३१ असार २०८३ बुधबार
image/svg+xml
विचार

भान्सादेखि कारखानासम्म: बिजुलीले बदल्ने नेपालको अर्थतन्त्र

नेपालमा बिजुलीको कुरा हुँदा धेरैजसो छलफल उत्पादनमै केन्द्रित हुन्छ। कति मेगावाट थपियो, कति आयोजना निर्माणाधीन छन्, कति विद्युत् निर्यात भयो, कति उत्पादन हुने सम्भावना छ– यी प्रश्न स्वाभाविक र महŒवपूर्ण छन्। अब ऊर्जा बहसलाई अर्को चरणमा लैजानुपर्ने समय आएको छ।

अब प्रश्न केवल कति बिजुली उत्पादन भयो भन्ने होइन। प्रश्न यो पनि हो– त्यो बिजुली कहाँ प्रयोग भयो ? कसको जीवन बदलियो ? कति आयात घट्यो ? कति उद्योग चले ? कति रोजगारी सिर्जना भयो ? कति परिवारको खर्च कम भयो ?

मेरो बुझाइमा नेपालको ऊर्जा भविष्य बाँध, टर्बाइन र प्रसारण लाइनमा मात्र सीमित छैन। यसको वास्तविक शक्ति तब देखिन्छ, जब स्वदेशी बिजुली घरको भान्सादेखि कारखानाको मेसिनसम्म पुग्छ। जब बिजुलीले ग्यासको सिलिन्डर विस्थापित गर्छ, पेट्रोलियम इन्धनको खपत घटाउँछ, कृषि उत्पादन जोगाउँछ, उद्योगलाई प्रतिस्पर्धी बनाउँछ र युवालाई रोजगारी दिन्छ, तब मात्र ऊर्जा अर्थतन्त्रमा बदलिन्छ।

‘एनर्जी नेपाल’को मूल भावना पनि यही हो। यो केवल उत्पादन बढाउने विषय होइन। यो स्वदेशमा उत्पादित बिजुलीलाई स्वदेशकै जीवन, बजार, उद्योग र समृद्धिसँग जोड्ने राष्ट्रिय सोच हो।

भान्साबाट सुरु हुने परिवर्तन

नेपालका अधिकांश परिवारका लागि भान्सा केवल खाना पकाउने ठाउँ होइन, घरको अर्थतन्त्र चल्ने केन्द्र पनि हो। मासिक खर्चको ठुलो हिस्सा खाद्यान्न, इन्धन र दैनिक उपभोगमा जान्छ। एलपी ग्यासको मूल्य बढ्दा त्यसको असर सबैभन्दा पहिले भान्सामै देखिन्छ। विद्युतीय चुलो, राइस कुकर, केतली, ओभन, पानी तताउने उपकरण र अन्य ऊर्जा–कुशल प्रविधिको प्रयोग बढाउन सकियो भने घरायसी खर्चमा केही राहत आउन सक्छ। त्यसभन्दा पनि महŒवपूर्ण कुरा आयातित ग्यासमाथिको निर्भरता घटाउन सकिन्छ।

नागरिकलाई केवल ‘इन्डक्सन चलाउनुहोस्’ भनेर पुग्दैन। व्यवहार परिवर्तनका लागि भरोसा चाहिन्छ। बिजुली स्थिर आउँछ कि आउँदैन ? उपकरण सुरक्षित छ कि छैन ? चलाउन सस्तो पर्छ कि पर्दैन ? बिग्रियो भने मर्मत कहाँ हुन्छ ? पुरानो वायरिङले धान्छ कि धान्दैन ? यी प्रश्नको उत्तर नदिई अभियान सफल हुँदैन।

त्यसैले भान्सामा विद्युतीय रूपान्तरण ल्याउन सरकार, स्थानीय तह, बैंक, उपकरण बिक्रेता, विद्युत् सेवा प्रदायक र मिडियाले संयुक्त रूपमा काम गर्नुपर्छ। किफायती उपकरण, किस्ताबन्दी सुविधा, सुरक्षित वायरिङ, जनचेतना र मर्मत सेवा, यी सबै एकैसाथ उपलब्ध हुनुपर्छ। भान्साको परिवर्तन सानो देखिन सक्छ तर लाखौं घरमा दोहोरियो भने यसको राष्ट्रिय आर्थिक प्रभाव ठुलो हुन्छ।

घरायसी खपतबाट राष्ट्रिय बचत

जब कुनै परिवारले ग्यासको खपत घटाएर बिजुली प्रयोग गर्छ, त्यो केवल व्यक्तिगत सुविधा होइन। त्यो राष्ट्रिय अर्थतन्त्रका लागि पनि सकारात्मक कदम हो। आयातित इन्धनका लागि बाहिरिने पैसा देशमै रहन्छ। नागरिकले तिरेको रकम स्वदेशी ऊर्जा प्रणालीभित्रै घुम्छ। त्यसले सेवा, मर्मत, उपकरण, स्थानीय व्यापार र रोजगारीका नयाँ अवसर खोल्छ। एक परिवारले गरेको सानो निर्णय राष्ट्रको व्यापार घाटासँग कसरी जोडिन्छ भन्ने कुरा तत्काल देखिँदैन। अर्थतन्त्र यस्तै लाखौं साना निर्णयको योग हो। घरायसी प्रयोगमा बिजुलीलाई प्राथमिकता दिने संस्कार बस्यो भने स्वदेशी उत्पादनको बजार पनि स्वदेशमै विस्तार हुन्छ। यहींबाट ऊर्जा खपत अर्थतन्त्रको हिस्सा बन्छ।

सडकमा पेट्रोलबाट बिजुलीतर्फ

नेपालको आयात संरचनामा पेट्रोलियम पदार्थको ठुलो भूमिका छ। पेट्रोल र डिजेलका लागि बाहिरिने रकमले देशको व्यापार घाटामा दबाब थप्छ। त्यसैले यातायात क्षेत्रमा विद्युतीकरण केवल वातावरणीय विषय होइन, आर्थिक विषय पनि हो।

विद्युतीय सवारीप्रति नागरिकको आकर्षण बढ्दै गएको छ तर यसलाई निजी कारमा मात्र सीमित राख्नुहुँदैन। सार्वजनिक बस, ट्याक्सी, स्कुल बस, माइक्रोबस, डेलिभरी भ्यान, नगर यातायात र सरकारी सवारीलाई योजनाबद्ध रूपमा विद्युतीय बनाउनु आवश्यक छ।

यसको फाइदा बहुआयामिक हुन्छ। इन्धन आयात घट्छ। सहरको प्रदूषण कम हुन्छ। सञ्चालन खर्च घट्न सक्छ। स्वदेशी बिजुलीको खपत बढ्छ। चार्जिङ स्टेसन, मर्मत सेवा, सफ्टवेयर, ब्याट्री व्यवस्थापन र प्राविधिक तालिमका नयाँ व्यवसाय जन्मिन्छन्। अर्थात् विद्युतीय यातायात केवल गाडी परिवर्तन होइन, यो पूरा सेवा अर्थतन्त्र निर्माण गर्ने अवसर हो।

किसानसम्म बिजुली पुग्दा

नेपालको कृषि क्षेत्र अझै पनि उत्पादनभन्दा बढी जोखिमसँग परिचित छ। किसानले उत्पादन गर्छ तर भण्डारण हुँदैन। मूल्य पाउँदैन। समयमै बजार पुग्दैन। फलफूल, तरकारी, दुध, मासु र अन्य उत्पादन नष्ट हुन्छन्।

स्वदेशी बिजुलीले कृषि अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउन सक्छ। विद्युतीय सिँचाइ, दुध चिस्यान केन्द्र, कोल्ड स्टोरेज, फलफूल सुकाउने उपकरण, खाद्य प्रशोधन, प्याकेजिङ र स्थानीय भण्डारण प्रणालीले किसानको उत्पादनलाई बजारसँग जोड्न सक्छ।

कृषि उत्पादनको मूल्य खेतमा मात्र सिर्जना हुँदैन। मूल्य त प्रशोधन, भण्डारण, ब्रान्डिङ र बजार पहुँचबाट बढ्छ। यी सबै चरणमा बिजुलीको भूमिका हुन्छ।

गाउँमै ऊर्जा आधारित साना उद्योग खुले भने किसानले उत्पादन बेच्न टाढा जानुपर्दैन। स्थानीय युवाले काम पाउँछन्। महिलाको सहभागिता बढ्छ। गाउँको पैसा गाउँमै घुम्छ। यसरी बिजुलीले कृषि उत्पादनलाई आर्थिक अवसरमा बदल्न सक्छ।

होटल, पर्यटन र सेवा क्षेत्रमा नयाँ सम्भावना

नेपालको पर्यटन उद्योग स्वच्छ ऊर्जा प्रयोग गर्ने ठुलो क्षेत्र बन्न सक्छ। होटल, रिसोर्ट, रेस्टुरेन्ट, अस्पताल, विद्यालय, कलेज, सपिङ कम्प्लेक्स र कार्यालयहरूमा बिजुलीको व्यापक उपयोग गर्न सकिन्छ।

होटल तथा रेस्टुरेन्टमा विद्युतीय भान्सा, पानी तताउने प्रणाली, लन्ड्री, वातानुकूलन, चार्जिङ सुविधा र ऊर्जा–कुशल उपकरणको प्रयोग बढाउन सकिन्छ।  

यसले सञ्चालन प्रणालीलाई आधुनिक बनाउँछ र स्वच्छ ऊर्जा प्रयोग गर्ने नेपालको छवि पनि बलियो बनाउँछ। भविष्यको पर्यटक केवल दृश्य हेर्न आउँदैन। ऊ जिम्मेवार पर्यटन खोज्छ। वातावरणमैत्री होटल खोज्छ। कम कार्बन उत्सर्जन भएको गन्तव्य खोज्छ।

नेपालले स्वच्छ बिजुली प्रयोग गर्ने पर्यटन गन्तव्यका रूपमा आफ्नो पहिचान बनाउन सक्छ। यो वातावरणीय दायित्व मात्र होइन, बजारको नयाँ अवसर पनि हो।

कारखानाले बिजुली खपत गर्दा

नेपालको आर्थिक रूपान्तरणको वास्तविक परीक्षा उद्योग क्षेत्रमा हुन्छ। घरायसी खपत र विद्युतीय यातायात महŒवपूर्ण छन् तर ठुलो आर्थिक प्रभाव तब आउँछ, जब बिजुलीले उत्पादनमूलक उद्योग चलाउँछ। कृषि प्रशोधन, खाद्य उद्योग, निर्माण सामग्री, सूचना प्रविधि, डेटा सेवा, शीत भण्डारण, औषधि, होटल सामग्री, विद्युतीय उपकरण, साना तथा मझौला उद्योग, यी सबै क्षेत्रमा बिजुलीले उत्पादन लागत, गुणस्तर र प्रतिस्पर्धामा प्रभाव पार्न सक्छ।

उद्योगले स्वदेशी बिजुली प्रयोग गर्दा एकैपटक धेरै आर्थिक परिणाम सिर्जना हुन्छन्। उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ, कर उठ्छ, आयात प्रतिस्थापन हुन्छ, निर्यातको सम्भावना बढ्छ र स्थानीय आपूर्ति शृंखला बलियो हुन्छ।

रोजगारी सिर्जनाको नयाँ आधार

नेपालको सबैभन्दा गम्भीर सामाजिक चुनौतीमध्ये एक युवा पलायन हो। युवाहरू विदेश जानु आफैंमा गलत होइन। देशभित्र अवसर नभएकाले बिदेसिनु बाध्यता बन्नु चिन्ताको विषय हो।

ऊर्जा आधारित अर्थतन्त्रले नयाँ किसिमका रोजगारी सिर्जना गर्न सक्छ। सबै रोजगारी जलविद्युत् आयोजनाभित्र मात्र हुँदैनन्। वास्तविक अवसर त आयोजनाबाट निस्किएको बिजुली प्रयोग गर्ने क्षेत्रमा हुन्छ। विद्युतीय सवारी मर्मत, चार्जिङ स्टेसन, घरेलु उपकरण सेवा, कृषि प्रशोधन, कोल्ड स्टोरेज, होटल सेवा, डेटा व्यवस्थापन, डिजिटल व्यवसाय, ऊर्जा–कुशल भवन, साना उद्योग, स्थानीय उत्पादन र प्राविधिक तालिम, यी सबै नयाँ रोजगारीका क्षेत्र हुन्। युवालाई देशमै बस्न आग्रह गरेर मात्र हुँदैन। बस्न मिल्ने अर्थतन्त्र बनाउनुपर्छ। काम, सम्मान र भविष्य देखिनुपर्छ।

भान्सादेखि कारखानासम्म बिजुलीको यात्रा भनेको तारमा ऊर्जा बग्नु मात्र होइन, यो अर्थतन्त्रको संरचना बदल्ने यात्रा हो। स्वदेशी बिजुलीलाई दैनिक जीवन र उत्पादनशील क्षेत्रमा व्यापक रूपमा प्रयोग गर्न सकियो भने नेपालले आयात घटाउन सक्छ, उद्योग बढाउन सक्छ, रोजगारी सिर्जना गर्न सक्छ र आफ्नो आर्थिक आत्मविश्वास बलियो बनाउन सक्छ।

नेपालको बिजुलीले केवल बत्ती बाल्नुहुँदैन। यसले भान्सा चलाउनुपर्छ, सवारी चलाउनुपर्छ, किसानको उत्पादन जोगाउनुपर्छ, होटल र व्यवसाय चलाउनुपर्छ, कारखानाको मेसिन घुमाउनुपर्छ, युवाको सपना चलाउनुपर्छ। त्यस दिन मात्र बिजुली ऊर्जा रहँदैन, अर्थतन्त्र बन्छ। त्यही दिन ‘एनर्जी नेपाल’को वास्तविक अर्थ पूरा हुन्छ, स्वदेशी बिजुलीको स्वदेशी खपतबाट स्वदेशी समृद्धि !

प्रकाशित: २४ असार २०८३ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %