युवाको बलिदान, राष्ट्रको प्रश्न, कसैले कल्पना गरेनन् - देशलाई सुधार्न आफ्नै जीवन आहुति दिनुपर्नेछ तर यही भयो। सडकमा न्याय र भविष्यका लागि नारा लगाउँदै निस्किएका युवाहरू घर फर्किएनन्। तिनीहरू कुनै पार्टीका कार्यकर्ता थिएनन्। तिनीहरू पद वा सत्ता खोज्ने थिएनन्।
उनको माग यति थियो - एक न्यायपूर्ण नेपाल, जहाँ राजनीति कुर्सीका लागि होइन, सेवाका लागि होस्। यो बलिदानले सम्पूर्ण राष्ट्रलाई प्रश्न सोधेको छ - हामीले दशकौंसम्म जसलाई लोकतन्त्र र गणतन्त्र भन्यौं, त्यो साँच्चै त्यही थियो? कि नेताहरूको स्वार्थपूर्ति गर्ने अर्को नाम मात्र ?
दूषित संस्कृतिको जरा - नेपालको पछिल्ला दशकहरूमा प्रजातन्त्र र गणतन्त्रको नाम त थियो तर आत्मा हराएको थियो। संसद्, प्रशासन, विश्वविद्यालय, अस्पताल सबै क्षेत्रमा पार्टीको छाया थियो। राजनीतिज्ञहरूले सत्ता साझा भविष्य बनाउन होइन, आफ्नो समूह सुदृढ बनाउन प्रयोग गरे।
लोकतन्त्र भनेको जनतामा आधारित शासन हो। गणतन्त्र भनेको सार्वभौमिकतामा आधारित मूल्य हो तर नेपालमा यी दुवै “नाम” त प्रयोग भए तर “सिद्धान्त” हराए।
संविधानका संस्थानहरू पार्टीका औजार बने। न्यायालय सौदाबाजीको केन्द्र बन्यो। प्रशासन आदेशपालक भयो। यसरी लोकतन्त्र लोकतन्त्र रहेन, गणतन्त्र गणतन्त्र रहेन। शिक्षा र न्यायमा विरोधाभास शिक्षा भनेको जानकारी सङ्कलन गर्ने साधन होइन। शिक्षा भनेको व्यक्तिलाई समाजसँग र समाजलाई विश्वसँग जोड्ने माध्यम हो तर नेपालमा शिक्षाले उल्टो विरोधाभास सिर्जना गर्यो।
विद्यालय र विश्वविद्यालय विद्यार्थी सङ्गठनको रणभूमि बने। शिक्षक र प्राध्यापकहरू पार्टीको विचार बोकेर कक्षामा पसे। शिक्षा स्वतन्त्र हुनुपर्ने हो तर दलनिष्ठ बनाइयो।
शिक्षक वा प्राध्यापक यदि पार्टीकै लागि काम गर्छन् भने उनीहरू शिक्षक वा प्राध्यापक कहलिंदैनन्। त्यो व्यक्तिले देशलाई शीक्षित गर्दैन। त्यो विभाजन गहिरो बनाउँछ। शिक्षानीतिमा पनि ठुला असफलता देखियो। दश वर्षअघि नयाँ शिक्षानीति तयार भयो तर आजसम्म कानुन बनेन।
किन?
किनकि नीति लेख्नेहरू पार्टीकै अनुयायी थिए। नीतिनिर्माणमा आएका सुझाव पनि पार्टीसँग गाँसिएका सङ्घसंस्थाबाट मात्र आए। यसरी सुधारको बाटो कहिल्यै खुल्न सकेन। न्याय र सरकारी सेवा पनि दूषित भए। न्यायालय स्वतन्त्र रहेन, जागिर योग्यताभन्दा नातावादले बाँडियो। जनताले बुझ्न थाले - न्याय धनी र शक्तिशालीकै लागि मात्र हो।
नयाँ पुस्ताको जागरण
यस्तो असफलताले नयाँ पुस्तालाई सडकमा ल्यायो। यो आन्दोलन केपी शर्मा ओलीविरुद्ध मात्रै थिएन। यो दशकौंको असफल संस्कृतिविरुद्धको विस्फोट थियो। जेनरेसन जेडले पुरानो राजनीति अस्वीकारेकाे छ। उनीहरूले पारदर्शिता मागे। जवाफदेहिता मागे। सत्ता होइन, सेवा खोजे। सोसल मिडियामा रोक लगाइए पनि उनीहरूको स्वर रोकिएन।
युवाहरूले कथा बाँडे, आक्रोश पोखे र पुराना नेताहरूलाई देखाए - यो पुस्ता सजिलै चुप लाग्दैन। यस आन्दोलनले पुराना पार्टीहरूलाई नयाँ पाठ सिकायो। सन्देश स्पष्ट छ - अब कपटपूर्ण राजनीति चल्दैन।
प्रतीकात्मक उदय
यस्तै आँधीबिच सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त भइन्। उनको यात्रा आफैंमा असाधारण छ। नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको रूपमा उनले भ्रष्टाचारविरुद्ध अडान लिएकी थिइन्। दबाब र धम्कीकाे बिच उनी झुकेनन्। प्रधानमन्त्री बनेर उनले अर्को इतिहास रचिन्।
उनको उपस्थितिले सन्देश दिन्छ - राजनीति फरक देखिन सक्छ। महिलाले इमानदारीसहित देश चलाउन सक्छन्। युवाले उनलाई आशाको रूपमा देख्छन्।
समाजले उनलाई सत्य र साहसको प्रतीक मान्छ तर चुनौती गहिरो छ- दशकौंदेखि जरा गाडेको संस्कृतिलाई तोड्न सजिलो छैन।
नेतृत्वलाई नयाँ दृष्टि
नयाँ पुस्ताको आन्दोलनले पुराना पार्टीलाई घचघच्यायो। जुन नेताले आफूलाई अछुतो ठाने, उनीहरू पराजित भए। सन्देश स्पष्ट छ - अब सफल नेता बन्न चालवाजीले काम गर्दैन।
अब नयाँ सोच आवश्यक छ। नेतृत्व अब पार्टीप्रेमी होइन, देशप्रेमी हुनुपर्छ। नेतृत्वको साँचो अवसर सेवामा छ, स्वार्थमा होइन। नयाँ शिक्षा दर्शन र कानुनको आवश्यकता हामी नयाँ शिक्षा दर्शन स्विकार्न खोजिरहेका छौँ।
यसले संस्कृतिमा परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास छ। शिक्षाले चेतना दिन्छ र चेतनाले समाज बदल्छ तर दर्शनले मात्रै पुग्दैन। कडा कानुन र शिष्टता आवश्यक छ। कानुनबिनाको स्वतन्त्रता फेरि अव्यवस्था बन्छ। त्यसैले नयाँ शिक्षा दर्शन र कडा कानुन मिलेर मात्र नेपाललाई सभ्य बनाउन सक्छ। शिक्षामा स्वतन्त्रता र शासनमा कानुन दुवै बराबरी जरुरी छन्।
पार्टीहरूलाई सन्देश
यस आन्दोलन तपाईंविरुद्ध होइन। यो आन्दोलन त्यो संस्कृतिविरुद्ध हो, जुन तपाईहरूले दशकौँमा विकास गर्न दिनुभयो। त्यो संस्कृतिले गणतन्त्र र लोकतन्त्रलाई कमजोर बनायो।तपाईहरू भित्रभित्रै राम्रो संस्कृतिको पक्षमा भए पनि त्यसलाई बदल्न सक्नु भएन।
अब सन्देश स्पष्ट छ - जनताले नेतामाथि होइन, संस्कृतिमाथि विद्रोह गरेका छन्।
यदि तपाईले यसलाई सुन्नुभयो भने अझै सुधारको बाटो खुला छ। नयाँ सरकारलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो। मानवीय संस्कृतिको जग बसाल्न हामी सबै मिलेर अघि बढ्नुपर्छ। अन्यायपूर्ण कानुन र गलत व्यवस्थामा सुधार गर्नुपर्छ। सचेत नागरिक र जिम्मेवार नेतृत्व मिलेर मात्र नयाँ नेपाल सम्भव हुन्छ।
निष्कर्ष
साधारण तर गहिरो सत्य सुशीला कार्कीको उदय ऐतिहासिक छ तर उनको नियुक्तिले मात्र नेपाल बचाउँदैन। वास्तविक चुनौती संस्कृतिमा छ। नेपाललाई नयाँ दायित्वको सूची चाहिँदैन। नेपाललाई साधारण तर गहिरा सत्य चाहिन्छ।
१) समाजप्रति इमानदार बन्नुपर्ने
२) रिटायर भएपछि निडर भएर जनताबिच हिँड्न सक्ने जीवन जिउनुपर्ने।
३) सबैलाई बराबर र न्याय देख्नुपर्ने।
४) पैसाभन्दा सेवा ठुलो मान्नुपर्ने।
५) जनतालाई सशक्त बनाउनुपर्ने।
युवाको बलिदान - सुशीला कार्कीको उदय इतिहासमा मात्रै सीमित हुने छैन। यो नयाँ गणतन्त्रको सुरुवात हुनेछ - इमान, समानता र आशामा जन्मिएको गणतन्त्र।
प्रकाशित: २८ भाद्र २०८२ १२:३२ शनिबार

