१४ पुस २०८२ सोमबार
image/svg+xml
विचार

जलवायु परिवर्तनसँगै मौन हिमाली बस्ती

जलवायु परिवर्तन अब नेपालका लागि भविष्यको जोखिम मात्र होइन, वर्तमानको कठोर यथार्थ बनिसकेको छ। मुस्ताङको कागबेनी, सामझोङ र द्येगाउँ जस्ता उच्च हिमाली बस्तीहरू यस परिवर्तनको प्रत्यक्ष प्रभाव झेलिरहेका छन्। बाढी, खडेरी, हिउँको कमी र असामान्य वर्षा, यी सबैले हिमाली जनजीवनलाई अस्थिर बनाउँदै लगेका छन्।

यिनै अनुसन्धानजन्य निष्कर्षहरूले मलाई मुस्ताङतर्फको यात्रामा डोर्‍यायो। जाडो याम थियो। आमाले चिन्ता व्यक्त गर्दै भन्नुभयो– यस्तो कठोर मौसममा अनुसन्धान कसरी सम्भव होला? तर मैले आफैंसँग एउटा दृढ वाचा गरेँ, जुनसुकै चुनौती आए पनि यो यात्राबाट फर्किने छैन।

१७ घण्टाको रात्रि बस यात्रापछि अनेक दृश्यहरू पार गर्दै म कागबेनी पुगेँ। त्यहाँ पुगेर स्थानीय समुदायसँग संवाद सुरु भयो। कागबेनीले सन् २०२३ को बाढी अझै बिर्सन सकेको छैन। उक्त बाढीले १८ वटा घर पूर्ण रूपमा ध्वस्त पारेको थियो। मानवीय क्षति नभए पनि गाउँको सम्पूर्ण वास्तुकलात्मक स्वरूप परिवर्तन भइसकेको मैले देखेँ।

पुराना घर, सांस्कृतिक सम्पदा र ऐतिहासिक संरचनाहरू क्षतिग्रस्त भएका छन्। यहाँ देखिएको क्षति केवल भौतिक मात्र थिएन, मानिसहरूमा गहिरो मनोवैज्ञानिक आघात, भविष्यप्रतिको डर र आध्यात्मिक विच्छेदन स्पष्ट देखिन्थ्यो।

कागबेनीका वडाध्यक्ष भन्दै थिए, ‘पानी पर्न थालेपछि २०२३ को बाढी सधैं सम्झना आउँछ।’

गत वर्ष पनि बाढी आएको थियो। एक स्थानीय महिलाले आफ्नो डर व्यक्त गर्दै भनिन्, ‘आगामी १०–२० वर्षमा यहाँ बस्न सकिन्छ कि सकिँदैन, हामी आफैंलाई थाहा छैन।’

यी अनुभवहरूले मलाई एउटा महत्त्वपूर्ण संकेत दियो, जलवायु परिवर्तनको प्रभावलाई पैसामा मात्र मूल्याङ्कन गर्न सकिँदैन। कागबेनीपछि म लोमान्थाङतर्फ लागेँ। राति तापक्रम-१२ डिग्रीसम्म झरेको थियो। निद्रा लाग्न कठिन भयो। बिहान सबेरै मेरो अर्को गन्तव्य सामझोङ थियो।

सामझोङ खडेरीका कारण विस्थापित भएको प्राचीन बस्ती हो। वास्तविक अवस्था बुझ्न म पुरानो सामझोङ पुगेँ। त्यहाँ पुग्दा मन अत्यन्तै भारी भयो। कुनै समय जीवनले भरिएको त्यो सुन्दर गाउँ आज पूर्ण रूपमा सुनसान थियो, मानौं एउटा मृत गाउँ।

पानीको गम्भीर संकटका कारण मानिसहरू बसाइँ सरेका थिए। लोमान्थाङका राजाबाट नयाँ स्थानमा जग्गा पाए पनि उनीहरूको मन अझै आफ्नै पुरानो गाउँमै अड्किएको वृत्तान्त मैले देखेँ तर जाडो याममा हिमपात नहुने र पानीको स्रोत सुक्ने अवस्थाले त्यहाँ पुनः बसोबास लगभग असम्भव बनाएको छ।

स्थानीय छिरिङ गुरुङ भन्छन्, ‘कसैले पर्याप्त पानीको व्यवस्था गरिदियो भने म फेरि सामझोङमै गएर बस्न तयार छु।’

उनले मोबाइलमा मलाई देखाएको पुरानो सामझोङको तस्बिर हरियो बस्ती र जीवन्त ठाउँ थियो। तर आज मैले देखेको दृश्य भने बिलकुलै फरक थियो। सुन्दर भान्साघर, स्थानीय सामग्रीबाट बनाइएका भर्‍याङ, अनौठो संरचनाका घरहरू देख्दा अनायासै मेरा आँखा रसाए।

प्राचीन गुफाहरू अझै उभिएका छन् तर तिनको इतिहास सुनाउने कोही छैन। धारा र पानीका पाइपहरू छन् तर पानी छैन। पहिला उर्वर रहेको जमिन आज मरुभूमिजस्तै बनेको छ। पुराना गुम्बा र मठ भत्किने अवस्थामा छन्। संरक्षण गर्ने कोही छैन। मेरो मनमा यही प्रश्न उब्जियो, यसको जिम्मेवारी कसको हो? यो समुदायले जलवायु न्याय कसरी पाउने? कसले दिने? के हानि नोक्सानीको त्यो कोषमा उनीहरूको पहुँच पुग्ला? यस्तैयस्तै।

यी प्रश्नको उत्तर खोज्दै म द्ये गाउँतर्फ लागेँ। द्येको कथा पनि उस्तै पीडादायी थियो। पुरानो द्येमा १३ घरधुरीमध्ये अहिले केवल चार घरधुरी मात्र मौसमी रूपमा बसोबास गर्छन्। उनीहरू कालीगण्डकीको किनारतिर सरेर स्याउ खेती गर्न थालेका छन् तर मुस्ताङमा अनपेक्षित रूपमा अत्यधिक वर्षा र बाढीका कारण त्यहाँ पनि बस्न नसक्ने अवस्था आयो र अहिले उनीहरू फेरि नयाँ बस्ती माथिल्लो भागमा निर्माण गरिरहेका छन्।

द्ये गाउँमा अनुकूलन रणनीतिका रूपमा स्थानीय रूपमा बनाइएका साना पोखरीहरू देखिए। तर हिमपातको ढाँचा परिवर्तन र तापक्रम निरन्तर बढ्दै जाँदा ती पोखरीमा पानी टिक्न सकेको छैन। आलु खेतीका लागि चिनिएको द्ये गाउँ आज सुनसान बन्दै गएको छ। गाउँमा एउटा सानो गुम्बा छ, जहाँ पहिले लामा दैनिक पूजापाठ गर्थे, अहिले त्यो जिम्मेवारी एक स्थानीयले सम्हालेका छन्।

उनी चिन्तित छन् र भन्छन् -‘अब विधिपूर्वक पूजा गर्न पनि गाह्रो हुँदै गएको छ।’

अझ गम्भीर कुरा के छ भने पुस्तान्तरण हुँदै आएको संस्कृति अब टुट्ने जोखिममा छ। युवाहरू पोखरा र काठमाडौं बसाइँ सरेका छन्। ६२ वर्षीय स्थानीय बासिन्दा झाबियान वाङछोक भन्छन्, ‘मेरो सपनामा सधैं पुरानै द्ये देख्छु, नयाँ बस्ती होइन।’

 ४५ वर्षभन्दा बढी समय पुरानो द्येमा बिताएका उनी आज त्यो गाउँ बिस्तारै मृत बस्ती बन्दै गएको देख्दा अत्यन्तै दुःखी देखिन्थे।

यो विस्थापन वा बसाइँसराइको मात्र कथा मैले देखिन। यो आफ्नै जन्मभूमिसँगको भावनात्मक, सांस्कृतिक र आध्यात्मिक सम्बन्ध टुट्दै गएको पीडाको यथार्थ चित्रण थियो। यस्तो अवस्था निरन्तर रहिरह्यो भने भविष्य अझै कठोर हुने निश्चित छ।

नेपालले अन्तर्राष्ट्रिय जलवायु वार्ताहरूमा सधैं हिमाललाई प्राथमिकता दिँदै आएको छ तर कागबेनी, सामझोङ र द्येका समुदायहरूको वास्तविक आवाज त्यहाँ कत्तिको सुनिन्छ, त्यो समयले बताउला।

यी सबै देखेसुनेपछि मनमनै सोचेँ - भौतिक संरचना र सम्पत्तिको क्षतिपूर्ति सम्भव होला तर मनोवैज्ञानिक पीडा, बसाइँसराइको त्यो पीडा, सांस्कृतिक क्षति र आध्यात्मिक विच्छेदनको क्षतिपूर्ति कसले गर्ने? कसरी गर्ने?

यस अनुसन्धान यात्राले मलाई जलवायु परिवर्तनको वास्तविक अनुहार देखायो। जलवायु परिवर्तन अब टाढाको चेतावनी होइन, यो नेपालका उच्च हिमाली भूभागमा अहिले नै भइरहेको यथार्थ हो। सुक्खा नदीका धार, कमजोर घर र संघर्षरत खेतबारीले मौन तर शक्तिशाली कथा सुनाइरहेका छन्। सधैं आकर्षणको केन्द्र मानिएका हिमाली समुदायहरू आज विश्वव्यापी जलवायु संकटको अग्रपंक्तिमा उभिएका छन्।

जलवायु क्षेत्रमा १६ वर्षभन्दा बढी समयदेखि पेसागत रूपमा संलग्न एक व्यक्तिका रूपमा यो मुस्ताङ भ्रमणले मलाई गहिरो रूपमा रूपान्तरण गरेको छ। कागबेनी, सामझोङ र द्ये गाउँका यी मौन पीडाहरूले मलाई एउटा स्पष्ट पाठ सिकाएका छन्, ‘कागजमा लेखिएका नीति, रणनीति र प्रतिवेदनहरू मात्रै पर्याप्त हुँदैनन्। जब मलाई अवसर मिल्छ, म यी समुदायले भोगिरहेको यथार्थ संसारसामु उजागर गर्नेछु।’

अन्तर्राष्ट्रिय जलवायु वार्ताहरू प्रायः नीतिगत भाषा, लक्ष्य र दस्ताबेजमा केन्द्रित हुन्छन्, तर म सधैं यी हिमाली समुदायको जलवायु न्यायका लागि आवाज उठाउनेछु, भावनामा मात्र होइन, वैज्ञानिक र मजबुत प्रमाणका आधारमा। किनकि जलवायु परिवर्तनको वास्तविक कथा यिनै बस्तीहरूमा लेखिँदै छ, र त्यो सत्य साझा गर्नु आज हाम्रो नैतिक दायित्व हो।

प्रकाशित: १० पुस २०८२ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App