मानिस चेतनशील प्राणी हो। उसले आफ्नो जीवन सहज, सुरक्षित र सुखमय बनाउन विज्ञान, प्रविधि र विकासलाई नयाँ अवधारणा र शैलीबाट विकसित गर्न खोजिरहेको छ। विश्व बजारमा विकासको तीव्र प्रतिस्पर्धा भइरहँदा प्रकृतिको महत्त्व ओझेल पर्दै गएको देखिन्छ। वन विनाश, नदी प्रदूषण, अव्यवस्थित सहरीकरण, सवारी साधन तथा उद्योगबाट निस्कने प्रदूषित धुवाँ, प्लास्टिक तथा सिसाजन्य फोहोर र प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनले वातावरण दिनहुँ प्रदूषित बनिरहेको छ। यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, कृषि, जैविक विविधता र समग्र जीवन प्रणालीमा देखिन थालेको पाइन्छ।
जलवायु संकट र विश्व परिस्थिति
आज विश्व समुदाय जलवायु परिवर्तनको गम्भीर संकटबाट गुज्रिरहेको छ। बेमौसमी वर्षा, खडेरी, बाढीपहिरो, अतिवृष्टि र तापक्रम वृद्धिजस्ता घटनाले पृथ्वी संकटतर्फ उन्मुख भएको स्पष्ट संकेत दिएको छ। संयुक्त राष्ट्रसंघदेखि अतिविकसित राष्ट्रहरूले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर गतिविधिहरू गरिरहेका छन्। मुख्य चुनौती भनेकै हामी प्रकृतिसँग नजिक रहेका मानिसहरूबाटै आधुनिक विकासको नाममा अनियन्त्रित र अप्राकृतिक विकासको असुरक्षित प्रतिस्पर्धा हो।
प्राकृतिक सम्पदा र चुनौती
नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो। हिमाल, पहाड, तराई, नदी, वन, जैविक विविधता र मौलिक संस्कृतिले विश्वसामु नेपालको छुट्टै चिनारी बनेको छ। ‘हरियो वन नेपालको धन’ भनाइ केवल नारा मात्रै नभएर नेपाली जीवनशैली र सभ्यतासँग जोडिएको यथार्थ हो। पछिल्ला वर्षहरूमा वातावरणीय असन्तुलन बढ्दै गएको छ। सहरमा उद्योग कलकारखाना र सवारी साधनको अत्यधिक प्रयोगबाट निक्लिने प्रदूषित धुवाँ तथा ग्रामीण क्षेत्रमा प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले दीर्घकालीन असर पारिरहेको छ।
प्रकृति र मौलिकताको भूमि
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक मौलिकताले सम्पन्न क्षेत्र हो। यहाँका हरिया डाँडाकाँडा, रूपाकोट, मेरुङ, साप्सु खोला, सोल्मा–नेर्पा क्षेत्र, सामुदायिक वन, पानीका मुहान र रैथाने जीवनशैली स्थानीय पहिचानका मुख्य आधार हुन्। प्रकृतिपूजक किरात समुदायको उद्गम स्थल भएकाले पनि यहाँका नागरिकमा प्रकृतिप्रतिको सामीप्य नजिक रहेको छ। ‘वन रहे पानी रहन्छ, पानी रहे जीवन रहन्छ’ भन्ने विश्वास यहाँ जीवन्त रहे पनि विकासको नाममा अव्यवस्थित सडक विस्तार, वन फँडानी, प्लास्टिक तथा सिसाजन्य फोहोर र पानीको स्रोत सुक्दै गएको कारण वातावरणीय चुनौती अत्यधिक बढाएको छ।
वातावरण र मानव जीवन
वातावरण र मानव जीवन एकअर्काका परिपूरक हुन्। स्वच्छ हावा, शुद्ध पानी, उर्वर माटो र हरियालीबिना स्वस्थ जीवनको परिकल्पना गर्न सकिँदैन। विकासको नाममा आधुनिक सुविधा बढे पनि मानिसमा तनाव, असन्तुष्टि र स्वास्थ्य समस्या दिनानुदिन बढिरहेको छ। यसको एउटा प्रमुख कारण प्रदूषित वातावरण र आधुनिक जीवनशैली हो। मुख्य गरेर बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा कमजोर समुदायमा बढी वातावरणीय असर देखिन्छ।
अनियन्त्रित सडक विस्तार र परम्परागत जीवनशैली परिवर्तन हुँदा पहाडी क्षेत्रमा पानीका मुहान सुक्नु, पहिरोको जोखिम बढ्नु र खेतीयोग्य जमिन बाँझो हुनु गम्भीर समस्या बनेका छन्। बाँदर लगायत वन्यजन्तु र मानवबिचको द्वन्द्व बढ्नुको मुख्य कारण पनि यही हो। बाँदर र वन्यजन्तुको आतंकले गर्दा हजारौं मानिसमा बसाइँसराइको क्रम बढिरहेको छ। यसले ग्रामीण भूभाग उजाड बनेको छ भने ती उर्वर भूमिहरू बिस्तारै खण्डहर बन्दै गएका छन्। यसका दीर्घकालीन चुनौतीलाई मध्यनजर गर्दै सरकारले यथाशीघ्र स्थायी समाधान नखोजे भोलिका दिनमा वातावरणीय समस्या अझ विकराल बन्ने निश्चित छ।
पहाडी क्षेत्रमा बढ्दो चुनौती
नेपालका पहाडी क्षेत्र वातावरणीय रूपमा संवेदनशील छन्। जथाभावी सडक निर्माण, वन विनाश, अवैज्ञानिक उत्खनन र वैज्ञानिक फोहोर व्यवस्थापन नहुँदा वातावरण असन्तुलित बनिरहेको छ। पछिल्लो दशकमा खोटाङमा विकासको गतिविधि बढे पनि वातावरणीय सन्तुलन बिग्रिएकाले दीर्घकालीन असर देखिन थालेका छन्। पानीका स्रोत सुक्दै जानु, वन क्षेत्र घट्नु, बेमौसमी वर्षा अत्यधिक हुनु र भूक्षय बढ्नु यसका तथ्यगत उदाहरणहरू हुन्। पहाडी जीवन प्रायः प्रकृति र परम्परागत संस्कृतिमा निर्भर हुन्छ। यहाँको अर्थतन्त्र खेतीपाती, पशुपालन, जडीबुटी र वन स्रोतमा आधारित छ। त्यसैले वातावरण संरक्षण प्रकृति जोगाउने र मानव जीवन जोगाउने अचुक उपाय हो।
स्थानीय तहको भूमिका
वातावरण संरक्षण सबै तहका सरकार र नागरिकको साझा दायित्व हो। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले वृक्षरोपण, सरसफाइ, जलस्रोत संरक्षण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो काममा विद्यालयस्तरका वातावरणीय कार्यक्रम, सामुदायिक वन उपभोक्ता समूह, आमा समूह र युवा क्लबहरूको सक्रियता महत्त्वपूर्ण रहन्छ। बाँस संस्कृति यहाँको वातावरणीय, सांस्कृतिक तथा अपरिहार्य जीवन पद्धति हो। यसले माटो बगाउनबाट रोक्छ र हरियाली बढाउन पनि महत्त्वपूर्ण योगदान गर्छ।
विश्व जलवायु परिवर्तनको संकटसँग जुधिरहेको छ। अहिले कार्बन उत्सर्जन न्यूनीकरण, हरित ऊर्जा प्रयोग र जैविक विविधता संरक्षण विश्वव्यापी अभियान बनेको छ। अन्य वनस्पति तथा वृक्षको तुलनामा बाँसले ३० देखि ३५ प्रतिशत कार्बन शोषण गर्ने भएकाले पनि बाँसको महत्त्व अझै बढी छ। नेपाल हिमाली राष्ट्र भएकाले जलवायु परिवर्तनबाट बढी प्रभावित छ। हिमाल पग्लिनु, बाढीपहिरो, खडेरी र बेमौसमी वर्षा हुनु ग्रामीण जीवनका चुनौती हुन्।
नागरिक सचेतना र परम्परा
वातावरण संरक्षणका लागि कानुनसँगै नागरिक सचेतना आवश्यक छ। प्लास्टिकको अनावश्यक प्रयोग घटाउने, वृक्षरोपण गर्ने, पानीको मुहान बचाउने, जैविक खेती गर्ने र दीर्घकालीन तथा व्यवस्थित फोहोर व्यवस्थापन गर्ने बानीले वातावरणमा ठुलो परिवर्तन ल्याउन सक्छ। हाम्रो हजुरबुबा– हजुरआमाको समयमा प्रकृतिलाई सम्मान गर्ने संस्कृति थियो। वन, पानी र जमिनलाई जीवनको आधार मानिन्थ्यो। पुर्खाहरूमा ‘जंगल जोगिए मात्रै मानव जोगिन्छ’ भन्ने सोच व्यवहारमै थियो। ती मूल्य र मान्यतालाई पुनः जीवन्त बनाउन आवश्यक देखिन्छ। विकास र प्रकति संरक्षणलाई सरकारले नीतिसँग जोड्यो भने मात्रै दिगो विकास सम्भव छ। नीतिनिर्माताले आधुनिक विकासलाई निर्मम समीक्षा गर्दै प्रकृतिसँग जोड्ने नयाँ प्रविधिसहितको मोडललाई तत्काल कार्यान्वयनमा ल्याउन जरुरी छ।
निष्कर्ष
वातावरण संरक्षण आजको आवश्यकता हो भने भविष्यप्रतिको साझा दायित्व र जिम्मेवारी हो। स्वच्छ वातावरण नभई स्वस्थ र समृद्ध समाज सम्भव छैन। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वातावरण संरक्षणमा सक्रिय छ। वन जोगाउँदै पानीका स्रोत संरक्षण, सरसफाइलाई जीवनशैली जोड्ने र वातावरणमैत्री विकासलाई प्राथमिकता दिने हो भने दिगो भविष्य सम्भव छ।
अन्ततः वातावरण जोगाउनु भनेको मानव अस्तित्व जोगाउनु हो, सम्पूर्ण प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। सरकारले दिगो विकासको नीति बनाउने र प्रत्येक नागरिकले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अनुसरण गर्ने हो भने मात्रै आजको चुनौतीलाई सामना गर्न सकिन्छ। अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा यही सन्देशसहित सम्पूर्ण नागरिकमा शुभकामना दिन चाहन्छु। दिगो विकास र वातावरण संरक्षणप्रति सबै तह र तप्काको जागरण, जिम्मेवारी र जवाफदेहिता आवश्यक छ।
–भट्टराई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।
प्रकाशित: २१ जेष्ठ २०८३ ०७:११ बिहीबार

