नेपालका अधिकांश पहाडी भूभागमा आजभन्दा करिब २० वर्षअघि आमा, दिदी, बहिनी र भाउजूहरूको दैनिकी बिहानै उज्यालो नहुँदै गाग्री–डोको बोकेर कुवा, पँधेरो र खोलातर्फ धाउनबाट सुरु हुन्थ्यो। खानेपानीको जोहो गर्नु मात्र होइन, घरको सरसफाइ, कपडा धुने, खाना पकाउनेदेखि अधिकांश घरायसी कामहरू महिलाहरूसँगै जोडिएका थिए।
पानीको जोहो गर्दा भोग्नुपरेको पीडाले महिलाहरूलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि कति प्रभावित पारेको थियो होला र उनीहरूको व्यक्तिगत इच्छा र आकांक्षाहरू कति कुण्ठित भएका थिए होला? यो एक गाग्री पानी जोहो गर्न अहिले पनि लामो दुरी तय गर्ने महिलाहरूसँग कुराकानी गर्दा सहजै बुझ्न सकिन्छ।
मेरो जन्मघर गुल्मीमा अहिले ‘एक घर–एक धारा’मार्फत २४ घण्टा पानी उपलब्ध हुन थालेपछि आमाले आजभोलि सुनाउनुहुन्छ– पानी मात्र आएको होइन, यसले उहाँहरूको सपना साकार गर्न पनि सहयोग गरेको छ। ‘यस्तो सुविधा ३० वर्षअगाडि भइदिएको भए,’ उहाँ भन्नुहुन्छ ‘जीवन अहिलेभन्दा फरक हुने थियो।’
धेरैलाई खानेपानीको समस्या सामान्य जस्तो लाग्न सक्छ किनभने पानी अभावको वास्तविक पीडा सबैभन्दा बढी महिला र बालबालिकाले भोगेका हुन्छन्। उनीहरूलाई धेरै स्थानमा आफ्नो आवाज उठाउने अवसर पनि दिइँदैन। लुगा धुने, खाना बनाउने, कपडा धुने र पानीसँग जोडिएका अन्य धेरै गतिविधिलाई समाजमा अहिले पनि नजरअन्दाज गरिन्छ।
पानीको समस्या केवल दुर्गम गाउँहरूमा मात्र सीमित छैन, नेपालका विकसित भनिएका सहरहरूमा पनि यो समस्या फरक स्वरूपमा विद्यमान छ। सहरमा पनि पानीसँग महिलाहरू नै बढी जोडिएका छन्। वितरण गरिएको पानीको मात्रा र गुणस्तर नपुग्ने, पानीका लागि निजी क्षेत्रको भर पर्नुपर्ने, निजी क्षेत्रको पानीको मूल्य वहन गर्न नसक्ने घरपरिवारका महिलाहरू सहरमा पनि सामुदायिक इनार वा ढुंगेधारामा निर्भर छन्। ती स्थानमा पनि पानी भर्ने र कपडा धुनेमा महिलाहरू नै बढी देखिन्छन्। सहरमा पानी आउने तालिकामा फेरबदल, अपर्याप्त पानी र निजी क्षेत्रलाई महँगो तिर्नुपर्ने बाध्यताले महिलाहरू नै बढी मानसिक तथा आर्थिक दबाबमा छन्।
महिला र बालबालिकाहरूको पानीसम्बन्धी समस्या नेपालमा मात्र होइन, विश्वका अल्पविकसित र विकासउन्मुख देशहरूमा पनि देखिन्छ। विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ बालकोषको अध्ययनअनुसार आज पनि विश्वभर महिला र बालबालिकाहरूले पानीको जोहो गर्न दैनिक २० करोड घण्टा समय खर्च गर्नुपर्छ। उनीहरूलाई औसत रूपमा पानी लिनका लागि दुईदेखि ६ किलोमिटरसम्मको दुरी तय गर्नुपर्ने हुन्छ।
विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी महिलाहरू, जुन कुल महिलाहरूको करिब २७.१ प्रतिशत हो, सुरक्षित खानेपानी सेवाबाट वञ्चित छन्। तीमध्ये करिब २० करोड ५० लाख महिला असुरक्षित पानी पिउन बाध्य छन्। अझै पनि विश्वका ९.५ प्रतिशत महिला र बालबालिकाहरू चरम पानी संकटमा बाँचिरहेका छन्। ५३ देशमा गरिएको अध्ययनले देखाउँछ कि महिला र बालिकाले मात्र पानीको जोहो गर्न दैनिक २५ करोड घण्टा समय खर्च गर्छन्।
नेपालको संविधानको धारा ३५(४) ले खानेपानी तथा सरसफाइलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। गुणस्तरीय, पहुँचयोग्य, विभेदरहित, सर्वसुलभ र आर्थिक रूपमा धान्न सकिने पानी सबैलाई उपलब्ध हुनुपर्छ तर विडम्बना के छ भने अझै पनि मध्यपहाडी भूभागका बस्तीहरूमा महिलाहरूले पानीका लागि टाढा धाउनुपर्छ, बालबालिकाहरूले पानी बोक्दा विद्यालय जान पाउँदैनन् र विद्यालयमा पानी तथा सरसफाइको अभाव हुँदा महिनावारी भएका छात्राहरू विद्यालय जान हिचकिचाउँछन्।
समस्या नेपालका पहाडी भूभागमा मात्र होइन, तराई क्षेत्रमा पनि बढ्दो क्रममा छ। तराईमा पहिले घरघरमा चापाकलबाट सजिलै पानी पाइन्छ भन्ने मान्यता थियो तर पछिल्ला वर्षहरूमा परेको खडेरीले त्यहाँका महिलाहरूलाई पनि पुनः सास्ती दिएको छ र आगामी दिनमा स्थिति कस्तो हुने हो भन्ने अन्योल बढाएको छ।
यसका बाबजुद नेपालमा खानेपानीको पहुँच विस्तारका लागि महत्त्वपूर्ण कामहरू भएका छन्। विगत ३० वर्षमा यस क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। नेपाल सरकारको खानेपानी मन्त्रालयको तथ्यांक अनुसार ६२५ स्थानीय तहमा एनवासबाट संकलन गरिएको तथ्यांकले ४४.६ प्रतिशत जनसंख्याले पर्याप्त पानी प्राप्त गरेको देखाएको छ। हालैको बहुसूचक सर्वेक्षणअनुसार करिब ९८.८ प्रतिशत जनसंख्याले आधारभूत स्तरको खानेपानीमा पहुँच पुगेको देखाएको छ।
विकाससँगै जनसंख्या सहरतर्फ केन्द्रित हुँदा सहरमा पानीको समस्या नयाँ रूपमा देखा परेको छ। धेरै ठाउँमा धाराको पहुँच घरसम्म पुगे पनि पानी नियमित आउँदैन र कतिपय बस्तीहरू अझै पनि धाराबाट वञ्चित छन्। काठमाडौं उपत्यकामा धारा जडान भएर पनि पानी नआएको विगतका धेरै उदाहरण छन्। काठमाडौं उपत्यकाको वरिपरि कतिपय स्थानमा सेवा प्रदायकहरूसँग धारा जडानको निवेदन दिँदासमेत धारा जडान हुन सक्ने अवस्था छैन।
नीति निर्माणदेखि वित्तीय स्रोत व्यवस्थापनसम्म संलग्न सरकारी, विकास साझेदार र सरोकारवालाहरूका लागि खानेपानीमा लगानी केवल सेवा विस्तार मात्र नभई जीवनका सपनाहरू साकार पार्ने माध्यम हो, जसले समग्र विकासको आधार तयार गर्छ भन्ने बुझाइ अझ कम देखिन्छ। अध्ययनले खानेपानी तथा सरसफाइ क्षेत्रमा एक डलर लगानीले करिब सात डलरसम्म प्रतिफल दिन सक्छ, जसले स्वास्थ्य, पोषण र शिक्षामा उल्लेखनीय सुधार गर्छ भन्ने कुराको थप पैरवी गर्नुपर्ने देखिन्छ।
विश्वव्यापी रूपमा पानीको महत्त्व उजागर गर्दै सुरक्षित खानेपानी सबैका लागि सुनिश्चित हुनुपर्छ भन्ने मान्यतासहित सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाइँदै आएको छ। यस वर्ष ‘पानी र लैंगिक समानता’ विषयमा केन्द्रित यस दिवसले विश्वभरका नागरिकलाई प्राथमिकतामा राख्दै खानेपानी पहुँच विस्तारका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सन्देश दिन्छ।
नेपालमा समेत महिलाको अधिकार सुनिश्चितता, स्वास्थ्य सुधार र सशक्तीकरणका लागि ‘एक घर–एक धारा’मार्फत प्रत्येक नेपाली नागरिकलाई सुरक्षित पानीजस्ता कार्यक्रमहरूको सुदृढ कार्यान्वयन अपरिहार्य छ। जहाँ पानीको पहुँच सुनिश्चित हुन्छ, त्यहाँ समानता फस्टाउँछ र दिगो विकास लक्ष्य हासिलमा महŒवपूर्ण योगदान पुग्छ। यस सन्दर्भमा खानेपानीमा गरिएको लगानीले महिला तथा बालबालिकाको अधिकार सुदृढ गर्दै समतामूलक समाज निर्माणमा मार्ग प्रशस्त गर्छ।
प्रकाशित: ८ चैत्र २०८२ ०८:४१ आइतबार

