पेरिसमा सम्पन्न संयुक्त राष्ट्रको जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को दश वर्ष बितिसकेको छ। यो त्यही सम्मेलन थियो, जहाँ एक सय ९५ राष्ट्रले दीर्घकालीन रूपमा विश्व तापमान वृद्धिलाई २ डिग्रीभन्दा कम राख्न र सकेसम्म यसलाई १.५ डिग्रीभित्रै सीमित राख्ने प्रयास गर्न ऐतिहासिक प्रतिबद्धता गरेका थिए। फ्रान्सले यो लक्ष्य तय गर्न र सार्वभौमिक एकता पहलका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो। दश वर्षपछि यो दिशामा भएको प्रगतिप्रति हामी गर्व गर्न सक्छौं।
फ्रान्समा हामीले सन् १९९० को स्तरभन्दा हरितगृह ग्यास उत्सर्जनलाई ३० प्रतिशतले घटाएका छौं, यसमध्ये सन् २०१७–२०२४ को मात्रै २० प्रतिशत घटाइएको छ।
सन् २०१७ अघि वार्षिक १ प्रतिशतभन्दा कमले उत्सर्जन कटौती भएको थियो भने सन् २०१७–२०२१ बिच औसतमा २ प्रतिशतभन्दा बढीले वार्षिक कटौती भएको छ। सन् २०२२–२०२४ बिचमा औसत ४ प्रतिशत भन्दा बढीले कटौती भएको छ।
हाम्रो लक्ष्य सन् २०३० सम्म ५० प्रतिशत कटौती गर्नु हो, यसको अर्थ प्रत्येक वर्ष वायुमण्डलबाट झन्डै २७ करोड टन कार्बन डाइअक्साइड कम गर्नु हो।
यी परिणामहरू फ्रान्सको सामूहिक प्रयासका उपलब्धि हुन्। आर्थिक प्रगतिलाई वातावरण संरक्षणसँग मिलाउनेदेखि उत्सर्जन र बेरोजगारी दुवै कम गर्ने दिशामा हामी सक्षम भएका छौं। हामी नियम लागु गर्दा पहुँचयोग्य विकल्प नदिई लागु गर्दैनौं। हामी हाम्रो प्रतिस्पर्धात्मकतालाई बलि दिन चाहँदैनौं। हामी सार्वभौमिकता, रोजगार र ‘डिकार्बनाइजेसन’ संयोजन गर्ने गरी लक्ष्य निर्धारण गर्छौं र अगाडि बढ्छौं।
यी कार्य स्पष्ट निर्णयमार्फत मात्र सम्भव छ। मैले हाम्रो सबै आर्थिक, योजना, ऊर्जा, कृषि र औद्योगिक नीतिहरूमा पारिस्थितिकीय प्रणालीलाई केन्द्रमा राखेको छु। मैले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा पारिस्थितिकीय र ऊर्जा योजनाका लागि जिम्मेवारी पनि दिएका छु। हालै प्रकाशित राष्ट्रिय न्यून–कार्बन रणनीति यसको उदाहरण हो। यसले हामीलाई कार्बन तटस्थताको दिशामा मार्गनिर्देशन गर्छ।
हामीले ६ वटा आधारभूत नीतिलाई अख्तियार गछौं– पहिलो, विज्ञानको सम्मान र संरक्षण हो। यही सिद्धान्तमा आधारित रहेर हामी अन्तरसरकारी जलवायु परिवर्तन प्यानल (आइपिसिसी) को मार्गनिर्देशन लिन्छौं।
यही निकायले यसै साता आफ्नो सातौं वैज्ञानिक रिपोर्ट तयारी सुरु गरेको छ। यो रिपोर्टका सबै लेखकसँग पेरिसमा पहिलो बैठक सम्पन्न भएको छ। यही कारणले हामी जलवायु अनुसन्धान र नवप्रवर्तनमा ठुलो लगानी गर्छौं। यसले हामीलाई न्यून कार्बन उत्सर्जन अर्थात् डिकार्बनाइजेसन समाधान खोज्न सहयोग गर्छ।
हाम्रो अनुसन्धान कार्यक्रम कानुन र फ्रान्स–२०३० मार्फत हामीले जलवायु परिवर्तनसँग सम्बन्धित व्यावहारिक अनुसन्धान र सयौं परियोजनामा लगानी गरेका छौं। यसमा साना मोड्युलर न्युक्लियर रियाक्टरदेखि, न्यूनकार्बन हाइड्रोजन, दिगो इन्धन र जल व्यवस्थापनजस्ता क्षेत्र पर्छन्। जतिबेला वैज्ञानिक आवाजहरूलाई चुनौती दिइएको छ, हामीले ‘विज्ञानका लागि फ्रान्स रोज’ कार्यक्रमसहित विश्वका अनुसन्धानकर्तालाई आकर्षित गरेका छौं।
हाम्रो दोस्रो आधारभूत नीति भनेको आयातित जीवाश्म इन्धनमा रहेको निर्भरताको अन्त्य हो। हामी एक ‘डिकार्बनाइज्ड र सार्वभौम’ ऊर्जा प्रणाली रोजिरहेका छौं र यो राष्ट्रिय स्वतन्त्रता र जलवायु संरक्षण दुवैका लागि आवश्यक छ।
सन् २०२२ मा बेलफोर्टमा मैले हाम्रो ऊर्जा नीतिका मुख्य आधारस्तम्भहरू प्रस्तुत गरेको थिएँ, जसमा जीवाश्म इन्धन खपत घटाउने, नवीकरणीय ऊर्जा विकास गर्ने र न्युक्लियर पावर पुनः सुरु गर्नेलगायतका विषय समावेश थिए। सन् २०२४ मा हाम्रो बिजुली ९५ प्रतिशतभन्दा बढीले कार्बनरहित अर्थात् ‘डिकार्बनाइज्ड’ भएको छ। यो आफैंमा एक विश्वस्तरीय उपलब्धि हो।
अभूतपूर्व परामर्श र योजनाबद्ध प्रक्रियापछि हामीले सन् २०५० सम्म समुद्रतटीय वायु ऊर्जा आयोजना विकासका लागि खासखास क्षेत्रहरू पहिचान गरेका छौं।
यसैगरी हामीले आणविक ऊर्जा क्षेत्रलाई पुनर्जीवित गरेका छौं, जसअन्तर्गत ६ वटा नयाँ ‘इपिआर-२’ रियाक्टरका लागि प्रारम्भिक निर्माण तथा वित्तीय व्यवस्था अघि बढिसकेको छ। यसबाहेक ताप उत्पादनका लागि साना रियाक्टरहरू पनि विकास गरिरहेका छौं। हामीले साँच्चिकै आत्मनिर्भर ऊर्जा उद्योग निर्माण गर्दै छौं। यी सबै पहलभन्दा अझ अगाडि हामी बढ्न चाहन्छौं। त्यो हो - हामीले सन् २०२७ सम्ममा कोइलामा आधारित विद्युत् केन्द्रहरू बन्द गर्ने अथवा रूपान्तरण गर्नेछौं।
तेस्रो आधारभूत नीति भनेको हाम्रो उद्योगलाई कार्बनरहित अर्थात् डिकार्बनाइज गर्ने हो। त्यसका लागि हामी हरसम्भव सहयोग गर्दै छौं। फ्रान्सको पुनः औद्योगिकीकरणले विश्वलाई डिकार्बनाइज गर्न सहयोग पु¥याउँछ।
हरित लगानीले विगत तीन वर्षमा ३० प्रतिशतको हाराहारीमा वृद्धि पाएको छ र सन् २०२४ मा स्थापना भएका नयाँ कारखानामा एकतिहाइ हरित उद्योगमा आधारित थिए। यसैगरी, ५० ठुला औद्योगिक क्षेत्रमा ‘डिकार्बनाइजेसन’ प्रयास सुरु भइसकेको छ - जसले फ्रान्सको कुल उत्सर्जनको लगभग १० प्रतिशत प्रतिनिधित्व गर्छ।
सन् २०३० सम्म यी क्षेत्रले आफ्नो कार्बन उत्सर्जनलाई आधाले घटाउनेछन्। हाम्रो हरित उद्योगले फ्रान्सका सबै क्षेत्रमा रोजगार सिर्जना गरिरहेको छ। हामीले इलेक्ट्रिक सवारी साधान, ब्याट्री, हिट पम्प र सौर्य प्यानल उत्पादन गर्ने योजना बनाएका छौं।
युरोपेली भएका हिसाबले पनि हामीले यो प्रयासलाई निरन्तर जारी राख्नुपर्छ। यसो गर्दा यी उद्योगको सरलीकरणलाई अघि बढाउँदै, नवप्रवर्तन गर्दै र अन्यायपूर्ण प्रतिस्पर्धाबाट अझ राम्रोसँग संरक्षण गर्दै अगाडि बढ्नुपर्ने हुन्छ।
मलाई आशा छ कि युरोपेली आयोगका आगामी घोषणाले यो दिशामा गति निर्माण गरेको संकेत गर्नेछन् र यो प्रयासअन्तर्गत वास्तविक युरोपेली प्राथमिकतासहित युरोपलाई विश्वकै सबैभन्दा महत्त्वाकांक्षी कार्बन न्यूनीकरण परियोजनाहरूको केन्द्र बनाउन सकिनेछ।
हाम्रो चौथो आधारभूत नीति भनेको प्रगतिका लक्ष्य हासिल गर्दा जनतालाई त्यसको केन्द्रमा राख्नु हो। पारिस्थितिकीय प्रणालीले मानिसहरूको दैनिकी सुधार्नुपर्छ। प्रत्येक घरको मर्मतसुधारले ऊर्जा बिल घटाउँछ, जीवाश्म इन्धनमा निर्भरता कम गर्छ र जीवनको गुणस्तर बढाउँछ।
यस प्रकारको प्रगतिका लागि समानता र सर्वसाधारणको क्रय शक्तिप्रति निरन्तर ध्यान दिन आवश्यक छ। हामीले सामाजिक लिजिङ कार्यक्रममार्फत सन् २०२४ मा ५० हजारभन्दा कम आय भएका घरधुरीले प्रतिमहिना एक सय युरोभन्दा कम तिरेर नयाँ सवारी साधन खरिद गर्न सफल भएका छन् र यस वर्ष अर्को ५० हजार यो कार्यक्रमबाट घरधुरी लाभान्वित हुनेछन्। ‘माप्राइमरिनोभ’ र ऊर्जा बचत प्रमाणपत्र कार्यक्रममार्फत यो रूपान्तरणलाई पहुँचयोग्य बनाइएको छ।
हाम्रो चौथो आधारभूत नीति भनेको जलवायु परिवर्तनसँग अनुकूलन हुनु हो। जलवायु परिवर्तनका प्रभाव देखिइसकेका छन् र तीव्र हुँदै छन्। हामीले तेस्रो राष्ट्रिय अनुकूलन योजना कार्यान्वयनमा ल्याएका छौं र हाम्रा सबै नीतिलाई समन्वय गर्न ‘रेफरेन्स मार्गचित्र’ तय गरेका छौं।
यसैगरी पाँचौं आधारभूत नीति भनेको यो लडाइँलाई युरोप र समग्र विश्वभर फैलाउनु हो। त्यसो त युरोप सबैभन्दा जलवायु महŒवाकांक्षी महादेश हो। सन् २०५० सम्म कार्बन तटस्थताको लक्ष्य लिएको युरोपेली संघ विश्वको प्रमुख जलवायु वित्त प्रदायक हो।
फ्रान्सले पेरिस सम्झौताको सुनिश्चितकर्ता र विश्वव्यापी जलवायु महत्त्वाकांक्षा कायम राख्न आफ्नो पक्षबाट पूर्ण भूमिका निर्वाह गर्नेछ। यसका लागि सन् २०१७ मा मैले एक पृथ्वी सम्मेलन ‘वन प्लानेट समिट’ सुरु गरेको थिएँ, जसले उत्सर्जन घटाउने र अनुकूलन परियोजनामा समानान्तर रूपमा कार्य गर्न सक्ने क्षेत्रीय गठबन्धन निर्माण गर्ने लक्ष्य राखेको थियो। त्यतिबेलादेखि हामीले जलवायु परिवर्तनसँग लड्न ५० ठोस पहलहरू सुरु गरेका छौं।
हाम्रा कार्यक्रमले अभूतपूर्व गतिमा संयुक्त राष्ट्रसंघबाट ‘कुनमिङ-मोन्ट्रियल विश्वव्यापी जैविक विविधता रूपरेखा तथा हाई सिज सन्धि’ स्वीकृत गराउन सफल भए। साथै प्लास्टिक प्रदूषणसँग लड्न चार अर्ब युरो र जैविक विविधता संरक्षण तथा खाद्य सुरक्षाका लागि १९ अर्ब युरोभन्दा बढी रकम परिचालन गर्न सम्भव भएको छ।
त्यसो त कोप-२१ पछिको दशक, सफलता र महत्त्वाकांक्षाको दशक भएको छ। तर यसले अन्तर्राष्ट्रिय तनाव, विज्ञानका चुनौती, अन्तर्राष्ट्रिय विभाजन र स्वतन्त्रता तथा भाइचाराको सार्वभौमिक आदर्श मेटाउने प्रयास पनि देखेको छ।
छैटौं आधारभूति नीतिअन्तर्गत सदाझैं फ्रान्स हाम्रो जलवायु र ग्रहका लागि विज्ञान, औद्योगिक महŒवाकांक्षा, प्रगति, एकता र युरोपको उदाहरणीय नेतृत्वको मार्गदर्शनमा पूर्ण भूमिका खेल्नेछ।
हामी न्यायोचित ऊर्जा संक्रमण साझेदारीलाई समर्थन गर्छौं र निजी लगानीको प्रवाहलाई विश्वव्यापी कार्बन न्यूनीकरणका लक्ष्यहरूसँग मेल खाने गरी नवीन वित्तीय समाधानहरू खोजिरहेका छौं। यही सन्देश मैले हालै ब्राजिलको बेलेममा आयोजित कोप-३० मा लिएर गएको थिएँ।
त्यसैले आउनुस्, आउँदो दशक सामूहिक सफलताको समय बनाऔं। मलाई विश्वास छ, हामी सफल हुनेछौं। हामी दश वर्षअघि पेरिसमा गरेका प्रतिबद्धतामा बफादार रह्यौं भने त्यो सम्भव छ।
– फ्रान्सका राष्ट्रपति।(प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: १ पुस २०८२ ०६:५४ मंगलबार

