२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

बाटैमा गायब पारिन्छन् सिलिन्डर

दाङ- मंसिर ३ गते भेरी ग्यास उद्योग, नेपालगन्जबाट दाङ घोराहीस्थित गौरादेवी सप्लायर्सका नाममा ८० सिलिन्डर एलपी ग्यास तोक लाग्यो। सोही रात ढुवानी गरिएका ती सिलिन्डर बिहान दाङस्थित डिलर आइपुग्दा २० वटा गायब थिए।

डिलरले ६० सिलिन्डर मात्रै पाएको उल्लेख गर्दै बाँकी उपभोक्तालाई रित्तै फर्कायो। तर, भेरी ग्यास उद्योगको वितरण लिस्टमा गौरादेवी सप्लायर्सलाई ८० सिलिन्डर नै रहेको उल्लेख छ। '३ गते गौरादेवीका लागि ८० सिलिन्डर ग्यास गएको छ,' उद्योगका जितेन्द्रलाल कर्णले नागरिकसँग टेलिफोनमा भने।

सोही लटमा घोराहीकै अर्को डिलर घिमिरे सप्लायर्सका लागि नेपालगन्जबाट २ सय ६२ सिलिन्डर ग्यास लोड भयो। तर, उक्त डिलरले पनि आएजति सबै ग्यास वितरण गरेन। दुवै डिलरका सञ्चालक आफूहरूले व्यक्तिगत फाइदाका लागि ग्यास नलुकाएको दाबी गर्छन्। उनीहरू भन्छन्, 'प्रहरी प्रशासनका लागि छुट्याइएको हो।'

मंसिर १७ मा अर्को लट ग्यास दाङका लागि पठाइयो। गौरादेवीले पछिल्लो लटमा १ सय १० सिलिन्डर पायो। तर, उसले ८० सिलिन्डर मात्र आएको भन्दै रातभर लाइन बसेका थुप्रै उपभोक्तालाई रित्तै हात फर्काइदियो।

घिमिरे सप्लायर्सको रबैया पनि यो लटमा उस्तै देखियो। ३ सय ६० सिलिन्डर ग्यास भिœयाएको यो डिलरले चिकित्सकका नाममा केही सिलिन्डर लुकाइछाड्यो। 'राप्ती उपक्षेत्रीय अस्पतालका डाक्टरसा'पले भनिराख्नुभएको थियो,' डिलर सञ्चालक कृष्ण घिमिरेले भने, 'उहाँहरूका लागि केही सिलिन्डर राखिदिएको हुँ।' पहुँचवालालाई खुसी पार्न उपभोक्ताको भाग काटिरहेका विक्रेताहरू ग्यासका लागि घन्टौं डिलर चहार्ने सर्वसाधारणलाई दिनुपर्दा भने खुलेआम मोलमोलाइमा उत्रन्छन्।

केही दिनअघि जिल्लामा मनकामना ग्यास भित्रियो। घोराहीकी पार्वती बस्नेत सिलिन्डर साट्न रित्तो सिलिन्डर बोकेर डिलर पुगिन्। पार्वतीले धेरै अनुरोध गर्दा विक्रेताले पूरै सिलिन्डर खरिद गर्ने भए मात्रै ग्यास दिने सर्त राखे। तर, मूल्य तोके– 'आधा सिलिन्डर ग्यासको ७ हजार।'

'आधा सिलिन्डर ग्यासलाई ७ हजार रुपैयाँ हाल्नुभन्दा दाउरामै पकाउन बेस भनेर फर्किएँ,' उनले भनिन्, 'अभावको मौकामा फाइदा लुट्ने प्रतिस्पर्धाजस्तै छ।'

जिल्लामा प्रहरी प्रशासनले छापा मार्ने डरले लुकाएको ग्यास छिमेकी गुहारेर बिक्री गरेका उदाहरण पनि छन्। केही दिनअघि एक डिलरले प्रशासनले ग्यास माग्दा ठाडै अस्वीकार गर्योम। केही समयपछि प्रहरी छापा मार्न आउन लागेको सुइँको विक्रेताले पाए। अनि घरभित्र लुकाइएका झन्डै ५० सिलिन्डर ग्यास तह लगाउनै हम्मेहम्मे भयो। ती विक्रेताले छिमेकी बोलाएर हतारहतारमा ग्यास बाँडेको अर्का एक विक्रेताले नाम उल्लेख नगर्ने सर्तमा बताए। 'ग्यास नदिएको झोकमा प्रशासन छापा मार्न आउन लागेको सुइँको पाएपछि पचास सिलिन्डर ग्यास हतार–हतार छिमेकीलाई बोलाएर बाँडिएको रहेछ,' उनले भने।

विक्रेताले ग्यास कालोबजारी नगरेको दाबी गरे पनि यी उदाहरणले उनीहरूको नियत प्रस्ट हुन्छ। उनीहरू सिलिन्डर लुकाएर कालोबजारी गरी तेब्बरभन्दा बढी मूल्यमा बेचिरहेका छन्। 'नत्र किन ग्यास जहिल्यै रातारात आउँछ?,' घोराहीका एक उपभोक्ताले प्रश्न गरे, 'रातिमा ल्याउनुको कारण बीचमा लुकाउन सजिलो होस् भन्ने नै हो।'

नाकाबन्दीयता दाङमा रातको समयमा मात्रै ग्यास भित्रिरहेको छ। जुनसुकै कम्पनीको ग्यास बिहान ५–६ बजेतिर मात्र आइपुग्छ। जिल्ला भित्रिनेमध्ये झन्डै ३५ प्रतिशत ग्यास कालोबजारी भई राजधानी गइरहेको विक्रेता नै बताउँछन्। तर, उपभोक्ताले नै काठमाडौंका आफन्तलाई कालोबजारीमार्फत ग्यास पठाएको उनीहरूको आरोप छ। 'हामीसँग ग्यास भित्रिएको यकिन तथ्यांक त छैन,' दाङदेउखुरी ग्यास विक्रेता संघ अध्यक्ष नरेश कार्कीले भने, 'तर, व्यवसायीले गलत काम गरेका छैनन्।'

'प्रशासनका नाममा मनपरी'
विक्रेताले जिल्लामा आयात हुने पूरै ग्यास वितरण गर्दैनन्। यद्यपि प्रशासनका नाममा भएको 'लुट' का कारण आफूहरूले कालोबजारियाको आरोप खेप्नुपरेको उनीहरू दाबी गर्छन्। प्रशासनका नाममा ग्यासको असीमित मागका कारण सर्वसाधारण मर्कामा पर्ने गरेको व्यवसायी बताउँछन्। 'सेता नम्बरप्लेटका गाडीमा प्रशासनका नाममा ग्यास ओसारिन्छ,'संघ अध्यक्ष कार्कीले भने, 'प्रशासनका नाममा जाने ग्यासको कुनै सीमितता छैन।' उनले ग्यास वितरणका बेला ड्युटी बसेका प्रहरीले समेत ज्याला भन्दै ग्यास उठाउने गरेको बताए। 'जसले पायो त्यसले प्रशासनका नाम लैजान्छ,' कार्कीले भने, 'प्रशासनले यतिवटा सिलिन्डर भनेर कोटा छुट्याए मात्रै सहज हुनेछ।' ग्यासमा भइरहेको मनपरी नियन्त्रणका लागि विक्रेता संघले विक्रेतालाई सार्वजनिक सूचना जारी गरेरै सचेत गराएको छ। उसले ग्यास सिलिन्डर जिल्लाबाहिर निर्यात नगर्न, आधा सिलिन्डर ग्यासको मूल्य ७ सय रुपैयाँभन्दा बढी नलिन पनि आग्रह गरेको छ। तर, विक्रेताले भने ७.१ किलो (आधा सिलिन्डर) ग्यासमा प्रतिसिलिन्डर एक सय रूपैयाँ नाफा लिइरहेका छन्। उनीहरूले आधा ग्यासको प्रतिसिलिन्डरलाई ८ सय रुपैयाँमा बिक्री गर्ने गरेका छन्।

प्रकाशित: ५ पुस २०७२ २३:०० आइतबार