केही मानिसहरू तर्क गर्न सक्छन् कि संसारको पहिलो १० खर्ब अमेरिकी डलर सम्पत्तिको धनी (ट्रिलिनियर) हुनु प्रविधिगत उपलब्धिको कथा र अमेरिकी पुँजीवादको विजय हो तर अत्याधुनिक प्रविधि अथवा असफल हुनै नसक्ने हिसाबको ठुलो कम्पनीमा बजारहरूले दाउ लगाएका छैनन्, बरु यस्तो एक महाएकाधिकारवादीको कल्पनामा लगाएका छन्, जसको सम्पत्ति र प्रभाव यति विशाल छ कि अमेरिकी सरकार उसलाई असफल हुन दिँदैन।
यसै महिना स्पेसएक्सको आइपिओ सार्वजनिक भएपछि एलन मस्कको सम्पत्ति सहजै एक ट्रिलियन डलर (१० खर्ब) नाघेको छ। विश्वको पहिलो ट्रिलिनरको महŒवलाई कुनै पनि हिसाबले कम आँक्न सकिँदैन। मस्कको सम्पत्ति पछिल्लो वर्ष प्रतिमिनेट १० लाख डलरभन्दा बढीले बढिरहेको छ। उनको सम्पत्ति अहिले विश्वका झन्डै चार अर्ब मानिसको सम्पत्तिको कुल योगभन्दा पनि बढी छ। यो विश्व जनसंख्याको ४६ प्रतिशतभन्दा बढी हिस्सा हो।
सन् २०१७ मा मसहित सम्मिलित अक्सफामको एक टोलीले विश्वले २५ वर्षभित्र पहिलो ट्रिलिनियर देख्ने अनुमान गरेको थियो। २०२४ मा हामीले यसलाई सावधानीपूर्वक घटाएर एक दशकभन्दा कममा हुने अनुमान गर्यौं, जसले चिन्ताजनक समाचार शीर्षकहरू पनि जन्मायो तर एकै व्यक्तिमा सम्पत्ति केन्द्रित हुने गति हामी सबैको अनुमानभन्दा छिटो भयो र यसले यस्तो विशाल असमानताबिच लोकतन्त्र जोगिन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उठायो।
केही विज्ञको तर्कअनुसार पहिलो ट्रिलिनियर प्रविधिको विजय र अमेरिकी पुँजीवादको सफलता हो। निस्सन्देह, पृथ्वीमा फर्किन सक्ने शक्तिशाली रकेटहरू प्रेरणादायी विषय छन् र मस्कको स्वामित्वमा रहेका कम्पनीले स्याटेलाइट इन्टरनेट र विद्युतीय सवारी साधनमा ठुलो योगदान दिएका छन् तर स्पेसएक्सका लगानीकर्ताले केवल इन्जिनियरिङ क्षमतालाई मात्र पुरस्कार दिएका छन् भन्ने कथन पूर्ण सत्य होइन। बजारहरूले वास्तवमा अत्याधुनिक प्रविधिमा मात्र बाजी लगाएका छैनन्, यस्तो महाएकाधिकारवादीको कल्पनामा लगाएका छन् कि यसको विशाल शक्तिका कारण अमेरिकी सरकार उसलाई असफल हुन दिने छैन।
मस्कको आकांक्षा सरकारी समर्थनसँग गहिरो रूपमा जोडिएको छ भन्ने कुरा बुझ्नु अत्यन्त महत्त्वपूर्ण छ। यसले केवल अमेरिकामा मात्र होइन, विश्वभरि रहेको असमानता बुझ्न र सुधार गर्न मद्दत गर्छ। एक हिसाबले यो खर्बपति निर्माण अमेरिकी राष्ट्रपतिको आर्थिक नीतिको परिणाम हो। डोनाल्ड ट्रम्पको २०२५ को ‘वान बिग ब्युटिफुल एक्ट’ले इतिहासमै धनी वर्गतर्फ सबैभन्दा ठुलो सम्पत्ति स्थानान्तरण गरेको छ। अहिले, उपभोक्ता वित्तीय संरक्षण ब्युरोजस्ता सुरक्षा संयन्त्रहरू कमजोर अवस्थामा छन्।
ट्रम्प प्रशासनअन्तर्गत मस्कले सरकारी दक्षता विभागको प्रमुखको रूपमा सरकारी निकायहरू भत्काए र विश्वका गरिब देशहरूलाई दिइने सहायता कटौती गरे। यसले सन् २०३० सम्म वार्षिक करिब सात लाख मृत्यु हुन सक्ने अनुमान गरिएको छ। यही समयमा कम्पनीहरूलाई नयाँ ठेक्का दिँदै, अनुसन्धानहरू रोक्दै र नियमनहरू खुकुलो पार्दै अमेरिकी प्रशासनले मस्कको स्थिति अझ बलियो बनायो।
यसको परिणाम एक खतरनाक सार्वजनिक–निजी गठबन्धनको निर्माण हो, यतिबेला समग्र राज्य मस्कका कम्पनीहरूको हार्डवेयर र डाटामा निर्भर बन्दै गएको छ। उदाहरणका लागि स्टारलिंक अमेरिकी सरकारका लागि पृथ्वी तल्लो कक्ष (लो अर्थ अरबिट) सञ्चारमा अत्यन्त महत्त्वपूर्ण बनेको छ। अमेरिकी सेना र अन्तरिक्ष प्रणाली मस्कको साम्राज्यमा निर्भर हुन थालेपछि राज्यमाथि उनको प्रभाव पनि उल्लेखनीय रूपमा बढेको छ।
यस्तो निर्भरता एकै रातमा बनेको होइन। मस्कको शक्ति ट्रम्पको कार्यकालमा तीव्र भएको भए पनि यसको निर्माण दशकौंदेखि हुँदै आएको हो। ट्रिलिनियर बन्नु एक द्विदलीय प्रक्रिया हो। मस्कले सार्वजनिक अनुदानहरू प्रयोग गरी बजारमा प्रभुत्व जमाएका छन्, उनका कम्पनीहरूले अमेरिकाका विभिन्न सरकारहरूबाट करिब ३८ अर्ब डलर प्राप्त गरेका छन्।
राष्ट्रपति बाराक ओबामाले पनि स्पेसएक्सको ‘स्पेस मोनोपोली’ निर्माणमा भूमिका खेलेका थिए। टेस्ला र स्पेसएक्स दुवैको सुरुवात र अस्तित्व संघीय तथा राज्य सरकारको सहयोगमा निर्भर रह्यो तर सरकारले जोखिम बोकेको भए पनि नाफा, स्वामित्व वा लाभ जनताले पाएनन्।
विश्वको पहिलो ट्रिलिनियरको उदयले अत्यधिक असमानतामाथि गम्भीर प्रश्न उठाउँछ। हरेक देशले अमेरिकी राजनीतिक प्रणालीले मस्कको उदयलाई कसरी सम्भव बनायो भन्नेबाट पाठ सिक्नुपर्छ। यसमा यस्तो कर प्रणाली पनि समावेश छ, जसले टेस्ला र मस्कलाई वर्षौंसम्म लगभग संघीय आयकर तिर्नबाट बचायो। अमेरिकामा यस्तो एकाधिकार–नियमन प्रणाली बनाइयो, जसले पृथ्वी वरिपरिका दुई तिहाइ सक्रिय उपग्रहहरू मस्कको नियन्त्रणमा पुगे। साथै, यस्तो चुनावी खर्च प्रणाली बनाइयो, जसले २०२४ को चुनावमा ट्रम्प र अन्य रिपब्लिकन उम्मेदवारहरूलाई झन्डै ३० करोड डलर खर्च गर्न मस्कलाई अनुमति दियो।
यो प्रवृत्ति रोक्न संरचनागत सुधार आवश्यक छ। उनको राजनीतिक प्रभाव र दक्षिणपन्थी शक्तिहरूसँगको सम्बन्धका कारण उनको शक्ति बढदो छ तर समस्या केवल उनी मात्र होइनन्। हामी यस्तो युगमा बाँचिरहेका छौं, जहाँ अत्यधिक सम्पत्ति र शक्तिको केन्द्रीकरण सामान्य बन्दै गएको छ, जहाँ कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिहरू केही कम्पनीहरूको नियन्त्रणमा छन् र ऊर्जा, रक्षा तथा वित्त क्षेत्रका ठुला कम्पनीहरूले युद्धबाट अभूतपूर्व नाफा कमाइरहेका छन्।
अमेरिकाले विगतमा पनि असमानतासँग जुधेको इतिहास छ। सन् १८७० देखि १९०० सम्मको तीव्र औद्योगिकीकरण, रेलमार्ग विस्तार र आर्थिक वृद्धिको युग (गिल्डेज एज) पछि आयकर सुरु भयो। महामन्दी र दोस्रो विश्वयुद्धपछि सामाजिक सुरक्षा, न्यूनतम ज्यालालगायत ९४ प्रतिशतसम्मको उच्च कर दर लागु गरियो। त्यसपछि मध्यम वर्ग बलियो बनाइयो र एकाधिकारहरू नियन्त्रण गरियो।
यसप्रकारको सुधार केवल अमेरिकामा मात्र सीमित हुनुहुँदैन। सम्पत्तिमा रहेको असमानता विश्वव्यापी समस्या हो। सन् २०२६ मा विश्वका केही सरकारहरूले सम्पत्ति करदेखि लिएर सर्वसुलभ स्वास्थ्य सेवा, मूल्य घटाउने नीति र श्रमिक अधिकार बलियो बनाउने कदम चालिरहेका छन्। अरूले पनि यो बाटो पछ्याउनुपर्छ।
विश्वको पहिलो सरकारसमर्थित ट्रिलिनियरको उदयपछि अन्तर्राष्ट्रिय आर्थिक प्रणाली पुनर्विचार गर्नुपर्ने आवश्यकता अझ गहिरो बनेको छ। अहिले विश्व राजनीति प्रायः महाशक्ति प्रतिस्पर्धामा केन्द्रित भए पनि वास्तविक ठुलो समस्या भनेको व्यापार, बौद्धिक सम्पत्ति, कर र ऋणजस्ता क्षेत्रका नियमहरू धनी वर्गको पक्षमा बनाइएका छन्, जसले विश्वका श्रमिकहरूलाई नोक्सान पुर्याइरहेका छन्।
करिब एक शताब्दीअघि अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश लुइस डी. ब्रान्डाइसले चेतावनी दिएका थिए - अमेरिकाले अत्यधिक सम्पत्ति केन्द्रितता र लोकतन्त्रमध्ये एउटा रोज्नुपर्नेछ। आज त्यो चेतावनी अझ सान्दर्भिक बनेको छ। मस्क त्यसको प्रमाण हुन्।
- अहमद अक्सफाम अमेरिकाको आर्थिक न्याय विषयका वरिष्ठ निर्देशक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: १८ असार २०८३ ०८:४४ बिहीबार

