कस्तूरीले आफ्नै नाइटोमा सुवास भएर पनि जसरी सुगन्धको खोजीमा भौँतारिन्छ, त्यसरी नै नेपालीहरू प्रकृतिको अनुपम वरदान पाउँदा पनि जीवनको खोजीमा भौँतारिरहेका छन्। प्रकृतिले भरिपूर्ण, भारत र चीनजस्ता दुई महाशक्ति राष्ट्रबीच अवस्थित भएर पनि सही शासक र नीति-निर्माताको अभावमा दुई छाक टार्नकै लागि परदेशिनुपर्ने तीतो यथार्थ अझै कायमै छ।
सुनौलो बिहानको खोजीमा पटक–पटक व्यवस्था परिवर्तनका लागि क्रान्तिमा होमिए पनि नेपालीहरूको आकांक्षामा सधैँ तुषारापात हुँदै आएको छ। समृद्ध र सुन्दर जीवनका लागि गरिएको क्रान्तिले फेरि अर्को क्रान्ति गर्न नपरोस्, आर्थिक विकास होस्, रोजगारी सृजना होस् र जीवनस्तरमा सुधार होस् भन्ने उद्देश्यले गरिएको २००७ सालको क्रान्ति होस् वा २०६३/६४ को जनआन्दोलन-नेपाली जनताले अपेक्षित उपलब्धि कहिल्यै पाएनन्। बरु झन् जर्जर अवस्था भोग्नुपरेको देखिन्छ। जनताको अवस्था परिवर्तन गर्ने भन्दै चिल्ला गफ र मीठा नारा दिएर सत्तामा पुगेका नेतृत्वहरू नै सत्तामोहमा यसरी लिप्त भए कि, जसको विरुद्ध क्रान्ति गरिएको थियो, त्यसभन्दा पनि झन् खराब र दुराचारी बने।
विश्वमा प्रचलित विभिन्न शासन व्यवस्थाहरू-राजतन्त्र, नियन्त्रणात्मक राणा शासन, प्रजातन्त्र, २०४७ सालको संवैधानिक राजतन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि जनताको जीवनमा उल्लेखनीय सुधार हुन सकेन। नेपाल सधैँ शासकीय प्रयोगशाला मात्र बनिरह्यो। यसबाट स्पष्ट हुन्छ कि जुनसुकै शासन व्यवस्था भए पनि शासकमा नैतिकता र सदाचारिता नहुँदासम्म नागरिकको जीवनमा परिवर्तन सम्भव हुँदैन।
सत्ताबाहिर हुँदा विकास र समृद्धिका हजारौँ मोडेल र विकल्प प्रस्तुत गर्ने नेताहरू सत्तामा पुगेपछि ती सबै बिर्सेर नातावाद, कृपावाद, भ्रष्टाचार र विभिन्न काण्डमा फस्ने गरेका छन्। यसरी हजारौँका आदर्श बनेका नेता नै सबैभन्दा खराब पात्रका रूपमा रूपान्तरण भएका अनेक उदाहरणहरू हाम्रो समाजमा प्रशस्त छन्।
पटक–पटक क्रान्तिका नाममा शहीद भएका, परिवार गुमाएका तथा घाइते भएका नागरिकहरूले उपहारस्वरूप चरम अभाव, सिन्डिकेट, निराशा, बेरोजगारी र पीडा बाहेक केही पाएका छैनन्। यिनै घटनाहरू र निराशाबीच २०८२ भदौ २३ र २४ गते जेन–जी आन्दोलन भयो। चरम अभाव, सिन्डिकेट, निराशा, बेरोजगारी, भ्रष्टाचार र बेथितिको विरुद्ध तथा गलत कार्यमा राज्यको संरक्षण बन्द गर्नुपर्ने, युवाले अवसर नपाएर विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने मागसहित आन्दोलन गरिएको थियो।
तर भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दा नै कलिला बालबालिकाले ज्यान गुमाउनुपर्यो-७६ जनाको दुःखद निधन भयो। राज्यले अर्बौँको क्षति व्यहोर्नुपर्यो, मुलुकका धरोहरहरू जलेर नष्ट भए र देशले फेरि अर्को पीडादायी नियति बेहोर्नुपर्यो।
यही घटनाको पृष्ठभूमिमा भएको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली जनताले संयमता अपनाउँदै मतदानमार्फत आफ्नो कर्तव्य पूरा गरे। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व रूपमा झन्डै दुई तिहाइ मत प्राप्त गर्दै सरकार गठनको चरणमा पुगेको छ। विभिन्न विश्लेषकहरूले भू–राजनीतिक परिवेश तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा टिप्पणी गरिरहेका छन्।
तर यसपटक नागरिकहरूले गरेको विश्वास र अपेक्षा अनुरूप राज्यले विकास, समृद्धि र सुशासनको मार्ग समातोस्। भगवान बुद्धको देशले स्थायी शान्ति प्राप्त गरोस् र फेरि अर्को क्रान्ति आवश्यक नपरोस्।
वालिङ–९, स्याङ्जाका गैह्रे नास्टका प्रशासकीय अधिकृत हुन् ।
प्रकाशित: ९ चैत्र २०८२ २०:०५ सोमबार

