो उडिरहेको थियो ।
भुइँचालोले सारा बस्ती नै सखाप पारिसकेको थियो । ऊ चिच्याइ । हीरालाई बोलाइ । कसैले सुनेन । सुन्ने मान्छे नै बाँकी नरहेजस्तो लाग्यो उसलाई । बस्तीमा आफू एक्लै जीवित रहेको हो कि भन्ने लाग्यो । श्रीमानको मृत्युले केही दिन त विक्षिप्त नै बनायो सुकमायालाई । तर विस्तारै आफूलाई सम्हाल्न थाली ।
गाउँमा बाँचेका पुरुषमध्ये सबैभन्दा खाइलाग्दो र सहयोगी भावना भएको एकमात्र व्यक्ति सायद गोरे नै थियो । बालबालिका र बूढाबूढी केही बाँचेका थिए । सुकमाया सरकारले दिएको जस्तापाता तानिरहेकी थिई त्यस दिन, अचानक गोरे आएर उसलाई साथ दिएको थियो ।
उसको एक्लोपन एक महिनामात्र रह्यो ।
‘यो पेटचाहिँ कसको हो नि ?’
टोलाइरहेकी सुकमायामाथि महिला प्रहरीले बर्साएको प्रश्न उसलाई बिल्कुलै मन परेको थिएन ।
‘यो तिम्रो अन्तिम बयान हो । यही बयानका आधारमा तिम्रो सजाय तोकिने छ ।’
यो प्रश्नले सुकमायालाई सबैभन्दा बढी घोचेको थियो । तर जवाफ त दिनै पथ्र्यो । नत्र तिनले नराम्ररी कुट्थे ।
‘कसको हुनु नि, त्यही मुर्दारको हो । गोरे गधाको ।’ सुकमायाले भुइँतिर हेर्दै जवाफ दिई ।
त्यसबेलासम्म पुरुष प्रहरी दायाँबायाँ लागिसकेका थिए ।
महिला प्रहरीहरु सुकमायाको जवाफ सुनेर अवाक भए । तिनीहरुको उत्सुकताको पारो अचानक उकालो लाग्यो । अब तिनलाई सुकमायाले कसरी र किन गोरेको हत्या गरी भनेर सिलसिलेबार ढंगमा सुन्न मन लाग्यो । सुकमायाले आफ्नै पति हीराको पेट हो भन्छे होली भन्ने तिनको अनुमान थियो । तर सोझी गाउँले सुकमायाले आफूलाई ढाँट्न सकिन । त्यो जवाफ उनीहरुको कल्पनाभन्दा बाहिर थियो । हरेक पटकको बयानमा उसले एउटै कुरा दोहो¥याइ, सत्य खोली ।
‘सुकमाया तिमी कसरी गोरेको कपटको सिकार बन्यौ ?
हामी सुन्न चाहन्छौँ । तिम्रो बयान हामीलाई चित्तबुझ्दो भएमा सजाय कम पनि हुनसक्छ । त्यसका लागि हामी पहल गर्ने छौँ । एक शब्द पनि नढाँटी भन्न सक्छ्यौ ?’
एउटी महिला प्रहरीले भनी ।
प्रहरीले उसलाई एउटा शान्त कोठामा लिएर गए । उसको अघिल्तिर चिसो पानीको बोतल राखिदिए । सुकमायाले एकै पटकमा झण्डै एक मानो पानी खाई । झ्यालबाट आफ्नो घर भएको स्थानतिर हेरी । घर त भुइँचालोले बाँकी राखेको भए पो देखोस् ! साँझपखको गोँधूलिमा जस्तापाताका घरहरु टल्किरहेका थिए । केही गोठाला गाईबाख्रा धपाउँदै घर फर्किरहेका थिए ।
‘मैले जीवनमा ढाँट्न कहिल्यै जानिनँ । तपाईंहरुले सोधिहाल्नुभयो म एक शब्द पनि नढाँटी भन्छु । पत्याउनु–नपत्याउनु तपाईंहरुको कुरो ।
हीरासँग मेरो बिहा भएको भुइँचालो आएको दिन ठ्याक्कै दुई वर्ष पुग्यो । हामीले वैशाख १२ गते बिहा गरेका थियौँ । मलाई ऊ पहिल्यैदेखि मनपथ्र्यो । हामीले एसएलसी एकै पटक दिएका हौँ । एसएलसी दिँदा म बीस वर्षकी थिएँ । उसको उमेर पनि त्यस्तै हुँदो हो ।
दस कक्षासम्म यही गाउँको विद्यालयमा पढेका हौँ ।
मलाई हीरा सात–आठ कक्षा पढ्दादेखि नै मनपथ्र्याे । मैले नै उसलाई प्रेम प्रस्ताव राखेकी हुँ । ऊ अलि लजालु स्वभावको थियो । त्यही स्वभाव मलाई बढी मनपथ्र्यो । उसको नाक थेप्चो थियो, मलाई मन पर्ने ।
जतिबेला हामी बिहा गर्ने निर्णयमा पुग्यौँ, त्यतिबेला हामीले एसएलसी परीक्षा दिएर अनुत्तीर्ण पनि भइसकेका थियौँ । ऊ र म दुवै जना अंग्रेजी, हिसाब र विज्ञानमा अनुत्तीर्ण भएका थियौँ । त्यसपछि हामी दुवैलाई फेरि एसएलसी दिन मन लागेन ।
सल्लाह गरेरै पढ्न छाडेका हौँ ।
हामीले भागी विवाह गर्यौँ । परिवारले स्वीकारेन । जात पनि मिल्दैनथ्यो । बाँच्नका निम्ति कमाउनै पथ्र्यो । त्यसैले हामीले होटेल खोल्यौँ । मलाई हीराको दुईटा कुरा मन पर्दैनथ्यो । अलि बढी रक्सी खान्थ्यो ऊ । र, बिहा गरेको दुई वर्षसम्म पनि हाम्रो कुनै सन्तान भएको थिएन । सन्तान नहुनुमा मैले सधैँ हीरालाई दोष दिएँ । मलाई एउटा सन्तान किन दिएनौ तिमीले भनेर म उसलाई सधैँ घोचिरहन्थेँ । तर ऊ हाँसीमात्रै रहन्थ्यो ।
सन्तान जन्म्यो भने माया बाँडिन्छ भन्थ्यो ।
रक्सी कहिलेकाहीँ त म पनि खान्थेँ, तर ऊ दिनहुँ खान्थ्यो– थोरैथोरै ।
भुइँचालो आएको दिन भने बिहानै खाएछ, मैले नदेख्ने गरी । अलि बढी नै खाएछ ।
तर मेरो हीरा साँच्चैको ‘हीरा’ थियो, मेरो जिन्दगीको चमक उही थियो । मलाई खुब माया गथ्र्यो । मलाई ‘सुख’ भन्थ्यो ।
र, सधैँ सुख नै दिएको थियो । उसले मलाई कहिल्यै दुःख दिएन ।’
सुकमायाको गला अवरुद्ध भयो । ऊ भक्कानिन थाली । आँखा आँसुले टिलपिलाउन थाले ।
छेउमै रहेकी प्रहरी हवल्दार मीराले उसलाई नरुन भनी । आँसु पनि पुछिदिई । र, गोरेको हत्याबारे बताउन भनी ।
केही मिनेटमा सुकमाया पुनः बोल्न थाली ।
‘त्यस दिन म सरकारले दिएको जस्तापाता बोकेर घर बनाउने ठाउँमा पुगेकी मात्र थिएँ । मेरो अघिल्तिर गोरे देखाप¥यो । गाउँमा सबै आआफ्नो घर बनाउन व्यस्त थिए । घर त मेरो पनि बनाउनु पर्ने थियो । तर एक्लै कसरी बनाउने होला भनी म चिन्तित भएकी थिएँ । त्यहीबेला गोरे आफ्नो अघिल्तिर देख्दा मलाई निकै भरको महसुस भएको थियो । मैले उचालिरहेको जस्ता उसले उचालिदियो । घर बनाउन सघाउने बचन पनि दियो उसले । त्यहीबेला मेरो हात र उसको हात ठोक्किन पुग्यो । हामी दुवै एकछिन रोकियौँ ।
गोरे पनि हाम्रै गाउँको ठिटो थियो ।
पाँच कक्षासम्म एउटै विद्यालयमा पढेका हौँ । पछि उसले पढ्न छाड्यो । उसको उमेर पनि अलि छिप्पिइसकेको थियो । सोही कारण पनि हुनसक्छ उसले पढ्न छाडेको । केही वर्षपछि ऊ काम गर्न भारततिर गएको सुनेकी थिएँ । कहिले नेपाल फर्कियो थाहा भएन । तर जब हामीले होटेल खोल्यौँ, ऊ हाम्रो नियमित ग्राहकजस्तै बन्यो । एउटा विश्वासिलो ग्राहक थियो ऊ, कहिल्यै उधारो खाँदैनथ्यो । गाउँमा उधारो नखाने कोही थिएन । तर ऊ सधैँ नगद तिरेर खान्थ्यो । पैसा कहाँबाट ल्याउँथ्यो, उसले के काम गथ्र्यो मलाई थाहा थिएन ।
भुइँचालो आएको केही दिनपछि सरकारले दिएको त्रिपाल हाल्न पनि उसले मलाई सघाएको थियो । तर जस्तापाताको घर बनाउन ऊ नहुँदो हो त म एक्लै कसरी सक्थेँ हुँला र ! घर बन्न झण्डै दुई दिन लाग्यो । जुन दिन घरको छानो हालियो, घर तयार भयो– मैले उसको अनुहारमा नियालेर हेरेँ । ऊ असाध्यै खुसी देखिन्थ्यो ।
उसको अनुहारमा छाएको खुसी देखेर मलाई पनि निकै आनन्द लागेको थियो ।
भुइँचालोले भत्काएको घरबाट काठ निकाल्न र त्यहाँ भएका केही सामान तथा पैसा निकाल्न पनि मलाई उसले सघाएको थियो । केही पैसा होटेलमा पनि राखेकी थिएँ मैले । त्यो खोज्न पनि उसैले सघाएको थियो । गोरेप्रतिको मेरो विश्वास अब सीमातीत भइसकेको थियो । हामीले मिलेर पैसा गन्यौँ । झण्डै डेढ लाख रुपैयाँ रहेछ । अलिअलि सुन पनि थियो । त्यो ३ तोलाजति रहेको गोरेले अनुमान ग¥यो । सुनका गहना मलाई हीराले बनाइदिएको थियो । सुन लगाउने रहर मलाई खासै थिएन । तर पनि कहिलेकाहीँ अप्ठेरोमा काम लाग्छ भन्दै हीराले किनिदिएको थियो बजारमा मलाई पनि सँगै लगेर । उसैको कर र अनुरोधमा चाडपर्वमा म त्यो सुन लगाउँथेँ ।
एक दिन साँझ मलाई गोरेले आफ्ना कुरा सुन्न अनुरोध ग¥यो ।
आफू जिन्दगीमा साह्रै दुःखी रहेको बतायो । घरपरिवारले पनि आफूलाई केही नदिइ निकालिदिएको बतायो । मलाई उसले आफू बिहा नगरी एक्लै बसेको बतायो । मैले हीरालाई मन पराएकोमा आफूलाई खुबै चित्त दुःखेको र सोही कारण बिहा नगरेको उसले रहस्य खोल्यो । यो वाक्यले मेरो भित्री मनको तहसम्म हल्लाइदिएको थियो । म उसलाई स्कुल पढ्दादेखि नै मन पर्थें रे ! यति भनिरहँदा उसले मेरो हात च्याप्प समातिसकेको थियो । मैले उसको हात फुत्काउन सकिन वा चाहिन, त्यो म भन्न सक्दिनँ । तर कताकता मलाई ऊ बलियो सहारा लाग्न थालेको थियो । म उसको अलि चुच्चो नाक हेरिरहेकी थिएँ । हेर्दाहेर्दै त्यो नाक थेप्चो भएको थियो– हीराको जस्तै ।
रात छिप्पिँदै थियो ।
मैले उसलाई यहाँ नबस भन्न पनि सकिन । त्यो रात हामी गफ गर्दागर्दै निदायौँ । अलिअलि रक्सी दुवैले खाएका थियौँ । बिहान उठ्दा गोरे त्यहाँ थिएन । कतै गयो होला भन्ने लाग्यो । त्यस बिहान मेरो जिउ चंगाजस्तो भएको थियो । मलाई उडुँउडुँ–नाचुँनाचुँ लागेको थियो । बिहान सुनौलो बनेर अघिल्तिर तेर्सिएको थियो । मैले भुइँचालोको त्रास र जीवनमा आइपरेका सारा दुःखको अन्त्य भएको महसुस गरेकी थिएँ । सायद हीरा नहुनुको पीडा पनि बिर्सिएकी थिएँ ।
अचानक आज किन यस्तो भयो !
म छक्क परेकी थिएँ ।
घरवरिपरि सफासुग्घर गर्ने, भुइँचालोले भत्काएको घरमा काम लाग्ने सामान केही छन् कि भनी खोज्नेलगायतका काम गर्दागर्दै दिन बित्यो । चिसो साँझ जब सुरु हुन थाल्यो, मैले गोरेलाई सम्झेँ । सम्झेको के थिएँ, ऊ टुप्लुक्क ढोकामा देखाप¥यो ।
अब जिन्दगीले अर्कै बाटो समातेको थियो ।
जिन्दगी एउटा नयाँ लय समाउन तयार भएको थियो ।
गोरे र मैले सँगै जिउने बाचा गरिसकेका थियौँ । केही समयपछि उसैगरी होटेल चलाउने र जिन्दगीको गाडी अघि बढाउने सम्झौता हामीबीच भएको थियो । म ऊप्रति पूरै समर्पित भइसकेकी थिएँ ।
र, हीरासँग मैले माफी पनि मागिसकेकी थिएँ ।
एक रात सपनीमा आएर मेरो हीराले मलाई माफ पनि दिएको थियो । ‘तिम्रो सुखका लागि म जे पनि सहन तयार छु मेरी सुख’ उसले मसँग भनेको थियो । त्यसपछि त म गोरेमा हीरा देख्न थालेकी थिएँ ।
उसको चुच्चो नाक हीराको जस्तै थेप्चो र सुन्दर देख्न थालेकी थिएँ ।
तर मेरो जिन्दगीको गाडी एकै महिनामा अग्लो पहाडबाट तल भीरमा गुल्टियो ।
त्यस दिन हामीले अघिपछि भन्दा अलि चाँडै भात खाएका थियौँ । मलाई अलि बढी रक्सी खान उक्साइरहेको थियो गोरे । ऊ कतै बाहिरै खाएर आएको रहेछ । हामी सुखद भविष्यको कुरा गरिरहेका थियौँ । म निकै भावुक भएकी थिएँ त्यस दिन । म उसको काखमा पल्टिएकी थिएँ, इन्द्रेणी भविष्यको कल्पना गर्दै । ऊ मेरो कपाल मुसारिरहेको थियो । ऊ मलाई माया गरेर रक्सी खुवाइरहेको थियो । उसले कति खायो मलाई थाहा भएन ।
अचानक राति मेरो निद्रा खुल्यो ।
कोठामा स¥याकसुरुक आवाज आइरहेको थियो । मैले टर्च बालेर हेरेँ । गोरे पैसा र सुन पोको पारिरहेको थियो । म ओछ्यानबाट जुरुक्क उठेँ र उसको हात समातेर सोधेँ–
तिमीले के गरेको गोरे यस्तो ?
ऊ मेरो हात फुत्काएर भाग्न खोज्यो । मलाई तथानाम गाली ग¥यो उसले । मैले त्यसो नगर्न अनुरोध गरेँ । जिन्दगी लामो बाँकी रहेको र पैसा कमाउन सकिने बताएर उसलाई फकाउन खोजेँ । ऊ जसरी हुन्छ पैसा र सुन बोकेर भाग्न खोजिरहेको थियो । म ढोकामा गएर उभिएँ । उसले मलाई लछारपछार पारेर भाग्ने प्रयास ग¥यो । त्यसपछि मैले घर बनाउन प्रयोग गरेको ठूलो घन उचालेर गोरेको टाउकामा हानिदिएँ । ऊ त्यहीँ फुत्रुक्क ढल्यो । केहीबेर त मैले उसलाई उठाउन पनि खोजेँ । पानी छम्किएँ, उसको मुखमा पानी हालिदिएँ । तर ऊ उठेन । एक शब्द पनि बोलेन । केही घन्टा त अब के गर्ने होला भनेर म त्यसै टोलाएर बसेँ ।
जब मिर्मिरे बिहान भयो त्यसपछि मैले प्रहरीमा आफै गएर खबर गरेँ ।’
बयान लिन बसेका प्रहरीहरुलाई सुकमायाको दर्दनाक घटनाले झस्काइदिएको थियो । उनीहरुमा सुकमायाप्रति अलिकति पनि शंका थिएन । आफ्नो जीवनरक्षाका निम्ति सुकमायाले गोरेमाथि आक्रमण गरेकी थिइ भन्ने कुरामा उनीहरु विश्वस्त थिए । उनीहरुले सुकमायालाई सकेसम्म कम जेल सजाय दिन लेखिपठाउने निर्णय गरे ।
जेलमा सुकमायाले छोरो जन्माई ।
छोराको अनुहार गोरेको जस्तो कुनै पनि कोणबाट थिएन, त्यो त हीराजस्तो थियो ।
त्यो नवजातको नाक थेप्चो थियो–
काटीकुटी हीराको जस्तो !
अागामी साता बजारमा अाउन लागेकाे पराजुलीकाे कथा संग्रह 'शुक्रराज शास्त्रीकाे चश्मा' कथा संग्रहबाट
प्रकाशित: ११ असार २०७३ ०९:०७ शनिबार