१ असार २०८३ सोमबार
image/svg+xml
विचार

छवि निर्माण, संहार र आधुनिक साइबर युद्ध

पार्टी छोड्नुअघि एकपटक अध्यक्ष प्रचण्डले ‘अहिलेको पार्टीका चुनौती के होलान्?’ भनी सोध्दा मैले भनेको थिएँ– ‘जनयुद्धको धराप छिचोल्न सके पनि तपाईंहरूसामु मनोयुद्धको एम्बुस छिचोल्न अत्यन्तै मुस्किल पर्नेछ।’

पेरिसडाँडामा यो चर्चा हुँदा जनार्दन शर्मा ‘प्रभाकर’ पनि सँगै थिए। मैले ‘मनोयुद्ध’ भन्नुको आधार के थियो भने एकातर्फ आन्दोलनले बढाएको उच्च आशा, अपेक्षा र महत्त्वाकांक्षाको व्यवस्थापन हुन सकेको थिएन भने अर्कातर्फ विपक्षको शीतयुद्ध र साइबर युद्धसँग जुध्ने जनशक्ति पार्टीसँग थिएन। ध्यानै दिएको पनि थिएन। चुनौती दिने शक्तिहरू विद्रोहको राप र ताप रहुन्जेल मत्थर थिए तर भित्रभित्रै शीतयुद्ध लड्दै थिए। विडम्बना, यता आन्दोलनका त्यागीहरू नै त्यागको संस्कृति त्याग्दै उपभोक्तावादको म्याराथनमा दौडिरहेका थिए।

सिंहदरबारको म्याराथन दौडमा सामेलहरू सत्ताको मद र कोखमा लुकेको वासना जागृत हुँदा वास्तविक सत्ता सिंहदरबारमा मात्र नभएर सेना, न्यायालय र पशुपति (परम्परागत शक्ति केन्द्र) मा लुकेको हुन्छ भन्ने हेक्का राख्न सक्दैनथे। यसका लागि ध्वस्त भइसकेका पुराना ‘न्यारेटिभ’हरू कलात्मक नयाँ कभरमा लेखिँदै थिए। तर, यो कुरा सुन्न र बुझ्न त्यतिबेला  अध्यक्ष प्रचण्ड तयार थिएनन्।

मेरो यो सोच र बुझाइलाई नजिकबाट नियालेका, हाल अमेरिकामा रहेका पूर्वकमरेड मित्रराजले हिजै एउटा पुस्तकको चर्चा गर्दै मलाई भने –  द न्युयोर्क टाइम्सका दुई वरिष्ठ पत्रकारहरू पिटर बेकर र म्यागी ह्याबरम्यानले संयुक्त रूपमा लेखेको पुस्तक ‘द रिजिम’ पढ्। त्यसमा मूल विषय अमेरिकी राजनीति र राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकाल भए पनि यसले हाम्राजस्ता साना र कमजोर देश तथा शक्तिहरूलाई ठुलो शिक्षा र सन्देश दिएको छ।

यो पुस्तकले डोनाल्ड ट्रम्प र उनको प्रशासनले आफ्ना कमजोरी, विवाद र विशेष गरी ‘एपस्टिन फाइल्स’सँग जोडिएका संवेदनशील विषयहरूलाई जनतामाझ आउन नदिन वा तोडमरोड गर्न कसरी मिडिया संयन्त्रलाई नियन्त्रण र सञ्चालन गरे भन्ने कुराको खुलासा गर्छ।’

आज नेपाल र विश्व राजनीतिमा गम्भीर अर्थ राख्ने सो पुस्तक पढन नपाए पनि मैले समीक्षा भने पढन पाएँ।

तथ्यहरूको भ्रष्टीकरण र ‘फ्लडिङ द जोन’

ट्रम्प प्रशासनले मिडिया र सूचनाको क्षेत्रलाई नियन्त्रणमा लिन अपनाएको ‘फ्लडिङ द जोन’ रणनीतिको पुस्तकमा गम्भीर व्याख्या गरेको छ। यसको अर्थ सूचनाको क्षेत्रमा भ्रमपूर्ण, विरोधाभासी र प्रोपोगान्डायुक्त सामग्रीहरू यति अत्यधिक मात्रामा भर्नु हो, जसले गर्दा सर्वसाधारण नागरिक कुन सत्य र कुन भ्रम हो भन्ने कुरामा अलमलिऊन् र मूल मुद्दा सधैंका लागि ओझेलमा परोस्।

स्वतन्त्र प्रेसमाथिको नियन्त्रण र प्रहार

पुस्तकले ट्रम्पको कार्यकालमा ह्वाइट हाउसको ‘प्रेस पुल’माथिको सरकारी नियन्त्रण, असहमति राख्ने मिडिया हाउसहरूमाथि लगाइएका प्रतिबन्धहरू र प्रेसलाई जनताको शत्रुका रूपमा स्थापित गर्ने प्रयासहरूको विस्तृत चिरफार गरेको छ। लेखकद्वयले यसलाई लोकतान्त्रिक मूल्य–मान्यतामाथिको ठुलो प्रहारका रूपमा चित्रण गरेका छन्।

शक्ति केन्द्रीकरण र अधिनायकवादी शासन शैली

ट्रम्पको शासन सञ्चालन पद्धति कसरी एउटा परम्परागत लोकतान्त्रिक राष्ट्रपतिभन्दा फरक, शक्ति केन्द्रीकृत गर्ने र संस्थागत शक्तिहरूलाई कमजोर बनाउने अधिनायकवादी शासन व्यवस्थातर्फ उन्मुख थियो भन्ने पुस्तकको मूल निष्कर्ष हो। मित्रराजले भने– ‘तिमीजस्ता राजनीतिक विश्लेषक र मिडिया सिद्धान्तका अध्येताका लागि यो पुस्तक आधुनिक समयमा सूचनाको अस्त्रकीकरण र राज्य शक्तिले कसरी निर्मित तथ्यहरू बजारमा ल्याउँछ भन्ने बुझ्न महत्त्वपूर्ण सामग्री हो।’

हो, हरेक सत्ता र अहंकारग्रसित शासकहरूले आफ्नो स्वार्थ अनुकूल शासन चलाउन पुराना स्थापित भाष्यहरू ध्वस्त पार्छन् र नयाँ भ्रमको भाष्य निर्माण गर्छन्। त्यसैले आजको यो लेख एडवर्ड बर्नेजको प्रोपोगान्डा सिद्धान्तदेखि एआई, ट्रम्प, भारतको आरएसएस र नेपालमा बालेन शाहका ‘अनलाइन सेना’को मनोवैज्ञानिक विमर्शमा केन्द्रित हुनेछ।

बिसौं शताब्दीको सुरुवातमा (१९२८) एडवर्ड बर्नेजले एउटा अकाट्य सत्यको उद्घाटन गरेका थिए – ‘जसले समाजका अदृश्य संयन्त्रहरूलाई सञ्चालन गर्छ, वास्तवमा उसैले नै देशमाथि शासन गरिरहेको हुन्छ।’ बर्नेजको त्यो शास्त्रीय ‘कन्सेन्ट म्यानुफ्याक्चरिङ’को सिद्धान्त आजको एआई, बिग डेटा र परिष्कृत एल्गोरिदमको युगमा आइपुग्दा एक भयानक हतियारमा रूपान्तरण भयो। यो नै आधुनिक मनोयुद्धको सबैभन्दा सशक्त अस्त्र बन्यो, जसको प्रत्यक्ष अनुभूति मैले एक वर्ष सञ्चार मन्त्रालयको सल्लाहकार बन्दा गरेको थिएँ।

हिजो प्रोपोगान्डाका लागि अखबार र रेडियोको सहारा चाहिन्थ्यो भने आज आर्टिफिसियल इन्टेलिजेन्स र सोसल मिडियाका अनलाइन सैनिकहरूले मानिसको तार्किक प्रतिरक्षा प्रणालीलाई क्षणभरमै ध्वस्त पारिदिन सक्छन्। एउटै बास्केटमा राखेर हेर्ने हो भने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मागा’, भारतको आरएसएस र नेपालका बालेन शाहका समर्थकहरूको कार्यशैलीमा एउटा स्पष्ट मनोवैज्ञानिक समानता देखिँदैन र? यी सबैले जनमनोविज्ञानलाई नियन्त्रण गरेर रातारात कसैलाई भगवान् बनाउने र कसैलाई खलनायकमा रूपान्तरण गर्ने एउटै प्रविधिको प्रयोग गरिरहेका छन्।

एडवर्ड बर्नेज र न्यारेटिभ कन्ट्रोलको डिजिटल फ्युजन

मनोविश्लेषक सिग्मन्ड फ्रायडका भान्जा एडवर्ड बर्नेजले मानिसको अतार्किक डर, चाहना र दमित भावनालाई कसरी राजनीतिक तथा व्यापारिक स्वार्थका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुरा संसारलाई सिकाए। बर्नेजको सिद्धान्तको मूल मर्म थियो– ‘जनतालाई तथ्य होइन, ‘भाष्य’ दिनुस्।’

जब तपाईं भाष्यमाथि कब्जा गर्नुहुन्छ, तब जनताले आफ्नै विवेकले सोचेको भ्रम पाल्छन् तर वास्तवमा उनीहरू तपाईंको इसारामा नाचिरहेका हुन्छन्।

आजको २१ औं शताब्दीमा यो सिद्धान्तलाई एआई र एल्गोरिदमले असीमित शक्ति प्रदान ग¥यो। फेसबुक, टिकटक र ट्विटरका एल्गोरिदमहरूले मानिसको प्रत्येक ‘लाइक’, ‘सेयर’ र ‘स्क्रोल’ टाइमलाई ट्य्राक गरेर उसको मनोवैज्ञानिक प्रोफाइल तयार पार्छन्। एआईले क्षणभरमै बुझिहाल्छ कि कुन व्यक्ति कुन कुरासँग डराउँछ वा कुन कुराले उसलाई उत्तेजित बनाउँछ।

बर्नेजको प्रोपोगान्डा र एआईको यो सम्मिश्रणले समाजमा ‘पोस्ट–ट्रुथको निर्माण गरेको छ। त्यहाँ वास्तविक सत्यको कुनै मूल्य हुँदैन, मूल्य त केवल त्यो सत्यलाई कसरी ‘प्याकेज’ गरेर प्रस्तुत गरियो भन्ने कुराको मात्र हुन्छ।  

मनोवैज्ञानिक सूत्र ः ‘भिडसँग विवेक हुँदैन, केवल संवेग हुन्छ। जसले संवेगलाई उत्तेजित पार्न सक्छ, न्यारेटिभ उसको मुट्ठीमा कैद भएर चाहेको व्यक्तिको छवि सेकेन्डभरमा निर्माण वा ध्वस्त हुन सक्छ।’  तीन प्रयोग: मागा, आरएसएस र बालेनका ‘एल्गोरिथमिक आर्मी’ भौगोलिक दुरी, परिवेश र उद्देश्य फरक देखिए तापनि अमेरिकाको ‘मागा’ आन्दोलन, भारतको आरएसएसको सूचना संयन्त्र र नेपालमा प्रधानमन्त्री बालेन शाहका समर्थकहरूको साइबर फौजले प्रयोग गर्ने मनोवैज्ञानिक हतियार ठ्याक्कै एउटै बास्केटमा राख्न मिल्ने खालका छन्। यिनीहरूले मुख्यतया तीनवटा चरणमा काम गर्छन्– छवि निर्माण, छवि संहार र वास्तविक मुद्दाबाट ध्यान विकर्षण।

मागाको अमेरिकी प्रयोग

डोनाल्ड ट्रम्पको ‘मागा’ आन्दोलनले श्वेत अमेरिकीहरूको ‘सांस्कृतिक विस्थापनको डरलाई प्रोपोगान्डामार्फत उद्वेलित गर्‍यो। ट्रम्पलाई मसिहाका रूपमा प्रोजेक्ट गरिएर वासिङ्टनको भ्रष्ट प्रणालीलाई एक्लै ध्वस्त पार्न सक्छ। ट्रम्पका साइबर सेना र ‘फक्स न्युज’जस्ता इको–चेम्बरहरूले मुख्यधारका मिडियालाई जनताको शत्रु घोषणा गरेर न्यारेटिभ नियन्त्रण गरे। नतिजास्वरूप ट्रम्पले गरेका नीतिगत गल्ती, आर्थिक असमानता र कानुनी विचलनका मुद्दालाई  समर्थकहरूले ‘विरोधीहरूको षड्यन्त्र’ मात्र देख्न थाले।  

भारतमा आरएसएसको ‘इन्फर्मेसन वारफेयर’

आरएसएस र भाजपाको साइबर संयन्त्र आजको विश्वकै सबैभन्दा संगठित ‘न्यारेटिभ मेसिन’ मानिन्छ। यसले भारतको ऐतिहासिक गौरव, धार्मिक पहिचान र बाह्य/आन्तरिक शत्रुको एउटा स्थायी न्यारेटिभ तयार पारेको छ। बेरोजगारी, महँगी र स्वास्थ्य संकटजस्ता जमिनी वास्तविकता जब–जब सतहमा आउँछन्, तब–तब एआई–ड्रिभन एल्गोरिदम र सोसल मिडिया ट्य्राकर्समार्फत कुनै नयाँ धार्मिक विवाद वा आक्रामक देशभक्तिको मुद्दालाई ‘ट्रेन्डिङ’ गराइन्छ। त्यहाँ प्रश्न सोध्ने हरेक बुद्धिजीवी वा नागरिकलाई क्षणभरमै ‘टुकडे–टुकडे ग्याङ’ वा ‘राष्ट्रविरोधी’को बिल्ला भिराएर उसको सामाजिक र बौद्धिक छवि ध्वस्त पारिदिने संस्थागत प्रविधि विकास गरिएको छ।

नेपालमा बालेनको ‘एल्गोरिथमिक आर्मी’

नेपालको नयाँ सन्दर्भमा प्रधानमन्त्री बालेन शाहका साइबर सेनाको कार्यशैली पनि यसैको स्थानीय संस्करण हो। पुराना दलहरूको चरम असफलता, भ्रष्टतन्त्र र जनताको गहिरो आक्रोशको जगमा बालेनको उदय भयो। यो एउटा स्वाभाविक सामाजिक यथार्थ थियो। तर, त्यसपछि सिर्जना गरिएको ‘साइबर सेना’को मनोविज्ञान खतरनाक छ। टिकटक र फेसबुकका सर्ट–भिडियो, ब्याकग्राउन्डमा बज्ने आक्रामक र थ्रिलर संगीत र स्लो–मोसन ‘एक्सन’ दृश्यहरू एआई र एल्गोरिदमको मद्दतले यसरी फैलाइन्छ कि बालेनका सानातिना वा नियमित काम पनि महाक्रान्तिजस्ता देखिन्छन्।

यसको अर्को पाटो झन् भयावह छ– छवि संहार। जब कुनै पत्रकार, कानुनविद् वा सचेत नागरिकले नीति, कानुनी सीमा वा बजेट खर्चमाथि वैध प्रश्न उठाउँछ, साइबर सैनिकहरू तर्कमा आउँदैनन्। उनीहरू संगठित रूपमा खनिन्छन् र प्रश्नकर्तालाई ‘झोले’, ‘दलाल’, वा ‘पुरानो पार्टीको हनुमान’ करार गरेर उसको बौद्धिक साखमाथि सामूहिक प्रहार गर्छन्। अदालतको आदेश वा संसद्को कानुनले बालेनको कुनै कदमलाई रोक्न खोज्यो भने ‘सिस्टमले काम गर्न दिएन’ भन्ने ‘रेडिमेड न्यारेटिभ’ तत्काल लाखौं मोबाइल स्क्रिनमा तैरिन थाल्छ। यसले विधिको शासनमाथि नै आमजनताको अविश्वास पैदा गराए वास्तविक नीतिगत बहसलाई पूर्ण रूपमा ओझेलमा पारिदिन्छ।

वास्तविक विषयबाट ध्यान विकर्षण र भ्रमको तस्बिर

यो सम्पूर्ण खेलको मुख्य उद्देश्य भनेकै ‘ध्यान विकर्षण’ हो। जब राज्य वा नेतृत्वले नागरिकका आधारभूत आवश्यकताहरू महँगी नियन्त्रण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र विधिको शासनको ग्यारेन्टी गर्न सक्दैन, तब उसलाई एउटा यस्तो ऐना चाहिन्छ, जसले वास्तविक तस्बिरलाई बंग्याएर देखाइदेओस्। एआईको प्रयोग गरेर ‘डिपफेक’ भिडियो बनाउने, डार्क पिआरमार्फत विरोधीहरूको चरित्रहत्या गर्ने र सोसल मिडियामा ‘बोट्स’को प्रयोग गरेर कृत्रिम जनलहर सिर्जना गर्ने काम भइरहेको छ।

बर्नेजले भनेका ‘अदृश्य शासकहरू’ आज सिलिकन भ्यालीका एल्गोरिदम र राजनीतिक मसिहाहरूको अनौठो गठजोडमा फेरिएका छन्। आमजनता सोच्छन् कि उनीहरू स्वतन्त्र रूपमा सामाजिक सञ्जाल चलाइरहेका छन् तर वास्तवमा उनीहरूको दिमाग सामाजिक सञ्जालद्वारा चलाइँदै छ।

प्रोपोगान्डा, एआई र साइबर सेनाको यो भयानक चक्रव्यूहले समाजलाई विचारशून्य भिडमा फेर्दै छ। नागरिकहरू अब विवेकशील ‘नागरिक’ रहेनन्, डिजिटल युद्धका ‘सिपाही’ वा कुनै नेताका ‘अन्धभक्त’ बनिरहेका छन्– चाहे अमेरिका होस्, भारत होस् या नेपाल।

यिनीहरूले निर्माण गरेको भ्रमको साम्राज्यलाई भत्काउन मानिसले आफ्नो ‘बौद्धिक रोग प्रतिरोधात्मक क्षमता’ ब्युँझाउनु एकदमै जरुरी भइसकेको छ। जबसम्म हामी हेडलाइन र टिकटकका १५ सेकेन्डका भिडियोभन्दा पर गएर गहिरो नीतिगत प्रश्न, कानुनको सर्वोच्चता र तथ्यको खोजी गर्दैनौं, तबसम्म हामी यस्तै अदृश्य साइबर सेना र एल्गोरिदमका दास बनिरहनेछौं। परिणामतः वास्तविक लोकतन्त्र केवल भ्रमको तस्बिरमा सीमित हुनेछ र हामी मनोयुद्धको चक्रव्यूहमा फसिरहनेछौं।

प्रकाशित: १ असार २०८३ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %