२२ मंसिर २०८२ सोमबार
image/svg+xml
विचार

ट्रम्प किन शैक्षिक संस्थामा हमला गर्दैछन्?

राजनीतिज्ञले विश्वविद्यालयको नेतृत्वलाई हटाउने, अनुसन्धान र शिक्षणमा हस्तक्षेप गर्ने र उनीहरूलाई उपलब्ध गराइँदै आइएको आर्थिक सहयोग कटौती गर्नेजस्ता कार्य गरेर विश्वविद्याललाई चुप लगाउने प्रयास गरे भने त्यसले विशेष सन्देश प्रवाह गरिरहेको हुन्छ। अर्थात् अमेरिका निरंकुशतातर्फ लम्किँदै छ र राष्ट्रपति डोनाल्ड ट्रम्पले शैक्षिक निकायमा मात्र होइन अन्य स्वतन्त्र संस्थालाई पनि आफ्नो निशाना बनाइरहेका छन् भनेर बुझ्नुपर्ने हुन्छ।

युनिभर्सिटी अफ भर्जिनियाका अध्यक्ष जेम्स ई रायनको राजीनामालाई प्रशासनले अमेरिकी उच्च शिक्षामाथि गरेको चौतर्फी आक्रमणको पछिल्लो र स्तब्ध पार्ने घटना ठानिँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आसेपासे र भर्जिनिया राज्य सरकारको राजनीतिक दबाबमा उनलाई राजीनामा गर्न दबाब दिइएको थियो।

रायनलाई युनिभर्सिटीको विविधता, समानता र समावेशिताका कार्यक्रमहरू खारेज गर्न ढिलो गरेको आरोप लगाइएको थियो। जुनको अन्त्यमा रायनले आफ्नो राजीनामा घोषणा गरेका थिए। संयुक्त राज्य अमेरिकाका प्रमुख विश्वविद्यालयहरूमा राजनीतिज्ञहरूले नियन्त्रण गर्नु असामान्य मानिन्छ तर यस्तो हस्तक्षेप असफल प्रजातन्त्रहरूमा सामान्य घटना हुन्छ।

 सत्तालोलुप राष्ट्रपति र प्रधानमन्त्रीहरूले विश्वविद्यालयको नेतृत्वमा आफ्ना बफादारहरूलाई भर्ती गर्छन्। उनीहरूले विश्वविद्यालयलाई दिइँदै आएको सहयोग अवरुद्ध गर्छन् र कतिपय अवस्थामा विश्वविद्यालय नै खारेज गर्छन्। ट्रम्पको युनिभर्सिटी अफ भर्जिनिया (हार्वर्ड, कोलम्बिया र अन्य धेरै शैक्षिक निकाय माथिको हमला) प्रकरणले यही शैलीलाई पछ्याएको मान्न सकिन्छ। यसलाई अमेरिका निरंकुशतातर्फको यात्रामा धकेलिँदै गएको भनेर बुझ्नुपर्छ।

प्रायः शीर्ष अमेरिकी विश्वविद्यालयहरू नस्लीय र समाजिक न्यायको नाममा अनावश्यक अभियान अर्थात् ‘वक कल्चर’ (खासगरी जातीय र लैंगिकरूपमा सामाजिक र राजनीतिक अन्यायविरुद्ध जागरण) का गढ रहेको ट्रम्पको दाबी छ। सन् २०१३ मा उनले भनेजस्तै यी निकायले ‘माक्र्सवादी पागलपन र उन्माद’ को प्रतिनिधित्व गर्छन् र यस्तो पक्षधरतामा विश्वास गर्ने विश्वविद्यालयले विद्यार्थीलाई निष्पक्ष दृष्टिकोण दिन सक्दैनन्। ट्रम्प प्रशासनको स्पष्ट उद्देश्य यी संस्थाहरूलाई ‘दृष्टिकोण–तटस्थ’ बनाउनु रहेको दाबी गरिएको छ।

त्यसो त विश्वभरका अन्य दक्षिणपन्थी निरंकुश शासकहरूले पनि उच्च शिक्षामाथि हमला गर्दा यही तर्क दिएका छन्। उनीहरू आरोप लगाउँछन् ‘विश्वविद्यालयहरू अत्यधिक ‘प्रगतिशील’ बनेका छन्। त्योबाहेक अन्य कारण पनि छन्। वामपन्थी निरंकुश शासकहरूले विश्वविद्यालयहरू धेरै रूढीवादी भएको गुनासो गर्ने गर्छन्। केही राजनीतिज्ञले विश्वविद्यालयहरूलाई धेरै धर्मनिरपेक्ष वा धेरै धार्मिक भएको मान्न सक्छन्।

विश्वविद्यालयले आलोचना गर्न सक्ने भएकाले निरंकुश शासकहरूले यस्ता निकायलाई खतराका रूपमा हेर्छन्। उनीहरूको आलोचनात्मक अनुसन्धान गर्ने स्वतन्त्रताप्रति उनीहरूको विरोध रहन्छ। त्यसैले विश्वविद्यालयका यस्ता अधिकारलाई संस्थागत नियन्त्रण गर्न उनीहरू उद्यत् हुन्छन्।

उदाहरणका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई हेरौं। उनी सुरुमा निष्पक्ष र स्वतन्त्र चुनावबाट सत्तामा आए तर उनले प्रेसमाथि प्रतिबन्ध लगाए। उनले नियमसंगत तवरले गरिएका विरोध प्रदर्शनलाई दबाए र देशलाई निरंकुशतातर्फ धकेले। भर्खरै मात्र एर्दोगानले आफ्ना प्रमुख राजनीतिक प्रतिद्वन्द्वी, इस्तानबुलका मेयर इकराम इमामोउलुलाई जेल हाल्ने आदेश दिएका छन्।

आफ्नो शासनलाई सुदृढ पार्ने एउटा प्रयासका क्रममा एर्दोगानले प्रसिद्ध ब्वाजिची विश्वविद्यालयमाथि हमला गरिरहेका छन्। शैक्षिक उत्कृष्टता र सक्रिय विद्यार्थी संगठनका लागि यो एक प्रतिष्ठित सार्वजनिक संस्था हो। सन् २०१६ मा असफल ‘कू’को प्रयासपछि एर्दोगानले एउटा आदेश जारी गरे, जसअन्तर्गत राष्ट्रपतिलाई विश्वविद्यालयका रेक्टरहरू नियुक्त गर्ने अधिकार दिइयो। यो कार्य यसअघि सामान्यतया प्रोफेसरहरूले गर्ने गर्थे। त्यसको केही समयपछि उनले प्राज्ञको रोजाइ विपरीत ब्वाजिचीका बायोमेडिकल इन्जिनियरिङ विषयका प्रोफेसर मोहमद अज्कानलाई विश्वविद्यालयको प्रमुखमा नियुक्त गरे।

यसैगरी सन् २०२१ मा एर्दोगानले ब्वाजिचीको शैक्षिक स्वायत्ततालाई थप प्रतिबन्धित गरेर मेली बुलुलाई रेक्टर पदमा नियुक्त गरे। उनी विश्वविद्यालय बाहिरका व्यक्ति थिए र राष्ट्रपतिको पार्टीका बफादार। यसको विरोधमा कैयन विद्यार्थी प्रदर्शनहरू भए भने प्राज्ञद्वारा मौन विरोध प्रदर्शन भयो। एर्दोगानले प्रदर्शनकारीहरूलाई ‘कम्युनिस्ट, आतंकवादी र देशद्रोही’ को आरोप लगाए। उनीहरू विरुद्ध मुद्दा चलाइयो र नियन्त्रण गर्न सघाउने कार्यहरू पनि गरियो। यसले अन्ततः शीर्ष प्रतिभाहरूलाई पलायन हुन बाध्य पा¥यो।

एर्दोगानको पार्टीले राष्ट्रवादी–रूढीवादी गठबन्धनको प्रतिनिधित्व गर्छ। राजनीतिक दृष्टिले वामपन्थी र निरंकुश सोचका नेताहरूले विश्वविद्यालयहरूमाथिको हमलालाई आफ्नै शब्द र दृष्टिकोणसहित व्याख्या गर्छन्। सन् २०१८ र २०२४ बिच मेक्सिकोका राष्ट्रपति रहेका एएमएलओका नामले चिनिने आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले श्रमिकको न्यूनतम ज्याला बढाए र पेन्सन पाउनेहरूको संख्या पनि। जब उनले आफ्नो शक्ति सुदृढ गरे त्यसपछि मेक्सिकोका शीर्ष विश्वविद्यालयमा आक्रमण गर्न थाले र विश्व विद्यालयले अख्तियार गर्ने ‘नवउदारवाद’ को धारणाप्रति विरोध गर्न थाले। यस्तो शत्रुता र विवाद यतिसम्म बढ्यो कि मेक्सिकोका महान्यायाधिवक्ताले भ्रष्टाचारको आरोपमा ३१ शीर्ष वैज्ञानिकको समूहलाई पक्राउ गर्ने प्रयास समेत बारम्बार गरियो। यसले निकै ठूलो विवाद निम्त्यायो।

सरकारी हमलाका कारण मेक्सिकोका शीर्ष सार्वजनिक अनुसन्धान केन्द्रहरू प्रभावित भए। सेन्ट्रो डे इन्भेस्टिगेसन बाई डोसेन्सिया इकोनोमिका जस्तो प्रतिष्ठित अनुसन्धान केन्द्रका विद्यार्थीले सरकारले नियुक्त गरेका नयाँ निर्देशकको विरोध गरे। नवनियुक्त निर्देशकले धेरै प्रशासकको पद घटुवा गरे। निर्देशकसँगको द्वन्द्वको क्रममा, कैयन फ्याकल्टी सदस्यहरू अन्य विद्यालयहरूमा पलायन भए। त्यसो त केही निरंकुश शासकहरू स्वतन्त्र विश्वविद्यालयहरूको नेतृत्व परिवर्तन गरेर मात्र सन्तुष्ट हुँदैनन्।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सेन्ट्रल युरोपेली विश्वविद्यालयलाई बुढापेस्टबाट बाहिरिन बाध्य पारेकाले त्यसलाई भियनामा सारियो। नयाँ ठाउँमा पनि प्राज्ञहरूले उत्कृष्ट अनुसन्धान र शिक्षण जारी राखेका छन्। वैचारिक विभेदकै आधारमा निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगाले जेसुइट–द्वारा सञ्चालित सेन्ट्रल अमेरिकन युनिभर्सिटीलाई आफ्नो नियन्त्रणमा लिए। विश्वविद्यालयको नेतृत्व र कर्मचारीलाई बर्खास्त गरे। पार्टीका बफादारहरूलाई नियुक्त गरे र यसको नाम परिवर्तन गरे। भवनहरू मात्र उस्तै रहे।

जब राजनीतिज्ञहरूले विश्वविद्यालयमा आक्रमण गर्छन्, त्यो शैक्षिक संस्थामा मात्र सीमित हुँदैन। अमेरिका निरंकुशतातर्फ लम्किँदै जाँदा, ट्रम्पले अन्य स्वतन्त्र संस्थाहरूमाथि पनि आफ्नो निशाना बनाएका छन्। ट्रम्पले सञ्चार माध्यमदेखि कानुनी फर्महरू र न्यायाधीशहरूसम्म मूलतः प्रजातन्त्रका स्तम्भहरू नै भत्काउने प्रयास गर्दैछन्।

हो कैयनले प्रतिरोध गरिरहेका छन् तर धेरैले आत्मसमर्पण पनि गरिरहेका छन्। ट्रम्पको प्रजातान्त्रिक विरोधी व्यवहारलाई सामान्यीकरण गरिँदैछ। युनिभर्सिटी अफ भर्जिनिया थोमस जेफर्सनले स्थापना गरेका थिए। जेफर्सन अमेरिकी स्वतन्त्रताको घोषणापत्रका प्रमुख लेखकसमेत थिए। यो सन्दर्भमा निरंकुशताप्रतिको आत्मसमर्पण झन् धेरै बेदनायुक्त विषय बनेको छ।

प्रोजेक्ट सिन्डिकेटबाट

- लेखक सुसन स्टोक्स, युनिभर्सिटी अफ सिकागोकी राजनीतिक विज्ञानकी प्राध्यापक हुन्।

प्रकाशित: ३० असार २०८२ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App