केही दिनअघि मात्र बुटवलमा चिकित्सकको लापरबाहीका कारण एक दोजिया महिलाको ज्यान गएको खबर आयो। बाहिरिएको तथ्यांकले महिलाको मृत्युमा मुख्य मनसाय आर्थिक शोषण हो। प्रारम्भिक अन्वेषणपछि नेपाल मेडिकल काउन्सिलले उपचारमा संलग्न डाक्टरको लाइसेन्स मात्र निष्क्रिय बनाएन, बरु आबद्ध दुई क्लिनिकसमेत बन्द गर्न आदेश दियो।
डाक्टर चिकित्सकीय धर्म पालनमा चुकेको देखियो। त्यसो त चिकित्सकले रोगीबाट पैसा असुल्न अनावश्यक जाँचबुझ गर्नेदेखि बिरामीको अवस्थाबारे गुमराहमा राखेर परिवारलाई अन्तिम क्षणसम्म दोहन गरेका घटनाहरू हाम्रा लागि नवीन होइनन्। के नेपालमा देखिएका चिकित्सकीय बेथिति अन्यत्र छैन त ? धेरैलाई लाग्छ, चिकित्सा पेसा विकसित मुलुकमा स्वच्छ र निष्कलंक छ। तथ्यांकले त्यसो भन्दैन। औषधि र चिकित्सकीय उपकरण कम्पनीले आयुर्विज्ञानलाई कसरी आफ्नो चंगुलमा पारेका छन्, त्यसको एउटा पाटो पस्कनु यो आलेखको लक्ष्य हो।
दबाई उत्पादक र मेडिकल उपकरण कम्पनीहरूले विश्व पुँजी बजारको ठुलो हिस्सा ओगटेका छन्। वार्षिक दशौं खर्ब अमेरिकी डलरको कारोबार गर्ने कम्पनीहरूको अदृश्य हातहरूको पहुँचको आँकलन सरल छैन। रोगको भय देखाउने र दीर्घजीवनको सौदाबाजीमा कसरी शोषण हुन्छ अनि क्यान्सरका रोगीको संख्या दिनानुदिन उकालिने तर भरोसायोग्य निदान क्षितिजमा नदेखिएको अवस्थामा सर्वसाधारण ठगिएका विषयको चर्चा सान्दर्भिक देखियो।
एउटा मेडिकल उपकरणको यथार्थ हेरौं। सन् १९६५ मा स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम मेसिन आविष्कार भयो। एक दशकभित्रै उक्त उपकरण संसारभर पुग्यो। जीवनको पूर्वार्धमै अर्बुदरोग पत्ता लागे फाइदा हुने भएकाले ४० वर्ष पुगेका प्रत्येक महिलाले बर्सेनि मेमोग्राममार्फत स्तन क्यान्सरको परीक्षण गर्ने संहिता बन्यो। त्यसैअनुरूप सम्पन्न देशमा उमेर पुगेका महिलाको ‘स्तन क्यान्सर’ परीक्षण सुरु भयो। करोडौं महिलाको जाँचबाट मेमोग्राम मेसिन बनाउने कम्पनीहरूले ठुलो धनराशि कमाए।
मेसिन चलाउने अपरेटर, रेडियोलोजिस्ट, डाक्टर र प्राविधिक कर्मचारीले रोजगारी पाए। परीक्षण गर्ने क्लिनिकहरू मालामाल भए। करोडौं महिलालाई जाँच्दा केहीमा अर्बुदरोगको अंश भेटिनु अस्वाभाविक भएन। स्तन क्यान्सरका रोगीको संख्या बढ्यो। क्यान्सर अस्पताल, अंकोलोजिस्ट, केमोथेरापीलगायतका विविध उपचार पद्धति भित्रिए। तर स्तन क्यान्सरको जाँच संहिता स्थापित भएको केही वर्षपछि गरिएको सर्वेक्षणले महिलाको सालाखाला उमेर र स्वास्थ्य अवस्था सुधारिएको देखिएन। बरु उल्टै युवा अवस्थामा ब्रेस्ट क्यान्सर भएका महिलाले ठुलो मूल्य चुकाउनु परेको हो कि जस्तो भान भयो। नैराश्यले वैज्ञानिक समुदाय सशंकित बन्यो अनि तथ्यगत उत्खनन आवश्यक बन्यो।
लामो अध्ययनपछि डेनमार्कका प्राध्यापक कास्र्टन जर्गेन्सनले सन् २०१८ को पूर्वार्धमा मेमोग्रामले स्तन क्यान्सरको पहिचान र उपचारमा पारेको प्रभावलाई केन्द्रमा राख्दै एक बृहत् अनुसन्धान प्रकाशित गरे। उक्त अध्ययनमा संहिता पालन गरी आवधिक हिसाबले मेमोग्राम गर्ने सहरी भेगका नारी र केन्द्रको पहुँचमा नपुगेका ग्रामीण महिलाको स्वास्थ्य तथ्यांक सार्वजनिक गरिएको छ।
उक्त अध्ययनमा सन् १९८० देखि २०१० को अवधिमा डेनमार्कमा मेमोग्राम गर्ने ३५ देखि ८४ वर्ष समूहका १४ लाख सहरी महिलाको स्वास्थ्य अवस्थाको तुलना चिकित्सकीय सम्पर्कभन्दा पृथक् रहेका समकालीन ग्रामीण आमासँग गरेका छन् डा. जर्गेन्सनले। उक्त दुई पक्षको तुलनात्मक अध्ययन गर्दा संहितालाई अनुसरण गर्दै नियमित परीक्षणमा रहने सहरी महिलाहरूको स्वास्थ्य अवस्था झन् दयनीय देखियो। मेमोग्रामका क्रममा अर्बुदरोगको प्रारम्भिक लक्षण देखिएका कारण सर्जरी र केमोथेरापीको शरणमा पुगेका एकतिहाइ डेनिस महिलाहरूमा उनीहरूको जीवनकालभर पनि क्यान्सरले अतिक्रमण गर्ने अवस्था नरहेको देखियो।
उदाहरणका लागि १५० वर्ष पुग्दा क्यान्सर लाग्ने मेमोग्रामको प्रक्षेपणलाई आधार मानेर केमोथेरापीको जटिल उपचार गरिएको पाइयो। आवश्यक नै नपरेका आमालाई जटिल उपचार पद्धतिमा राख्दा शरीर झन् जीर्ण भयो। २० वर्ष आयु भएको गाडीमा ३० वर्षपछि गाडीको फ्रेम बिग्रन सक्ने ठानेर मेकानिक्सले मर्मत गरेर मालिकलाई बिल पेस गरेजस्तो देखियो डेनमार्कको स्वास्थ्य अवस्था। मेमोग्रामले ओभर डायग्नोसिस गरेको देखियो। उपचार गर्नै नपर्ने महिलाहरूलाई सर्जरी, केमो तथा रेडियोथेरापी लिनुपर्ने अवस्थामा पुर्यायो। उक्त अध्ययनले मेमोग्राममार्फत केहीले ब्रेस्ट क्यान्सरको प्रारम्भिक पहिचानबाट फाइदा लिए भने धेरै महिला ओभर डायग्नोसिसको सिकार भए। केहीले लाभ पाउने अनि अधिकांशले मूल्य चुकाउनुपर्ने उपचार संहितालाई के भन्ने ?
अब औषधि उत्पादकको वर्चस्वको उदाहरण हेरौं। संयुक्त राज्य अमेरिकाको औषधि अनुगमन निकाय ‘युएस फुड एन्ड ड्रग्स एजेन्सी (एफडिए)’ले स्विट्जरल्यान्डको औषधि उत्पादक कम्पनी रोसले आविष्कार गरेको मोनोक्लोनल एन्टिबडीको श्रेणीमा पर्ने ‘एटेजुलिजुम्याब’ भन्ने औषधि ब्लाडर क्यान्सरका बिरामीमा प्रयोग गर्ने गरी २०१६ को मे महिनामा द्रुत परीक्षणको स्वीकृति गर्यो। ठुलो जमातमा परीक्षण गर्दा उक्त औषधिले बिरामीलाई सन्चो पारेको कुनै संकेत देखिएन। संलग्न वैज्ञानिकहरूले औषधिले बिरामीमा पारेको नकारात्मक असरको फेहरिस्त तयार गरी सन् २०१८ को फेब्रुअरीमा रिसर्च निष्कर्ष प्रकाशित गरे।
त्यस्ता ‘नेगेटिभ रिजल्ट’ बाहिरिनेबित्तिकै औषधिको प्रयोग तुरुन्त बन्द हुनुपर्ने हुन्छ। तर एफडिएले उक्त औषधिमा बन्देज लगाएको विज्ञप्ति निकाल्न तीन वर्ष लगायो। त्यसबिचमा पनि रोगीलाई उक्त महँगो औषधि बेची रोसले आम्दानी गर्यो, बिरामी ठगिए। अझ महत्वपूर्ण कुरा त अमेरिकामा प्रतिबन्धित भएको उक्त औषधि बिरामीलाई सिफारिस गर्न रोसका प्रतिनिधिले आफूलाई प्रभावमा पार्न खोजेको यथार्थ भारतको नैयर मेडिकल हस्पिटल, बम्बईका क्यान्सर विशेषज्ञ अमोल अखाडेले बताए। २०२३ मा ‘जामा अंकोलोजी’ र ‘नेचर’ले आआफ्नै अनुसन्धानमार्फत दबाईले ठिक गर्दैन भन्ने जान्दाजान्दै पनि गरिब मुलुकका औषधि अनुगमन निकायका पदाधिकारीलाई प्रलोभनमा पारेर बेच्ने गरेको बताएका छन्।
उल्लिखित दुई अध्ययनले आयुर्विज्ञानको बेथितिलाई मात्र नंग्याएका छैनन्, बरु पैसाको बलमा के कस्ता प्रकृतिका अनैतिक कार्यसम्म हुन सक्छ भन्ने कुरा उजागर गरेका छन्। परिस्थिति जे भए पनि परिवारको सदस्य महारोगका कारण थलिँदा अन्तिम सहारा चिकित्सक नै हुन्। डाक्टरलाई भगवान् नै मानी उसको सल्लाहलाई अक्षरश: पालन गर्नुपर्छ भन्ने सोच भएका नेपाली धेरै छन् अनि उक्त आज्ञाकारितामा प्रश्न गर्नु उचित हुँदैन। यद्यपि बिरामीको उमेर, उपचारपछि रोगीले स्तरीय जीवन व्यतीत गर्न पाउने सम्भाव्यता, परिवारको आर्थिक अवस्था, नवीन औषधिको प्रभावकारितालगायत पक्षको एकीकृत विश्लेषण गर्नु आवश्यक पर्छ।
उमेरको उत्तरार्धमा अर्बुदरोग देखिएको अवस्थामा बिरामीलाई केमोथेरापीमा राख्नु उचित होला कि नहोला ? घरबारी बेचेर उपचार गर्दा पनि ठिक हुने कुरामा संशय रहे अगाडि बढ्ने हो र ? लगायतका प्रश्नको उत्तर सहज छैन। त्यसमाथि अमेरिकी औषधि अनुगमन निकाय ‘एफडिए’को आँकडा विश्लेषण गर्दा क्यान्सरका लागि उपयुक्त ठानिएर प्रयोगको अनुमति पाएका औषधिमध्ये अधिकांश दबाईले लक्षित वर्गलाई फाइदा पुर्याउन नसकेको देखिन्छ। तसर्थ अर्बुदरोगको इलाजका सम्बन्धमा निर्णय लिनुपर्दा नवीन औषधि भएको खण्डमा उक्त दबाईले काम नगर्ने सम्भावना धेरै छ भन्ने कुरा हेक्का गर्न जरुरी छ। कुनै औषधि बजारमा १० वर्षभन्दा बढी समयदेखि प्रचलनमा छ भने उक्त दबाईको सकारात्मक र नकारात्मक पक्ष जानकारी लिन कठिन हुँदैन। लामो समयदेखि चल्तीमा रहेको दबाईले सामान्यतया दाबी गरिएअनुरूपको काम गर्छ भन्ने बुझ्नुपर्छ।
उल्लिखित परिदृश्यहरूले मेडिकल क्षेत्र आफ्नो धर्मबाट डगमगाएको देखिन्छ। कमसल दबाई मात्र होइन, प्रकाशित आँकडाले पहिले नै निकम्मा साबित भएका क्यान्सरका औषधिसमेत नेपाली बजारमा बिक्री वितरण हुन सक्ने देखिन्छ। संसारमा के कस्ता नवीन चरित्रका औषधिहरू प्रचलनमा आए अनि ती रासायनिक तत्वले अपेक्षित काम गरे नगरेको अन्वेषणात्मक टिप्पणी गर्न सक्ने हैसियत भएको सशक्त औषधि व्यवस्था विभागको निर्माण गरी रोगीले ठगिनुपर्ने अवस्थाबाट छुटकारा दिलाउन सकिन्छ। परिवारका सदस्य बिरामी भएका कारण पहिलेदेखि नै तनावमा रहेका नेपालीहरूले कमसल उपचार विधिमा पैसा खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गराउनु उत्तरदायी सरकारको कर्तव्य हो।
प्रकाशित: १५ वैशाख २०८३ १०:३१ मंगलबार

