२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
विचार

यी जेन-जीजस्ता ती तन्नेरी

वर्षमा एकचोटि हरेक मानिसको जन्मदिन आउँछ। अपवादमा फेब्रुअरी २९ मा जन्मेकाहरूका लागि चार वर्षमा एकचोटि मात्र आउँछ। जन्मदिन सबैले मनाउछन्, धुमधाम नगरी सानोतिनो स्तरमा भए पनि। यो पृथ्वीमा टेक्न आइपुगेको मिति कम महत्त्वको दिन होइन।

मानौं तपाईंसय वर्ष पुग्नुभयो र जन्मदिन मनाउँदै हुनुहुन्छ भने त्यो शताब्दी उमेरको जन्मदिन कसरी मनाउनुहुन्छ? यस्तो कुरा कहिलेकतै सोच्नुभएको छ? सय वर्षको उमेरमा त्यस दिन भेट्न आउने समकालीन साथीसँगीहरू त कमै होलान् तर नातीनातिनाहरू अनि उनका जेनजी साथीहरू, अल्फा–बिटाहरू भने त्यहाँ थुप्रै हुनेछन्।

नेपालमा सय वर्ष भनेको त थुप्रो हो नि, जबकि विश्व स्वास्थ्य संघका अनुसार नेपालीको सरदर उमेर नै ७० छ । युएनको तथ्यांक हेर्ने हो भने १०० वर्ष पुगेका वा नाघेका मानिसहरू यो संसारमा अहिले लगभग ७ लाख २२ हजार छन्। त्यसकारण त्यस दिन तपाईंसित अन्तर्वार्ता लिन आउने जिज्ञासु पत्रकारबन्धु पनि त्यहाँ टुप्लुक्क आइपुग्ने अनुमान गर्न सकिन्छ। उनले तपाईंलाई बधाइको औपचारिकतापछि पक्कै सोध्ने छन्– ‘सय वर्षको जन्मदिन कसरी मनाउँदै हुनुहुन्छ?’

एउटा बाइटलाइन त चाहियो नै। यो भयो अनुमान र कल्पनाको कुरा तर रुडी मार्कसलाई भने साँच्चिकै त्यस्तो दिन आइपर्‍यो।

रुडी मार्कस, खासमा औपचारिक नामले बोलाउनुपर्दा उनको नाम रुडोल्फ आर्थर मार्कस हो। उनी नोबेल पुरस्कार विजेता ख्यातिप्राप्त वैज्ञानिक हुन्। क्यानडामा जन्मेका रुडी अहिले अमेरिका कर्म गरेर बस्छन्। सन् १९९२ मा उनलाई रासायनिक प्रणालीहरूमा इलेक्ट्रनहरू कसरी स्थानान्तर हुन्छन् भन्ने गहन कुरा पत्ता लगाएबापत रसायन शास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। त्यतिबेला उनी ६९ वर्षका थिए। सन् २०२३ जुलाई २१ मा उनी ठिक सय वर्षका भए, अर्थात् त्यस दिन रुडी शताब्दी मानव भए।

रुडी मार्कस एक ख्यातिप्राप्त वैज्ञानिक अनि एक ख्यातिप्राप्त विश्वविद्यालय क्याल्टेक (क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलजी) का वरिष्ठ प्राध्यापक, जहाँ उनी ४५ वर्षदेखि कार्यरत थिए, उनलाई भेट्न लस एन्जेल्स टाइम्सकी एकजना स्टाफ राइटर पुग्छिन्। अन्तर्वार्ता लिने क्रममा उनलाई सोधिन्छ–‘१०० वर्षको जन्मदिन कसरी मनाउँदै हुनुहुन्छ?’

 रुडीको उत्तरले तिनलाई तीनछक पारिदियो। उनको उत्तर एक शब्दको थियो ‘वर्क’, अर्थात् कर्मयोगी रुडी आफ्नो सय वर्षको जन्मदिन काम गरेर मनाउने तरखरमा थिए  तर साथीभाइहरू किन मान्थे र? रुडीलाई उनी सय वर्ष पुगेको उपलक्ष्यमा आयोजित एक वैज्ञानिक प्रवचनमा लगे।

यतिबेला जेनजी तन्नेरीहरूको चर्चा छ । यो चर्चा नेपालमा मात्र होइन, विश्वभरि नै भन्दा हुन्छ। यी तन्नेरी भनेका अहिले २०–२८ उमेरका हुन्। यो पुस्ता आन्दोलित हुँदा विश्वका कतिपय देशमा उथलपुथल आइरहेको छ । यसको एउटा दृष्टान्त नेपालमा ४७ घण्टामा भएको म्युजिकल चेयर सत्ताको राफसाफ हो। यो साँच्चिकै विस्मयकारी थियो। तिनमा इतिहास बदल्ने हुती छ, कुनै प्रलय ल्याउने आँधीबेहरीजत्तिकै। फरक यत्ति हो– प्राकृतिक नभएर मानव सिर्जित।

जेनजी तन्नेरीहरूको भावनात्मक उत्साहलाई मनन गर्ने हो भने आफ्नो कर्म र निष्ठामा दत्तचित्त रुडी मार्कस पनि त जेनजी नै हुन्। समयको अन्तरले के फरक पर्‍यो र उनलाई? प्रकृतिको रहस्य खोतल्नउनको लगाव, उत्साह, जाँगर, सबै उमेरकासित गर्ने हँसिमजाक, फुर्तिलो हिँडाइ– के जेनजीको जस्तो छैन र? यसप्रकार समाजमा, अनुसन्धानशालाहरूमा, विद्यालय र विश्वविद्यालयहरूमा नब्बे कटेका जेनजीहरू अरू पनि छन्।

सय वर्षको छेउ पुगेर पनि जेनजी उत्साहले ओतप्रोत अर्को एउटा नाम आर्मेन ताक्थाजन (१९१०–२००९) हो, जो कर्मका असली पुजारी थिए। नेपाल हिमालय वनस्पति विविधताले धनी छ। किन? किनभने यहाँ पूर्व एसियाली (चिनियाँ–जापानी), टेथियन (प्राचीन भूमध्यसागरीय), अफ्रिकी (सुडानो–जाम्बेजियाली), इन्डोमलेसियाली र इन्डोचिनियालीसमेतको वनस्पति–भूगोल सम्मिश्रण छ।

यो रहस्य उद्घाटन उनै ताक्थाजनले गरिदिएका थिए। उनी लेनिनग्रादस्थित कोमारोभ इन्स्टिच्युटमा निर्देशक छँदा केही नेपाली विद्यार्थीले उनको सामीप्य पाएका थिए। यो सोभियत संघ हुँदा अर्थात् सन् १९८० को दशकको कुरा हो।

आर्मेन ताक्थाजनको महत्त्वपूर्ण योगदान भनेको फूल फुल्ने बिरुवाहरूका लागि वंशानुगत वर्गीकरण प्रणालीको विकास र वनस्पति–भूगोल हो। उनको प्रणालीबिना वनस्पति विज्ञान अधुरो हुन्छ। नागोर्नो–काराबाख (अजरबैजान) मा जन्मिएका प्रकृतिविज्ञानका यी हस्तीलाई जीवनको उत्तराद्र्ध र सेवा अवकाश भन्ने नै भएन। स्प्रिंगर–भर्लागबाट प्रकाशित ८७१ पृष्ठको उनको एउटा नामुद पुस्तक छ ‘फ्लावरिंग प्लान्ट्स’, जुन सन् २००९ मा निस्केको हो, अर्थात् उनको देहान्त भएकै साल। यसको अर्थ यही भयो कि उनी ९९ वर्षको उमेरमा पनि काम गर्दै थिए।

नेपालको कुरा गर्दा सत्यमोहन जोशी (१९२०–२०२२) १०२ वर्ष बाँचेर गए। उनलाई हामीले शताब्दी पुरुषको उपमा दियौं। उनी शतायु बाँचेका मात्र होइनन्, मुख्य कुरा त काम पनि गरेर गए। सत्यमोहन जोशीका ६० भन्दा धेरै कृति प्रकाशित छन्। उनी नेपाली लोक संस्कृतिका हिमायती मात्र होइनन्, अग्रणी अनुसन्धानकर्मी पनि हुन्।

सन् १९५६ मा ‘हाम्रो लोक संस्कृति’ प्रकाशन हुँदा नेपालमा अनुसन्धानको अवस्थिति निकै प्रारम्भिक थियो। सत्यमोहनको अनुसन्धान कृति त्यो समयको हो, जुनबखत उनी जेनजी उमेरका थिए। ‘कर्णाली लोक संस्कृति’ उनको अर्को कृति हो, जसले अनुसन्धानलाई अझ महत्ता दियो।

सन् १९६० मा सत्यमोहन जोशी पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्युटमा नेपाली भाषा सिकाउने शिक्षक भएर चीन गए। सिकाउने पढाउने काम त उनले गरे नै, यसका अलावा नेपालका होनहार बहुप्रतिभा अरनिकोको विषयमा गहन अनुसन्धान गरी हामीलाई ठुलो गुन लगाए। अरनिकोको चीनमा ठुलो इज्जत छ। त्यहाँको इतिहासमा उनी उल्लिखित छन्। सत्यमोहनकै अथक प्रयासले हामीले अरनिकोलाई चिन्न सक्यौं, नत्र उनी बिर्सिएका नेपाली प्रवासी भइसकेका थिए।

अरनिको सन् १२६० मा चीनका बादशाह कुब्लाई खाँको निम्तोमा गएका थिए। चीन जाँदा उनको उमेर १७–१८ वर्ष मात्र भएको बताइन्छ, अर्थात् उनी अहिले भर्खरका जेनजीजस्ता थिए। गजबको कुरा त यो छ कि त्यो उमेरमा अरनिकोले ८० जना नेपाली प्राविधिक, कुशल कालिगड र शिल्पीहरूको नेतृत्व गरेका थिए। त्यस टोलीले चीनमा सयौं मूर्ति मर्मत गरे, थुप्रै मन्दिर र चैत्यहरू निर्माण गरे, वास्तुकलाको स्कुल नै चलाए। तिनले निर्माण गरेको स्वेत चैत्य पाथाईले अहिले पनि राजधानी बेइजिङको भव्यता थपिरहेको छ।

चीनको कुरा उप्काउँदा हालै मात्र बितेका एक जना विख्यात वैज्ञानिकको कुरा जोडिन आउँछ। उनी १०३ वर्षका थिए। यांग चेन–निंग सन् १९२२ मा जन्मिएका थिए। सन् १९५७ मा उनले भौतिक विज्ञानमा नोबेल पुरस्कार प्राप्त गरे। उनी र ली चंग–दाओ (१९२६–२०२४) मिलेर ‘समानताको उल्लंघन’ भन्ने सिद्धान्त पत्ता लगाएका थिए।

विज्ञानमा एउटा स्थापित मान्यता के रहेको थियो भने प्रकृतिमा आधारभूत उपपरमाणविक कणहरूमा बल (शक्ति) को व्यवहार ऐनामा हामीले आफूलाई पाउने दुरुस्त प्रतिछायाजस्तो दायाँ र बायाँ समान हुन्छन। यांग र लीको सिद्धान्तले यस मान्यतालाई गजबसित भत्काइदियो। नोबेल पुरस्कार पाउँदा यांग ३५ वर्ष र ली ३० वर्षका थिए। दुवै जना चिनियाँ थिए।

यांग चेन–निंग सन् १९९९ मा सधैंका लागि चीन फर्किए र सिंगह्वा विश्वविद्यालयमा पढाउन थाले। उनी त्यतिबेला ७८ पुगिसकेका थिए र १०१ को उमेरसम्म पनि पढाउँदै हिँड्थे।

उता ली चंग-दाओ अमेरिकाको नामुद विश्वविद्यालय कोलम्बियाको इतिहासमा सबभन्दा कान्छो उमेरका पूर्ण प्राध्यापक बने। उनी त्यतिबेला २९ वर्षका थिए। छयासी वर्षको उमेरसम्म त्यहीं रहे। अवकाश लिने दिन बिदाइ सम्बोधनमा आफ्नो कामलाई बगैंचाको हेरचाहसँग तुलना गर्दै लीले भनेका थिए - ‘तपाईंले नयाँ प्रजातिहरू नउमारेको हुन सक्छ तर तपाईं पुराना सुन्दर कुरालाई अझै निरन्तर चलाइराख्न सक्नुहुन्छ।’

कतै जेन-जी पनि उत्साहको निरन्तरता होइन?

प्रकाशित: २० कार्तिक २०८२ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App