३ माघ २०८२ शनिबार
image/svg+xml
विचार

टुक्रिँदै गएको सार्वभौमिकता

गहिरो हिसाबले एकापसमा जोडिएको विश्वमा अतिराष्ट्रवादको वर्तमान लहर चिन्ताको विषय हो। यो चिन्ता राजनीतिक सीमाभित्र सीमित छैन। राष्ट्र–राज्यविहीन विश्व अझै टाढाको सपना भए पनि हामीले कम्तीमा विद्यमान अतिराष्ट्रिय संस्थाहरूलाई सुदृढ गर्न हामी सक्छौं।

नयाँ वर्षको सँघारमा विश्वको समग्र अवस्था झन् निराशाजनक देखिन्छ। बढ्दो द्वन्द्व र पुनरुत्थान भइरहेको अधिनायकवादले घरेलु र अन्तर्राष्ट्रिय दुवै संस्थालाई कमजोर बनाइरहेका छन्। विश्वभर सम्पत्तिको असमानता बढ्दै जाँदा आर्थिक असुरक्षा गहिरिँदै सामाजिक ऐक्यबद्धता क्षीण हुँदै छ।

सबैभन्दा निरुत्साहित पार्ने हालको अर्काे विकासक्रम अरूप्रतिको बढ्दो घृणाभाव हो। हरेक देशमा राजनीतिक नेताहरूले आप्रवासी र शरणार्थीलाई क्रमशः अमानवीय रूपमा चित्रण गरिरहेका छन्, गरिबी, दमन र द्वन्द्वबाट भागेर आएका यी मानिसलाई घातक खतराका रूपमा चित्रित र प्रस्तुत गरेका छन्।

यस्तो भाष्यले कवि डब्ल्युएच अडेनको कविता ‘रिफ्युजी ब्लुज’ सम्झाइदिन्छ। दोस्रो विश्वयुद्धको पूर्व सन्ध्यामा उक्त कविता लेखिएको थियो र त्यतिबेला  शरणार्थीहरूलाई आर्थिक असुरक्षा र सामाजिक पतनका लागि दोष लगाइन्थ्यो।

उक्त कवितामा सार्वजनिक सभामा बोल्दै एक जना पात्रले चेतावनी दिन्छन्, ‘हामीले उनीहरूलाई भित्त्यायौं भने उनीहरूले हाम्रो दैनिक रोटी खोस्नेछन्।’

राष्ट्र–राज्य तुलनात्मक रूपमा नयाँ अवधारणा हो भन्ने हामी बिर्सन्छौं। मानवीय आवागमन सुस्त र सीमित हुँदा यो विकसित भएको थियो। त्यसबेला विश्वलाई छुट्टाछुट्टै समुदायहरूको सङ्ग्रहका रूपमा कल्पना गर्नु स्वाभाविक थियो, जहाँ प्रत्येक समुदाय आफ्ना सदस्यहरूको कल्याणका लागि जिम्मेवार हुन्थे। यी एकाइहरूलाई प्रभावकारी रूपमा शासन गर्न साझा पहिचानको विकास आवश्यक थियो र यही आवश्यकता पूरा गर्न राष्ट्रवाद उदायो।

भूमण्डलीकरणले यो व्यवस्थामाथि चर्काे दबाब सिर्जना गरेको छ। वस्तु, पुँजी, सूचना र मानिसहरूको स्वतन्त्र आवागमन डिजिटल क्रान्तिसँग मिलेर कम्पनी, श्रमिक र उपभोक्तालाई सीमापार जोड्न सक्षम बनाइरहेको छ। विडम्बनापूर्ण रूपमा यही नाजुकताले अतिराष्ट्रवादको हालको लहरलाई इन्धन दिइरहेको छ। यो यसअघि नै विश्वले छाडिसकेको र पार गरिसकेको मोडललाई पुनर्जीवित गर्ने पछिल्लो प्रयास हो।

हामीले यसअघि पनि यस्तो देखेका छौं। जातीय श्रेष्ठताका दाबीहरू कुनै बेला सामान्य मानिन्थे तर आज ती व्यापक घृणाका विषय बनेका छन्। मानिसले आफ्नै देशलाई पृथ्वीमै सर्वश्रेष्ठ घोषणा गर्नु सामान्यजस्तो लागे पनि समयक्रममा राष्ट्रिय सर्वाेच्चताका दाबीहरू कर्कश र असमर्थनीय सुनिन थाल्दै छन्।

त्यसो त, यस परिवर्तनका रूपरेखाहरू दशकौंअघि नै देखिन थालेका थिए। सन् १९९२ मा प्रकाशित ‘ट्री–लाइट अफ सोभर्निटी’ नामक पुस्तकमा सिटी ग्रुपका  पूर्वअध्यक्ष वाल्टर रिस्टनले राष्ट्रिय सरकारहरूको सान्दर्भिकता क्रमशः घट्दै जाने भविष्यवाणी गरेका थिए।

उनले भनेका थिए, ‘हाम्रो सामूहिक भाग्य अधिकतर हिसाबमा ती व्यक्तिको हातमा जानेछ, जसले दूरसञ्चार र कम्प्युटर मार्फत ग्रहलाई आपसमा जोड्छन्। यो ती बैंकरहरूको हातमा जानेछ, जसले  नयाँ विश्वव्यापी विद्युतीय पूर्वाधारमा पुँजी देख्नेछन्।’

जसरी दासप्रथा र जातीय सर्वाेच्चताको अस्वीकृतिले अधिक न्यायपूर्ण विश्व निर्माणमा निर्णायक भूमिका खेलेको थियो, त्यसरी नै राष्ट्रवादको अहंकार त्याग्नु पनि आवश्यक पर्न सक्छ। यो दृष्टिकोण दिवंगत दार्शनिक जोन रल्सको कामको केन्द्रमा छ। उनले न्यायपूर्ण समाज अज्ञानताको पर्दापछाडिबाट डिजाइन हुनुपर्छ भनेर तर्क गरेका थिए, जहाँ जातीयता, लिंग र राष्ट्रियताजस्ता जन्मसिद्ध संयोगहरूलाई अलग राखिन्छ। त्यसो नगरिएमा यी विषयले नैतिक निर्णयलाई विकृत पार्छन् भन्ने उनको तर्क थियो।

सार्वभौमिकताको नैतिक विषय केवल शैक्षिक दार्शनिकहरूको एकाधिकार होइन। सन् १९१३ मा साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त भारतीय कवि रवीन्द्रनाथ ठाकुरले बारम्बार सीमामुक्त विश्वको कल्पना गरेका थिए।

सन् १९१७ को एक निबन्धमा उनले राष्ट्र–राज्य व्यावहारिक आवश्यकता रहे पनि अन्ततः हाम्रो प्राथमिक पहिचान केवल ‘मानव’ हुने दिनको आकाङ्क्षा गर्नुपर्छ भनेका थिए।

भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले उक्त दृष्टिकोणको शक्ति चिनेका थिए र  ‘राष्ट्रवाद संकुचित आस्था हो’ भनेर लेख्दै ठाकुरले यसको बौद्धिक सीमाबन्धन अस्वीकार गर्न प्रेरित गरेका थिए।

हामीले सार्वभौमिकताको नैतिक तर्क स्विकार्‍यौं र विश्व अर्थतन्त्रमा यो कति गहिरो रूपमा आपसमा गाँसिएको छ भन्ने मान्यौं भने पनि अझै प्रश्न उठ्नेछ,  के सीमाविहीन विश्व सम्भव छ? आखिर, हामीले स्वीकार गर्नुपर्ने अर्काे पक्ष के पनि हो भने राष्ट्रवादले प्रायः प्रयास र उत्कृष्टताका लागि शक्तिशाली प्रेरणा दिएको छ, यसले विकास र नवप्रवर्तनलाई अघि बढाएको छ।

यस सन्दर्भमा ग्रिक दार्शनिक क्रिसिपस अफ सोलीले उपयोगी दृष्टिकोण दिन्छन्। सरल जीवनका पक्षधर ती दार्शनिकले ईसापूर्व तेस्रो शताब्दीमा नैतिक जीवनको प्रतिविम्बका रूपमा प्रतिस्पर्धात्मक खेलको महत्त्वलाई बारम्बार संकेत गर्थे।

यसैगरी अमेरिकी दार्शनिक ट्याड ब्रेनानका अनुसार ‘धकेलाधकेल नगर्ने’ गरी नैतिक हिसाबले र खेलका नियमभित्र रहेर प्रतिस्पर्धीले जित्ने प्रयास गर्नुपर्ने र यस्ता सर्तअन्तर्गत हुने प्रतिस्पर्धा मित्रता, सहकार्य र साझा उद्देश्यसँग सहअस्तित्वमा रहन सक्ने बताएका थिए।  

निश्चय नै पूर्ण रूपमा सीमाविहीन विश्व अझै टाढाको सपना हो। अहिलेका लागि हामीले गर्न सक्ने कुरा भनेको संयुक्त राष्ट्रसंघ, ब्रेटन उड्स संस्थाहरू र अन्तर्राष्ट्रिय फौजदारी अदालतसहितका विद्यमान अतिराष्ट्रिय संस्थाहरूलाई बलियो बनाउनु हो।

राष्ट्रवादले फेरि एकपटक अन्तर्राष्ट्रिय सहकार्यका आधारहरू कमजोर पारिरहेको बेला यसप्रकारको दृढता अत्यन्तै महत्त्वपूर्ण छ।

नयाँ वर्ष सुरु हुँदै गर्दा कसैलाई पनि ‘अन्य’का रूपमा चित्रण र व्यवहार गर्नु हुँदैन। शरणार्थी तथा आप्रवासीहरूलाई कसैका रोटी खोस्ने भनेर अमानवीय हिसाबको चित्रणलाई अस्वीकार गर्ने विश्व आकाङ्क्षा हामीले पोषण गर्नुपर्छ। सार्वभौमिकता एउटा सपना हो तर यो असम्भव सपना होइन।

- कौशिक वसु विश्व बैंकका पूर्वअर्थशास्त्री र भारतीय सरकारका पूर्वआर्थिक सल्लाहकार हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २१ पुस २०८२ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App