२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
विचार

युवाको सपना राष्ट्रको समृद्धि

नेपाल आज इतिहासकै महत्त्वपूर्ण आर्थिक मोडमा उभिएको छ। लाखौं युवा अवसरको खोजीमा दैनिक रूपमा विदेश जाने क्रम रोकिएको छैन। अर्कातिर मुलुकमा उद्यम, नवप्रवर्तन र सिर्जनशीलताको अपार सम्भावना विद्यमान छ। हामीसँग हिमाल छ, पानी छ, उर्वर भूमि छ, सांस्कृतिक सम्पदा छ, पर्यटकको अथाह सम्भावना छ र सबैभन्दा ठुलो सम्पत्ति ऊर्जाशील युवाशक्ति छ। तर विडम्बना, हामीले आफ्ना युवालाई अवसर दिन नसक्दा उनीहरूको सिप र श्रम विदेशी अर्थतन्त्रको विकासमा खर्च भइरहेको छ।

अब नेपालले एउटा गम्भीर प्रश्नको उत्तर खोज्नै पछै - के हामी सधैं श्रमिक निर्यात गर्ने राष्ट्रमै सीमित रहने कि ज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यम निर्यात गर्ने राष्ट्र बन्ने ? यसको उत्तर एउटै छ -स्टार्टअप।

‘स्टार्टअप’ भनेको केवल नयाँ कम्पनी खोल्नु होइन। स्टार्टअप भनेको समस्यालाई अवसरमा बदल्ने सोच हो। यो सीमित स्रोतबाट असीमित सम्भावना सिर्जना गर्ने साहस हो। यो युवाको कल्पनाशीलतालाई आर्थिक शक्तिका रूपमा रूपान्तरण गर्ने माध्यम हो। स्टार्टअपले एउटा व्यवसाय मात्र जन्माउँदैन, यसले नयाँ उद्योग, नयाँ बजार, नयाँ बेरोजगारी र नयाँ भविष्य निर्माण गर्छ।

आज विश्वको अग्रणी अर्थतन्त्रलाई हेर्दा एउटा समानता स्पष्ट देखिन्छ। उनीहरूले आफ्ना युवालाई जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने वातावरण निर्माण गरे। अमेरिका, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायलजस्ता देशले अनुसन्धान, नवप्रवर्तन, विश्वविद्यालय, निजी क्षेत्र र लगानीकर्तालाई एउटै इकोसिस्टममा जोडेर विश्वस्तरीय स्टार्टअप संस्कृति विकास गरेका छन्। त्यसैले आज ती देश केवल उत्पादनमा होइन, प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा र बौद्धिक सम्पत्तिमा विश्वको नेतृत्व गरिरहेका छन्।

भारत यसको उत्कृष्ट उदाहरण हो। केही दशकअघि विकासोन्मुख अर्थतन्त्रका रूपमा रहेको भारतले स्टार्टअपलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढायो। नीति सुधार, डिजिटल पूर्वाधार, कर सहुलियत, स्टार्टअप दर्ताको सरलीकरण, इन्क्युबेसन केन्द्र, विश्वविद्यालयसँगको सहकार्य र लगानीमैत्री वातावरणका कारण आज भारत विश्वकै ‘स्टार्टअप हब’मध्ये एक बनेको छ।

हजारौं स्टार्टअपले विदेशी लगानी आकर्षित गरेका छन् र भारतलाई नवप्रवर्तनको विश्व मानचित्रका रूपमा स्थापित गरेका छन्। नेपाल पनि त्यही गति समात्न सक्छ। असीमित सम्भावना, नयाँ सोच भएका युवा अनि युवाजनशक्ति समग्र जनसंख्याको ४० प्रतिशत भएकाले त्यसका लागि राज्यको स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक छ।

नेपालको सबैभन्दा ठुलो चुनौती बेरोजगारी मात्र होइन, अवसरको अभाव हो। प्रतिभाको अभाव होइन, प्रणालीको कमजोरी हो। नेपाली युवा र उद्यमीमा क्षमता, सिर्जनशीलता र जोखिम उठाउने साहस छ तर उनीहरूलाई वित्तीय पहुँच, व्यवसाय परामर्श, बजार, अनुसन्धान, प्रविधि र लगानीकर्तासँग जोड्ने संरचना अझै कमजोर छ। यही कमजोरी सुधार्न सके नेपालमा स्टार्टअपको नयाँ युग सुरु हुन सक्छ।

हुन त नेपालमा स्टार्टअपको बिउ रोप्ने काम २०४० सालमा सुरु भयो। पछि २०५३ सालमा देशको व्यवस्था सबल बनाउँदै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्थापना भयो अनि नीति–नियम बने। तर २०७६ सालबाट स्टार्टअप अगाडि बढ्यो।

हामीले पनि स्टार्टअपमैत्री नीति बनाउनुपर्छ। स्टार्टअप दर्ता प्रक्रिया छिटो र सरल बनाउनुपर्छ। बिनाधितो वा सहुलियतपूर्ण स्टार्टअप कर्जा सहज बनाउनुपर्छ। प्रत्येक विश्वविद्यालयमा इनोभेसन तथा इन्क्युबेसन केन्द्र स्थापना गर्नुपर्छ। अनुसन्धान, प्रविधि र नवप्रवर्तनमा लगानी बढाउनुपर्छ। निजी क्षेत्र, सरकार, बैंक, लगानीकर्ता र शैक्षिक संस्थाबिच सहकार्य बलियो बनाउनुपर्छ। नेपाली उत्पादनलाई ‘मेड इन नेपाल’ अभियानमार्फत अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनपर्छ।

हाम्रो विडम्बना, अर्थतन्त्र अझै पनि रेमिट्यान्समा अत्यधिक निर्भर छ। रेमिट्यान्सले परिवार चलाउन सहयोग गरेको छ। यसले दीर्घकालीन औद्योगिक विकास सुनिश्चित गर्न सक्दैन। निर्यात, नवप्रवर्तन र उद्यमशीलताबाट मात्र देशको अर्थतन्त्र दिगो बन्छ। त्यसैले अब हाम्रो आर्थिक नीति रेमिट्यान्सबाट उत्पादनतर्फ, उपभोगबाट सिर्जनातर्फ र आयातबाट नवप्रवर्तनतर्फ मोड्नुपर्छ।

कृषिमा आधारित स्टार्टअपहरूले मूल्य अभिवृद्धि गर्न सक्छन्। पर्यटनमा आधारित स्टार्टअपहरूले विश्व बजारसँग नेपाललाई डिजिटलका रूपमा जोड्न सकिन्छ। सूचना प्रविधिमा आधारित स्टार्टअपहरूले सीमाविहीन बजारमा नेपाली प्रतिभालाई प्रतिस्पर्धी बनाउन सक्छन्। नेपालसँग स्वास्थ्य, शिक्षा, ऊर्जा, हरित प्रविधि, फिनटेक, कृत्रिम बुद्धिमत्ता र डिजिटल सेवामा असीमित सम्भावना छ।

महिला उद्यमशीलता स्टार्टअप आन्दोलनको अर्को महत्त्वपूर्ण आधार हो। नेपालमा समग्र जनसंख्याको झन्डै ५२ प्रतिशत महिला जनसंख्या छ। त्यसैले स्टार्टअपमा महिलाले क्रान्ति ल्याउन सक्छन्। महिला उद्यमीलाई वित्तीय पहुँच, डिजिटल सिप, बजार र नेतृत्वसँग जोड्न सकियो भने उनीहरू आर्थिक रूपान्तरणका अग्रणी शक्ति बन्न सक्छन्। समावेशी ‘स्टार्टअप इकोसिस्टम’ले मात्र दिगो विकास सुनिश्चित गर्न सक्छ।

आजको आवश्यक कुरा स्टार्टअपलाई केवल ऋण वितरण कार्यक्रमका रूपमा नहेर्ने हो। स्टार्टअप भनेको एउटा सम्पूर्ण इकोसिस्टम हो, जसका लागि विश्वविद्यालयमा अनुसन्धान संस्कृति, इन्क्युबेसन केन्द्र, मेन्टरसिप, बिउ लगानी, भेन्चर क्यापिटल, एन्जल इन्भेस्टर, बौद्धिक सम्पत्ति संरक्षण, डिजिटल पूर्वाधार, अन्तर्राष्ट्रिय बजार पहुँच र निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य छन्।

नेपालले अब ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’लाई केवल नारा होइन, राष्ट्रिय आर्थिक अभियान बनाउनुपर्छ। स्वदेशी उत्पादन प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ। अर्थात् सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ।

स्थानीय उत्पादनलाई डिजिटल बजारसँग जोड्नुपर्छ। निर्यातमुखी स्टार्टअपलाई विशेष प्रोत्साहन दिनुपर्छ। सकिन्छ भने युवालाई देशमै रोक्नका लागि प्रत्येक विश्वविद्यालयमा स्टार्टअप इन्क्युबेसन केन्द्र स्थापना गर्नुपर्छ। प्रदेश तथा जिल्लामा नवप्रवर्तन केन्द्र विकास गर्नुपर्छ। बैंकहरूले परम्परागत धितोभन्दा परियोजनाको सम्भावनालाई आधार बनाएर लगानी गर्ने प्रणाली विकास गर्नुपर्छ।

स्टार्टअप संस्कृतिको विकास केवल सरकारको जिम्मेवारी होइन। निजी क्षेत्र, विश्वविद्यालय, सञ्चार माध्यम, बैंकिङ क्षेत्र, उद्योगी, लगानीकर्ता र नागरिक समाज सबैको साझा दायित्व हो। सञ्चारमाध्यमले सफल उद्यमीको कथा समाजसम्म पुर्‍याउनुपर्छ। विद्यालयले सिर्जनशीलता सिकाउनुपर्छ। निजी क्षेत्रले नयाँ उद्यमलाई मार्गदर्शन गर्नुपर्छ अनि सरकारले सहज वातावरण, नीति र स्टार्टअप लोनको व्यवस्था गर्नुपर्छ।

नेपाल ‘ग्रे लिस्ट’बाट अगाडि बढ्नुपर्छ। न्यून विकसित राष्ट्रबाट विकसित राष्ट्रमा उक्लिनुपर्नेछ। यस्तो अवस्थामा हाम्रो प्रतिस्पर्धा सस्तो श्रमले होइन, ज्ञान, प्रविधि र नवप्रवर्तनले निर्धारण गर्नेछ। त्यसैले स्टार्टअपलाई अब वैकल्पिक कार्यक्रमका रूपमा होइन, राष्ट्रिय विकास रणनीतिका केन्द्रमा राख्नुपर्ने समय आएको छ।

हामी युवालाई विदेश पठाएर गर्व गर्ने होइन, आफ्नै भूमिमा विश्वस्तरीय कम्पनी जन्माउने राष्ट्र बन्नुपर्छ। हामीले श्रम मात्र होइन, प्रविधि, उत्पादन, सेवा र विचार पनि निर्यात गर्नुपर्छ। यही बाटोले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र दिगो बनाउनेछ। स्टार्टअपमा लगानी गर्नु भनेको एउटा कम्पनीमा लगानी गर्नु होइन, नेपालको भविष्यमा लगानी गर्नु हो।

आजको पुस्ताले एउटा ऐतिहासिक निर्णय गर्नुपर्छ– रोजगारी खोज्ने नेपाल होइन, रोजगारी सिर्जना गर्ने नेपाल बनाऔं। यही सोचले आत्मनिर्भर अर्थतन्त्र, समृद्ध समाज र विकसित नेपालको जग बसाल्नेछ। स्टार्टअप अब विकल्प होइन, नेपालको राष्ट्रिय आवश्यकता हो।

आउनुहोस्, सबै मिलेर यस्तो नेपाल बनाऔं, जहाँ युवाको सपना विदेशमा होइन, आफ्नै मातृभूमिमा साकार होस्।

प्रकाशित: १३ श्रावण २०८३ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %