११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

बर्खा लागेसँगै सम्पर्क विच्छेद

झापा– प्रत्येक बर्खामा आफ्नो देशसँगै सम्पर्कविहीन बनेर बस्न बाध्य ‘मेचीपारिको नेपाल’का नेपालीको दुःखका दिन फेरि सुरु भएका छन् । मनसुन सक्रिय बनेर सातायता लगातार झरी परिरहँदा मेचीपारिका नेपालीको भने बिजोग हुने गरेको छ।

झापाका ज्यामिरगढी, महेशपुरलगायत ठाउँका केही वडा मेचीपारि पर्छन् । ती ठाउँमा बस्ने नेपालीका लागि आफ्नो सरकार र त्यसबाट पाउने सेवा–सुविधा आकासको फल बराबर बन्छ । मेची, पालिया, निन्दालगायत ३ वटा ठूला खोला तरेरमात्रै गाविस कार्यालय, नगरपालिका र सदरमुकाम आइपुग्ने उनीहरूको पीडा हरेक बर्खामा बल्झिन्छ । अन्य सबै कुरामा भारतीय भूमिमै निर्भर रहेपनि कानुनी कामका लागि भने उनीहरूलाई आफ्नै देशको प्रशासनिक सहायता जरुरी हुन्छ । त्यही सेवा लिन आउन पनि उनीहरूलाई अबको केही महिना असम्भव हुन्छ ।
‘अहिले सबै खोला बढेर तर्न नसकिने भएका छन्,’ ज्यामिरगढी–२, ग्वालबस्तीका मंगल राजवंशी भन्छन्, ‘गाविस जान अहिले भारतको लामो यात्रा गर्नुपर्छ ।’ छोरा सन्देशको नागरिकता बनाउने तयारीमा लागेका उनले ज्यामिरगढी गाविस कार्यालय पुग्न भारतीय बजार बतासी–पानीट्यांकीबीचको ५ किलोमिटर तथा काँकडभिट्टाबाट धुलाबारी हुँदै ज्यामिरगढी पुग्ने थप १० किलोमिटर बाटो छिचोल्नुपर्छ । यदि यसो नगरे उनीहरूले खोलामा पानी घटेको मौका छोप्नुको विकल्प छैन । यस्तो बाध्यतामा यहाँका डेढ सय घरपरिवार छन् ।

प्रत्येक सरकारले स्थानीयबासीलाई सुविधाका लागि मेची, पालिया, निन्दा ३ वटै खोलामा पुल बन्ने आश्वासन दिएको धेरैपटक भइसकेको छ । तर, २ दशकभन्दा लामो समयदेखि एउटै आशा देखिरहेका स्थानीयबासीले अब त्यो पत्याउन छाडेका छन् । ‘२५ वर्षमा एउटा खोलामा पुल बनेको छैन, ३ वटामा बन्ला भन्ने आशा पनि छैन,’ ग्वालबस्तीकै भाद्रु राजवंशी भन्छन्, ‘त्यस्तो आशा गर्नु बेकार छ ।’ उनका अनुसार हरेक चुनावमा गाउँलेको मत आकर्षित गर्ने मेलो दलहरूका लागि यिनै ३ खोलामा कहिल्यै बन्न नसक्ने पुल नै हुने गरेको छ ।

महेशपुरका मेचीपारि बस्ने नेपालीको अवस्था पनि ठ्याक्कै उस्तै छ । फरक यत्ति हो, उनीहरूले ज्यामिरगढीका नागरिकले जसरी ३ वटा खोला तर्नुपर्दैन । मेचीमात्रै पार गरे पुग्छ । तर, हरेक बर्खामा उर्लिने मेची यसै पार गर्ने कल्पना गाउँले सजिलै गर्न सक्दैनन् ।

उनीहरूको हातमा नेपाली नागरिकता छ तर भर सबै भारतको छ । बिजुली होस् अथवा पानी, सडक होस् या औषधोपचार, सबै कुरामा भारतकै भर पर्न बाध्य यहाँका नेपाली आफ्नो सरकारको उपस्थिति गाउँमा खोजिरहेका छन् । भारतको बिहार राज्यको सीमासँग  जोडिएको टापु आकारको नेपाली बस्तीका बासिन्दाको सधैं एउटै गुनासो हुन्छ, नेपालको सरकारले केही गरेन ।

दैनिक जीवनका आधारभूत आवश्यकता टार्न भारतकै भरमा बस्नुपर्ने उनीहरूको बाध्यता बिझाइलो छ । नेपाली नागरिकता बोकेका त्यहाँका  बासिन्दालाई बर्खा लागेपछि त झनै बिरानो अनुभव हुन्छ । ‘हामी कर नेपाललाई तिर्छौं, कर तिरेपछि राज्यले दिने सुविधा प्रयोग गर्न पाए हुन्थ्यो,’ यहाँका अधिकांश गाउँलेको समान गुनासो छ, ‘कर एकातिर बुझाउने, नागरिकता एकातिरको हुने अनि आफ्नै देशबाट केही सुविधा नपाउँदा हिनताबोध हुने रहेछ ।’

पहिलेको  महेशपुर–२ मा रहेको हाल भद्रपुर नगरपालिका–१ मा पर्ने मेचीपारिको यो गाउँ जब भद्रपुर नगरपालिकामै समेटियो, विकासका धेरै आश्वासनले स्थानीय पुलकित बने ।  तर, सरकारले देखाएको विकासे चासो अझै पूरा नहुँदा भने उनीहरूको चिन्ताको पारो झन्–झन् बढ्दै गएको छ । मेची नदी पारिको गाउँमा बसोबास गर्ने नागरिकको मागलाई सम्बोधन गर्दै नेपाल सरकारले नदीमा झोलुंगे पुल बनाउने योजना अघि सारेको लामो समय भइसकेको छ । बर्खामा बाढी चल्दा नेपालसँगको सम्पूर्ण सम्पर्क नै टुट्ने भएपछि सरकारले मेचीमा झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएको थियो ।  सरकारले पुल निर्माणनिम्ति बजेट छुट्याएर ठेक्का पनि लगायो ।

तर, ठेक्का लागेको ११ महिना बितिसक्दा निर्माणस्थलमा ठेकेदारले एक बन्डल रड, बालुवा र गिट्टी थुपारेर राखेको दृश्यमात्र देख्न पाइन्छ । काम कहिले सुरु हुने हो, टुंगो छैन ।

१८ महिनामा निर्माण कार्य सम्पन्न गर्नेगरी पुल बनाउने सम्झौता गरेको ठेकेदार कम्पनीले कामै अलपत्र पारेपछि स्थानीयमा निराशा छाएको छ । ‘कामको गति हेर्दा १८ महिना हैन, १८ वर्षै लाग्ने हो कि,’  स्थानीयबासी अरुण राजवंशी आशंका व्यक्त गर्छन् । कांग्रेस नेता तथा झापा क्षेत्र नं. ३ का  सांसद कृष्णप्रसाद सिटौलले ०७२ असोज ११ गते भव्य समारोहबीच पुलको शिलान्यास गर्दै मेचीपारिको दीर्घकालीन समस्या १८ महिनामा हट्ने विश्वास दिलाउँदै भाषण गरेका थिए ।

तर, ठेकेदार कम्पनीको लापरबाही र सरकारी बेवास्ताले अवस्था जस्ताको तस्तै रहेको छ । खोलामा पुल नहुँदा  बर्खाको समयमा आवतजावत गर्न स्थानीय डुंगाको प्रयोग गर्न बाध्य छन । बर्खा नजिकिँदै जाँदा  सरकारी सेवा–सुविधा लिन, विद्यालय तथा कलेज पढ्न, काम गर्न जान फेरि मेची नदी तैरिँदै जानुपर्ने बेला आइसकेको चिन्ताले गाउँमा सताउन थालेको छ।  

प्रकाशित: १० असार २०७३ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App