९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
विचार

आन्दोलनपछिको त्रिभुवन विश्वविद्यालय

विगतका केही दशकदेखि नेपालमा व्याप्त मौलाउँदै गएको भ्रष्ट्राचार जेनजीको दुई दिनको आन्दोलनले तहसनहस पारिदिएको छ भने भ्रष्ट्राचारमा संलग्न विभिन्न पार्टीको सत्ता नै ढालिदिएको छ।

देशैव्यापी रूपमा मौलाउँदै गएकोे भ्रटाचारको जग ध्वस्त पारेको छ। यसमा सम्पूर्ण स्वतन्त्र नागरिक खुसी नै देखिन्छन् भने उक्त शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाउने कलिला बालबालिकादेखि युवाहरूको ज्यानको आहुतिमा सम्पूर्ण नागरिकले कहिल्यै भुल्न नसकिने छाप पारको छ भने देशको लागि बलिदान दिनुहुने सम्पूर्ण सहिदमा आआफ्नो स्थानबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरिरहनुभएको छ। साथै देशैभरि नै भएको भौतिक संरचनाको क्षति भएकोमा अत्यन्तै दुःख व्यक्त गरिरहेका छन्, जुन कुनै पनि व्यवस्था परिवर्तनमा स्वतःस्फूर्त हुने स्वाभाविकै हो। यसलाई हामीले सकारात्मक रूपमै लिनुपर्छ।

देशले एकचोटि नयाँ नेपालको निर्माण गर्ने बाटो सुरुवात भएको छ। नेपाल एकदिन बन्छ भन्ने आशा पलाएको छ, यदि यो आन्दोलनले माग गरेका बुँदालाई सम्बोधन गरेको खण्डमा मात्र होइन भने भविष्यमा नेपाल नै नरहन सक्ने सम्भावना देखिन्छ।

देशका सम्पूर्ण नागरिकलाई जाहेरै छ कि भ्रष्टाचारले देशको कुनै पनि निकाय, क्षेत्र र स्थानमा अछुतो नभएको सन्दर्भमा म आफ्नो कार्यक्षेत्र त्रिभुवन विश्वविद्यालयको व्यथिति, कुनियम, भ्रष्टाचार, अनियमिताबारे आज देशमा नयाँ परिवर्तनको सन्दर्भ पारेर यहाँ प्रस्तुत गर्दैछु।

२७ वर्ष अगाडि म त्रिभुवन विश्वविद्यालयमा मुख्य कार्यालय सहायकका रूपमा प्रवेश गरेको थिएँ। म अहिले पनि त्यही पदमा कार्यरत छु। यसबाट त्रिभुवन विश्वविद्यालयको नीतिनियम, व्यवस्था, प्रशासनिक कार्यप्रणाली कस्तो छ भन्ने प्रस्ट हुन्छ। मजस्ता सयौं कर्मचारीहरू यसै मारमा छन् जो कुनै पनि पार्टीसँग आबद्ध नभई स्वतन्त्र रूपमा विश्वविद्यालयको कार्यमा निरन्तर सेवामा रहेका छौं।

देशकै सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय जसको एकमात्र उद्देश्य भनेको देशका नागरिकलाई सर्वसुलभ तरिकाले उच्चशिक्षा उपलब्ध गरी देशलाई आवश्यक जनशक्ति उत्पादन गर्ने हो तर यसको ठिक उल्टो विभिन्न राजनीतिक पार्टिबाट सञ्चालित एउटा संस्थाका रूपमा विश्वविद्यालय चलिआएको पुष्टि हुन्छ।

 विश्वविद्यालयको विभिन्न पदमा राजनीतिक भागबन्डा, कुनै पनि निजी क्याम्पस खोल्न, नयाँ विषय थप्न, हस्पिटलहरूमा मेडिसिन विषय पढाउन स्वीकृत दिँदा करोडौंको चलखेल हुने कुरा विभिन्न सञ्चार माध्यममा बेलाबेलामा सुनेकै छौं। जुन कुरा सम्बन्धित पदाधिकारीहरूलाई छानबिनको दायरामा ल्याउँदा अवश्य नै पुष्टि हुनेछ।

त्यति मात्र होइन, नक्कली मार्कसित किनबेच, पैसा लिएर गोल्डमेडलिस्टमा पार्ने, फेल भएका परीक्षार्थीसँग पैसा लिएर पास गराउने जस्ता कुकार्य पनि बेलाबेलामा भइरहेका प्रमाण पनि छरप्रस्टै भएको विभिन्न समयमा प्रकाशित भएका सञ्चार माध्यमबाटै थाहा पाएका छौं। जुन कार्यमा संलग्न भएका कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याउँदा पुष्टि भएको थियो।

त्यस्तै त्रिभुवन विश्वविद्यालयमा कर्मचारी भर्ना गर्ने निकाय सेवा आयागले पनि स्थापनाकालदेखि आफ्नो मान्छेलाई भर्ना गर्ने, राजनीतिक पहुँज भएका मान्छेलाई भर्ना गर्ने, राजनीतिक पार्टीका व्यक्तिलाई स्तरवृद्धि गर्नेजस्ता कुकार्यले विश्वविद्यालयमा राजनीतिक शक्ति हाबी हुनु स्वाभाविकै हो।

विगत केही वर्षअगाडि त्यस्ता कुकर्म गर्ने कर्मचारीलाई पर्केका थिए भने कुनै त्यस कार्यमा संलग्न कर्मचारीले आत्महत्या नै गरेको प्रमाण छ भने कोही कर्मचारी अहिलेसम्म पनि जेल जीवन बिताइरहेका छन्।

त्यति मात्र होइन, विश्वविद्यालय सञ्चालनका लागि देशैभरि हजारौं रापनी नागरिकका जग्गा अधिकरण गरी विश्वविद्यालय सञ्चालन गरिरहेकोमा हाल आएर हजारौं रोपनी जग्गा हिनामिना गरिएको तथ्य पनि त्रिवि जग्गा हिनामिना समितिबाट पुष्टि भएको प्रतिवेदन पनि विगतका सरकारले लुकाएको थियो। जसले गर्दा उक्त हजारौं रोपनी हिनामिना गर्ने व्यक्ति तथा संस्थाले राजनीतिक संरक्षणमा उक्त जग्गा फिर्ता गराउन सकेका छैनन्। त्यस्तै त्रिविको जग्गा लिज तथा भाडा दिएर पनि कयौं भष्ट्राचार भइरहेको हामी टुलुटुलु हेरिरहेका छौं।

देशका नागरिकलाई सुशासन, सुबुद्धि, सुनियम, सुव्यवस्था सिकाउने देशकै ठुलो विश्वविद्यालय आज जुन उद्देश्यसाथ स्थापना भएको थियो, त्यसको उल्टो दिशामा जाँदा स्वतन्त्र नागरिकलाई दुःख लाग्नु स्वाभाविकै हो। माथि उल्लेख गरिएका दुईतीन वटा निकायमा मात्र होइन, विश्वविद्यालयका अरू थुप्रै क्षेत्र पनि यस्ता भ्रष्टाचार, व्यथिति, कुनियमहरू व्याप्त भइरहेको छन्, जुन यहाँ प्रस्तुत गर्दा एउटा महाभारत नै तयार हुन्छ।

आज देशको ठुलो विश्वविद्यालयको हालत देखेर यहाँका स्वतन्त्र प्राध्यापक, कर्मचारीलगायत सम्पूर्ण नागरिकमा वितृष्णा जाग्नु स्वाभाविकै हो। यसलाई सुधार्न आज फेरि देशको नयाँ परिवर्तनसँगै आशा पनि पलाएको छ। यस्ता किसिमका अनियमित कार्यलाई रोक्न नयाँ सरकारले समयमै छानबिन गरी दोषीलाई कारबाही गरी त्रिभुवन विश्वविद्यालयलाई सुधारको बाटोमा लग्नेछ भन्ने सम्पूर्ण स्वतन्त्र नागरिकले आशा एवं विश्वास लिएको छ।

नयाँ नेपालको परिवर्तनसँगै त्रिभुवन विश्वविद्यालयलाई पनि नयाँ व्यस्थापनसँग अगाडि बढाउनको लागि जोडदार माग गर्छ, जसले सम्पूर्ण नेपालीको मानसम्मान, इज्जत, इमान्दारीमा सकारात्मक प्रभाव पार्नेछ।

प्रकाशित: १२ कार्तिक २०८२ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %