बहुदलीय व्यवस्थाको पुनरागमन अनि मुलुक प्रदेशगत संरचनामा गएपछि समेत ससाना सुविधाका लागि पनि काठमाडौं धाउनुपर्ने बाध्यता हटेन। अध्ययन, रोजगारी तथा व्यवसायका लागि मात्र होइन, संघीय संरचनाअन्तर्गत स्वतः क्षेत्रीय सदरमुकामबाट पाउनुपर्ने सेवाका लागि समेत उपत्यका धाउनुपर्यो। बसाइँसराइ बाध्यता बन्यो। सन् १९९० देखि २०१५ सम्म आइपुग्दा काठमाडौंको जनसंख्या तीन गुणा बढ्यो। कुनै ठोस कदम नचाले जनघनत्वको ग्राफ अझ उक्लिने निश्चित छ।
आकासिँदो आवादीलाई सेवा दिन आवास, सवारी, उद्योगलगायतका संरचनाहरू थप्नैपर्छ । पूर्वाधारहरू थपिँदा राजधानीको वायु र वातावरण कोलाहलपूर्ण बनेको जगजाहेरै छ। जनसंख्या वृद्धिसँगै विभिन्न सास्ती बेहोर्नुपरे पनि मुख्यतः वायु र ध्वनि प्रदूषणका कारण उपत्यकावासीले सामना गर्नुपरेको चुनौतीको चर्चा गर्नु यो आलेखको लक्ष्य हो।
गत हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको वायु प्रदूषणको कहालीलाग्दो अवस्थाबारे सर्वसाधारणलाई सूचित गरायो। राजधानीको वायु विषाक्त भएकाले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन सल्लाह दियो। जनतालाई चेतना दिन दूषित हावाका कारण नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको आँकडासमेत प्रस्तुत गर्न मन्त्रालयले भ्यायो। हावा प्रदूषित हुँदा एक पक्ष मात्र संक्रमणको सिकार बन्दैन, उक्त भौगोलिक क्षेत्रका सबै जनता प्रभावित हुन्छन्। सहरको प्रदूषण वहन गर्नु बासिन्दाको नियति बन्छ।
केही दशकअघिसम्म शरीरमा प्राणवायुको सहजीकरण गर्ने भएकाले हावामा रहेका धुलोधुवाँले फोक्सोसँग सम्बन्धित रोगहरू मात्र लाग्छन् भन्ने सोचिन्थ्यो तर पछि भएका अन्वेषणहरूले खराब वायुको प्रभाव केवल फोक्सोमा सीमित हुँदैन, बरु प्रदूषित हावाले शरीरका प्रत्येक अंगलाई जर्जर बनाउने देखाए।
त्यस्तै, हल्ला हुने ठाउँमा बस्दा केवल श्रवण शक्तिमा मात्र खराबी आउने ठानिएकोमा पछिल्ला अध्ययनहरूले ध्वनि प्रदूषणको भयानकता केवल कानको स्वास्थ्यमा मात्र सीमित छैन भनेका छन्। उज्ज्वल भविष्यका लागि बसाइँ सर्न बाध्य भएका राजधानीका बासिन्दाले भोग्नुपर्ने स्वास्थ्य समस्याको चर्चा सान्दर्भिक देखिन्छ।
सवारी साधन, कलकारखाना अनि बढ्दो जनसंख्यालाई आवास र भोजनका हेतु भएका विकास–निर्माण तथा उपत्यकाको कछाडमा डढेलो लाग्दा काठमाडौंको वायु विषाक्त बन्छ। ध्वनि प्रदूषण हुन्छ। चारैतिर पहाडले घेरिएको कचौरारूपी राजधानीको वायुप्रदूषण हावाको बहावले मात्र न्यून गर्न सक्ने सम्भाव्यता हुँदैन, बरु आवधिक वर्षा आवश्यक हुन्छ। लामो खडेरीसँगै हावाको विषाक्तता बढ्ने हो। अहिलेको वायुप्रदूषण अल्पवृष्टिको प्रतिविम्ब हो।
धुलोधुवाँका कण र ग्यास अवस्थामा रहेका रासायनिक तत्त्वहरू श्वासप्रश्वासका क्रममा फोक्सोमा पुग्छन्। ठुला आकारका तत्त्वहरू फोक्सोका कोष (सेल) हरूमा टाँसिन्छन् अनि आफ्नो उग्र रूप प्रदर्शन गर्छन्। व्यक्तिमा फोक्सोको समस्या देखिन्छ तर ग्यास अवस्थामा रहेका रासायनिक तत्त्वहरू अनि ०.१ माइक्रोनभन्दा साना कणहरूले फोक्सोको बन्देजलाई छिचोल्दै रक्तसञ्चारमा पुग्छन्। रगतमा पुगेका तत्त्वहरू सहजै शरीरभर फैलिन्छन्।
यसरी शरीरका सबै भागमा पुगेपछि क्षतिको आयतन पनि भयावह हुन्छ। माइक्रोप्लास्टिकसमेत भनिने आँखाले नदेखिने प्लास्टिकका कणहरू रक्तसञ्चारमार्फत मस्तिष्क, मुटु, कलेजोलगायतका महत्त्वपूर्ण अंगमा फैलिएको देखियो। यस्ता बाह्य सूक्ष्माणुहरू शरीरमा पुग्दा विगतमा मानवले नभोगेका क्यान्सरलगायतका विभिन्न नवीन रोगहरू भित्रिए भन्ने एक पक्षको राय छ।
पछिल्ला ५–६ दशकमा ल्याबहरूमा भिन्न स्वाभावका रासायनिक पदार्थहरू बने। प्रयोगशाला निर्मित तत्त्वहरूको भूमण्डलीकरण अस्वाभाविक होइन। अति संवेदनशील ‘फार्मास्युटिकल’ उत्पादनहरूदेखि क्यान्सरको कारक ठहर भएका ‘कार्सिनोजेनिक’ तत्त्वहरू समेत वायुमण्डलमा पुगे। यस्ता तत्त्व रक्तसञ्चार प्रणालीमार्फत शरीरका विभिन्न भागमा पुग्छन्। रासायनिक प्रतिक्रियामार्फत चञ्चल ‘फ्री रेडिकल’ बन्छ। अस्थिर ‘फ्री रेडिकल’ अति शक्तिशाली रासायनिक तत्त्व भएकाले संसर्गमा आउने आनुवंशिक पदार्थ मात्र होइन, बरु प्रोटिन, इन्जाइमहरूको बनोटलाई ध्वस्त पार्छ। आनुवंशिक तत्त्व, डिएनएमा परेको आघातलाई अविलम्ब सुधार्न असमर्थ हुँदा व्यक्ति विभिन्न किसिमका क्यान्सर लगायत जटिल रोगको सिकार बन्छ । प्रोटिनमा कैफियत पुग्दा व्यक्ति स्वास्थ्य जटिलतामा फस्छ। विभिन्न सहरको हावामा पाइने असंख्य रासायनिक तत्त्वहरूको विश्लेषणपछि दिक्क भएर एक अन्वेषणकर्ताले वायु प्रदूषणले कुन रोग लाग्छ भन्नुभन्दा पनि खराब हावाले कुन चरित्रको अर्बुदरोग लाग्दैन भन्न सजिलो हुने बताए। विषाक्त हावाले लाग्ने रोगको तालिका लामो रहेको बुझ्न कठिन रहेन।
गत वर्ष संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ सिकागोको इनर्जी पोलिसी इन्स्टिच्युटले वर्गीकृत गरेको २०० भन्दा अधिक देशहरूमा वायु प्रदूषणको हिसाबले नेपाल तेस्रो स्थानमा पर्यो। वर्षभरको सरदर प्रदूषणलाई विश्लेषण गरी देश तथा सहरको हावाको अवस्था निर्धारण गरिन्छ। बंगलादेश र भारतपछि नेपाल तेस्रो स्थानमा रहेको उक्त प्रतिवेदनले जनाएको छ। काठमाडौंको वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्ड स्तरभन्दा झन्डै पाँच गुणा अधिक छ । नेपालले वायु स्वच्छतालाई डब्लुएचओको मापदण्डमा कायम गर्न सकेमा नेपालीको औसत आयु साढे तीन वर्ष बढ्ने देखिन्छ।
युनिभर्सिटी अफ ओस्लोका प्राध्यापक कारी अल्भरको समूहले सन् २००७ मा पहिलो पटक वायु प्रदूषणले ज्येष्ठ नागरिकको हड्डीमा लवणको मात्रा घटाउने निष्कर्ष ‘ओस्टियोपोरोसिस इन्टरनेसनल’मा प्रकाशित गरे। त्यस्तै, संयुक्त राज्य अमेरिकाको माउन्ट साइनाई अस्पतालका वैज्ञानिकहरूले झन्डै एक करोड वयस्क समूहको वासस्थानको वायुप्रदूषण र नागरिकको अस्थिपञ्जर स्वास्थ्य अध्ययन गर्दा हावामा खरानीको मात्रा अधिक भएको सहरमा बस्ने बासिन्दाको हड्डी कमजोर हुने निष्कर्षसहितको नतिजा सन् २०१७ मा ‘लान्सेट प्लानेटरी हेल्थ’मा छापे । उल्लिखित दुई अन्वेषणले प्रदूषित काठमाडौंमा बस्नेभन्दा मुगुमा बस्ने बाजे सुत्दा खाटबाट लडेर अंगभंग हुने सम्भाव्यता कम देखियो।
जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक रेन्डल इंगलको अन्वेषण समूहले काठमाडौंकै हाराहारीमा वायुप्रदूषण हुने ‘मेक्सिको सिटी’मा बस्ने बच्चाहरूको दिमागको जैविक बनोट अध्ययन गरी सन् २००८ मा ‘ब्रेन एन्ड कोग्निसन’मा एक अनुसन्धान प्रकाशित गरे। प्रदूषणयुक्त हावा भएको सहरमा हुर्किएका बच्चामा ‘अल्जाइमर’ रोगको कारक प्रोटिनहरू अधिक देखियो भन्ने उक्त लेखको सार थियो।
त्यस्तै सन् २०२४ मा प्रकाशित ‘द ल्यान्सेट कमिसन्स’को प्रतिवेदनअनुसार वायु प्रदूषण र मस्तिष्कका रोगबिच प्रत्यक्ष सम्बन्ध रहेको देखियो। उपर्युल्लिखित दुई अध्ययनले समान अवस्था रहे काठमाडौंमा हुर्किएको बच्चाभन्दा धनुषामा पढेको बच्चाको बौद्धिक क्षमता तीक्ष्ण हुने देखियो।
ध्वनिले व्यक्तिको स्वास्थ्यमा पार्ने प्रभावका लागि केही अन्वेषणको चर्चा सान्दर्भिक देखिन्छ । ठुलो, चर्को ध्वनिले दिमागमा पार्ने असरका विषयमा सन् २०२० मा ‘युरोपियन हार्ट जर्नल’मा एक लेख छापियो। विस्फोटक आवाज सुन्दा पनि दुःख परेको बेला शरीरमा बन्ने ‘कोर्टिसोल’ र ‘एड्रिनालिन’ हर्मोनहरू अप्रत्याशित रूपमा पैदा हुन्छन्। हर्मोनका कारण रक्तसञ्चार प्रणालीको क्रियाकलाप असामान्य बन्छ। यसरी रक्तसञ्चार प्रणाली असामान्य हुँदा मुटुको धड्कन तथा रक्तचाप एक्कासी बढ्ने भएकाले व्यक्तिको मुटु तथा मस्तिष्कमा रक्त आपूर्ति प्रभावित भई मृत्यु हुन सक्ने सम्भावना देखियो। ध्वनि प्रदूषणले हर्ट अट्याक तथा पक्षघातलाई बढाउने देखायो अन्वेषणले। एउटा पृथक् अन्वेषणले ध्वनि प्रदूषणमा उच्चविन्दुमा रहेको काठमाडौंका बासिन्दामा मुटुरोगको सम्भाव्यता दुर्गम भेगको शान्त गाउँमा बस्ने गाउँलेको तुलनामा पाँच गुणा अधिक हुन्छ भन्ने देखायो।
प्रकाशित अध्ययनहरूको विश्लेषण गर्दा वायु प्रदूषण र सहरको कोलाहलले बासिन्दामा मानसिक समस्या, मुटुरोग, हड्डी मक्किने मात्र होइन, क्यान्सरलगायतका विभिन्न आनुवंशिक रोगहरूको सम्भाव्यता बढाउने भएकाले स्वच्छ वायु र ध्वनि नियन्त्रणको प्रत्याभूति गराउनु सरकारको दायित्व बन्छ। अत्यधिक सवारीसाधन र अव्यवस्थित निर्माणकार्यलाई नियमन गर्न सके राजधानीमा ध्वनि र वायु प्रदूषण नियन्त्रण गर्न मद्दत पुग्थ्यो। संघीय संरचनाको मर्मअनुरूप प्रदेशहरूले आफ्ना अधिकार र दायित्व निर्वाह गर्ने हो भने बाध्यतावश राजधानी धाउनुपर्नेहरूको संख्या घट्न गई काठमाडौंले भोग्नुपर्ने चाप कम हुन्थ्यो। वायु र ध्वनि प्रदूषणले जनताको स्वास्थ्य अवस्थामा सिधा प्रहार गर्ने भएकाले नीतिगत समाधान आवश्यक देखियो।
प्रकाशित: ४ चैत्र २०८२ १०:५४ बुधबार

