२२ चैत्र २०८२ आइतबार
image/svg+xml
विचार

पाटन विमानस्थल: जनताको पहुँचभन्दा टाढा, सामाजिक सञ्जालको ‘कन्टेन्ट’ बन्ने संरचना

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा अवस्थित पाटन विमानस्थल विकासको ठूलो सम्भावना बोकेको पूर्वाधारका रूपमा निर्माण गरिएको थियो। दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज हवाई पहुँच उपलब्ध गराउने, आकस्मिक स्वास्थ्य सेवामा छिटो सहयोग पुर्‍याउने तथा प्रदेशलाई राष्ट्रिय मुख्य केन्द्रसँग जोड्ने उद्देश्यसहित यो विमानस्थल निर्माण गरिएको मानिन्छ। तर वर्षौँ बितिसक्दा पनि यसको अपेक्षित उपयोग हुन नसक्दा अहिले स्थानीय समुदायमा गम्भीर प्रश्न उठिरहेका छन्।

विमानस्थल निर्माण कार्य २०५२ सालतिर सुरु भएको तथा २०५३–२०५४ सालतिर परीक्षण उडान थालिएको मानिन्छ । पछिल्ला वर्षहरूमा नेपाल सरकार नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नति, मर्मत तथा कालोपत्रे गर्ने कार्य समेत गरेको छ । कागजमा हेर्दा पूर्वाधार निर्माण र सुधारका कामहरू भएका देखिन्छन्। तर वास्तविकतामा भने विमानस्थलले अपेक्षित रूपमा सेवा दिन सकेको छैन।

स्थानीयहरूका अनुसार लामो समयदेखि नियमित उडान सञ्चालन नहुँदा विमानस्थल प्रायः प्रयोगविहीन छ। कहिलेकाहीँ परीक्षण वा विशेष उडान बाहेक यहाँ नियमित हवाई सेवा उपलब्ध नहुँदा स्थानीय बासिन्दाले यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्। विडम्बना के छ भने, अहिले यो स्थान स्थानीय युवाहरूले सामाजिक सञ्जालका लागि भिडियो र फोटो खिच्ने स्थलजस्तै बनेको देखिन्छ।  

टिकटक, फेसबुक वा अन्य सामाजिक सञ्जालका सामग्री (कन्टेन्ट) बनाउन प्रयोग गरिने स्थानका रूपमा विमानस्थल परिचित बन्दै गएको स्थानीयको अनुभव छ।

यसले एउटा गम्भीर प्रश्न उठाउँछ: जनताको सहजताका लागि निर्माण गरिएको महत्वपूर्ण पूर्वाधार किन प्रयोगविहीन अवस्थामा छ? करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको संरचना यदि जनताले प्रयोग गर्न नसक्ने अवस्थामा पुग्छ भने त्यसको जिम्मेवारी कसले लिने? स्थानीय तह, प्रदेश सरकार वा संघीय सरकार ?  कसले यसको जवाफ दिने?

स्थानीयवासीहरू भन्छन्, ‘सुदूरपश्चिमबाट निर्वाचित प्रतिनिधिहरू केन्द्र तथा प्रदेश सरकारमा पुगेका छन्। तर पाटन विमानस्थललाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउने विषयमा उनीहरूले अपेक्षित पहल गर्न सकेको देखिँदैन।’ जनताले प्रतिनिधि बनाएर पठाएका व्यक्तिहरूले जनताकै आवश्यकता सम्बोधन गर्ने विषयमा पर्याप्त ध्यान दिन नसक्दा यस्तो अवस्था सिर्जना भएको आरोप स्थानीयको छ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा सडक यातायात अझै पनि कठिन र समय खर्चिलो छ। बैतडीका धेरै गाउँहरूबाट मुख्य शहरसम्म पुग्न घण्टौँ मात्र होइन, कहिलेकाहीँ दिनौं लाग्ने अवस्था हुन्छ। यही कारण स्वास्थ्य, शिक्षा र रोजगारीको खोजीमा धेरै युवा गाउँ छाडेर बाहिर बस्न बाध्य भएका छन्। विशेष गरी धनगढी, काठमाडौंलगायतका शहरहरूमा बसाइँ सर्ने प्रवृत्ति उल्लेख्य रूपमा बढेको छ। स्थानीयहरूको अनुमान अनुसार करिब ८० प्रतिशत युवा गाउँ बाहिर बसोबास गरिरहेका छन्। गाउँमा प्रायः ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरू मात्र बस्ने अवस्था बढ्दै गएको छ।

यस्तो अवस्थामा विमानस्थलजस्ता पूर्वाधारको महत्व झन् बढ्छ। यदि नियमित र सुलभ हवाई सेवा सञ्चालन हुन सकेको भए दुर्गम क्षेत्रका नागरिकले आकस्मिक अवस्थामा छिटो स्वास्थ्य सेवा पाउने सम्भावना हुन्थ्यो। गम्भीर बिरामीलाई उपचारका लागि धनगढी, नेपालगञ्ज वा काठमाडौं पुर्‍याउन सहज हुने थियो। तर अहिले पनि धेरै बिरामीहरूलाई लामो दुरी बोकेर वा कठिन सडक यात्रा गर्दै उपचारका लागि लैजानुपर्ने अवस्था छ। स्थानीयका अनुसार कहिलेकाहीँ यस्तो अवस्थामा बिरामीलाई उपचार केन्द्र पुग्नुअघि नै ज्यान गुमाउनु पर्ने दुःखद घटना समेत हुने गरेका छन्।

यसले विकासको स्वरूपबारे पनि महत्वपूर्ण प्रश्न उठाउँछ। के केवल संरचना निर्माण गर्नु मात्र विकास हो? यदि निर्माण गरिएका पूर्वाधारहरू प्रयोगमै नआउने वा जनताको पहुँचभन्दा बाहिर रहने हो भने त्यसलाई वास्तविक विकास भन्न मिल्छ कि मिल्दैन? विकासका नाममा बनाइएका यस्ता परियोजनाहरूले जनताको जीवन सहज बनाउनु पर्ने हो। तर पर्याप्त पूर्वअध्ययन, सम्भाव्यता विश्लेषण र दीर्घकालीन सञ्चालन योजनाबिना निर्माण गरिएका परियोजनाहरू कहिलेकाहीँ प्रतीकात्मक संरचनामा सीमित हुने खतरा रहन्छ।

पाटन विमानस्थलको अवस्था पनि त्यस्तै प्रतीकात्मक पूर्वाधारको उदाहरण बन्ने जोखिममा देखिन्छ। यदि यसको सञ्चालन, व्यवस्थापन र सेवा विस्तारका विषयमा गम्भीर पहल नगरिएमा यो संरचना केवल कागजमा सफल परियोजना र व्यवहारमा प्रयोगविहीन संरचना बन्न सक्छ।

त्यसैले अब आवश्यक कुरा दोषारोपण मात्र होइन, समाधान खोज्नु हो। स्थानीय तह, प्रदेश सरकार र संघीयसरकारबीच स्पष्ट समन्वय गरी पाटन विमानस्थललाई नियमित हवाई सेवासँग जोड्ने पहल गर्नुपर्छ। हवाई भाडालाई सर्वसाधारणको पहुँचभित्र ल्याउने नीति बनाइनुपर्छ। साथै स्वास्थ्य आपतकालीन सेवा, उद्धार उडान तथा आवश्यक यातायात सेवाका लागि विमानस्थललाई प्रभावकारी रूपमा प्रयोग गर्ने योजना बनाइनु आवश्यक छ।

यदि यस्ता कदम चाल्न सके पाटन विमानस्थल सुदूरपश्चिमका बासिन्दाका लागि आशाको केन्द्र बन्न सक्छ। अन्यथा, करोडौँ रुपैयाँ खर्चेर बनाइएको यो संरचना सामाजिक सञ्जालका भिडियो र तस्वीरहरूमा मात्र सीमित हुने जोखिम कायमै रहनेछ।

प्रकाशित: २२ चैत्र २०८२ १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %