२ वैशाख २०८३ बुधबार
image/svg+xml
विचार

इरानको रणनीतिक विजय

जब अमेरिकाले इरानसँग दुई साताका लागि युद्धविराम गर्ने सहमति गरेको खबर आयो, मलाई सन् १९८२ मा अमेरिकी कर्नेल हेरी समर्सले वर्णन गरेको एक संवाद तत्काल याद आयो। 

‘तपाईंहरूले हामीलाई युद्धभूमिमा कहिल्यै हराउनुभएन,’ समर्सले एक पूर्व उत्तर भियतनामी कर्नेललाई भनेका थिए। ‘हामीले युद्ध जित्यौं,’ उनको स्पष्ट जवाफ थियो।

कुनै भ्रम नरहोस्, यो युद्धविराम सम्झौताले इरानमा अमेरिका–इजरायल गठबन्धनको रणनीतिक हारलाई पक्का गरेको छ। यो युद्धलाई कसरी शक्तिशाली देशहरू पनि  युद्धको जालमा फस्छन् भन्ने अर्को उदाहरणका रूपमा सम्झिनेछ, जुन युद्धमा शक्तिशाली सेनाहरूले प्राय: आफ्ना सामरिक उपलब्धिलाई रणनीतिक विजयमा रूपान्तरण गर्न असफल हुन्छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा इतिहासमा बढी पारंगत मानिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो कुरा बुझ्नुपथ्र्यो। सन् १८१२ मा काले भन क्लाउजविट्जले प्रतिपादन गरेका युद्धका सिद्धान्तहरूले स्पष्ट पार्छन् कि शत्रुका शक्तिको विनाशले उनीहरूको प्रतिरोध गर्ने इच्छामा अन्त्य ल्याउनुपर्छ। तर असम्मत युद्धहरूले ‘निर्णायक युद्ध’सम्बन्धी यो मान्यतालाई चुनौती दिन्छन्। इरान यसको अपवाद हुने कुनै कारण थिएन।

वैचारिक उत्साहले प्रेरित र शताब्दीयौंदेखि अस्तित्वका लागि युद्ध झेलेको इरानी सभ्यताले सजिलै आत्मसमर्पण गर्ने कुरा थिएन। सन् १९८० को दशकमा इराकसँगको आठ वर्षे युद्धमा करिब सात लाख ५० हजार नागरिक गुमाएको देशसँग त्यस्तो मनोवैज्ञानिक बल थियो, जसका कारण केही दर्जन शवपेटिकाको भावनात्मक प्रभावमा ढल्ने शत्रुभन्दा ऊ फरक थियो। गत जनवरीमा मात्र ४८ घण्टाभित्र आफ्नै देशका हजारौं नागरिक मार्न सक्ने शासनलाई दुई महिनापछि नागरिकमाथि गरिएका धम्कीहरूले विचलित पार्ने कुरै थिएन।

यद्यपि अमेरिका र इजरायलले इस्लामिक गणतन्त्रका धेरै राजनीतिक तथा सैन्य नेताहरूलाई मारे र सैन्य क्षमतासमेत ध्वस्त पारे। इरानले विश्व अर्थतन्त्रविरुद्ध क्षययुद्ध (वार अफ एट्रिसन) सञ्चालन गर्‍यो। कुनै पनि सक्षम सैन्य योजनाकारले अनुमान गरेझैं इरानले महत्वपूर्ण हर्मुज जलमार्ग अवरुद्ध गर्‍यो र आफ्ना हुथी सहयोगीहरूलाई वैकल्पिक मार्ग बाब अल–मान्डेब बन्द गर्न तयार राख्यो। यसका साथै ड्रोन र क्षेप्यास्त्र आक्रमणमार्फत इरानले आफ्ना शत्रुहरूको सैन्य लाभलाई धेरै हदसम्म निष्प्रभावी बनायो।

यस प्रक्रियामा इरानले आफ्नो आम्दानी पनि मजबुत बनाएको छ– अहिले उसले युद्धअघि भन्दा झन्डै दोब्बर तेल बिक्रीबाट आम्दानी गरिरहेको छ र जलडमरुमार्फत आवतजावत गर्ने जहाजहरूमा थप कर लगाएर पनि नाफा कमाइरहेको छ। अमेरिकी प्रतिबन्धहरू खुकुलो हुँदा रुसले पनि लाभ उठाएको छ। उता खाडीका अमेरिकी सहयोगीहरूको आम्दानी घटेको छ, साथै उनीहरूले अमेरिका र आफ्नै अर्थतन्त्र विविधीकरण गर्ने उद्देश्यले अर्बाैं डलरको लगानी पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठेको छ।

सबैभन्दा महत्वपूर्ण कुरा, अमेरिका र इजरायलले यो युद्धका उद्देश्य पूरा गर्न सकेनन्। हर्मुज जलडमरु पुन: खोलिनुलाई विजय मान्न सकिँदैन, किनकि युद्धअघि नै त्यो खुला थियो। इरानको ब्यालिस्टिक क्षेप्यास्त्र क्षमता र समृद्ध युरेनियम भण्डार अझै चुनौती नै छन्, जसलाई युद्धअघिझैं कूटनीतिक माध्यमबाट मात्र समाधान गर्न सम्भव छ। इस्लामाबादमा हुने भनिएको आगामी वार्ताले पनि अमेरिकी हुकुम थोपरिने छैन, बरु इरानीहरूले अझै अमेरिकी वार्ताकारलाई चुनौती दिन सक्छन्।

शासन परिवर्तनको सवालमा, अहिले इरानमा नयाँ नेतृत्व भए पनि तिनीहरू अघिल्लाभन्दा मध्यमार्गी छैनन्, बरु उल्टै, इस्लामिक गणतन्त्र पूर्ण रूपमा सैन्य तानासाहीतर्फ रूपान्तरण भएको छ र त्यहाँ आयतोल्लाहहरूले कठोर इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सलाई धार्मिक वैधता प्रदान गर्छन्।

क्षेत्रीय प्रभावहरू पनि अमेरिका र इजरायलका लागि अनुकूल छैनन्। यो युद्धले मध्यपूर्वको भूराजनीतिक नक्सा फेरिने संकेत दिएको छ। चीन, इरान, रुस र उत्तर कोरियाजस्ता पश्चिमी नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिने देशहरूबिच सम्बन्ध अझ बलियो हुन सक्ने देखिएको छ।

उता इरानको प्रत्याक्रमणको मुख्य मार खेपेका खाडी राष्ट्रहरूले अमेरिकी सैन्य अड्डाहरूलाई सुरक्षाभन्दा बढी जोखिमको रूपमा हेर्न थाल्न सक्छन् र आफ्ना गठबन्धनलाई विविधीकरण गर्न सक्छन्। उनीहरूले टर्की अथवा पाकिस्तानजस्ता क्षेत्रीय शक्तिसँग नजिकिने सम्भावना पनि छ।

यसबिच मध्यपूर्वमा आणविक हतियार विस्तार (न्युक्लियर प्रोलिफेरेसन) को जोखिम पनि बढेको छ, किनकि अब नेताहरूले आणविक हतियारलाई अन्तिम सुरक्षा कवचका रूपमा हेर्न थालेका छन्। इरानले इराक, लेबनान र यमनमा आफ्ना प्रतिनिधि समूहहरूलाई अझ सुदृढ बनाउनेछ र तथाकथित कमजोर राज्यहरूको फाइदा उठाउँदै आफ्नो क्षेत्रीय प्रभाव बढाउनेछ।

यसैगरी नेतन्याहूलाई देशलाई संकटमा धकेलेको आरोपमा जिम्मेवार ठहर्‍याइएन भने इजरायलमा लोकतन्त्र नै संकटमा पर्नेछ। उनका हिंसात्मक र अपरिपक्व नीतिहरूले समाजलाई विभाजित पारेका छन् र अमेरिकामा इजरायलको छविलाई कमजोर बनाएका छन्। प्यालेस्टिनीहरूमाथि गरिएको बढ्दो दमनबाट ध्यान हटाउन इरान प्रयोग गर्ने उनको प्रयासले स्थिति अझ बिगारेको छ।

शीतयुद्धका बेला अमेरिकी कूटनीतिज्ञ जर्ज केनानले आन्तरिक कमजोरी र बाह्य विस्तारले सोभियत संघ आफैं ढल्ने भविष्यवाणी गरेका थिए। त्यसैले उनले प्रत्यक्ष युद्ध टार्दै विस्तार रोक्ने ‘कन्टेनमेन्ट’ रणनीति प्रस्ताव गरेका थिए।

यही रणनीतिले इस्लामिक गणतन्त्र इरानविरुद्ध पनि काम गर्न सक्थ्यो, जुन ढिलो–चाँडो आफ्नै आन्तरिक विरोधाभासले ढल्ने निश्चितजस्तै थियो। तर अमेरिका र इजरायलले त्यस्तो टकराव रोजे, जुन उनीहरूको पक्षमा कहिल्यै हुने थिएन। अमेरिकाले यस्तो हारको धक्का सहन सक्छ तर इजरायल भने प्रधानमन्त्री नेतन्याहूले दाबी गरेजस्तो कुनै महाशक्ति होइन।
–स्लोमो इजरायलका पूर्वपरराष्ट्रमन्त्री हुन्।
(प्रोजेक्ट सिन्डिकेटबाट) 

प्रकाशित: २९ चैत्र २०८२ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %