१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
विचार

जलवायु प्रगतिको मापन कसरी?

आफूलाई बिल गेट्सको स्थानमा राखेर सोच्नुहोस्, त्यस दिन विश्वकै सबैभन्दा धनी व्यक्तिमा आफूलाई राखेर आफ्नो सम्पत्तिमार्फत विश्वकै सबैभन्दा ठुलो कल्याणकारी कार्यमा लगानी गर्न तपाईं सक्नुहुन्थ्यो। स्वच्छ ऊर्जा प्रविधिका खोजअनुसन्धान जस्ता नाफामूलक लगानीमा आफ्नो लगानी लगाउन सक्नुहुन्थ्यो, अथवा नीतिगत परिवर्तनमा प्रभाव पार्न सक्नुहुन्थ्यो। आफ्नो ७०औं जन्मदिनको अवसरमा, तपाईंले एक यस्तो आलेख प्रकाशित गर्न सक्नुहुन्थ्यो, जुन तुरुन्तै विश्वव्यापी समाचार शीर्षक बन्न पुग्थ्यो।

गेट्सले यी सबै कार्य गरेका छन्। उनले  संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप–३०)को पूर्वसन्ध्यामा लेखेको ‘जलवायु परिवर्तनसम्बन्धी तीन सत्य’ नामक पाँच हजार शब्दको एक निबन्धले समग्र जलवायु अभियानमा ठुलै हलचल ल्याइदियो तर उनको त्यो निबन्ध जलवायु परिवर्तनको खास मार्गचित्रभन्दा बढी ‘रोर्साक परीक्षण’जस्तै छ - जसलाई कुनै पनि पक्षले आफ्ना दृष्टिकोण पुष्टि गर्न केही अंशहरू चयन गरेर प्रस्तुत हुन सक्छ।

अन्य कैयन् लेखजस्तै यो एक गलत र कमजोर ‘स्ट्रो -म्यान’ तर्कबाट सुरु हुन्छ। क्यालिफोर्नियास्थित ‘ब्रेकथ्रु इन्स्टिट्युट’ (जसले वातावरणवादले जलवायु अभियानलाई हानि गर्छ भन्ने मान्यता राख्छ) सँग मिल्ने शैलीमा  गेट्सले  तापमान वृद्धि रोक्नुभन्दा विश्वमा अन्य कुनै कुरा महत्त्वपूर्ण छैनन् भन्ने ‘प्रलयको दिन’को तर्कलाई अस्वीकार गर्छन्। वास्तविकता, धेरै कुरा महत्त्वपूर्ण छन्। तर गेट्सले  ‘अरू केही पनि छैनन्’ भन्ने कडा शब्द चयन गरेका छन्।

त्यसपछि उनले जलवायु परिवर्तन ‘गम्भीर समस्या’ भए पनि यसले सभ्यताको अन्त्य नगर्ने तर्क गर्छन्। तर तीव्र आँधीबेहरी र अन्य जलवायुजन्य विपद्हरूले अहिले नै जनजीवन अस्तव्यस्त बनाइरहेका छन्। चरम स्तरका अर्थात् ‘क्याटेगोरी-६’ का पाँचमध्ये सबै आँधी विगत १५ वर्षमै आएका छन्।

त्यसमाथि हामी केवल ठुला, समाचारशीर्षकमा आउने चरम घटना वा विश्वव्यापी हिसाबमा फर्कनै नसक्ने  विन्दुको सामना मात्र गरिरहेका छैनौं। यी परिघटनाभित्र बिस्तारै जल्दै गरेका(स्लोबर्न) प्रभावहरू पनि छन्, जस्तै ३२ डिग्रीभन्दा माथिको तापक्रमका एक अतिरिक्त दिनमा वार्षिक तलबमा ०.०४ प्रतिशतले कमी आएकोछ। यी लागत छिटै थुप्रिन्छन्। विश्व तापक्रम तीन डिग्रीले बढेको अवस्थामा पनि काम गर्न सकिन्छ भने तर्क सही छैन किनभने यो अवस्थामा गरिब र संवेदनशील समुदाय सबैभन्दा बढी प्रभावित हुन्छन्।

गेट्सको सामाजिक–आर्थिक विश्लेषण बुझ्न सकिन्छ। उनले प्रस्तुत गरेका दोस्रो र तेस्रो ‘कठोर सत्य’ मानव पीडा र समृद्धिमा आधारित छन् र वास्तवमै यिनै आधारबाट जलवायु प्रगतिलाई मापन गर्नुपर्छ। हरितगृह ग्यास उत्सर्जन, तिनको वायुमण्डलमा उच्च  उपस्थिति, तापमान वृद्धि, समुद्री सतहमा वृद्धि तथा आँधीबेहेरीका प्रभावहरू मूलतः मानिसको जीवनमा पर्ने असरका सूचक हुन्। साथै यी उमेर नपुगी मृत्यु हुने आधार हुन्।

जलवायु परिवर्तनले मत्यु निम्त्याउँछ। अर्थशास्त्रीहरूले अहिले कार्बनको मृत्यु लागत आँकलन गर्न सक्छन्। आज उत्सर्जन गरिने प्रत्येक टन कार्बन डाइअक्साइडले करिब ०.०००२ जनाको मृत्यु गराउँछ। मानिसले चुकाउनुपर्ने यो मूल्य बढ्ने देखिन्छ। हरेक ३.५  अमेरिकीले  आफ्नो जीवनकालमा सरदरमा उत्सर्जन गर्ने कार्बनले यो शताब्दीको अन्त्यसम्म एक जनाको मृत्यु गराउनेछ।

धेरै मानिस अन्य रोक्न सकिने कारणले पनि मर्छन्। गेट्स स्वयंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरिब मुलुकका बालबालिकालाई असर पार्ने गरी सहायता कटौती गरेकोमा आलोचना गरेका छन्। त्यस अभावलाई आफ्नो फाउन्डेसन र निजी सम्पत्तिबाट पूर्ति गर्न खोज्दागेट्सले अमेरिका र विश्वभर जलवायु सम्बन्धी कार्यक्रम र लगानी केही घटाउनुपरेको छ।

तर जलवायुवित्त केवल परोपकारी कार्य मात्र होइन, गेट्सकै कार्यले यो स्पष्ट हुन्छ। सार्वजनिक स्वास्थ्य र जलवायु दुवै क्षेत्रमा उनको लगानी समयसँगै बढेको छ। ‘ब्रेकथ्रु इनर्जी’मार्फत उनले  एक सय ५० भन्दा धेरै कम्पनीलाई हरित प्रविधिको विकास र ‘ग्रिन प्रिमियम’ घटाउन सहयोग पुर्‍याएका छन्।

धेरै न्यून कार्बन प्रविधिहरूले अझै उच्च हरित प्रिमियम ब्यहोर्नुपरे पनि अधिकांशले लाभ हासिल गर्ने दिशामा प्रगति गरिरहेका छन्। सौर्य ऊर्जाको द्रुत विस्तार कुनै दयाका कारणले होइन, आर्थिक कारणले सम्भव भएको हो। त्यही कुरा ब्याट्रीको मूल्यमा लागु हुन्छ, जुन सन् २०१० यता ५० प्रतिशत कम भइसकेको छ।

अन्य कैयन् न्यून कार्बन प्रविधिले अझै ‘ग्रिन प्रिमियम’ हासिल गरिरहेका छन् र उनीहरू अधिकांश नाफामा छन्। नवीन सोचका साथ हामीले उनीहरूलाई अगाडि बढाउन सहउत्पादनले सहयोग गर्छ। एउटा मात्र उत्पादनमा सीमित कम्पनी प्रतिस्पर्धी नहुन सक्छ, त्यतिबेला दुई अथवा बढी उत्पादनमा ‘ग्रिन प्रिमियम’  उपलब्ध गराउने लागत मूल्य घट्न सक्छ। उदाहरणका लागि गेट्सद्वारा समर्थित ‘ब्रिमस्टोन’ ले कम कार्बनयुक्त सिमेन्ट मात्र होइन, उत्पादन प्रक्रियाबाट निस्कने एलुमिना बेचेर पनि कमाइ गर्छ। प्रतिस्पर्धी सिमेन्ट कम्पनी ‘सब्लाइम’ ले पनि यस्तै रणनीति अपनाइरहेको छ।

यो विषयमा धैर्य पनि चाहिन्छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी केन्द्रीय बैंकको  गभर्नर भएको बेला जलवायु परिवर्तनलाई ‘क्षितिजको दुःख अर्थात् ट्राजेडी अफ द होराइजन’ भनेका थिए। धेरै व्यवसायले छोटा अवधिमै नाफामा मात्र ध्यान दिन्छन्, जसरी राजनीतिज्ञहरू चुनाव चक्रभन्दा टाढा सोच्दैनन् तर गेट्सका अनेकौं लगानी, जस्तै ‘टेरापावर’ वा ‘कमनवेल्थ फ्युजन’ ले कैयन् वर्ष अथवा दशकपछि मात्र प्रतिफल दिने खालका छन्।

यो समग्र विषयमा सहयोगी नीति महत्त्वपूर्ण हुन्छन्। युरोपेली संघले निर्धारण गरेका कार्बन मूल्य र न्यून कार्बन कार्यका लक्ष्यहरू अथवा अमेरिकाले उपलब्ध गराउने सहुलियत यसका उदाहरण हुन् तर दीर्घकालीन लगानी सुनिश्चितता सबैभन्दा जरुरी र महत्त्वपूर्ण विषय हो। गेट्सको निबन्ध यस क्षेत्रमा कमजोर छ र उनले ट्रम्पजस्ता व्यक्तिलाई छोटो लाभ प्राथमिकता दिन प्रेरित गर्न अवसर दिन्छन्।

एउटा कुरा स्पष्ट छ,  जीवाश्म इन्धनबाट बिस्तारै बाहिरिँदा हुने फाइदा लागतभन्दा धेरै बढी छ। गेट्सले यो राम्ररी बुझेका छन्। स्वच्छ ऊर्जा स्वाधीनता, ऊर्जा सुरक्षा, समानता र भविष्यका लागि प्रतिस्पर्धात्मकता पनि हो। तेल, कोइला, ग्यासको निर्भरता अन्त्य गर्नु र सस्तो र राम्रो हुँदै जाने प्रविधि अपनाउनु केवल राम्रो जलवायु नीति होइन, आगामी दशकहरूमा आर्थिक प्रतिस्पर्धात्मकता र मानव समृद्धि सुधार्ने सबैभन्दा उत्तम उपाय हो।

–वागनर कोलम्बिया बिजनेस स्कुलका जलवायु अर्थशास्त्री हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: १ मंसिर २०८२ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App