२१ मंसिर २०८२ आइतबार
image/svg+xml
विचार

वंशवादको विरासत

दक्षिण एसियामा लोकतन्त्रको वचन बिस्तारै वंशवादी राजनीतिद्वारा क्षतिग्रस्त भएको छ । जसले जनता र राष्ट्रको भविष्यका लागि विचार, योग्यता र नेतृत्वको सट्टा परिवारको नाम र वंशलाई प्राथमिकता दिएको छ। यसले केवल राजनीतिक प्रणालीमा कमजोरी ल्याएको छैन, बरु राष्ट्रिय विकास, समान अवसर र जनविश्वासलाई पनि कमजोर पारेको छ। जहाँ परिवारको व्यवहारले राष्ट्रिय दृष्टिकोणलाई प्रतिस्थापन गर्छ।

दक्षिण एसियाली देशहरूमा ‘वंश लोकतन्त्र’ एक जटिल र संरचनात्मक समस्या बनेको दृश्यभित्रबाट निर्मम वर्णन गर्न चाहन्छु। भारत, बंगलादेश, पाकिस्तान र नेपालमा यस्तै प्रवृत्ति देखिन्छ, जहाँ नेताहरूको योग्यता र विचारभन्दा परिवारको नाम र वंशले चुनावी प्रक्रियामा प्रधानता पाएका छन्। यसले लोकतन्त्रलाई वंशवादी संरचनामा बदलिदिएको छ, जहाँ पुराना परिवारका नामको निरन्तरताबाहेक नयाँ नेतृत्वको मार्ग बन्द छ।

राजनीतिक सिंहासनको पिँढीमा भारत

भारतको लोकतन्त्रमा वंशवाद सबैभन्दा स्पष्ट देखिन्छ। नेहरू–गान्धी परिवार राजनीतिक शक्ति लामो समयसम्म कब्जा गर्दै आएको छ। जवाहरलाल नेहरू, भारतका पहिलो प्रधानमन्त्री (१९४७–१९६४), स्वतन्त्रताको पथमा आधुनिक भारतको रूपरेखा बनाउने व्यक्ति थिए।

इन्दिरा गान्धी, उनकी छोरी, दुई पटक प्रधानमन्त्री भइन् र कहिलेकाहीं अत्यधिक केन्द्रीकृत सत्ता प्रयोग गरिन्। राजीव गान्धी, इन्दिरा गान्धीका छोरा परिवारको राजनीतिक उत्तराधिकारी बने। सोनिया गान्धी, राजीवकी पत्नी, दुई दशकसम्म कांग्रेसको अप्रत्यक्ष नेतृत्व गर्दै पार्टी निर्णय र गठबन्धनमा प्रभुत्व राखिन्। राहुल गान्धी, पाँचाैं पिँढीका उत्तराधिकारी, परिवारको राजनीतिक पुँजीलाई नयाँ निर्वाचन क्षेत्रमा रूपान्तरण गर्न संघर्षरत छन्।

उत्तर प्रदेशमा मुलायम सिंह यादव परिवार र दक्षिण भारतको तमिलनाडुमा एम करुणानिधि परिवारजस्ता वंशवादी नेतृत्वहरूले पनि स्थानीय राजनीतिक शक्ति सुरक्षित राखेका छन्। यस्तो अवस्थामा सार्वजनिक स्रोत र विकास कार्यक्रम परिवारको चुनावी क्षेत्र केन्द्रित हुन्छन्, जसले अन्य क्षेत्रहरूलाई पिछडिएको बनाउँछ। यो प्रणालीको मुख्य समस्या स्पष्ट छ, लोकतन्त्र व्यक्तिगत परिवारको सत्ता घुमाउने रंगमञ्च बनेको छ, राष्ट्र निर्माण र नीति निर्माण दोस्रो प्राथमिकतामा परेको छ।

दुई परिवार, एउटै राष्ट्र बंगलादेश

बंगलादेशमा सन् १९७१ देखि राजनीतिक शक्ति दुई परिवारको हातमा केन्द्रित छ। सेख मुजिबुर रहमानर छोरी सेख हसिना, जो २००९ देखि पछिल्लो बंगलादेश क्रान्तिसम्म प्रधानमन्त्रीमा विराजमान थिइन्। जियाउर रहमान, पूर्वराष्ट्रपति र उनकी पत्नी खालिदा जिया, जसले हसिनासँग सत्ता साटासाट गर्दै आएको  इतिहास छ। यी परिवारको राजनीतिक प्रतिस्पर्धा व्यक्तिगत बदला र सत्ताकेन्द्रित थियो। राज्य संस्थाहरू कहिलेकाहींपरिवारको राजनीतिक झगडामा पनि प्रयोग गरिन्छ।

विकास कार्यक्रम र संसाधनहरू निर्वाचन क्षेत्रतिर केन्द्रित हुन्छन्, जबकि विपक्षी क्षेत्रहरू उपेक्षित रहन्छन्। त्यहाँ त्यस्तै भयो। यसले सरकारमा योग्यता र नीतिभन्दा व्यक्तिगत र वंशवादी प्राथमिकता बढाउँछ। बंगलादेशको लोकतन्त्र दुई परिवारको सञ्जालमा सीमित भयो, जसले नयाँ नेतृत्वको सम्भावना कम गरेको थियो। यी पंक्ति लेखिरहँदा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्डको आदेश त्यहाँको टाइब्युनलले सुनाएको छ।

सैनिक छायाको वंशवादी पाकिस्तान

पाकिस्तानमा सैनिक शक्तिको प्रभाव अझ बलियो छ तर स्थानीय राजनीति र विकास परियोजनाहरू वंशवादी दलको नियन्त्रणमा छन्। भुट्टो–जर्दारी परिवार यसको स्पष्ट उदाहरण हो। जुल्फिकर अली भुट्टो, पाकिस्तान पिपुल्स पार्टीका संस्थापकलाई १९७९ मा मृत्युदण्ड दिइयो र उनकी छोरी बेनेजिर प्रधानमन्त्री भइन्। तेस्रो पिँढीका नेता बिलावल भुट्टो जर्दारीले आफ्नो निर्वाचन क्षेत्र लारकाना बलियो बनाइरहेका छन्।

 सैनिक नियन्त्रणले राष्ट्रिय स्तरको निर्णय प्रभाव पार्दा पनिसूक्ष्म तहमा वंशवादी दलहरूले निर्वाचन क्षेत्रको अर्थतन्त्रलाई नियन्त्रण गर्छन्। विकास, स्वास्थ्य, शिक्षा परियोजनाहरू परिवारको प्रभाव क्षेत्रमै केन्द्रित हुन्छन्। यसले देखाउँछ कि वंशवादी शक्ति केवल लोकतान्त्रिक बहुमतबाट होइन, सामाजिक संरचना र स्थानीय संसाधन नियन्त्रणबाट पनि कायम रहन्छ।

अविकसित गणराज्य नेपाल

नेपालको लोकतन्त्र पनि वंशवादी राजनीति र समूहगत प्राथमिकताबाट प्रभावित छ। बिपी कोइरालाले नेपाली कांग्रेसलाई परिवारको सम्पत्ति जस्तो कहिल्यै बनाउनुभएन। उहाँको योगदानमा साना असङ्गतिहरू स्वतः निष्क्रिय हुनेनै भए। कांग्रेसमा जैविक दृष्टि र ऐतिहासिक दस्ताबेजका बाबाजुद पनि श्रीमती नोना कोइरालाका छोरा शेखर कोइरालालाई वंशवादको कोट लगाउनुपर्ने परिस्थिति छैन। उनी चराझैं स्वतन्त्र देखिन्छन् र सहकर्मी र प्रतिस्पर्धी दुवै देखिएका महामन्त्री गगन थापाको हकमा वंशवाद ठोक्किने आधार छैन। परिवारवादमा प्रवेश नगरेकासुवर्ण समसेरको निष्कपट इतिहास उहाँले निर्माणको गरेको प्रजातन्त्रको मूलबाटोमा फूल फुल्न छाडेको दशकौं भइसक्यो।

नेपाली वामपन्थमा एकाध वंशवाद तर धेरै गुटतन्त्रमा

सत्ता घुमाउने क्रममा निष्ठा निर्यात–पैठारी आधारमा नियुक्ति गर्छन्, लोकतन्त्रको ग्रन्थ निर्माणपछि तमाम जनप्रतिनिधिमा उनीहरूले श्रीमतीहरूलाई अवतरण गराए। हिजोसम्म हामी साक्षी बन्यौ कि धेरै मन्त्री, सांसद र उच्च पदस्थहरू पूर्वनेताका परिवार खडा देखिए।

स्रोतको समान वितरणमा उल्लिखित कुरूप प्रथाहरूले नेपालको भौगोलिक असमानता यसलाई अझ गम्भीर बनाउँछ। काठमाडौं, चितवनजस्ता सहरमा फूलबारी होइनन्, यो जंगलजस्तो तर आधुनिक पूर्वाधार भन्न मिल्ने भने छ तर हुम्ला, बाजुरा, भोजपुरजस्ता जिल्ला पिछडिएका छन्। पूर्व–पश्चिम तराई सबैतिर पूर्वाधार बर्बाद छ। विकास परियोजना र स्रोत वितरण तिनीहरूको निर्वाचन क्षेत्र अनुसार हुन्छ। बिपी कोइरालाको समानतावादी लोकतन्त्रको सपना अवास्तविक बनाइएको छ। वर्तमान कथित ‘नेता’ राजनीतिक वंश र गुट निष्ठामा केन्द्रित छन्। निर्वाचन क्षेत्रलाई मिनी–राज्यजस्तै गरी प्रयोग गरिन्छ।

राष्ट्रलाई कमजाेर  बनाउने वंशवादी प्रवृत्ति

दक्षिण एसियाली राजनीतिकर्मीका यस्ता प्रवृत्ति समान छन्– उनीहरूले विकास कार्यक्रम र बजेट निहित निर्वाचन क्षेत्रमा केन्द्रित गरिरहे। देश होइन, निष्ठालाई योग्यताभन्दा माथि राखियो। पार्टी, प्रशासन र व्यावसायिक नियुक्ति व्यक्तिगत निष्ठामा आधारित भयो। वंशवादले योग्यतालाई पछाडि धकेलिनु, योग्य व्यक्ति वंशवादी उत्तराधिकारीबाट बाहिरिनु, सीमित आधुनिकता, एयरपोर्ट, अस्पताल, सडक केवल उनीहरूको छोटे राज्य निर्वाचन क्षेत्रमै हुनु यो क्षेत्रको बर्बादी थियो।यसले लोकतन्त्रको विश्वसनीयता कमजोर भयो। नागरिक भन्छन्– मतदान प्रतीकात्मक मात्र हो, वास्तविक प्रभाव पारेन।

देश सम्हाल्ने नेता वश्यक

नेपालको वंशवादी राजनीति विशेष छ। यो राजतन्त्रपछि पनि जारी छ। किन निर्मूल नगर्ने? एकै निर्वाचन क्षेत्रका सांसद/मन्त्री दशकौंसम्म चुनावमा प्रत्याशी हुन किन आउँछन्? विकास परियोजना उनीहरूको वर्चस्वअनुरूप वितरण हुन्छ किन?

अब दलका भान्से क्षेत्र छान्ने होइन, चिट्ठा तान्नुपर्छ भन्ने भएन र? भर्खर अपदस्थ सरकारका मन्त्रीहरूलाई फेरि उम्मेदवार किन बनाउने, पार्टीमा किन जिताउने? पञ्चायतमा बैतडी लोकेन्द्रजी, सिन्धुपाल्चोक पशुपतिजी, धनकुटा सूर्यबहादुरजी, पाँचथर पद्मसुन्दरजीको जस्तै दलहरूले पटक पटक एकै क्षेत्र कब्जा गरे।

संरचना तोड्न केही आवश्यक कदम

कार्यकाल सीमा– सांसद, मन्त्री र पार्टी नेतृत्वको दुई कार्यकालको सीमा, वंशवाद विरोधी नियम, बसिरहेका सांसद/मन्त्रीका नातेदारलाई सोही वा छिमेकी निर्वाचन क्षेत्रमा उम्मेदवार हुन नदिने। राष्ट्रिय आवश्यकताअनुसार विकास, बजेट र परियोजना आवश्यकता अनुसार, परिवारको क्षेत्रअनुसार होइन। युवा नेतृत्वको प्रवर्धन, योग्यतामा आधारित युवालाई राजनीतिमा अवसर दिनु। पारदर्शी नेतृत्व चयन, पार्टी नेतृत्वमा पारिवारिक निर्णयको सट्टा सहभागी प्रक्रिया। यी कदमले नेपाललाई गणराज्यबाट वास्तविक लोकतन्त्रमा रूपान्तरण गर्न सक्नेछ।

दक्षिण एसियाको लोकतन्त्र परिवारको फोटो फ्रेममा फसिसकेको छ। नेपाल एक संकटको मोडमा छ। वंशवाद तोड्नु केवल निर्वाचन सुधार मात्र होइन, बिपी कोइरालाले देखाएको लोकतन्त्रको आत्मा पुनः प्राप्त गर्नु हो। यो लेखलाई बिटमार्दैगर्दा कांग्रेसको पुनर्संरचनामा मैले स्वतन्त्र नागरिकलाई पार्टीका प्रतिनिधि पदाधिकारीहरू चुन्ने अवसर दिनुपर्ने सुझाव दिएको छु।

त्यसपछि मात्र दक्षिण एसियाका गणराज्य वास्तवमै प्रतिनिधित्व, समावेशी र भविष्यमुखी बन्न सक्नेछन् र यो सर्तमा यो देश राष्ट्र बन्ने छ, जब नेपालले असंलग्न परराष्ट्र नीति त्याग गर्छ।

–सांसद, विघटित प्रतिनिधिसभा  

प्रकाशित: ३ मंसिर २०८२ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App