खासमा जेनजीले २०८२ भदौ २३ गते एउटा सांकेतिक विद्रोहको घोषणा गरेका थिए। ती जेनजी समूहको कुनै घोषित नेता वा नेताको समूह थिएन। जस्तो बाङ्लादेश विद्रोहका बेला केही नेताहरूको घोषित समूह थियो। नेता हुन्थ्यो भने उनीहरू अघिल्लो दिन दुर्गाप्रसाईको घरमा गएर फोटो खिचाउने थिएनन्। सुरुवातदेखि नै यो आन्दोलन नेतृत्वविहीन थियो। नेता नेतृत्व जे जसो भए तापनि भदौ २३ ले नेपाली इतिहासलाई दुई फ्याक पारिदिएको छ २०८२ भदौ २३ अगाडि र पछाडि भनेर। भदौ २३ एउटा पानी ढलो मिति भएको छ। एउटा ऐतिहासिक अराजकताको। अराजकताका प्रणेता मानिने रुसी विद्वान् क्रपटकिनले पनि यस्तो अराजताको अन्दाज गरेका थिएनन् होला।
जेनजीले आफ्नो पुस्ताको नेतृत्व आफैं गर्न चाहन्थ्यो। आफैंलाई केन्द्रमा राखेर त्यसको लागि उपयुक्त अवसरको खोजी गरिरहेको थियो। फेसबुक लगायतका सामाजिक सञ्जाल सरकारसँग सूचीकृत हुन आनाकानी गर्दा सरकारले बहाना भेट्यो। ती सामाजिक सञ्जालहरू बन्द गरिए। यो केपी ओलीको पुरानै मक्सद थियो। जेनजीलाई सामाजिक सञ्जाल कसले किन कसरी बन्द गर्यो भन्ने कुरासँग सरोकार थिएन। सामाजिक सञ्जालको युगमा जन्मिएर त्यही सञ्जालमा अव्यस्त भएर हुर्कंदै बढिरहेको पुस्तालाई सरकारी प्रतिबन्ध एकाएक जमिन भासिएको महसुस गरायो। उनीहरू अकस्मात निसासिए।
मानिलिउँ उनीहरूलाई सास फेर्न गाह्रो भयो र उनीहरु विद्रोहको शुभ मुहूर्तको साइत जुर्यो - २०८२ भदौ २३ गते सोमबार। यो तहको विद्रोहको परीक्षण स्वरूप पहिलो पटक शनिबार अर्थात् सार्वजनिक बिदाको दिन गरिनुपर्थ्याे तर उनीहरूको जोशमा होसको कमी थियो वा अन्य केही कारणले उनीहरूले सोमबारको दिन रोजे। सार्वजनिक बिदाको दिन विरोध गर्नुको अर्थ हुन्थ्यो – कमभन्दा कम नागरिकहरूको जनजीवनमा असर पुग्नु।
आजभोलि मानिस हतारमा छ। धैर्य अत्यन्त कम छ। भन्छन् नि, ‘इन्स्ट्यान्ट नुडल्स जस्तो– इन्स्ट्यान्ट’।चाउचाउ खोलेर तातोपानीको कपमा राख्ने बित्तिकै खानको लागि तमतयार हुने सुप जस्तो, सबै कुरा इन्स्ट्यान्ट (तत्काल ) चाहिएको छ। १३ महिना अगाडि बाङ्लादेशमा विद्रोह भयो। बाङ्लादेशको विद्रोह देखेपछि काठमाडौंका केही बुद्धिजीवीहरूले नेपाललाई बाङ्लादेश बनाउन सकिन्छ भनेर अनेक यत्न/प्रयत्न गरे। तिनको दाल गलेन र सुस्ताएर बसेका थिए। जेनजीको विद्रोहमा तिनले प्राण भेटे र यसको भरमार उपयोग गरे।
बाङ्लादेश अहिलेसम्म त्यो राष्ट्रिय आघातबाट बाहिर आउन सकेको छैन। हो, नागरिकमा उकुसमुकुस छ। त्यो उकुसमुकुसको निकास जरुरी छ तर निकासको पनि एउटा विधि हुन्छ – शान्तिपूर्ण विधि। शान्तिपूर्ण विधि बिनाको निकास निकासभन्दा ज्यादा विनाश हुन्छ भन्ने कुरा हिजो अपराह्न १२ बजेबाट पुष्टि भयो। जेनजीको आन्दोलन माइतीघरदेखि बानेश्वर चोकसम्मको पदयात्रा थियो तर त्यो पदयात्राले बानेश्वर चोक पुगेपछि लक्ष्य भेटेकोमा गौरव गर्नुपर्नेमा उनीहरू बहकिएर त्योभन्दा अगाडि बढे। त्यसपछि घुसपैठियाहरूलाई खुदो पल्टियो। सरकारले साढे १२ बजे कर्फ्यू लगाएको वक्तव्य निकाल्यो तर ती सडकमा रहेका प्रदर्शनकारीले त्यो वक्तव्य हेर्न र सुन्न पाएनन्, भ्याएनन्।
जेनजीको नाममा सुरक्षा बेरिकेड तोडिए, पर्खालहरू भत्काइए आगजनी गरियो, संसद् भवन कब्जा गर्ने उनीहरूको घोषित नीति थिएन। जुन कुरा घोषित थिएन, त्यसको जिम्मा कसले लिने सायद आयोजकलाई पनि थाहा थिएन। उनीहरूले त हाम्रो आन्दोलनको उद्देश्य सफल भयो, आन्दोलनमा घुसपैठ भएको छ जति सक्दो छिटो घर फर्किनुपर्छ भनेर त्यही सञ्जालमा पोष्ट गरे। त्यो सन्जालको पोस्ट निस्प्रभावी भयो। सरकारले नागरिकको जिउ ज्यानको सुरक्षाको जिम्मा लिएका कारणले यो सबै घटनाहरूको जिम्मा लिनुपर्छ तर त्यतिले मात्र आमनागरिकको दायित्व पूरा हुँदैन।
जेनजीले स्वतस्फुर्त प्रदर्शन गर्ने भनेपछि राजनीतिप्रति निष्प्रिय बेपर्वाह रहेको पुस्ता आफ्नो कुरा राख्न तयार भएछ भनेर हामी सबै उत्साही भयौं। सबैले समर्थन गर्यौं। एउटा कुनै यस्तो तप्का थिएन जसले त्यो आन्दोलनप्रति कुनै आलोचनात्मक खबरदारी गरेको होस्। जेनजी पुस्तालाई अहिंसा, शान्तिपूर्ण आन्दोलन, सत्याग्रह र आन्दोलनमा हुने घुसपैठबारे केही पनि थाहा थिएन। कुनै पनि आन्दोलनको एउटा नेता हुन्छ। नेता नभए नेताको समूह हुन्छ। त्यसलाई अन्तिम निर्णय दिने अधिकार हुन्छ।
जेनजीको मुख्यालय कहाँ छ कहाँ बसेर यो आन्दोलनको डिजाइन गरियो। यसमा कुनै पनि पारदर्शिता थिएन। यस आन्दोलनका आयोजकले यसबारेमा बिस्तारै खुलाउलान् पनि तर त्यो गर्न ढिला भइसकेको छ। उदाहरणका लागि जेनजी नेता भनिएका तीनजना दुर्गा प्रसाईसँग फोटो खिचाउन व्यस्त रहेको बेला जेनजीको अर्को समूह दुर्गा प्रसाई आन्दोलनमा सहभागी भए’ नट एलाउडको’ चिह्न देखाउने सन्देश प्रवाह गर्दै थिए।
नेपालमा तीन पटक सशस्त्र क्रान्ति गरेको नेपाली कांग्रेसले बीपी कोइरालाको निधन पश्चात् २०४२ सालमा पञ्चायत सरकार विरुद्ध सत्याग्रह आह्वान गरेको थियो। त्यो सत्याग्रह आह्वानमा देशभरका जेलहरू भरिएका थिए। जेलमा मानिसहरू राख्ने ठाउँ थिएन। सत्याग्रहको समर्थनमा कांग्रेस नेता कार्यकर्ताहरू, त्यो आन्दोलनलाई समर्थन गर्ने कम्युनिस्ट नेताहरू र सर्वसाधारणहरूले गिरफ्तारी दिएका थिए। त्यही बीचमा काठमाडौंमा बम पड्कियो। केही मानिस हताहत भए।
नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराईले एक निमेश पनि नसोची सत्याग्रह स्थगित भएको आह्वान गरे, आन्दोलन रोकियो। कुनै पनि आन्दोलनको जिम्मेवारी एउटा नेताले लिनुपर्छ त्यसको अख्तियारी एकजनामा हुनुपर्छ। सत्याग्रह सफलतातर्फ उन्मुख थियो तर त्यसमा अवान्छित तत्त्वको घुसपैठ भएको थियो। त्यो कुरा गान्धीका अनुयायी किसुनजीलाई स्वीकार्य थिएन। बहुदल प्राप्तिका लागि २०४२ पछि थप चार वर्ष कुर्नुपर्यो।
भदौ २३ एकै दिनमा आएको घटना थिएन। यसको परिपाकका लागि अनेक आयामबाट अध्ययन गर्नुपर्छ। ती अध्ययनहरू क्रमशः आउँदै जानेछन्। नेपाललाई बाङ्लादेश बनाउन चाहनेहरूको इच्छा एक तहमा पूरा भएको छ तर त्यसको भागिदार नेताभन्दा जेनजी पुस्ता ज्यादा भएको छ। जेनजीको काँधमा बन्दुक राखेर जेनजीलाई नै प्रहार गरिएको छ।
आज बाङ्लादेशका युवा विद्रोहको १३ महिनापछि बाङ्लादेशको हालत के छ त्यो बारेमा कसैले पनि जेनजीलाई पढाएन, सुनाउन र बुझाउन चाहेन। नोबेल पुरस्कार विजेता मोहम्मद युनिसको सरकार गतिहीन भएर बसेको छ। आम निर्वाचन कहिले हुन्छ ठेगान छैन। सायद यस्तै बुझेर गिरिजाप्रसादले सबै पक्षलाई टेक्ने आधार चाहिन्छ भनेर राजा ज्ञानेन्द्रले विघटित गरेको २०५६ को संसद्लाई २०६३ मा ब्यउँताउने बटम लाइन लिएका थिए। त्यसले सबै झगडिया पक्षहरूलाई एउटै साझा मञ्च खडा गरेको थियो।
हामीले अहिले उत्तेजनाको कुरा मात्र गरेर भएको छैन। निकासको कुरा पनि गर्नुपर्नेछ। संकटका बीचमा निकासको कुरा उसै पनि धेरैलाई प्रिय लाग्दैन तर त्यो कुरा नगरी नहुने भएको छ। एउटा राष्ट्रप्रेमी नागरिक संकटको बेलामा बोल्दाखेरि तालीभन्दा ज्यादा गाली आउँछ भनेर डराएर बस्नु हुँदैन। दोस्रो गणतान्त्रिक संसद्ले झण्डै तीन वर्षको समय गुजारेको छ। यसको समय अझै दुई वर्ष बाँकी छ।
जेनजीले पनि संयमता अपनाउनु पर्नेछ। सरकार गैरजिम्मेवार भयो उत्तरदायी भएन तर त्यसको अर्थ जेनजी पनि त्यसरी त्यसरी नै गैरजिम्मेवार र अनुत्तरदायी हुने छुट छैन। बिपी कोइरालाले प्रतिपक्षीय राजनीतिमा ३६ सालको जनमत संग्रहपछि बारम्बार भनेका थिए, ‘सरकार गैरजिम्मेवार भयो भनेर हामीलाई गैरजिम्मेवार हुने छुट छैन। लोकतान्त्रिक राजनीतिमा सत्तापक्षको भन्दा प्रतिपक्षको ज्यादा जिम्मेवारी छ।’
भदौ २३ पछि नेपाली राजनीति सदाका लागि बदलिएको छ। त्यसको हेतु बनेर जेनजी पुस्ता आएको छ तर त्यो जेन्जी पुस्ता आन्दोलनको २४ घण्टा नबित्दै उदाङ्गो भएको छ। त्यसैले जेनजी पुस्ता हालका लागि प्रतिपक्षी भूमिकामा आएको छ । जेनजीले घोषित गरेको आन्दोलनमा माइतीघरबाट बानेश्वर चोकसम्मको मात्रै कार्यक्रम थियो। नेतृत्वहीन आन्दोलनको हविगत जे हुन्थ्यो त्यो भइसकेको छ। अब यसलाई धेरै बरालिन दिनु हुँदैन।
नेपाली जेनजीको सामथ्र्य देखेर नेपाल मात्र होइन सिंगो संसार हायल कायल भएको छ। जेननजीले तत्काल आन्दोलन स्थगित गर्नुपर्दछ। किनभने यो आन्दोलन जेनजीको नियन्त्रण बाहिर गएको सोमबार अपराह्न १२ बजेदेखि नै हो। यो अराजकताले हामीलाई कहीँ पुर्याउँदैन। आज सिंगो देश आन्दोलित भएर अराजकतातर्फ अगाडि बढिरहेको छ। अराजकताको गन्तव्य हिंसा र ध्वंश मात्र हुन्छ। आन्दोलित नभएको देशको कुनै कुना छैन। सार्वजनिक सम्पत्तिको तोडफोड गरेर काहीं पनि पुगिँदैन।
अति सर्वत्र वर्जयेत। ध्वंशका ४८ घण्टा बितेका छन्। स्थिति सामान्य हुने वा बनाउने प्रयत्न भइरहेको छ। धैर्य र संयम अपनाउने भन्दा अर्को कुनै उपाय छैन। कार्यपालिका, न्यायपालिका व्यवस्थापिकाका सबै केन्द्रहरू जलाइएका छन्। यो आन्दोलनमा जति सार्वजनिक सम्पत्तिको क्षति भएको छ, स्पष्ट भन्न सकिन्छ, यो जेनजीको नाममा जेनजीको काँधमा बन्दुक राखेर अरु कसैले पड्काएको आन्दोलन थियो। नेपालमा आजसम्म भएका कुनै पनि आन्दोलनले यो तहको सार्वजनिक क्षति पुर्याएका थिएनन्। भुइँचालो र कोरोनाको कहरभन्दा यो कथित आन्दोलनको कहर र आघात राष्ट्रिय जीवनमा ज्यादा पर्नेछ।
गणतान्त्रिक संविधानका पक्षधरहरू, दलित आदिवासी, मधेश, कर्णाली, महिलाका लागि लडेका लोकतन्त्रवादी र प्रगतिशील पक्षहरू एकताबद्ध हुनुको अर्को विकल्प छैन। नेपाली सेनाले हिजो मध्य रातदेखि जेनजीसँग वार्ता गर्न प्रतिनिधि पाएको छैन। नेपाली सेना संविधानको संरक्षक बन्नुपर्छ। यसमा नै संविधान र नेपाल र नेपाली सेनाको भलाइ छ।
प्रकाशित: २६ भाद्र २०८२ ०९:५० बिहीबार

