२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
विचार

युवा-सन्देश: बेग्लाबेग्लै परिस्थिति, साझा आकाङ्क्षा

हरेक वर्ष अगस्ट १२ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय युवा दिवसले फेरि एकपटक हामीलाई एउटा जटिल तर महत्त्वपूर्ण प्रश्नको सामना गराउँदै छ। के अफ्रिकाको कुनै सुदूर गाउँमा हुर्किएकी युवती र प्रशान्त महासागरको सानो टापुमा बसोबास गर्ने युवकको सपना एउटै हुन्छ ? संयुक्त राष्ट्रसंघले यसपटक ‘बेग्लाबेग्लै परिस्थिति, साझा आकाङ्क्षा’ भन्ने विषयवस्तु रोजेर यही प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छ।

यो विषयवस्तु किन महत्त्वपूर्ण छ?

संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभागले जारी गरेको अवधारणा–पत्रअनुसार, संसारभरका युवाहरूको बाँच्ने तरिका, अवसर र चुनौती फरक–फरक भए पनि उनीहरूले चाहने कुरा भने उस्तै–उस्तै छन्– मर्यादा, अवसर, अर्थपूर्ण सहभागिता, राम्रो रोजगारी, गुणस्तरीय शिक्षा र दिगो भविष्य।

यस वर्षको विषयवस्तुले विशेष गरी न्यून विकसित देश, भूपरिवेष्ठित विकासोन्मुख देश र साना टापु तथा विकासोन्मुख राष्ट्रमा बस्ने युवामा ध्यान केन्द्रित गरेको छ। यी देशका युवाले गरिबी, जलवायु परिवर्तन, भौगोलिक विकटता, सीमित आर्थिक अवसर र डिजिटल पहुँचको असमानताजस्ता एकापसमा गाँसिएका समस्याहरू भोग्दै आएका छन्।

तथ्यांकमा वास्तविकता

अवधारणा–पत्रमा उल्लेख भएका केही तथ्यांकले यी युवाहरूको वास्तविकता छर्लंग पार्ने छन्। उच्च आयस्तरका देशहरूमा सन् २०२३ मा करिब ९३ प्रतिशत जनसंख्याले इन्टरनेट प्रयोग गर्थे तर अल्पविकसित देशहरूमा यो अंक जम्मा ३५ प्रतिशत र भूपरिवेष्ठित विकासोन्मुख देशहरूमा ३९ प्रतिशत मात्र थियो। अल्पविकसित देशका युवामध्ये करिब एकतिहाइ मात्र इन्टरनेटसँग जोडिएका छन्।

साना टापु विकासोन्मुख राष्ट्रहरूले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनको एक प्रतिशतभन्दा पनि कम योगदान गर्छन् तर समुद्री सतह वृद्धि, चक्रवात र तटीय क्षयीकरणको सबैभन्दा ठुलो मार भने यिनै मुलुकका युवाले खप्नुपरेको छ।

सन् १९७० देखि २०२० सम्ममा मौसम र जलवायुजन्य विपत्तिका कारण यी राष्ट्रहरूले करिब १५३ अर्ब अमेरिकी डलर बराबरको क्षति बेहोरेका छन्। विश्वभर युवा बेरोजगारीको दर वयस्कहरूको तुलनामा झन्डै तीन गुणा बढी छ। न्यून आय भएका देशहरूमा युवा प्रायः असंगठित र असुरक्षित रोजगारीमा काम गर्न बाध्य छन्। यी चुनौतीका बाबजुद यी देशका युवाहरू पछि परेका छैनन्। बरु अग्रपंक्तिमा उभिएका छन्।

साझा जिम्मेवारी, साझा भविष्य

यस वर्षको युवा दिवस तीन सहायक विषयवस्तुमा केन्द्रित रहनेछ -

विश्वव्यापी एकता:  युवा विकास कुनै एउटा देशको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण विश्वसमुदायको साझा दायित्व हो भन्ने मान्यतामा जोड दिइएको छ।

साझा चुनौती: शिक्षा, रोजगारी, डिजिटल पहुँच, जलवायु परिवर्तन र मानसिक स्वास्थ्य जस्ता समस्या अब कुनै एउटा मुलुकमा मात्र सीमित छैनन्। यिनको स्वरूप फरक भए पनि यी विश्वव्यापी वास्तविकता बनिसकेका छन्।

युवा नवप्रवर्तन:  स्रोतसाधन थोरै भएका समुदायबाटै कहिलेकाहीं सबैभन्दा सिर्जनशील समाधानहरू निस्किने गरेको तथ्यलाई यसले उजागर गर्छ। यो विषयवस्तु स्यामोआ मार्गचित्र, दोहा कार्ययोजना, अवाजा कार्ययोजनालगायत युवासम्बन्धी विश्वव्यापी नीतिगत ढाँचाहरूसँग पनि मेल खान्छ, जसले गरिबी, असमानता र जलवायु जोखिमविरुद्ध समावेशी दृष्टिकोण अपनाउने प्रतिबद्धता जनाएका छन्।

एउटै साझा सन्देश

‘बेग्लाबेग्लै परिस्थिति, साझा आकाङ्क्षा’ भन्ने नारा हामी सबैका लागि सरल तर गहिरो सन्देश हो। जन्मस्थान, आर्थिक अवस्था वा भौगोलिक अवस्थिति जे भए पनि हरेक युवाको सपना उत्तिकै मूल्यवान छ र त्यो सपना साकार पार्ने अवसर पाउनु हरेक युवाको हक हो। विकासको यात्रामा कोही पनि नछुटून् भन्ने प्रतिबद्धता नै यस वर्षको युवा दिवसको मूल सार हो।

प्रकाशित: २७ श्रावण २०८३ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %