२९ असार २०८३ सोमबार
image/svg+xml
विचार

गोलको खुसीसँगै घरभित्र हिंसा

अठाेट

खेलकुद केवल मनोरञ्जन वा प्रतिस्पर्धाको माध्यम मात्र होइन, यो स्वस्थ, अनुशासित र सन्तुलित जीवनको आधार पनि हो। बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका हुन्छ। आजको डिजिटल युगमा धेरै बालबालिका खुला मैदानमा खेल्नुको सट्टा मोबाइल, भिडियो गेम र कम्प्युटर गेममा बढी समय बिताइरहेका छन्। यस्ता खेलले सीमित मात्रामा मनोरञ्जन दिए पनि अत्यधिक प्रयोगले मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती र सामाजिक व्यवहारमा नकारात्मक प्रभाव पार्ने तथ्य विभिन्न अध्ययनले देखाएका छन्। कतिपय अवस्थामा यस्ता खेलको लतका कारण बालबालिका र वयस्क दुवैको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको र उपचार तथा पुनःस्थापनाको आवश्यकतासमेत परेका उदाहरण छन्। त्यसैगरी बाहिरी खेलकुदप्रतिको घट्दो रुचिले बालबालिकामा शारीरिक निष्क्रियता र त्यसबाट उत्पन्न हुने स्वास्थ्य समस्याहरू पनि बढाइरहेको छ।

यही कारण खेलकुद स्वस्थ शरीर र स्वस्थ मन निर्माण गर्ने सबैभन्दा प्रभावकारी माध्यममध्ये एक हो। विडम्बना के छ भने विश्वकपजस्ता ठुला खेल प्रतियोगिताले समाजमा उत्साह र एकताको वातावरण सिर्जना गर्ने भए पनि कतिपय अवस्थामा महिला र बालबालिकामाथि हुने घरेलु हिंसा बढ्ने एउटा कम चर्चित तर गम्भीर पक्ष पनि उजागर भएको छ। अहिले विश्वकपको माहोल चलिरहेका बेला खेलको उज्यालो पक्षसँगै यस अँध्यारो यथार्थबारे पनि खुला रूपमा छलफल गर्नु आवश्यक छ। विश्वकप र यसका चर्चित खेलाडीले आफ्ना करोडौं समर्थकलाई महिला र बालबालिकामाथिको हिंसा अन्त्य गर्ने अभियानमा सहभागी हुन प्रेरित गर्ने समय अब आइसकेको छ।

सन् २०२६ जुन १७ मा इंग्ल्यान्डको राष्ट्रिय घरेलु हिंसाविरुद्ध काम गर्ने संस्था ‘वुमन्स एइड’ ले ‘द अदर किक अफ’ नामक नयाँ अभियान सुरु ग¥यो। यो अभियान इंग्ल्यान्डले आफ्नो पहिलो विश्वकप खेलेपछि घरेलु हिंसाका घटना बढ्ने अनुमान गरिएको समयलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्न केन्द्रित थियो। इंग्ल्यान्डको पहिलो खेल राति ९ बजे सुरु भए पनि ‘वुमन्स एइड’ले राति ११ः३७ बजेलाई धेरै महिला र बालबालिकाले सबैभन्दा बढी डराउने समयका रूपमा चित्रण ग¥यो किनकि यही समयमा खेल हेरेर फर्किएका हिंसात्मक स्वभाव भएका साझेदारहरू घर पुग्ने सम्भावना बढी हुन्छ।

यसअघि पनि ‘वुमन्स एइड’ले सन् २०२२ को फिफा विश्वकपका क्रममा ‘ही इज कमिङ होम’ नामक अभियान सञ्चालन गरेको थियो। त्यस अभियानले विश्वकपका बेला घरेलु हिंसाका घटनामा सम्भावित वृद्धि हुन सक्ने भएकाले सचेत रहन र तयारी गर्न सबैलाई आह्वान गरेको थियो। यस वर्ष प्रतीकात्मक रूपमा राति ११ः३७ बजेको समय इंग्ल्यान्डभर डिजिटल होर्डिङ, मोबाइल भ्यान तथा लन्डनका प्रमुख फ्यान जोन र फुटबल हेर्ने स्थलहरू नजिक राखिएका पोस्टरमार्फत सार्वजनिक गरियो। यस्ता अभियानको उद्देश्य हिंसा हुनुअघि नै मानिसलाई सोच्न बाध्य बनाउनुका साथै हिंसामा परेका महिलालाई उपलब्ध सहयोग सेवासम्म पुग्ने बाटो देखाउनु पनि हो।

हरेक चार वर्षमा विश्वभरका करोडौं फुटबल समर्थकहरू आफ्नो मनपर्ने टोलीको समर्थन गर्न फिफा विश्वकपको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन्। धेरै महिला र बालबालिकाका लागि विश्वकपको आगमन उत्साहको होइन, त्रासको विषय बन्न सक्छ। घरेलु हिंसाको जोखिम बढ्ने सम्भावनाले उनीहरूलाई चिन्तित बनाउँछ। दुर्भाग्यवश यो यथार्थबारे अझै धेरै मानिस अनभिज्ञ छन्। त्यसैले विशेषगरी फिफा विश्वकपजस्ता ठुला खेल प्रतियोगिताका बेला सार्वजनिक रूपमा पर्याप्त चर्चा हुन नसकेको यस गम्भीर विषयप्रति सचेतना फैलाउने उद्देश्यले यो लेख तयार गरिएको हो।

यस वर्षको फिफा विश्वकप संयुक्त रूपमा संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना भइरहेको छ। इतिहासकै सबैभन्दा ठुलो विश्वकप मानिएको यस प्रतियोगिताका खेलहरू विश्वभरका करोडौं मानिसले रंगशालामा प्रत्यक्ष तथा घरमै बसेर हेरिरहेका छन्। नेपाल पनि फुटबलप्रेमीहरूको देश हो। विश्वकप सुरु हुनुअघि नै साथीभाइ र परिवारका सदस्यहरू सँगै बसेर खेल हेर्ने योजना बनाउँछन्। बालबालिकाहरू पनि विभिन्न टोली र खेलाडीबारे जान्न उत्साहित हुन्छन्।

धेरैका लागि उत्सवको अवसर बनेको यही प्रतियोगिता घरेलु हिंसा भोगिसकेका वा अहिले पनि हिंसात्मक सम्बन्धमा बाँचिरहेका महिला र बालबालिकाका लागि भने त्रासको समय बन्न सक्छ। विश्वकपजस्ता ठुला खेल प्रतियोगिताले उनीहरूका पुराना पीडादायी अनुभवहरू फेरि सम्झाइदिन सक्छन् वा पुनः हिंसाको सिकार हुनुपर्ने डर बढाउन सक्छन्।

यनेस्को र युएन वुमनले प्रकाशित गरेको एक विश्वव्यापी मार्गदर्शिकाअनुसार केही समुदायहरूमा फिफा विश्वकपजस्ता ठुला खेल प्रतियोगिताका बेला घरेलु हिंसासम्बन्धी प्रहरीमा दर्ता हुने उजुरी एकतिहाइभन्दा बढीले वृद्धि हुने गरेको उल्लेख गरिएको छ। खेल आफैंले हिंसा गराउँदैन भन्ने कुरा स्पष्ट रूपमा बुझ्न आवश्यक छ तर अत्यधिक मदिरा सेवन, खेलसँग जोडिएका तीव्र भावनात्मक प्रतिक्रिया तथा पहिलेदेखि नै रहेको हिंसात्मक व्यवहारले हिंसाको जोखिम बढाउन सक्छ। यस विषयमा अझ धेरै अनुसन्धान आवश्यक भए पनि हालसम्म भएका धेरै अध्ययनले ठुला खेल प्रतियोगिताका क्रममा घरेलु हिंसामा वृद्धि हुने तथ्य प्रमाणित गरेका छन्।

सन् २०२२ मा ‘हेल्थ एन्ड सोसल केयर इन द कम्युनिटी’मा प्रकाशित ‘मेजर स्पोट्स इमेन्ट एन्ड डोमेस्टिक भोइलेन्स’ शीर्षकको अध्ययनले प्रमुख खेल प्रतियोगिता र घरेलु हिंसाबिच स्पष्ट सम्बन्ध रहेको देखाएको छ। अध्ययनले लैंगिक असमानता तथा हानिकारक पुरुषत्वसम्बन्धी सोच र व्यवहार यस्ता हिंसाका प्रमुख आधारभूत कारणमध्ये रहेको उल्लेख गरेको छ।

अनुसन्धानहरूले जित र हार दुवै अवस्थापछि घरेलु हिंसा बढ्न सक्ने देखाएका छन्। युनिभर्सिटी अफ लानकास्टरले सन् २०१४ मा गरेको अध्ययनअनुसार इंग्ल्यान्डको राष्ट्रिय टोली पराजित हुँदा घरेलु हिंसाका घटना ३८ प्रतिशतले बढेका थिए भने टोली विजयी हुँदा २६ प्रतिशतले वृद्धि भएको थियो। यिनै निष्कर्षले सन् २०२२ मा ‘ही इज कमिङ होम’ तथा यस वर्ष ‘द अदर किक अफ’जस्ता जनचेतनामूलक अभियान सञ्चालन गर्न प्रेरित गरेका हुन्।

प्रमुख खेल प्रतियोगिता, विशेषगरी पुरुष फुटबल प्रतियोगिताका बेला घरेलु हिंसा बढ्ने प्रमाणहरू बढ्दै गएका छन्। त्यसैले फिफा विश्वकपलाई घरेलु हिंसाविरुद्ध जनचेतना फैलाउने अवसरका रूपमा पनि लिनुपर्छ। घरभित्र हुने भएकाले यस्ता हिंसाका घटना धेरैजसो लुकेरै रहन्छन्। जहाँ यस्ता घटनामा वृद्धि भएको प्रमाण भेटिएको छ, त्यहाँ महिलालाई आवश्यक परे कहाँ र कसरी सहयोग लिन सकिन्छ भन्ने जानकारी दिनुपर्छ। अझ महत्त्वपूर्ण कुरा, सम्भावित हिंसाकर्तालाई लक्षित गरेर सचेतना फैलाउनु आवश्यक छ किनभने यस्ता घटना प्रायः अत्यधिक मदिरा तथा अन्य लागु पदार्थको सेवनसँग जोडिएका हुन्छन्। त्यसैले हिंसा हुनुअघि नै त्यसलाई रोक्ने प्रयासमा जोड दिनुपर्छ।

इंग्ल्यान्डमा प्रमुख फुटबल प्रतियोगिताका बेला घरेलु हिंसा बढ्ने प्रमाण भेटिएपछि इंग्ल्यान्ड र वेल्सका सरकारी अभियोजकहरूले पीडितहरूलाई निडर भएर उजुरी दिन आग्रह गरेका छन्। दोषीमाथि कानुनी कारबाही हुने उनीहरूको प्रतिबद्धता छ। नेसनल पुलिस चिप्स काउन्सिलका अनुसार गुइएफए युरो २०२४ का क्रममा मात्रै ३०० भन्दा बढी घरेलु हिंसाका घटनामा पीडितहरूले हिंसाकर्ताको व्यवहार फुटबलसँग सम्बन्धित रहेको बताएका थिए। त्यसैले यस विश्वकपका बेला पनि सम्बन्धित निकायहरूले घरेलु हिंसा नियन्त्रणलाई उच्च प्राथमिकता दिएका छन्।

नेपालमा पनि घरेलु हिंसाका घटना निरन्तर दर्ता भइरहेका छन्। यसलाई नियन्त्रण गर्न कानुन निर्माण तथा संशोधन भएका छन् र विभिन्न अभियानहरू पनि सञ्चालन गरिएका छन्। तर कानुनको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ। हालसम्म नेपालमा प्रमुख खेल प्रतियोगिताका बेला घरेलु हिंसा बढ्छ वा बढ्दैन भन्नेबारे अनुसन्धान उपलब्ध छैन तर अन्य देशका तथ्यहरूले यस्तो सम्भावनालाई बेवास्ता गर्न नमिल्ने सन्देश दिन्छन्। समयमै सचेतना फैलाउने र रोकथामका प्रयासलाई प्रभावकारी बनाउने हो भने यस्ता हिंसाका घटनालाई न्यूनीकरण गर्न सकिन्छ।

नेपालसहित विश्वभरका फुटबल समर्थकहरूले सन् २०२६ को फिफा विश्वकपको आनन्द लिइरहेका बेला एउटा यथार्थ भने हामीले बिर्सनुहुँदैन। यही उत्सवबिच कतिपय महिला र बालबालिका भने आफ्नो मनपर्ने टोली जितोस् वा हारोस्, घरेलु हिंसाको डरमा बाँचिरहेका हुन सक्छन्। त्यसैले प्रत्येक सेलेब्रिटी फुटबल खेलाडी र उनका समर्थकले घरेलु हिंसाबारे खुलेर कुरा गर्ने, हिंसात्मक व्यवहारको विरोध गर्ने र जहाँ यस्तो घटना देखिन्छ, त्यहाँ रोक्न पहल गर्ने सानो तर महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। खेलको वास्तविक भावना परिवार र समुदायलाई एकताबद्ध बनाउने हुनुपर्छ, उनीहरूलाई भयमा बाँच्न बाध्य बनाउने होइन।

प्रकाशित: १९ असार २०८३ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %