हरितालिका तिज उपवास, उपासना र संकल्पको पर्व हो। संस्कृतिलाई विकृति होइन सुसंस्कृत बनाउने संकल्पसहितको पर्व हो। तिजको आफ्नै महत्त्व छ। धार्मिक कथनहरूका अनुसार हिमालय पुत्री पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने पिताको वचन पार्वतीलाई चित्त बुझेन। सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा थियो। सोही कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन्।
विभिन्न किम्बदन्ती अनुसार सय वर्ष तपस्या गर्दा पनि तपस्याको फल प्राप्त नभएपछि पार्वतीले कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आशीर्वाद दिए र पार्वतीले शिवलाई पति प्राप्त गर्न सफल भइन् भन्ने धार्मिक ग्रन्थहरूमा पाइन्छ।
विशेष संकल्प, दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्रप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस तिज पर्वको महत्त्व आफैंमा विशिष्ट छ। पार्वतीले यो व्रत प्रारम्भ गरेको मुख्य दिन यही भाद्र शुक्ल द्वितीया हो। चार दिनसम्म चल्ने यस पर्वको आफ्नै विशेषता र महत्त्व रहेको पाइन्छ।
खास गरी हिन्दू नारीहरू विवाहित वा अविवाहित सबैले यो पर्वलाई मनाउन सक्छन्। भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रूपमा पनि लिइन्छ।
विशेषतः भगवान् शिवकै पुजा र आराधना गरी मनाइने हरितालिका तिजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ। स्वयं माता पार्वतीले शिवलाई पति पाउँ र शिवको स्वास्थ्य, आयु एव् ऐश्वर्यमा कुनै बाधा नपुगोस् भन्ने दृढ चाहना राखेर व्रत उपासना गरिएकाले सोही प्रसंगले निरन्तरता पाइरहेको विश्वास व्रतालु एवं धर्मालम्बीहरूमा रहनु स्वभाविक हो।
हरितालिका तिजको प्रथम दिन अर्थात् भाद्र शुक्ल द्वितीया दर खाने दिन हो शरीरलाई पोषक, गुणस्तरीय एवं स्वास्थ्यवर्धक वस्तु खाएर मनाउनु राम्रो हुन्छ। दोस्रो दिन हरितालिका तिज भाद्र तृतीया, मुख्य व्रत र उपासनाको दिन हो। उप र वास, उप अर्थात् नजिक र वास भनेको बस्नु हो। कसका नजिक बस्नु? भगवान्का नजिक बस्नु सत्यको निकट बस्नु। असत्य, अहङकार विकृति र विसंगतिबाट टाढा रहनु नै उपवासको सही अर्थ र व्रतको सार्थकता हुने भएकाले शान्त, प्रसन्न एवम् दृढ संकल्पका साथ हरितालिकाको व्रत बस्नाले सबैका लागि हितकर हुन्छ।
हामी सबै नारी पुरुषले यसलाई संस्कारयुक्त बनाउन सकेनौं भने तिज दिन प्रतिदिन खर्चालु, भड्किलो र सामाजिक रूपले विषाक्त बन्दै जाने छ।
यस्तो पवित्र उद्देश्य र संकल्प रहेको हरितालिका तिजको नामले प्रख्यात पर्व केही समय यता धार्मिक पर्वका नाममा सामाजिक विकृति बनेर आइरहेको छ।
तिज महोत्सव, तिजको दर, तिज मेला, तिज फेस्टिबल जस्ता अनेक नामले तिजको धार्मिक–सामाजिक महत्त्व खस्कँदै गइरहेको छ। विशेषतः यस पर्वलाई चेलिबेटी तथा माइतीको पुनर्मिलनको आनन्दमय उत्सवका रूपमा मनाउनुपर्ने मान्यता हो।
अहिले आएर होटल रेस्टुरेन्ट, बार, पार्टी प्यालेस मात्र नभई महिला समूह, बचत समूह/सहकारी कर्मचारीहरू आआफ्नो दल विशेषका संघ संगठन युनियनहरूमा, पेशागत संघसंस्थाहरू, धार्मिक संघसंस्था आआफ्नो कार्यलयमा तिज दरको संस्कृति विकृति बनेर अगाडि बढ्दै गइरहेको छ। तिजको धार्मिक सांस्कृतिक एवं सामाजिक महत्त्व दिनानुदिन घट्दै गइरहेको पाइन्छ।
लामो समयसम्म भेटघाट नभएका चेलिबेटी माइतमा भेला भएर सुख–दुःख, प्रगति आदिबारे चर्चा परिचर्चा गर्दै दाजुभाइ, माता पिता सबैको सामिप्य ग्रहण गर्दै उल्लासमय रूपमा माइतीको गाउँ, ठाउँ र देशमा मनाउनुपर्ने पर्वको अहिले आएर पार्टी प्यालेस र ब्याङ्क्वेलाई माइती मानेर मनाउन थालिएको छ। यसले हाम्रो धर्म, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई कता लैजाँदै छ भन्ने स्वयं तिजको रमझममा रमाइरहेका हामी सबैले सोच्नुपर्ने बेला आएको छ।
मुलुकको उत्पादनमुखी अर्थतन्त्र खस्कँदो छ। तिजको भड्किलो उपहार, दर, टिकट, चिठ्ठा एवं कक्टेल दर तथा डिनर जस्ता कार्यक्रम अनुत्पादक अर्थतन्त्रका द्योतक हुन्। सरकारले फजुल खर्च कम गर्ने, सांस्कृतिक विकृति नियन्त्रण गर्ने कानुन पनि निर्माण गरेको छ। सोचौं त सरकारले फजुल खर्च कम गर भनेको छ, नियन्त्रण गर्ने ऐन कानुन छ। हामीले चाहिँ कहाँ र कहिले पालना गरेका छौं? यस्ता प्रश्न धेरै र प्रायः अनुत्तरित पनि छन्।
शरीर, मन र वचनले शुद्ध भएर दियो, कलश गणेश स्थापना गरी उमामहेश्वरको पुजा गरेर आफ्नो संकल्पलाई सार्थक पार्न गरिने व्रत नै हरितालिका तिजको प्रमुख व्रत मानिन्छ। ‘उमामहेश्वर सामुज्य सिद्धेये हरितालिका व्रतमहं करिस्ये’ भन्ने संकल्पका साथ शिव पार्वतीको प्रतिमामा पुजा गर्नाले नै पति र सम्पूर्ण परिवारको आयु, आरोग्य, सौभाग्य एवम् श्रीवृद्धि हुने विश्वास यस व्रतको हो।
हरितालिका व्रत कथा सुन्ने चलन पनि छ। शिवजीले पार्वतीलाई पूर्व जन्मको स्मरण गराएको महात्म्य नै हरितालिका व्रत कथा हो। एवं रितले तेस्रो दिन गणेश चौथी पर्दछ। व्रतको उद्यापन गरेर सामान्य शुद्ध भोजन गरी पञ्चमी पुजा गरेपछि हरितालिका तिज समाप्त हुन्छ।
पवित्र उद्देश्य र दृढ संकल्पका साथ सम्पन्न गरिने अनुष्ठानमा दरका नाममा अभक्ष, अखाद्य एवम् आफ्नो स्वास्थ्य प्रतिकुल हुने वा असर गर्ने भोजन गर्नु उचित छैन। हामीले सुन्दै र पढ्दै आइरहेका छौं कि कहीँ अखाद्य भोजनका कारण गाउँ नै बिरामी पर्यो। यस्ता समाचार थुप्रै छन्। अतः आफ्नो इष्टमित्र, अत्यन्त निकट छिमेकी तथा साथीभाइबिच सम्बन्ध सुमधुर बनाउनु सुखद् विषय हो। सम्बन्ध दर खाएर र खुवाएर मात्र सुदृढ हुने होइन। यो त व्यवहार, आदर्श र भावनाले हुने विषय हो। मौलिक संस्कृति अनुरूप हरितालिका पर्व मनाउने संकल्प यही तिजबाट लिन सक्यौं भने मात्र व्रतको र हरितालिकाको मुख्य फल प्राप्त होला।
हामी सामाजिक प्राणी, कतिपय मानिस एक पत्ता जीवनजल र एउटा गोली सिटामोल नपाएर मृत्युवरण गर्न बाध्य छौं। कतिपय नवसंभ्रान्त भनिनेहरू दैनिक दरका नाममा फजुल खर्च गरिरहेका छौं।। यो तिजले नकारात्मक भावनाहरूको अन्त्य गरी सकारात्मक सोच र भावना विकास गर्न सक्नुपर्दछ।
हामी व्रतालुहरू व्रतको दिन मन्दिर जान्छौं, गहना तिजको संस्कृति नै हो। भड्किलो शृङ्गार र पोशाक हिंसाको समाचार नबनोस्। तसर्थ ठिक गरगहना र मन्दिर जाँदाको होसियारीप्रति सबैको ध्यान पुग्नु जरुरी छ। शृङ्गार तथा गरगहना उत्ताउलो होइन शालीन र भद्र होस्। तिज संस्कार र संस्कृतिले पूर्ण बन्नु सक्नुपर्दछ।
यस वर्षको हरितालिका तिज मंगलबारका दिन परेको छ। निर्जला वा निराहार व्रत बस्ने प्रचलन छ तिजको हो तर आफ्नो शरीर र स्वास्थ्यलाई ख्याल राखी पानी, जुस, फलफूल र दूध खाने चलन छ। कठोर व्रतले हानी गर्न पनि सक्छ। अतः आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर निराहार वा फलाहार रोज्ने त्यो व्रतालुको विचार इच्छा र स्वास्थ्यमा भर पर्ने विषय हो।
(लेखक ओली शिवाकोटी जेन्डर विज्ञ हुन्।)
प्रकाशित: १० भाद्र २०८२ ०८:५८ मंगलबार

