आजको समयमा मानसिक स्वास्थ्य सबैको मुखमा चल्ने विषय बनेको छ। विविध आयामबाट हामी शरीरको स्वास्थ्यमा ध्यान दिन्छौं– पोषण, व्यायाम, निद्रा, सरसफाइ आदि। तर मानसिक उमेरको पक्षमा भने अझै पनि गहिरो ध्यान दिन बाँकी छ।
विशेष गरी युवावस्थामा आउने मानसिक समस्या आज समाजमा तीव्र रूपमा देखिन थालेका छन्– तनाव, चिन्ता, आत्मविश्वासको कमी, एक्लोपन र सम्बन्धका कठिनाइहरू। यो गर्नुपर्ने, थाहा हुनुपर्ने तर पछि परेको एउटा गम्भीर पक्ष छ, जसबारे हामी प्रायः कुरा गर्दैनौं– मानसिक उमेरको।
मानसिक उमेर भनेको के हो?
मानसिक उमेर भन्नाले व्यक्तिको बौद्धिक, भावनात्मक र सामाजिक परिपक्वताको स्तर जनाउने मापन हो। यो जैविक उमेरभन्दा फरक हुन्छ। कसैको उमेर २० वर्ष भए पनि सोच्ने तरिका, भावनात्मक नियन्त्रण र निर्णय क्षमताले उसलाई १५ वर्षको मानसिक उमेरमा देखाउन सक्छ।
फेरि कतिपय १६–१७ वर्षका युवाहरू जिम्मेवारी, समझदारी र आत्मनियन्त्रणका हिसाबले २५ वर्षका जस्ता परिपक्व पनि देखिन सक्छन् तर हामी १६ वर्षको युवाले २५ वर्षको जस्तो काम र कुरा गर्दा दंग पर्छौं र असाधारण मान्छौं। अर्कोतर्फ ५० वर्षको मान्छेले २० वर्षको जस्तो व्यवहार गर्दा बचपन जस्तो ठान्छौं। यो पनि सही होइन, उमेरअनुसारको परिपक्वता र व्यवहार नै प्राकृतिक हुन्छ।
युवावस्थामा मानसिक असन्तुलन किन बढ्दै छ?
अहिलेका हाम्रा युवाहरू -हाम्रा छोराछोरीहरू सानै उमेरदेखि अत्यधिक जानकारी, अपेक्षा र प्रतिस्पर्धाको घेराभित्र हुर्कीरहेका छन्। जो उमेर स्वतन्त्र सोच, सिर्जनशीलता र जीवन बुझ्ने अभ्यासको हुनुपर्ने हो, त्यही उमेरमा उनीहरू मानसिक थकान, अस्थिरता र आत्म–सन्देहमा फसिरहेका छन्। यसका मुख्य कारणहरूमा सामाजिक सञ्जालको प्रभाव प्रमुख छ। निरन्तर एक अर्कासँग तुलना, लाइक्स र फोलोअर्सको संख्याबाट आत्ममूल्य मापन गर्न थालेका युवाहरू आफूलाई पर्याप्त नभएको महसुस गर्छन्। यो नजानिदो प्रतिस्पर्धा उनीहरूको आत्मविश्वासलाई मुट्ठीभर भर्चुअल स्वीकृतिमा सीमित पार्दै लैजाँदै छ। आफ्नो वास्तविक पहिचानभन्दा पनि अरूको नजरमा कस्तो देखिन्छु भन्ने चिन्ता बढी भएको छ।
त्यसैगरी, शिक्षा र रोजगारीको प्रतिस्पर्धा अर्को ठुलो कारण हो। आजको शिक्षा प्रणालीले सिर्जनशील सोचभन्दा अंक र उपलब्धि केन्द्रित बनाएको छ। रोजगारीमा तलब, हैसियत र बाहिरी सफलता मात्र मापनको आधार बनेको छ। फलस्वरूप, युवा वर्गमा असफलता सहन नसक्ने मानसिकता, आत्म–दबाब र निराशा तीव्र रूपमा बढ्दै गएको छ।
त्यसैगरी, भावनात्मक संवादको कमी हाम्रो पारिवारिक र सामाजिक संरचनामा ठुलो चुनौती बनेको छ। घरमा अभिभावकहरू व्यस्त, बालबालिका स्क्रिनमा हराएका छन्। त्यसैले हृदयदेखि हृदयसम्मको संवाद हराउँदै गएको छ। मनको कुरा राख्ने, सुन्ने र बुझ्ने संस्कार कमजोर हुँदै गएको छ।
डिजिटल एक्लोपन पनि आधुनिक जीवनशैलीको नयाँ आदतजस्तै बन्दै गएको छ। हजारौं अनलाइन साथी भए पनि मन बुझ्ने कोही छैन जस्तो छ। भर्चुअल संसारले वास्तविक सम्बन्ध कमजोर बनाइरहेको छ। यसले युवाहरूलाई एक्लोपन, बेचैनी र असुरक्षाको गतिमा धकेलिरहेको छ। अन्त्यमा, आर्थिक र सामाजिक असुरक्षा पनि ठुलो कारण बन्दै गएको छ।
रोजगारीको अनिश्चितता, बढ्दो मूल्यवृद्धि र सामाजिक दबाबले युवाहरूमा भविष्यप्रतिको डर बढाएको छ। त्यो डरले उनीहरूलाई वर्तमानको सुन्दरता देख्न दिँदैन, जीवनप्रति विश्वास घटाउँछ। त्यसैले आजका युवाहरू केवल भौतिक चुनौतीसँग होइन, आन्तरिक द्वन्द्वसँग पनि जुधिरहेका छन्। यो समस्या समाधान गर्नका लागि हामीले तिनीहरूको मानसिक स्वास्थ्यसँगै भावनात्मक परिपक्वताको विकासमा ध्यान दिनु जरुरी छ। जहाँ सुन्ने, बुझ्ने र मनको सन्तुलन राख्ने अभ्यास शिक्षा र परिवार दुवैको संस्कृतिमा समावेश हुनुपर्छ।
मानसिक उमेरका फरक आयामहरू
मानसिक उमेरलाई बुझ्दा विभिन्न आयामबाट हेरिनुपर्छ–बौद्धिक आयाममार्फत समस्या समाधान गर्ने क्षमता, निर्णय लिने सोच। भावनात्मक आयाममार्फत आफ्नो र अरूको भावनालाई बुझ्ने र नियन्त्रण गर्ने क्षमता। सामाजिक आयाममार्फत सम्बन्ध बनाउने, संवाद गर्ने र सहानुभूति प्रकट गर्ने क्षमता। आध्यात्मिक आयाममार्फत जीवनको अर्थ, मूल्य र आन्तरिक शान्तिको खोज। यी सबै आयाम मिलेर नै व्यक्तिको मानसिक उमेर र मानसिक स्वास्थ्य सन्तुलित रहन्छ।
मानसिक स्वास्थ्य र मानसिक उमेर सन्तुलनका उपायहरू
स्वचेतना- आफ्नो भावना, डर र अपेक्षा बुझ्ने प्रयास गर्नु पहिलो उपाय हो। ध्यान र योगमार्फत मनलाई स्थिर र केन्द्रित बनाउने अभ्यास निरन्तर जरुरी छ। साथै, सकारात्मक सोच, असफलतामा पनि सिकाइ खोज्ने दृष्टिकोणको विकास गर्दै जानुपर्छ। सामाजिक संवादमार्फत परिवार, साथी वा परामर्शदातासँग खुलेर कुरा गर्नु जरुरी हुन्छ।
त्यसैगरी, आत्मअनुशासन, समय व्यवस्थापन, संयम र स्वस्थ बानीको अभ्यास गर्नुपर्छ। आफूसँग भएको सिप र सन्तुलनलाई पढाइ वा कामसँगै कला, संगीत वा प्रकृतिसँग समय बिताउनु पनि महत्त्वपूर्ण पक्ष हो। समग्रमा भन्नुपर्दा मानसिक स्वास्थ्य केवल रोग नभएको अवस्था होइन, यो सन्तुलन, समझदारी र आत्मविकासको यात्रा हो।
हामीले युवाहरूको मानसिक स्वास्थ्य मात्र होइन, मानसिक उमेरको विकास पनि बुझ्नु आवश्यक छ। यदि हामीले विद्यालय, परिवार र समाजमा भावनात्मक साक्षरता र आत्मजागरुकता बढायौं भने युवाहरूले जीवनका चुनौतीलाई दृढ मानसिकतासँग सामना गर्न सक्नेछन्।
युवामा मानसिक उमेरका असन्तुलनका केही उदाहरण
भावनात्मक अपरिपक्वता जस्तै - सुनिता २२ वर्षकी विश्वविद्यालय जाने विद्यार्थी हुन्। उनको पढाइमा राम्रो क्षमता छ तर सानो असफलतामा उनले आफैंलाई दोष दिन्छिन्, रुन्छिन् र पढाइबाटै टाढा हुन खोज्छिन्। यसलाई विश्लेषण गरेर हेर्दा उनी शारीरिक रूपमा प्रौढ भए पनि भावनात्मक रूपमा अझै किशोरावस्थामा जस्तै प्रतिक्रिया दिन्छिन्। यस्तो मानसिक उमेरको असन्तुलनले आत्मविश्वास घटाउँछ र मानसिक स्वास्थ्यमा असर पार्छ।
त्यसैगरी निर्णय क्षमताको कमी, जस्तै -राजेश २४ वर्षका छन् र रोजगारी खोज्दै छन्। उनले हरेक केही महिनामा योजना बदल्छन्, कहिले विदेश जाने, कहिले व्यवसाय सुरु गर्ने, कहिले पढाइ थप्ने। हामी बुझ्न सक्छौं, यस्तो निर्णय अस्थिरता मानसिक परिपक्वता नहुँदाको संकेत हो। उनी जीवनका प्राथमिकता र जिम्मेवारीबारे स्थायी सोच विकास गर्न सकेका छैनन्।
अर्को पक्ष हो, सामाजिक परिपक्वताको कमी, जस्तै– केही युवा साथीहरू सानो मतभेद वा आलोचनामा तुरुन्तै रिसाउँछन्, ब्लक गर्छन् वा सम्बन्ध तोड्छन्। यो व्यवहार सामाजिक परिपक्वता कमजोर भएको संकेत हो। यस्ता युवाहरू संवाद, सहिष्णुता र सहमतिको अभ्यास गर्न सक्दैनन्, जसले सम्बन्ध दिगो र सुमधुर हुन पाउँदैन र एक्लोपन बढाउँछ।
त्यसैगरी, अत्यधिक आत्मकेन्द्रितता, जस्तै – सुरेश २१ वर्षका छन्। उनलाई आफ्नो इच्छा र सुविधाबाहेक अरूको भावनामा ध्यान दिन कठिन लाग्छ। परिवार वा समूहको हितभन्दा आफ्नै फाइदा हेर्छन्। यसबाट बुझ्न सक्छौं कि मानसिक उमेर अझै आत्ममुग्ध चरणमै अड्किएको छ। यस्तो सोचले दीर्घकालीन सम्बन्ध, सहकार्य र सहानुभूति विकासमा अवरोध पुर्याउँछ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको डिजिटल निर्भरता र तात्कालिक सन्तुष्टिको चाहना। जस्तै– अञ्जलीलाई सामाजिक सञ्जालमा लाइक्स नआएमा चित्त दुख्छ, आत्ममूल्य घट्छ र मनोबल कमजोर हुन्छ। यस्तो अवस्था भनेको यो डिजिटल युगको नयाँ मानसिक उमेर समस्या हो। दीर्घ प्रतीक्षा र वास्तविक प्रयासभन्दा तुरुन्त परिणाम चाहने सोचले मानसिक सहनशीलता कमजोर पार्छ।
त्यसैगरी, आर्थिक वा पारिवारिक जिम्मेवारी नलिनु, कसैले २५ वर्ष पुगे पनि अझै आफ्ना निर्णयको जिम्मा लिन तयार हुँदैन, सधैं अभिभावक वा साथीहरूमा निर्भर रहन्छ। यसलाई भावनात्मक र सामाजिक परिपक्वता अभावको संकेत मानिन्छ । यसले आत्मनिर्भरता र जीवन कौशल विकासमा अवरोध गर्छ।
समग्रमा भन्नुपर्दा, मानसिक उमेर उमेरका वर्षसँग स्वतः बढ्दैन। यसको विकासका लागि भावनात्मक सचेतता, आत्म-अवलोकन र सामाजिक जिम्मेवारीको अभ्यास आवश्यक छ। युवाहरूको मानसिक स्वास्थ्य सुदृढ बनाउन हामीले विद्यालय, परिवार र समाजमा मानसिक उमेरको विकासलाई पनि समान रूपमा प्राथमिकता दिनु जरुरी छ।
प्रकाशित: २३ कार्तिक २०८२ ०७:५२ आइतबार

