२७ वैशाख २०८३ आइतबार
image/svg+xml
विचार

हर्मुज संकट र पश्चिम एसियाको भविष्य

हर्मुज जलडमरु बन्द हुँदा सिर्जित झट्काले एकातिर आर्थिक कमजोरीहरू उजागर गरेको छ भने अर्कातिर विश्वका देशहरूले ऊर्जा मूल्यको उतारचढावलाई कसरी फरक हिसाबले अवशोषित गर्छन् भन्ने पनि उजागर गरेको छ। जुन देशहरूले बढी लचिलो स्वच्छ ऊर्जा स्रोतहरूमा लगानी गरेका छन्, तिनीहरू अहिले राम्रो अवस्थामा छन् र उनीहरूले अरूका लागि पाठ प्रस्तुत गरिरहेका छन्।

हर्मुज जलडमरु बन्द हुँदा अन्तर्राष्ट्रिय मुद्रा कोषले यसलाई ‘विश्वव्यापी तर असमान’ खालको परिघटना भनेर परिभाषित गरेको थियो। यो जलमार्गले विश्वको करिब एकचौथाइ तेल, २० प्रतिशत तरल प्राकृतिक ग्यास र एकतिहाइ मल आपूर्ति अवरुद्ध गरेको छ। ऊर्जा र मलको मूल्य बढेको छ, आपूर्ति शृंखलाका नयाँ–नयाँ मार्ग निर्धारण भएका छन् र वित्तीय अवस्था विश्वभर असमान हिसाबले झन् कठिन बनेको छ।

एसिया, अफ्रिका र युरोपका आयात–निर्भर अर्थतन्त्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्, धेरैले उच्च ‘बन्ड स्प्रेड’ र ‘क्रेडिट डाउनग्रेड’को सामना गरिरहेका छन्। यसरी केन्द्रीय बैंकहरूले इन्धन र खाद्यान्न मूल्यको वृद्धिमा प्रतिक्रिया दिनेबारे विचार गरिरहेका बेला ब्याजदरको विश्वव्यापी वृद्धिले विकासशील देशहरूको सानो वित्तीय र नीतिगत पक्षलाई झन् संकुचित गरिरहेको छ।

‘हर्मुज झट्का’ले एकातिर आर्थिक कमजोरीहरू उजागर गरेको छ भने अर्कातिर सम्बन्धित देशहरूले अस्थिरतालाई कसरी सामना गर्छन् भन्नेमा स्पष्ट भिन्नता पनि देखाएको छ। आजको विश्वमा सबैभन्दा महत्त्वपूर्ण विभाजन केवल तेल निर्यात गर्ने र आयात गर्ने देशहरूबिच मात्र होइन, ऊर्जा प्रणालीले जोखिममा धकेलेका देशहरू र यसअघि नै ऊर्जा लचकता अवलम्बन गरेका देशहरूबिच छ।

स्पेनको नवीकरणीय ऊर्जा क्रान्तिले सबैभन्दा स्पष्ट उदाहरण प्रस्तुत गर्छ। तीव्र वायु र सौर्य ऊर्जा वृद्धिका कारण सन् २०१९ मा स्पेनमा प्रतिघण्टा इन्धनको मूल्य निर्धारणमा ग्यासको ७५ प्रतिशत हिस्सा रहेकोमा सन् २०२५ मा आइपुग्दा यसको हिस्सा केवल १९ प्रतिशतमा झरेको छ। यो समग्र युरोपको प्रमुख ग्यास–निर्भर विद्युत् बजारहरूमध्ये सबैभन्दा ठुलो गिरावट हो। अझै पनि जर्मनी र इटालीमा हर्मुज झट्काको बेला थोक बिजुली मूल्य प्रतिमेगावाट–घण्टा १५० युरोभन्दा माथि पुगेको छ, जबकि स्पेनको २०२६ को औसत थोक मूल्य  ६० देखि ७० युरोको हाराहारीमा रहने प्रक्षेपण गरिएको छ।

यसैगरी ब्राजिलको व्यापक जैविक इन्धन पूर्वाधारले फरक हिसाबले ऊर्जा सुरक्षा प्रदान गरेको छ। ब्राजिलका करोडौं सवारी चालकहरूले शत प्रतिशत उखुमा आधारित इथानोल अथवा ३० प्रतिशत जैविक इन्धन मिसाइएको पेट्रोलमध्ये एक छनोट गर्न सक्छन्। घरेलु पेट्रोलमा पर्याप्त जैविक अंश रहने भएकाले राज्य–नियन्त्रित ऊर्जा कम्पनी पेट्रोब्रासद्वारा प्रशोधित इन्धन आयातित पेट्रोलभन्दा निकै सस्तो रहँदै आएको छ, यसले उपभोक्तालाई विश्वव्यापी तेल अस्थिरताबाट जोगाएको छ। मार्चमा ब्राजिलमा पेट्रोलको मूल्य ५ प्रतिशतले मात्र बढ्यो, जबकि संयुक्त राज्य अमेरिकामा यो करिब ३० प्रतिशत बढेको थियो। मेक्सिकोका राष्ट्रपतिले ब्राजिलको इथानोल प्रविधिमा, विशेष गरी अगाभे (वनस्पति) मा आधारित उत्पादनमा रुचि देखाएका छन्।

यो मामलामा चीन पनि धेरैले अनुमान गरेभन्दा बढी लचिलो साबित भएको छ। एक दशकको लगानीपछि चीनको बिजुली उत्पादनको झन्डै ४० प्रतिशत नवीकरणीय स्रोतबाट आउँछ, जुन एक दशकअघि मात्र २६ प्रतिशत थियो। यसैगरी चीनले १.२ अर्ब ब्यारेलभन्दा बढी रणनीतिक पेट्रोलियम भण्डार गरेको छ। फलस्वरूप गोल्डम्यान स्याक्सले अमेरिकाको तुलनामा चीनको जिडिपी वृद्धि पूर्वानुमान आधाले मात्र घटाएको छ र नवीकरणीय ऊर्जा प्रभुत्वलाई यसको अर्थतन्त्र जोगाउने ढालमध्ये एक भनेर परिभाषित गरेको छ।

ऊर्जा विश्लेषकहरूले इरान युद्धलाई ‘एसियाको युक्रेन अनुभव’ भनेर वर्णन गरिरहेका छन्। जसरी सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपले प्राकृतिक ग्यासमा निर्भरता घटायो, त्यस्तै हर्मुज झट्काले एसियाली देशहरूलाई तेल निर्भरता घटाउन प्रेरित गरिरहेको छ। साथै, अहिले २०२२ भन्दा स्वच्छ ऊर्जाका विकल्पहरू निकै सस्ता भएका छन् र सजिलैसँग उपलब्ध छन्।

यसको पाठ स्पष्ट छ - जोखिम अथवा कमजोरी केवल व्यापार सन्तुलनको परिणाम मात्र होइनन्, संरचनात्मक र नीतिगत निर्णयका परिणाम पनि हुन्। प्रत्येक देशले आफ्नो ऊर्जा प्रणाली कति आफ्नो नियन्त्रणमा छ, आपूर्ति कति विविध छ र विश्वव्यापी वस्तु बजार र सामान्य जनताबिच पर्याप्त सुरक्षा छ कि छैन भनेर विचार पुर्‍याउनैपर्छ।

यसैगरी अहिले जीवाश्म इन्धनमा निर्भर अर्थतन्त्रहरूका लागि थप चेतावनी प्रखर भएको छ। यो संकटले अन्य देशहरूलाई नवीकरणीय ऊर्जातर्फ छिटो अगाडि बढ्न प्रेरित गर्‍यो भने जीवाश्म इन्धनमा निर्भर अर्थतन्त्रहरूका लागि दीर्घकालीन रूपमा थप गम्भीर समस्या उत्पन्न हुन सक्छ। तेल, ग्यास वा कोइलामा गरिएको लगानीहरू ‘अवशिष्ट सम्पत्ति’मा परिणत हुन सक्छन्। अर्थात् तिनीहरूले अपेक्षित आयु पूरा गर्नुअघि नै आफ्नो मूल्य गुमाउन वा प्रयोग गर्न नसकिने अवस्थामा पुग्न सक्छन्। साथै धेरै देशहरूले जीवाश्म इन्धनमा निर्भरता घटाउँदै जाँदा निर्यात बजार संकुचित हुन सक्छ, यसले माग र आम्दानी दुवै घटाउनेछ। यी सबै कारणहरूले भविष्यमा आउने झट्काहरूको आर्थिक असर अझ बढ्न सक्छ र यी देशहरूलाई अझ कमजोर बनाउने सम्भावना रहन्छ।

विश्वका धेरै सरकारहरू बहुपक्षीय संस्थाहरूको प्रतिक्रियाको प्रतीक्षा गरिरहेका वर्तमान सन्दर्भमा ऊर्जा वास्तविकता झन् छिटो परिवर्तन भइरहेका छन्। त्यसो त तेल र ग्यास उत्पादकहरूसँग एउटा दुर्लभ अवसर पनि छ। म्यासाचुसेट्स विश्वविद्यालय एमहस्र्टका अर्थशास्त्री इसाबेला एम वेबर र ग्रेगर सेमिएनियुकले भनेझैं जीवाश्म इन्धन मूल्य झट्काहरू पुनः वितरणका घटनाहरू हुन्, जसअन्तर्गत लागत सर्वसाधारणमा थोपरिन्छ जबकि नाफा केवल सेयरधनीमा जान्छ। त्यसैले यो सन्दर्भमा इयुका पाँच अर्थमन्त्रीद्वारा प्रस्तावित ‘विन्डफल नाफा कर’ अत्यन्त आवश्यक छ र यो अवसर पनि हुन सक्छ।

यो सन्दर्भमा आर्जित अतिरिक्त आम्दानीलाई दुई प्रमुख प्राथमिकतामा प्रयोग गर्न सकिन्छ। पहिलो, उपभोक्ता संरक्षण हो। ऊर्जा मूल्य वृद्धि गरिबका लागि प्रतिकूल करजस्तै हो। आवश्यक हस्तक्षेप नभएको अवस्थामा असमानता अझ गहिरिनेछ। छोटो अवधिका अनुदान, लक्षित ऊर्जा भौचर र मूल्य स्थिरीकरण उपयुक्त उपाय हुन्। दोस्रो भनेको संरचनात्मक लगानी हो। पेट्रोब्रासजस्ता राज्य–स्वामित्वका कम्पनीहरूले जैविक इन्धन र कम–कार्बन प्रविधिमा लगानी सुरु गरिसकेका छन् । सार्वभौम सम्पत्ति कोषहरूले दीर्घकालीन ऊर्जा रूपान्तरण लक्ष्यसँग आम्दानीलाई जोड्ने प्रभावकारी माध्यम प्रदान गर्छन्।

मलेसियाको यस्तै खाले कोषले औद्योगिक पार्कहरूलाई डिकार्बोनाइज गर्न ३७ करोड ८० लाख डलर लगानी गरेको छ। इन्डोनेसियाको नयाँ कोषले नवीकरणीय ऊर्जा र हरित हाइड्रोजन परियोजनाहरू सुरु गरेको छ। यसरी देशहरू जोखिमबाट स्वतन्त्रताको यात्रामा रूपान्तरित हुन सक्छन्। यसका लागि उनीहरूले हिजोको आम्दानीलाई भोलिको पुँजीमा बदल्न सक्नुपर्छ। अहिलेको अवसरलाई सदुपयोग गर्नु भनेको अस्थायी आम्दानीलाई स्थायी सम्पत्तिमा रूपान्तरण गर्नु हो र हरित औद्योगिक रणनीतिलाई राष्ट्रिय सुरक्षाको रूपमा लिनु हो। अहिले नै सही कदम चाल्ने देशहरूले भविष्यका संकटमा फाइदा लिन सक्नेछन्।

- लौरा ओपन सोसाइटी फाउन्डेसनकी आर्थिक तथा जलवायु समृद्धि निर्देशक र  साउपाउलो विश्वविद्यालयकी अर्थशास्त्र विभागकी सहप्राध्यापक हुन्।

(प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: १७ वैशाख २०८३ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %