२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
विचार

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा बदल्ने समय

नेपालको विकासबारे चर्चा गर्दा हामी प्रायः युवा पलायन, बेरोजगारी, कमजोर अर्थतन्त्र र अवसरको अभावलाई प्रमुख समस्याका रूपमा प्रस्तुत गर्छौं। हरेक वर्ष हजारौं युवाले उच्च शिक्षा, रोजगारी र सुरक्षित भविष्यको खोजीमा देश छाडिरहेका छन्। उनीहरू विदेश जान चाहनुका पछाडि केवल बढी आम्दानीको चाहना छैन, आफ्नै क्षमता पहिचान गर्ने अवसर, नयाँ विचार कार्यान्वयन गर्ने वातावरण र सम्मानजनक जीवन जिउने आकांक्षा पनि छन्। त्यसैले आज नेपालको सबैभन्दा ठुलो चुनौती युवालाई विदेश जानबाट रोक्नु मात्र होइन, उनीहरूले आफ्नै देशमा भविष्य देख्न सक्ने वातावरण निर्माण गर्नु पनि हो। यसका लागि स्टार्टअप र नवप्रवर्तनमा आधारित उद्यमशीलता अब विकल्प होइन, राष्ट्रिय आवश्यकता बनिसकेको छ।

हालै काठमाडौंका विश्वविद्यालयमा युवासँग गरिएको कार्यशाला तथा अन्तरक्रियाले मलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ–नेपालका युवामा सम्भावनाको कमी छैन तर सम्भावनालाई व्यवसायमा रूपान्तरण गर्ने प्रणाली कमजोर छ। त्यहाँ भेटिएका धेरै विद्यार्थी आफ्नै देशमा बसेर केही गर्न चाहन्थे। उनीहरूसँग नयाँ विचार थिए, प्रविधिको ज्ञान थियो, समस्या पहिचान गर्ने क्षमता थियो र समाज तथा अर्थतन्त्रमा योगदान गर्ने चाहना पनि थियो। उनीहरूका प्रश्नले हाम्रो विकासको वास्तविक चुनौती उजागर गरिरहेका थिए। उनीहरू सोधिरहेका थिए -हामी नेपालमै बसेर कस्तो व्यवसाय सुरु गर्न सक्छौं? हाम्रो नयाँ विचारलाई बजारसम्म कसरी पुर्‍याउने? लगानी कहाँबाट प्राप्त गर्ने? हामीसँग ज्ञान र सिप छ तर व्यवसाय सुरु गर्न आवश्यक पुँजी छैन भने के गर्ने? हामीले उत्पादन गरेको वस्तु वा सेवा कसले किन्छ भन्ने निश्चितता छैन भने जोखिम कसरी लिने? सरकारले नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने नीति कहिले बनाउँछ?

यी प्रश्न सामान्य विद्यार्थीका जिज्ञासा मात्र होइनन्। यी प्रश्न नेपालको आर्थिक भविष्यसँग जोडिएका छन्। युवाले देशमा सम्भावना खोजिरहेका छन् तर उनीहरूलाई सम्भावनाबाट सफलतासम्म पुग्ने बाटो देखाउने जिम्मेवारी राज्य, निजी क्षेत्र, शैक्षिक संस्था र वित्तीय क्षेत्रको हो।

ज्ञान छ, विचार छ तर अवसर कहाँ छ?

हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई ज्ञान र प्रमाणपत्र दिन्छ तर ज्ञानलाई उत्पादनमा, विचारलाई व्यवसायमा र सिपलाई रोजगारीमा रूपान्तरण गर्ने व्यावहारिक अवसर पर्याप्त दिन सकेको छैन। विश्वविद्यालयबाट निस्किएको विद्यार्थीले जागिर खोज्न सिक्छ तर आफैंले रोजगारी सिर्जना गर्ने उद्यमी बन्न आवश्यक मार्गदर्शन, लगानी, बजार सम्पर्क र व्यावसायिक सञ्जाल पाउन कठिन हुन्छ। यहींनेर स्टार्टअपको महत्त्व सुरु हुन्छ।

स्टार्टअप भनेको सानो पसल खोल्नु वा कुनै व्यवसायको नाम राख्नु मात्र होइन, नयाँ विचार, प्रविधि, सेवा वा उत्पादनमार्फत कुनै समस्या समाधान गर्ने, त्यसलाई बजारमा परीक्षण गर्ने र विस्तार गर्न सकिने व्यवसाय निर्माण गर्ने प्रक्रिया हो।

नेपालको सन्दर्भमा कृषि प्रविधि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, डिजिटल सेवा, शिक्षा, स्वास्थ्य, जडीबुटी, स्थानीय उत्पादन, वातावरणमैत्री उद्योग र सिर्जनात्मक अर्थतन्त्रमा असंख्य सम्भावना छन्। हाम्रा गाउँमा उत्पादन हुने कृषि उपजले उचित बजार पाएका छैनन्। स्थानीय जडीबुटी र परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्न सकिएको छैन। समस्या सम्भावना नहुनु होइन, सम्भावनालाई व्यावसायिक सफलतामा बदल्ने संयन्त्र कमजोर हुनु हो।

‘ब्रेन ड्रेन’ होइन, ‘ब्रेन गेन’ अभियान

युवा विदेश जानुलाई केवल व्यक्तिगत निर्णयका रूपमा हेरेर हाम्रो जिम्मेवारी पूरा हुँदैन। युवाले विदेशमा ज्ञान, प्रविधि, पुँजी र अनुभव हासिल गर्नु सकारात्मक पक्ष पनि हो। तर उनीहरूले सिकेको ज्ञान र क्षमता नेपालमा उपयोग गर्न नपाउनु, देशभित्र अवसर नदेख्नु र आफ्नो भविष्य निर्माण गर्न नसक्नु गम्भीर चिन्ताको विषय हो।

हामीले अब युवालाई विदेश नजान आग्रह गर्ने भाषणभन्दा नेपालमै बस्दा के प्राप्त गर्न सक्छन् भन्ने ठोस उत्तर दिनुपर्छ। देशभित्र रोजगारी, उद्यमशीलता, अनुसन्धान, नवप्रवर्तन र लगानीको अवसर सिर्जना गर्नुपर्छ। विदेशमा रहेका नेपाली युवा, लगानीकर्ता र विज्ञलाई पनि स्वदेशको आर्थिक विकाससँग जोड्नुपर्छ।

यही सोचले ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा बदल्न सक्छ। ‘ब्रेन गेन’को अर्थ विदेशबाट सबै युवा फर्कनुपर्छ भन्ने मात्र होइन, विदेशमा रहेका नेपालीको ज्ञान, सिप, पुँजी, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालका उद्यमसँग जोड्नु पनि हो, साथै नेपालमा बसेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्नु हो, एवं विदेशमा सफल भएका नेपाली उद्यमीले स्वदेशका युवालाई लगानी, परामर्श र बजार पहुँच उपलब्ध गराउन सक्ने प्रणाली बनाउनु हो। युवालाई देशप्रेमको उपदेश दिनुभन्दा देशमै सम्भावना अनुभव गराउन सक्नुपर्छ। देशप्रेम भावना हो तर त्यसलाई टिकाइराख्ने आधार अवसर, विश्वास र सम्मानजनक जीवन हो।

प्रत्येक प्रदेशबाट राष्ट्रिय स्टार्टअप अभियान

विश्वविद्यालयमा युवासँग भएका छलफल र उनीहरूका जिज्ञासाले हामीलाई एउटा व्यावहारिक पहलतर्फ अघि बढ्न प्रेरित गरेका छन्। अब स्टार्टअपसम्बन्धी अभियानलाई काठमाडौंका सभा, गोष्ठी र सीमित छलफलमा मात्र केन्द्रित राख्नु हुँदैन। यसलाई देशका सातवटै प्रदेशमा पुर्‍याउनुपर्छ। यसै सोचसाथ हामीले गण्डकी प्रदेशबाट स्टार्टअप समिट अभियान सुरु गर्ने र त्यसपछि क्रमशः अन्य प्रदेशमा विस्तार गर्ने योजना बनाएका छौं।

प्रत्येक प्रदेशमा त्यहाँका युवाको नवीन सोच, स्थानीय स्रोत, उत्पादन क्षमता र आर्थिक सम्भावनालाई पहिचान गरिनेछ। आफ्नै ठाउँमा बसेर उद्यम गर्न चाहने, नयाँ प्रविधि प्रयोग गर्न खोज्ने र स्थानीय समस्याको समाधान निकाल्न सक्ने युवालाई प्रोत्साहित गरिनेछ।

हाम्रो उद्देश्य केवल कार्यक्रम आयोजना गर्नु होइन, प्रत्येक प्रदेशबाट सम्भावनायुक्त स्टार्टअप पहिचान गर्नु, उनीहरूलाई लगानीकर्ता तथा व्यावसायिक साझेदारसँग जोड्नु, आवश्यक परामर्श र तालिम उपलब्ध गराउनु र उनीहरूको उद्यमलाई विस्तार गर्न सहयोग पुर्‍याउनु हो।

प्रदेशस्तरीय समिटहरूबाट छनोट भएका नवीन विचार र उद्यमीलाई जोडेर काठमाडौंमा राष्ट्रिय स्तरको बृहत् स्टार्टअप समिट आयोजना गर्ने हाम्रो परिकल्पना छ। यसले सातै प्रदेशका युवा, उद्यमी, लगानीकर्ता, सरकारी प्रतिनिधि, कूटनीतिक नियोग र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउनेछ। हामी युवालाई केवल आफ्ना विचार प्रस्तुत गर्ने अवसर दिन चाहँदैनौं, उनीहरूको विचारलाई लगानी, बजार र नीतिगत सहयोगसम्म पुर्‍याउने पुल निर्माण गर्न चाहन्छौं।

लगानीकर्ता र कूटनीतिक नियोगको भूमिका

नेपालका युवामा विचार छन् तर धेरैसँग व्यवसाय सुरु गर्न आवश्यक प्रारम्भिक पुँजी छैन। बैंकबाट ऋण लिन धितो चाहिन्छ, लगानीकर्तासम्म पुग्न पहुँच चाहिन्छ र बजारमा प्रवेश गर्न व्यावसायिक अनुभव चाहिन्छ। नयाँ उद्यमीका लागि यी सबै अवरोध एकैपटक पार गर्नु सजिलो छैन। त्यसैले स्टार्टअप अभियानमा स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता अत्यन्त महत्त्वपूर्ण हुन्छ।

विशेष गरी संयुक्त अरब इमिरेट्स (युएई) लगायतका देशका कूटनीतिक नियोगलाई नेपालका युवा उद्यमी र अन्तर्राष्ट्रिय व्यावसायिक समुदायबिच सहकार्यको वातावरण निर्माणको आग्रह गर्न सकिन्छ।

हाम्रो अपेक्षा केवल अतिथिका रूपमा राजदूत वा व्यवसायीलाई कार्यक्रममा आमन्त्रण गर्नु होइन। सम्बन्धित देशका लगानीकर्ता, उद्योगी, प्रविधि विज्ञ र बजार प्रतिनिधिलाई नेपालका युवासँग प्रत्यक्ष संवाद गराउने हो। उनीहरूलाई नेपाली युवाका नवीन विचार बुझ्ने, सम्भाव्य व्यवसायमा लगानी गर्ने, प्रविधि हस्तान्तरण गर्ने र संयुक्त उद्यम स्थापना गर्ने अवसर उपलब्ध गराउने हो।

स्टार्टअपमैत्री नीति अब ढिलाइ नगरी बनाऔं

नेपालमा स्टार्टअपको भविष्य केवल युवाको मेहनत र सिर्जनशीलतामा निर्भर हुँदैन। त्यसलाई सहयोग गर्ने राज्यको नीतिगत संरचना पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। सरकारले नयाँ उद्यम सुरु गर्ने प्रक्रिया सरल बनाउनुपर्छ। व्यवसाय दर्ता, करसम्बन्धी प्रक्रिया, आवश्यक अनुमति र प्रशासनिक झन्झटलाई सकेसम्म सहज बनाउनुपर्छ।

नवीन विचार भएका तर धितो राख्ने सम्पत्ति नभएका युवाका लागि उपयुक्त वित्तीय साधन विकास गर्नुपर्छ। सम्भावनायुक्त स्टार्टअपलाई प्रतिस्पर्धात्मक आधारमा सहुलियतपूर्ण कर्जा, प्रारम्भिक पुँजी, नवप्रवर्तन अनुदान र लगानीकर्तासँग जोडिने अवसर उपलब्ध गराउनुपर्छ।

यसको ज्वलन्त उदाहरण विगत ३ वर्षको स्टार्टअप कर्जा लिनका लागि झन्डै २० हजार आवेदन त सरकारी कार्यालयमै भएको देखिन्छ। यसबाट के बुझिन्छ भने नेपालमा व्यवसाय गर्ने युवा जमातको खाँचो होइन, पर्याप्त वितरण गर्न सक्ने पुँजीको खाँचो देखिन्छ।

त्यसैगरी, २० हजारमा १६ सय हाराहारीले मात्र कर्जा पाउँदा बाँकी इच्छुकहरू के गर्दै छन्, त्यसको समेत अनुसन्धान गर्नु जरुरी छ। यस्तै, विश्वविद्यालयमा इन्क्युबेसन केन्द्र, व्यवसाय विकास परामर्श, प्राविधिक प्रयोगशाला र बजार परीक्षणको सुविधा विस्तार गर्नुपर्छ। विद्यार्थीले पढाइ पूरा गरेपछि मात्र उद्यमशीलता सुरु गर्नुपर्ने होइन, अध्ययनकै क्रममा आफ्ना विचार परीक्षण गर्ने र व्यावसायिक सिप हासिल गर्ने अवसर पाउनुपर्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, स्टार्टअप नीतिमा घोषणा मात्र होइन, कार्यान्वयन, पारदर्शिता र परिणाम चाहिन्छ। कति युवाले उद्यम सुरु गरे, कति व्यवसाय टिके, कति रोजगारी सिर्जना भयो, कति महिला तथा ग्रामीण युवा लाभान्वित भए र कति उद्यम अन्तर्राष्ट्रिय बजारसम्म पुगे भन्ने आधारमा प्रगति मूल्यांकन गर्नुपर्छ।

साना तथा मझौला उद्यमलाई बिर्सन मिल्दैन

नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। यी उद्यमले स्थानीय रोजगारी सिर्जना गर्छन्, परिवारको आम्दानी बढाउँछन्, स्थानीय उत्पादनलाई बजारसँग जोड्छन् र आर्थिक गतिविधिलाई समुदायसम्म पुर्‍याउँछन्। त्यसैले स्टार्टअपको बहसलाई केवल प्रविधिमा आधारित कम्पनी वा ठुलो लगानीका व्यवसायमा सीमित गर्नु हुँदैन।

स्थानीय खाद्य उत्पादन, हस्तकला, पर्यटन सेवा, कृषि प्रशोधन, कपडा, जडीबुटी, डिजिटल बजार, घरेलु उद्योग र महिलाले सञ्चालन गरेका व्यवसाय पनि नवप्रवर्तनमार्फत विस्तार हुन सक्छन्। परम्परागत व्यवसायलाई नयाँ प्रविधि, गुणस्तर, ब्रान्डिङ, प्याकेजिङ र बजार व्यवस्थापनसँग जोड्न सकियो भने ती व्यवसायले पनि नयाँ रोजगारी सिर्जना गर्न सक्छन्।

नेपालका धेरै युवा र महिलाले सानो पुँजीबाट व्यवसाय सुरु गर्छन्। उनीहरूलाई औपचारिक अर्थतन्त्रमा जोड्ने, वित्तीय पहुँच बढाउने र व्यवसाय विस्तार गर्न सहयोग गर्ने नीति आवश्यक छ। स्टार्टअप र साना तथा मझौला उद्यमबिच सहकार्य बढाउन सके अर्थतन्त्रको आधार फराकिलो बनाउन सकिन्छ।

अब युवालाई प्रश्न होइन, अवसर दिनुपर्छ

आज नेपाललाई युवाले के गर्न सकेनन् भनेर प्रश्न गर्नेभन्दा उनीहरूले के गर्न सक्छन् भन्ने वातावरण निर्माण गर्ने नेतृत्व चाहिएको छ। युवासँग ज्ञान छ भने त्यसलाई उपयोग गर्ने प्रयोगशाला चाहिन्छ। उनीहरूसँग विचार छ भने त्यसलाई परीक्षण गर्ने बजार चाहिन्छ, उद्यम गर्ने इच्छा छ भने वित्तीय पहुँच चाहिन्छ, जोखिम लिने साहस छ भने असफलताबाट फेरि उठ्न सहयोग गर्ने प्रणाली चाहिन्छ।

स्टार्टअप सुरु गर्ने हरेक व्यक्ति सफल हुन्छ भन्ने छैन। व्यवसायमा जोखिम हुन्छ, असफलता पनि हुन्छ तर असफलतालाई अपराधजस्तो हेर्ने र नयाँ प्रयासलाई निरुत्साहित गर्ने समाजले नवप्रवर्तन गर्न सक्दैन। युवाले गल्तीबाट सिक्न, पुनः प्रयास गर्न र आफ्नो व्यवसाय सुधार गर्न सक्ने वातावरण बनाउनुपर्छ।

आज विश्वविद्यालयका विद्यार्थीले उठाएका प्रश्नले हामीलाई स्पष्ट सन्देश दिएका छन्–युवाहरू देश छाड्नै चाहन्छन् भन्ने होइन, उनीहरू देशभित्र सम्भावना खोजिरहेका छन्। उनीहरूलाई आफ्नो ज्ञान, सिप र नवीन सोच प्रयोग गर्न सक्ने अवसर चाहिएको छ। उनीहरू परिवारसँगै बसेर सम्मानजनक जीवन बिताउन, आफ्ना अभिभावकको साथमा रहन र नेपालको अर्थतन्त्रमा योगदान गर्न चाहन्छन्।

अब राज्यले उनीहरूको आवाज सुन्नुपर्छ। निजी क्षेत्रले उनीहरूको विचारमा लगानी गर्नुपर्छ। विश्वविद्यालयले उनीहरूको नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ। कूटनीतिक नियोगले अन्तर्राष्ट्रिय सहकार्यका ढोका खोल्नुपर्छ र समाजले नयाँ उद्यम सुरु गर्ने युवालाई शंकाले होइन, विश्वासले हेर्नुपर्छ।

नेपालको भविष्य केवल ठुला पूर्वाधारमा होइन, आफ्नै विचारलाई उद्यममा बदल्न सक्ने हजारौं युवाको सिर्जनशीलतामा पनि निर्भर छ। आजको एउटा सानो स्टार्टअप भोलिको ठुलो उद्योग बन्न सक्छ। आजको एउटा नवीन विचारले भोलि सयौं रोजगारी सिर्जना गर्न सक्छ।

आज देशमै बस्ने निर्णय गरेको एउटा युवाले भोलि अरू धेरै युवालाई देशमै बस्ने आधार दिन सक्छ। स्टार्टअप समिट त्यस दिशामा चालिएको एउटा प्रयास हो। गण्डकी प्रदेशबाट सुरु हुने अभियानलाई सातै प्रदेशमा पुर्‍याएर नवीन विचार भएका युवालाई पहिचान गर्ने, लगानीकर्ता र बजारसँग जोड्ने तथा सरकारसमक्ष स्पष्ट नीतिगत सुझाव प्रस्तुत गर्ने हाम्रो लक्ष्य हो। यो अभियान कुनै एउटा कार्यक्रमको आयोजना मात्र होइन, युवाको सम्भावनालाई नेपालको आर्थिक रूपान्तरणसँग जोड्ने प्रयास बन्नुपर्छ।

अब हाम्रो साझा संकल्प हुनुपर्छ– युवाको प्रतिभा विदेशमा मात्र होइन, आफ्नै देशको विकासमा पनि चम्कियोस्। उनीहरूको नवीन सोचले उद्योग जन्माओस्, उद्योगले रोजगारी सिर्जना गरोस् र रोजगारीले समृद्ध नेपालको आधार निर्माण गरोस्। ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा बदल्ने समय यही हो।

–ज्ञवाली सामाजिक तथा आर्थिक अभियन्ता तथा लेखक हुन्।

प्रकाशित: १८ कार्तिक २०८३ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %