मानव जीवन अनेक रङ र आयामले भरिएको हुन्छ। कहिले सुख कहिले दुःख, कहिले सफलता कहिले असफलता, यिनै उतारचढावले जीवनलाई पूर्ण बनाउँछन्। जीवनको यथार्थ यही हो कि जीवन लहरहरू जस्तै उठ्छ र ओरालो अनि उकालो लाग्छ। तर, हाम्रो आत्मा भने समुद्रको गहिराइजस्तै स्थिर र शान्त रहन्छ। हाम्रो बालापनदेखि युवा हुँदै वृद्धावस्थाले यी सबै अनुभवलाई परिपक्व बनाइसकेको हुन्छ र पनि ऐन मौकामा हामी भुल्छौं यो यथार्थ र दुःखी बन्छौं अनि जीवनलाई असफलता, सङ्घर्ष आदि नाम दिन थाल्छौं। कहिलेकाहीं त जीवन व्यर्थ छ भन्न पनि पछि पर्दैनौं।
लहरजस्तै जीवनका उतारचढाव
समुद्रका लहरहरू कहिले शान्त, कहिले आक्रोशित त कहिले वेगमा लहरिएको उद्दण्ड भावजस्तो महसुस हुन्छ। ठिक त्यसैगरी हामी पनि जीवनमा अनेक घटना, समस्या र खुसीका क्षणहरूको अनुभव गरिरहेका हुन्छौं। प्राकृतिक रूपमा हेर्यौं भने यो उतारचढावमा पनि सुन्दरता देख्छौं तर त्यसमा आफ्नो अपेक्षा जोडिएको छ भने जीवन आफूखुसी चलाउन मन लाग्छ। अस्तित्व उसको आफ्नो नियमले चल्छ र हामी त्यही अस्तित्वको एक अंश हौं। हामीले पनि उसको मर्जीअनुसार नचलेर सुखै छैन तर मन राजी हुँदैन। मनको स्वभाव पनि समुद्रको लहरजस्तै त हो, विचारका उतारचढावमा कथा बनाएर जीवनको अर्थ लगाउँछ। जीवनका क्षण, मनका आवेग, परिस्थितिका पहाड र तराई सबैलाई स्थिर भएर देख्ने र हेर्ने आत्मा हामीभित्रै छ। उसले हेरिरहेछ, देखिरहेछ, म बाहिर दौडिरहेछु।
यति मात्र कुरा पटक पटक बोध गर्ने हो भने जीवनका उतारचढाव पनि आनन्द लाग्न थाल्छन्। प्रकृतिमा पनि त घाम, पानी, बादल, वर्षा, सुक्खा, हरियाली सबै भई नै रहन्छ। त्यसलाई हामीले अस्विकार गर्नै सक्दैनौं भने जीवनका घटना, परिस्थिति र यथार्थतालाई अस्विकार किन गर्नु? आफ्नो लगनशीलता, सिर्जनशीलता, विवेक, प्रज्ञा र समझलाई निरन्तर निखार्दै, यसको विकसित रूपको स्वयं अनुभव गर्दै जीवन जिउँदै जाने हो। कुन रात र कुन साथ अन्तिम हुनेछ, त्यो पनि अनिश्चित नै छ भने बाँकी उतारचढावको के निश्चितता छ र? जीवन नै स्थायी छैन भने जीवनमा आउने उतारचढाव कसरी स्थायी होलान् र? सबै बितेरै जानेछन्।
त्यो समझको विकास हुन सकेको दिन जीवन एउटा रङ्गमञ्च र आफू एक कलाकार प्रतीत हुन्छ। जीवनले दिएका विभिन्न भूमिका निर्वाह गर्न सक्ने सक्षम पात्र बनाउन चाहन्छ अस्तित्वले हामीलाई। यो बुझ्नासाथ जीवन आहा लाग्छ, प्रतिपल सुन्दर र प्रेमिल लाग्छ। अनि कुनै रिपुहरूले बास गर्नै पाउँदैनन्। मन दुख्नु, क्रोध आउनु, उत्साह चुलिनु, हीनताबोधले तल खस्नु, यी सबै उत्तेजनारूपी उतारचढाव नै हुन्। यी सबै क्षण लहरका रूपमा आउँछन् र जान्छन्। तर यदि हामी लहरसँगै बिचलित हुन थाल्यौं भने हामीभित्रको स्थायित्व हराउँछौं।
चेतनस्वरूप आत्मारूपी मानव जीवन
वास्तवमै मानव जीवन एक सौभाग्य हो सृष्टिमा। हरेक परिस्थिति र क्षणलाई गहिरो, स्थिर र अमूर्त भएर बुझ्न सक्ने क्षमता र कला अस्तित्वले दिँदादिँदै पनि सतही रूपी बुद्धि र तर्कका पछि लागेर आफ्नो स्वभाव र गुणवत्ता बिर्सन्छ मानव। समुद्रको सतह जति अशान्त भए पनि, गहिराइमा सदैव शान्त, स्थिर र मौनता रहन्छ। हाम्रो आत्मा पनि यस्तै हो।
यो हाम्रो चेतना, हाम्रो सच्चा स्वरूप हो, जुन जन्म, मृत्यु, सफलता, असफलता, दुःख वा सुखले विचलित हुँदैन। विचलित भइरहने मन र विचारलाई गहिराइको अनुभूतिमा लैजान ध्यान, आत्मचिन्तन र समभावको अभ्यास जरुरी छ। जसमार्फत त्यहाँ पुगिन्छ - जहाँ शान्ति, स्थिरता र समत्व पाइन्छ। बाहिरी संसारको प्रभावमा लहरिने मनलाई ध्यानले भित्रको मौनतामा पुर्याउँछ। जीवनका सफलता र समस्या सबै क्षणिक लहर हुन आउँछन् र जान्छन्। सदा स्थिर त आत्मा छ केन्द्रमा, त्यसलाई पहिचान र बोध गरेर आफ्नो अन्तर्मनको समुद्रमा डुब्नु छ। जसरी जीवन सधैं सरल हुँदैन, त्यसैगरी कठिन मात्र पनि हुँदैन। लहरहरू उठ्नेछन्, कहिलेकाहीं डुबाउने कोसिस पनि गर्नेछन् तर हामीले आत्माजस्तै गहिरो, स्थिर र शान्त बन्ने अभ्यास गर्नुपर्छ। जीवन लहर हो, आत्मा समुद्र हो। सतहमा हल्लिन सक्छौं, विचलित हुन सक्छौं तर गहिराइमा सधैं स्थिर रहन सक्छौं। यो मन्त्र बारबार दोहोर्याउनु छ।
अमर आत्मा र शान्तिको अनुभूति
जीवन लहर र समुद्रको उदाहरणलाई भगवान् श्रीकृष्णले श्रीमदभागवद गीतामा उल्लेख गर्नुभएको छ -
‘आपूर्यमाणमचलप्रतिष्ठं समुद्रमापः प्रविशन्ति यद्वत्,
तद्वत्कामा यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी।’
जसरी सबै नदी सागरमा गइसकेर पनि त्यसलाई हल्लाउन सक्दैनन्, त्यसैगरी सबै इच्छा मनमा आएर पनि जो शान्त रहन्छ, उसले नै जीवनमा शान्ति पाउँछ। शान्ति आत्माले अनुभव गर्छ, जुन आत्मा कहिल्यै विचलित हुँदैन। आत्मा कहिल्यै मर्दैन, न जल्छ न सड्छ। आत्मा अजर, अमर, अविनाशी छ।
‘नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः,
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।’
कर्ममा निष्ठा, आत्माको अमरता, इच्छाबाट मुक्ति र आत्मज्ञानतर्फको यात्रा मानव जीवनको उद्देश्य हो। भगवान् श्रीकृष्णले त्यसैतर्फ इशारा गर्नुभयो। तिमी आफ्नो कर्म गर, फलको अपेक्षा नगर। मानिसले आफूलाई नै जितेपछि संसार जित्न सक्छ। आत्मसंयम नै सबैभन्दा ठुलो विजय हो। बुद्धिमानी व्यक्ति सुखदुःख दुवैलाई समान रूपमा लिन्छ। समता भाव नै सत्य ज्ञानको चिह्न हो। शरीर नाशवान छ तर आत्मा शाश्वत छ। जो मोह, राग र द्वेषबाट मुक्त हुन्छ, ऊ वास्तविक योगी हो। मुक्ति बाहिरी होइन, भित्रको शुद्धिमा हुन्छ। ‘हे अर्जुन, उठ र आफ्नो धर्मअनुसार युद्ध गर।’
धर्मको मार्गमा डर नमानी अघि बढ्नु नै जीवनको कर्तव्य हो। जीवन र कर्मसँग विचलित नहुन भगवान् श्रीकृष्णले प्रेरित गरिरहनुभयो। उहाँको मुख्य आशीर्वचन थियो -‘भक्तिपूर्वक सम्झिने जो कोही पनि मेरो प्राप्तिमा सफल हुन्छ। म सबै प्राणीमा समभाव राख्छु। मलाई समान रूपमा भज्ने भक्त मेरो हृदयमा छन्।’
तिम्रो सम्यक् कर्म, सम्यक् धर्म, सम्यक् भक्तिले तिमीभित्रको आत्मा, नश्वरता र जीवनको उद्देश्य बुझ्न सहयोग गर्छ। अर्थात् भगवान् श्रीकृष्णले अविचलित मानव र कर्तव्यपरायणता सिकाउनुभयो।
सङ्घर्ष र स्वीकृति
परमगुरु ओशोले आफ्ना प्रवचन र ध्यानविधिमार्फत मानव जातिलाई स्वीकारको जीवन बाँच्न प्रेरित गर्नुभयो। तर हामीले सुनेनौं र सुने पनि व्यवहारमा उतार्न खोजेनौं। ओशोले सधैं भन्नुभयो -जीवन एउटा उत्सव हो। आनन्दपूर्वक बाँच, रमाइलो गर, गहिरो प्रेम गर। तिमीले आफूलाई प्रेम गर्न नसकेसम्म अरूलाई प्रेम गर्न सक्दैनौ। साँचो स्वतन्त्रता बाहिर होइन, भित्रको मौनतामा भेटिन्छ। मन भूत र भविष्यको बिचमा दौडिन्छ तर जीवन सधैं वर्तमानमा मात्रै हुन्छ। जसले स्वीकार गर्न जान्दछ, ऊ मुक्त हुन्छ। सङ्घर्षले होइन, स्वीकृतिले शान्ति आउँछ। साँचो धर्म प्रेम हो, कुनै पूजा, मन्दिर वा धर्मग्रन्थ मात्र होइन। हरेक मानिस अद्वितीय छ, उसलाई अरूसँग तुलना नगर। आत्मज्ञान बाहिर खोजेर होइन, आफ्नो अन्तरात्मासँग गहिरो मौनता र ध्यानबाट प्राप्त हुन्छ। जसले जीवनलाई पूर्ण रूपमा प्रेम गर्छ, ऊ कहिल्यै डराउँदैन।
प्रकाशित: ३१ श्रावण २०८२ ०६:१२ शनिबार

