२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
विचार

राजनीतिमा महिला अस्तित्व

नेपाल भौगोलिक हिसाबले हिमाल, पहाड र तराई क्षेत्रमा प्राकृतिक सौन्दर्य, जलसम्पदा, मठमन्दिरले पर्यटकका लागि मनमोहक छ। श्रम र पौरखीहरू बसोबास गर्ने साथै विभिन्न जातजाति, धर्म, परम्परा र मौलिक भेषभूषाले झन् विश्वमा बेग्लै पहिचान बनाउन सफल नेपालको राजनीति क्षेत्रले पनि विश्वलाई चकित तुल्याएको छ। हालसम्म आइपुग्दा एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशका रूपमा रहेको छ, जहाँ जनताले आफ्नो प्रतिनिधि छानेर देशको शासन सञ्चालन गर्छन्।

राजनीति शब्द समाज, राज्य र शासनसँग सम्बन्धित व्यवस्था, निर्णय प्रक्रिया र शक्ति प्रयोगसँग जोडिएको विषय हो। यसको प्रमुख उद्देश्य व्यवस्थित बनाउनु, समाजमा शान्ति सुरक्षा कायम गर्नु तथा राजनीतिक स्थिरता कायम गर्नु हो। समाज र राज्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने महत्त्वपूर्ण हतियारका रूपमा राजनीतिलाई मान्न सकिन्छ। राजनीति समाज र राष्ट्र सञ्चालनको महत्त्वपूर्ण क्षेत्र हो, जहाँ नीति निर्माण, निर्णय प्रक्रिया र विकासका विभिन्न क्षेत्रहरू तय गरिएका हुन्छन्। यसरी तय गरिएका क्षेत्रमा महिलाको अस्तित्व समानता, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यताको आधार मानिएको हुन्छ।

राजनीतिमा महिलाको अस्तित्व भनेको निर्णय, नेतृत्व र नीतिनिर्माणमा महिलाको सहभागिता र भूमिका हो। विगतमा महिलामा एक किसिमको डर, त्रास थियो। यिनले के नै गर्न सक्छ र? भन्ने मानसिकता हाम्रो समाजमा झाँगिएको थियो। महिला नेतृत्वमाथि समाजले पाल्दै आएको भ्रम चिर्न आवश्यक छ। लामो समयदेखि राजनीति भनेको पुरुषप्रधान क्षेत्रका रूपमा रहेको भए पनि पछिल्ला वर्षहरूमा महिला सहभागिताले केही फड्को मारेको अहिलेको परिस्थितिले सकारात्मक प्रभाव पारेको छ।

हाम्रो आधा जनसंख्या महिलाले ओगटेको पनि, पारिवारिक हिसाबले घर व्यवहार चलाउन जति सक्षम रहे पनि राजनीति क्षेत्रमा अझै प्रतिनिधित्व कम छ। महिलाले राजनीतिक क्षेत्रमा प्रवेश गर्न सपना मात्र देखेर हुँदैन, त्यसलाई पूरा गर्न सक्ने साहस आवश्यक छ।

मुलुकमा लोकतान्त्रिक व्यवस्था लागु भएयता महिलाको राजनीतिक सहभागितामा प्रगति हुँदै आएको छ। यद्यपि महिला प्रतिनिधित्व अझै पुरुषको तुलनामा कम छ। परम्परागत रूपमा महिलालाई राजनीतिक क्षेत्रमा प्रवेश गर्ने अवसर निकै सीमित थियो। समाजमा महिलालाई घरपरिवारमा मात्र सीमित गरिन्थ्यो। समयको परिवर्तनसँगै शिक्षा, चेतना र अधिकार आन्दोलनका कारण महिलाले राजनीति क्षेत्रमा आफ्नो स्थान बनाउन थालेका छन्।

संविधानले महिलालाई राजनीतिक प्रतिनिधित्वमा न्यूनतम ३३ प्रतिशत कोटा सुनिश्चित गरेको छ तर अझै यसको सबै क्षेत्रमा कार्यान्वयन भएको छैन। प्रतिनिधित्वको कोटा पाउने हरेक सक्षम महिलाको चाहनाको विषय रहन्छ।

समाजको विकास र समृद्धिमा महिलाको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। महिला परिवारदेखि राष्ट्र निर्माणसम्मका हरेक क्षेत्रमा सक्रिय र जिम्मेवार रूपमा योगदान गर्न सक्ने प्रमुख शक्तिका प्रतीक हुन्। तसर्थ महिला सहभागिताबिना कुनै पनि समावेशी र सन्तुलित समाजको परिकल्पनासमेत सम्भव छैन। यसैले महिलालाई परिवारको आधारको एउटा महत्त्वपूर्ण स्तम्भका रूपमा लिन सकिन्छ।

आफ्ना सन्तानको पालनपोषण, संस्कार, शिक्षा र सन्तानसँग जोडिएका धेरै हदसम्मका प्रमुख जिम्मेवारी आमाकै रहन्छ। परम्परागत चलनअनुसार नेपालको परिवेशमा एउटा घरभित्र रहेका जिम्मेवार महिलालाई घरबाहिर निस्कन धेरै व्यवधान छन्।

आफूले भोगेदेखेका आर्थिक, सामाजिक, सांस्कृतिक तथा वैचारिक विभेद छन्, त्यसलाई चिरफार गर्न पनि राजनीतिक क्षेत्रमा महिलाको अग्रसरता महत्त्वपूर्ण छ। महिलाले राजनीतिमा पाइला नचालनेसम्म कुनै पनि बाहिरी वातावरणलगायत अन्य क्षेत्रबारे स्पष्ट रूपमा आफ्नो धारणा सार्वजनिक गर्न सक्दैनन्।

संवैधानिक र कानुनी प्रावधानले महिला सहभागिता बढाए पनि वास्तविक नेतृत्व र नीतिनिर्माणमा अझै पितृसत्तात्मक सोचका चुनौती महिलाले झेल्दै आउनुपरेको छ। महिलाको सहन शक्ति, सोच शक्ति र जिम्मेवारी बहन क्षमता प्रचुर मात्रामा रहेको छ।

 हामीले विगत वर्षहरूदेखि नै देख्दै आएका छौं कि जुनसुकै क्षेत्रका महिला अहिलेको बदलिँदो परिवेशसँगै सक्षम र निडर रूपमा राजनीतिक वा अन्य क्षेत्रमार्फत समाजमा सशक्तीकरणको अभियानलाई चुस्तदुरुस्त रूपमा फैलाइरहेका छन्।

पञ्चायतकालदेखि हालसम्मका चर्चित महिलाहरू मंगलादेवी सिंह, शैलजा आचार्य, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, बिन्दा पाण्डे, राधा ज्ञवाली, अनिता शाही साथै नेपालकै प्रथम महिला प्रधानन्यायाधीश एवं प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीलगायतलाई सम्पूर्ण महिलाका लागि प्रेरणाका स्रोत मान्न सकिन्छ ।

समाजमा महिला आफैं कमजोर होइनन्। कहींकतै आज पनि केही पुरुषप्रधान समाजले महिलालाई समाज र राजनीतिबाट टाढा राखेको भन्ने कुरा स्पष्ट रूपमा देख्न सकिन्छ। नेपालको सन्दर्भमा हाल संघीय संसद्मा महिलाले नीतिनिर्माण र कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। महिला संघीय संसद् र प्रदेशसभामा सहभागिता, स्थानीय तहको नेतृत्व, सामाजिक सुधार र समानतामा सक्रिय रहेका छन्। राजनीतिमा महिलाको अस्तित्व केवल प्रतिनिधित्वको विषय मात्र होइन।

महिला राजनीतिमा प्रवेश गर्नु पहिले परिवार, समाज, संघसंस्थाबाट थुप्रै कुरा सिक्नुपर्ने देखिन्छ। सहरीभन्दा ग्रामीण भेगका महिलाहरूबिच पनि फराकिलो खाडल रहेको भान हुन्छ। जुनसुकै क्षेत्रका महिला भए तापनि आफ्नो हकहित र समस्यालाई निराकरण गर्न सक्षम रही महिलाले जब आफ्नो विचारलाई राज्यको संरचना, देशलाई निकास कसरी दिने, आफ्नो चलिआएको धर्म र संस्कृतिलाई कसरी बचाइराख्ने भन्ने कुरामा स्पष्ट हुन्छन्, तब समाज, टोल, गाउँ, जिल्ला र नेपालको राजनीतिमा महिलाको वर्चस्व बढ्नुका साथै महिलालाई राजनीतिप्रति उत्तरदायी हुने मौका प्राप्त हुन्छ।

ऐतिहासिक संघर्ष, संवैधानिक व्यवस्था र बढ्दो सचेतनाका कारण महिलाहरूलाई राजनीतिमा आउन हुटहुटी बढेको छ। त्यसैले महिलालाई अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा आफ्नो घरपरिवार र विवाहित महिलाका लागि उनको श्रीमान्को प्रमुख भूमिका रहन्छ, जुन अहिलेको वर्तमान परिस्थितिले उजागर गरेको छ।  

राजनीतिमा महिलाको अस्तित्वलाई बलियो बनाउन विभिन्न उपायको आवश्यकता देखिन्छ। सबैभन्दा पहिले महिलामा नेतृत्व क्षमता विकासका लागि तालिम, अभिमुखीकरण र शैक्षिक अवसरहरू विस्तार गर्नुपर्छ। दलहरूको उम्मेदवारी र जिम्मेवारी वितरणमा समानता र पारदर्शिता अपनाउन आवश्यक छ। यसरी महिलालाई निर्णय तहमा अर्थपूर्ण रूपमा सहभागी गराउने वातावरण सिर्जना गर्न आवश्यक देखिन्छ।

अतः लोकतन्त्रको सफलता समावेशी र समान सहभागितामा निर्भर रहन्छ। महिलाको उपस्थिति मात्र नभई महिलाको प्रभावकारी र निर्णायक भूमिका सुनिश्चित गर्न आवश्यक छ। जब महिलाले नीतिनिर्माण र नेतृत्वमा सक्रिय र सशक्त भूमिका निर्वाह गर्छन्, तब मात्र समाजमा दिगो विकास र समानताको लक्ष्य हासिल गर्न सकिन्छ। त्यसैले राजनीतिमा महिलाको अस्तित्वलाई औपचारिक सहभागितामा मात्र सीमित नराखी वास्तविक सशक्तीकरणतर्फ उन्मुख गर्नैपर्ने आवश्यकता रहेको छ।

प्रकाशित: २७ फाल्गुन २०८२ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %