यी त प्रतिनिधिमूलक घटनामात्रै हुन्। यिनै सामाजिक कुप्रथाका कारण सुदूरपश्चिममा महिला सामाजिक हिंसामा पिल्सिन बाध्य छन्। महिला सामाजिक हिंसाकै कारण मृत्युको मुखमा धकेलिने गरेका छन्। सामाजिक कुसंस्कारकै कारण महिला समाजका हरेक गतिविधिमा अगाडि जान नसक्नुका साथै अकालमै मृत्युको मुखमा पुग्न बाध्य हुने गरेको महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको महिला अधिकार मञ्च अछाम अध्यक्ष अप्सरा कुँवर बताउँछिन्। 'लैंगिक रूपमा पनि देशको अन्य क्षेत्रभन्दा सुदूरपश्चिममा पुरुष सरह महिलाले सामाजिक कार्यक्रममा खुलेर सहभागी हुन पाउँदैनन्,' उनले भनिन्, 'जसले गर्दा महिलाले आफ्नो समस्या खुलेर राख्न पाउँदैनन्।' सामाजिक परिबन्धका कारण महिनावारी भएका समयमा गोठभित्रै बस्नुपर्ने बाध्यताले धेरैको अकालमै ज्यान पनि जाने गरेको उनले बताइन्। 'महिनावारी भएको समयमा गोठभित्र बस्दा सर्प, कीरा, बाघ भालुको आक्रमणबाट महिलाको ज्यान गएका तमामौ घटना घटेका छन्,' उनले भनिन्। अछाममा पछिल्लो तीन वर्षको तथ्यांकअनुसार आठ जना महिला तथा किशोरीको छाउपडी गोठमै विभिन्न कारणले मृत्यु भएको महिला तथा बालबालिका कार्यालयका बाल अधिकार अधिकृत प्रेम बुढाले बताए। उनले भने, 'महिनावारी भएको समयमा गोठमा बस्दा विभिन्न कारणले तीन किशोरी र पाँच महिलाको मृत्यु भएको छ।' विभिन्न संघसंस्थाले छाउपडी प्रथा निवारणका लागि कार्यक्रम सञ्चालन गरे पनि गाउँघरमा व्याप्त सामाजिक कुप्रथाका कारण घटना न्युनीकरण हुन नसकेको पत्रकार महासंघ अछाम अध्यक्ष रामबहादुर कुँवर बताउँछन्।
धार्मिक र सामाजिक संस्कारका कारण महिलाले खुलेर बाहिर आउन सक्ने स्थिति नरहेको सामाजिक क्षेत्रमा क्रियाशील डोटीका हेमराज जोशी बताउँछन्। उनले भने, 'सदरमुकाम बाहेक डोटीका ग्रामीण बस्तीमा अहिले पनि छाउपडी प्रथा कायमै छ।' सामाजिक क्षेत्रका उच्च ओहदामा महिला पुग्न नसक्नुले कुसंस्कारमै पिल्सिनुपरेको उनी बताउँछन्। बाटोघाटो नजिक मन्दिर, देवालय हुँदा पनि महिनावारी भएका महिलाले बाटो काटेर हिँड्नुपर्ने बाध्यता ग्रामीण बस्तीमा कामयमै रहेको उनी बताउँछन्। उनले भने, 'अहिले पनि गाउँघरमा महिनावारी भएका छात्रा तथा शिक्षिकाले विद्यालय जान नहुने सोँचाइ कायमै छ।' विभिन्न संघसंस्थाले जनचेतनाका कार्यक्रम लागू गरे पनि सामाजिक कुसंस्कारको प्रभावले महिलाहरू आफैं सामाजिक काममा, मेला जात्रा, विद्यालय जान नमान्ने गरेको उनी बताउँछन्। 'महिनावारी भएको सममयमा विभिन्न बहाना बनाएर सामाजिक काममा महिलाहरू अहिले पनि आउँदैनन्,' उनले भने।
सामाजिक कुसंस्कारको अर्को रूप बोक्सी प्रथा पनि तराई क्षेत्रमा बढ्दो छ। बोक्सीकै आरोपमा कैलालीको बेलादेवीपुरमा २०६९ चैत २३ गते क्रुर यातनाको सिकार बनेकी राजकुमारी रानाको मानिसक समस्याकै कारण गत मंसिरमा मृत्यु भएको छ। कथित बोक्सीको आरोपमा स्थानीयले मलमूत्र खुवाएर राजकुमारीलाई निर्घात कुटपिट गरेका थिए। घटनापछि उनी समाजमा सहज घुममिल हुन डराउने तथा उनको पहिलेको भन्दा व्यवहार पनि परिवर्तन भएको थियो। त्यही घटनामा शारीरिक तथा मानसिक यातना पाएकी उनको चिन्ताले मृत्यु भएको उनका परिवारजन बताउँछन्। आमामाथि पटकपटक दुर्व्यवहार भइरहे पनि समाजको डरले प्रहरीसमक्ष न्यायका लागि नपुगेको राजकुमारीका छोरा दलबहादुर बताउँछन्। उनले पछिल्लोपटक घटना हुँदा भने प्रहरी प्रशासनसहित संघसंस्थाका मान्छेले सहयोग गरेको बताए। छोराको मृत्यु भएको भन्दै स्थानीय धनसिंह राना, रामसिंह राना, मीरा राना र रामकुमारी रानाले राजकुमारीलाई बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार गरी यातना दिएका थिए।
मानसिक यातनाका कारण उनको मृत्यु भएको परिवारजनले बताउने गरेको ओरेक नेपाल धनगढीकी बिनु राना बताउँछिन्। उनले भनिन्, 'अपराधीलाई प्रशासनले अहिलेसम्म नसमातेका कारण यस्ता घटना अझै समाजमा नघट्लान् भन्न सकिँदैन।' सामाजिक हिंसाका कारण समाजबाट तिरस्कृत हुनुपर्ने मानसिकताले पीडित महिलाले आत्महत्याको बाटो रोज्ने गरेको तथ्याङ्कले देखाउने गरेको उनी बताउँछिन्। महिलाका प्रगतिका बाधक सामाजिक हिंसा नै प्रमुख कारण रहेको बताउँदै रानाले भनिन्, 'तराईमा घरेलु हिंसाका घटनाका साथै बहुविवाह, बलात्कार, यौन हिंसा, मानव बेचविखन र सामाजिक हिंसा (बोक्सी, छाउपडी) महिला प्रगतिको बाधक हो।'
पितृसत्तात्मक सोँच पनि महिला अगाडि बढ्न नदिने तगारो बनेको इन्सेक क्षेत्रीय कार्यालय धनगढीका कृष्ण बिक बताउँछन्। उनले भने, 'बोक्सीको निहुँमा कुटपिटका साथै गाउँ निकाला गरिनु, महिनावारी भएपछि खुला रूपमा सामाजिक कार्यक्रम, मेलापर्व, विद्यालयमा जान नपाउँदा महिला तथा बालिकामा सामाजिक हिंसाको छाप पर्ने गरेको छ।'
कानुनी अज्ञानताका कारण ग्रामीण भेगमा सामाजिक हिंसाका घटनामा वृद्धि भइरहेको अधिवक्ता पदम पाण्डेय बताउँछन्। लैङ्गिकताका आधारमा कुनै किसिमको भेदभाव गरिनु हुँदैन भन्ने नयाँ संविधानमा उल्लेख गरिएको बताउँदै उनले भने, 'नेपालको संविधान महिलामैत्री छ तर त्यो कार्यान्वय पक्ष फितलो हुँदा हिंसाका घटना बढ्ने गरेका छन्।'
सुदूरपश्चिममा महिला मात्रै काममा जोतिने र पति जाँड राक्सीमै भुल्ने प्रमुख समस्या रहेको बताउँदै जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक हिमबहादुर लामाले भने, 'पत्नी काममा खटिने र पति फुर्सदिलो बन्नु पनि घरेलु हिंसाको एउटा प्रकार हो।' उनले सामाजिक समस्याका रूपमा पहिलेदेखि नै यो संस्कार चल्दै आएकाले बताए। पुरुष र महिलालाई सँगै राखेर कानुनी ज्ञानका साथै सचेतना जगाउनु पर्ने उनले बताए। उनले भने, 'महिलालाई महिला अधिकारका बारेमा जानकारी गराउनुका साथै कानुनी उपचार पाउने उपाय र स्थानका बारेमा बुझाउनु जरुरी छ।'
महिला हिंसाका घटना घट्नेबित्तिकै गाउँघरमै मिलाउँदा पनि पीडकले प्रश्रय पाउने गरेको सरोकारवाला बताउँछन्। पीडकलाई उन्मुक्ति दिइँदा घटना दोहोरिने सम्भावना बढ्ने गरेको बताउँदै अधिकारकर्मी लवदेव भट्टले भने, '३५ दिन कटाएर घटना बाहिर आउने गरेकाले पनि पीडकले उन्मुक्ति पाउने गर्छ।' पीडक पक्ष चनाखो हुँदा पनि महिला हिंसाका घटना दोहोरिने गरेको उनी बताउँछन्। उनले भने, 'सुदूरपश्चिममा अन्य अपराधिक कृयाकलाप भन्दा पनि महिलाजन्य हिंसाका घटना बढ्ने गरेका छन्।' सामाजिक कुप्रथाका कारण महिला हिंसाका घटना घट्ने गरेको उनी बताउँछन्। धार्मिक र सांस्कृतिक पक्षले पनि महिलाजन्य हिंसाका घटना घटाउन सहयोग पुग्ने गरेको भट्टले बताए। महिलालाई शारीरिक र मानसिक मात्र नभइ श्रममा समेत विभेद हुने गरेको पाइएको छ। महिला र पुरुष मजदुरलाई ज्यालामा विभेद गरिँदा महिला मानसिक रूपमै कमजोर हुने गरेका छन्। श्रम विभेद पनि महिला प्रगतिको बाधक बनेको बताउँदै शिक्षक तीर्थराज पाण्डेयले भने, 'ज्यालामा गरिने विभेदले महिलालाई कमजोर देखाएको छ जसले गर्दा उनीहरूमाथि दयाको भावना जगाई यौनजन्य हिंसाका घटना घट्ने गरेका छन्।'
कुटपिट, गालीगलौज, घर निकाला, बहुविवाह, बलात्कार, यौनजन्य हिंसा, मानव बेचविखनका साथै सामाजिक हिंसा (बोक्सी प्रथा, छाउपडी र देउकी) नै सुदूरपश्चिममा महिला प्रगतिको बाधक बनेको छ।
प्रकाशित: १० पुस २०७२ २२:४६ शुक्रबार





-600x400.jpg)