२७ भाद्र २०८३ शनिबार
image/svg+xml
विचार

विकासको मापन खर्चबाट होइन परिवर्तनबाट

बेलायतको लन्डनमा राष्ट्रमण्डल (कमनवेल्थ) र सार्क उद्योग वाणिज्य संघ (सार्क सिसिआई) द्वारा आयोजित नेतृत्व तथा व्यावसायिक अन्तरक्रियाले मलाई नेपाललाई नयाँ दृष्टिले हेर्ने अवसर दिएको छ। सो अन्तरक्रिया विभिन्न देशका प्रतिनिधि, महिला नेतृत्वकर्ता, युवा, व्यवसायी, कूटनीतिज्ञ, दूतावासका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थासँग गरिएका संवाद, औपचारिक भेटघाट वा सम्पर्कविस्तारमा मात्र सीमित रहेन।

 स्कटल्यान्ड हाउस, विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस - एफसिडिओ) लगायतका स्थानमा भएका कार्यक्रम, विभिन्न दूतावास र अन्तर्राष्ट्रिय प्रतिनिधिसँगको छलफलमा महिला नेतृत्व, युवा सशक्तीकरण, आदिवासी समुदाय, शिक्षा, उद्यमशीलता, व्यावसायिक साक्षरता, आर्थिक आत्मनिर्भरता, प्रविधि, बजार पहुँच र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गम्भीर विचार आदानप्रदान भएका थिए।

ती छलफलले नेपालका लागि एउटा महत्त्वपूर्ण सम्भावना औंल्याएको अनुभूति भएको छ। अर्थात् हामीले विश्वका अनुभवबाट सिक्दै आफ्नै आवश्यकता र क्षमताअनुसार नयाँ विकासको बाटो बनाउन सक्छौं। राष्ट्रमण्डल ५६ देश सम्मिलित ठुलो अन्तर्राष्ट्रिय परिवार हो। यसमा करिब २.७ अर्ब जनसंख्या अटाएको छ। सो जनसंख्याको ठुलो हिस्सा युवा पुस्ताको छ।

यति ठूलो सञ्जालसँग जोडिनु नेपालका लागि कूटनीतिक सम्बन्धको विषय मात्र होइन। ज्ञान, शिक्षा, प्रविधि, व्यापार, लगानी, मार्गदर्शन, महिला नेतृत्व, युवा उद्यमशीलता र सामाजिक समावेशिताका क्षेत्रमा सिक्ने र सहकार्य गर्ने ठुलो अवसर हो। राष्ट्रमण्डलले महिला नेतृत्व, आर्थिक सशक्तिकरण, युवा सहभागिता, शिक्षा, उद्यमशीलता/समावेशी विकासलाई प्राथमिकतामा राख्दै आएको छ। त्यसैले नेपालले यस्ता अन्तर्राष्ट्रिय सञ्जाललाई कार्यक्रम, भ्रमण, भेटघाट वा फोटो खिच्ने अवसरका रूपमा मात्र लिनु हुँदैन। यसलाई नेपालका महिला, युवा, आदिवासी समुदाय र उद्यमी पुस्तालाई विश्वसँग जोड्ने व्यावहारिक माध्यम बनाउनुपर्छ।

लन्डनमा भएका विभिन्न छलफलले मलाई एउटा गम्भीर प्रश्नतर्फ फर्किन बाध्य बनायो। नेपालले दशकौंदेखि विकासका नाममा धेरै कार्यक्रम गर्‍यो तर हामीले त्यसको वास्तविक परिणाम मापन गरेका छौं ? महिला तथा युवा सशक्तीकरणका नाममा कति तालिम भए ? उद्यमशीलताका नाममा कति परियोजना सञ्चालन गरिए ? सिप विकासका नाममा कति रकम खर्च भयो ? तथ्यांक खोज्दा भेटिएला तर ती तालिम र कार्यक्रमपछि कति महिलाले व्यवसाय सुरु गरे ? कति व्यवसाय टिके ? कति युवाले रोजगारी पाए ? कति उद्यमीले अरूलाई रोजगारी दिए ? कति परिवारको आम्दानी बढ्यो ? कति महिलाले आर्थिक निर्णय आफैं गर्न थाले ? कति स्थानीय उत्पादन बजारमा पुगे ? यी प्रश्नको उत्तर खोज्ने समय आएको छ।

अब विकासको मापन खर्च र कार्यक्रमको संख्याबाट होइन, परिवर्तन र परिणामबाट गर्नुपर्छ। अब हामीलाई ‘प्रविष्टि’ होइन, ‘प्रभाव’ चाहिएको छ। हाम्रा लागि सिप तालिम, ऋण, उद्यमशीलता, रोजगारी र नेतृत्व सबै महत्त्वपूर्ण छन् तर यी सबैको आधार शिक्षा हुनुपर्छ। शिक्षाबिना सिप अधुरो, वित्तीय पहुँच जोखिमपूर्ण र ऋण बोझ बन्न सक्छ। किनभने शिक्षाबिना व्यवसायलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न कठिन हुन्छ। शिक्षाले मानिसलाई जीवन बुझ्न, निर्णय गर्न, प्रविधि प्रयोग गर्न, आर्थिक गतिविधि सञ्चालन गर्न, समस्या समाधान गर्न र अवसर पहिचान गर्न सक्षम बनाउनुपर्छ। त्यसैले पहिले शिक्षा, त्यसपछि सिप र उद्यम आवश्यक हुन्छ। यसपछि मात्र रोजगारी, आत्मनिर्भरता, नेतृत्व र समृद्धि सम्भव हुन्छ।

नेपालका दुर्गम गाउँहरूमा जाँदा धेरै महिलामा अद्भुत क्षमता, मेहनत र सिर्जनशीलता देखिन्छ। उनीहरूसँग स्थानीय ज्ञान, परम्परागत सिप, कृषि र प्रकृतिसँग जोडिएको अनुभव र उत्पादन छ। यति हुँदाहुँदै पनि उनीहरूसँग व्यवसायसम्बद्ध आधारभूत विषयको यथेष्ट जानकारी हुँदैन। ऋण भनेको के हो, ब्याज कसरी गणना हुन्छ ? उद्यमशीलता के हो, व्यावसायिक योजना कसरी तयार गर्ने ? नाफा र कारोबारबिचको फरक के हो ? स्पष्टसँग लेखा राख्नु किन आवश्यक छ ? कर किन तिर्नुपर्छ, बजारको माग कसरी बुझ्ने ? ब्रान्डिङ कसरी गर्ने ? डिजिटल मार्केटिङ कसरी गर्ने ? निर्यात गर्न के कस्ता प्रक्रिया पूरा गर्नुपर्छ ? जस्ता आधारभूत जानकारीको अभावमा उनीहरूको क्षमता व्यवसायमा पूर्ण रूपमा रूपान्तरण हुन सक्दैन।

त्यसैले हामीले महिलालाई तालिम दिएर मात्र हुँदैन व्यावसायिक साक्षरता वृद्धिमा पनि ध्यान पुर्‍याउन सक्नुपर्छ। अब महिलाको आर्थिक सशक्तीकरणको कार्यक्रम शिक्षा, वित्तीय साक्षरता, सिप, पुँजी, मार्गदर्शन र बजारलाई एउटै चक्रमा जोडेर अघि बढाउनुपर्छ। महिला सशक्तीकरणको अर्को महत्त्वपूर्ण पक्ष नेतृत्व हो। नेतृत्व भनेको कुनै संस्थाको पद प्राप्त गर्नु मात्र होइन। नेतृत्व भनेको निर्णय गर्ने क्षमता हो। एउटी महिला आफ्नो परिवारको आर्थिक निर्णयमा सहभागी हुन्छिन्, आफ्नो व्यवसायको लगानी आफैं निर्णय गर्छिन्, आफ्नो समुदायको विकासको विषयमा आवाज उठाउँछिन् भने त्यो नेतृत्व हो।

स्थानीय सरकारको नीति निर्माणमा सहभागी हुन्छिन् र राष्ट्रिय राजनीतिमा पुग्छिन् भने त्यो पनि नेतृत्व हो। त्यसैले महिलालाई मञ्चमा राखेर वा पद दिएर मात्र सशक्तीकरण भएको मान्न सकिँदैन। निर्णय गर्ने ज्ञान, आत्मविश्वास, आर्थिक स्वतन्त्रता, सम्पर्क/सञ्जाल विस्तार र नेतृत्व क्षमता वृद्धिमा पनि सघाउनुपर्छ।

प्रतिनिधित्व आवश्यक छ तर त्योभन्दा अझ महत्त्वपूर्ण निर्णय क्षमताको विकासमा सघाउनु हो। राष्ट्रमण्डलका विभिन्न कार्यक्रम र छलफलमा पनि महिला नेतृत्व तथा आर्थिक सशक्तीकरणलाई महत्त्वपूर्ण विषयका रूपमा अघि सारिएको थियो। यसबाट नेपालले सिक्नुपर्ने कुरा स्पष्ट छ -महिलालाई विकासको नेतृत्वकर्ता र आर्थिक साझेदारको रूपमा हेर्नुपर्छ। महिला नेतृत्वको व्यवसाय, शिक्षा, प्रविधि, नवप्रवर्तन, कूटनीति, कृषि–पर्यटन र विज्ञानका क्षेत्रमा सहभागिता वृद्धि गर्नुपर्छ।

नेपालको अर्को ठुलो सम्भावना आदिवासी समुदायभित्र छ। यो समुदायलाई हामीले प्रायः संस्कृति, पहिचान र परम्परासँग मात्र जोडेर हेर्ने गरेका छौं। उनीहरूसँग ठुलो आर्थिक ज्ञान र सम्भावना छ। स्थानीय कृषि, जडीबुटी, हस्तकला, परम्परागत ज्ञान, स्थानीय खाना, कला, संस्कृति, पर्यटन, जैविक–विविधता र प्रकृतिसँग सहअस्तित्वको ज्ञान उनीहरूको ठुलो सम्पत्ति हो।

आधुनिक प्रविधि, ब्रान्डिङ, पुँजी परिचालन, प्याकेजिङ, डिजिटल मार्केटिङ मुख्य समस्या हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन नसक्नु हो। अब हामीले आदिवासी समुदायलाई संरक्षणको विषय मात्र होइन, आर्थिक विकासको साझेदारका रूपमा पनि हेर्नुपर्छ। हिमाली, पहाडी र दुर्गम क्षेत्रका महिलाले उत्पादन गरेका वस्तुको गुणस्तरमा ध्यान दिँदै स्वदेश तथा विदेशका बजारसम्म पुर्‍याउन सघाउनुपर्छ। यहाँ राष्ट्रमण्डल, सार्क उद्योग वाणिज्य संघ, विभिन्न देशका वाणिज्य संघ (च्याम्बर्स), राजदूतावास, अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सञ्जाल विस्तार र सहकार्य महत्त्वपूर्ण हुन सक्छ। यसो गर्न सक्दा एउटा सानो गाउँको उद्यमले पनि अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्ध विकास एवं विस्तार गर्न सक्छ।

लन्डनमा विभिन्न देशका प्रतिनिधि तथा दूतावाससँग भएका संवाद र छलफलले नेपालका लागि सम्भावित साझेदारीको ढोका देखाएका छन्। अब हामीले विभिन्न देशका समकक्षीहरूलाई सोध्न थाल्नुपर्छ - तपाईंहरूको देशले महिला उद्यमशीलता कसरी बढाइरहेको छ ? युवालाई नवप्रवर्तन पारिस्थितिक प्रणालीमा कसरी जोडेको छ ? आदिवासी समुदायलाई आर्थिक विकासमा कसरी सहभागी गराएको छ ? विद्यालय र विश्वविद्यालयमा व्यावसायिक साक्षरता कसरी सिकाइन्छ? महिला स्वामित्वको व्यवसायलाई पुँजी र अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच कसरी सुनिश्चित गरिएको छ? राष्ट्रमण्डल र सार्क उद्योग वाणिज्य संघ (सार्क सिसिआई) बिचको सहकार्यलाई पनि नेपालले यही दृष्टिले उपयोग गर्नुपर्छ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) हाम्रो क्षेत्रीय आर्थिक तथा सामाजिक वास्तविकतासँग जोडिएको सञ्जाल हो भने राष्ट्रमण्डल (कमनवेल्थ) ले विभिन्न महादेश र देशका अनुभव जोड्ने ठुलो मञ्च उपलब्ध गराउँछ। यी दुई सांगठनिक सञ्जालबिचको संवादलाई शिक्षा, महिला नेतृत्व, युवा उद्यमशीलता, आदिवासी समावेशिता, व्यापार, प्रविधि, लगानी र बजार पहुँचसँग जोड्न सकियो भने नेपालका लागि ठुलो अवसर सिर्जना हुन सक्छ।

उदाहरणका लागि राष्ट्रमण्डल र सार्क क्षेत्रका सफल महिला उद्यमीलाई नेपाली महिला उद्यमीसँग मार्गदर्शकका रूपमा जोड्न सकिन्छ। विभिन्न देशका विश्वविद्यालयबिच उद्यमशीलता शिक्षा र नवप्रवर्तन सम्बन्धी ज्ञान आदानप्रदान गर्न/गराउन सकिन्छ।

समग्रमा हाम्रो बाटो अब स्पष्ट पार्नुपर्छ। पहिले शिक्षा, ज्ञान र सिप चाहिएको छ। यसपछि उद्यम, रोजगारी र आय चाहिएको छ। यसले आत्मनिर्भरता, नेतृत्व र समृद्धिको बाटो खुल्छ। अब नेपालले ‘कति खर्च भयो ?’ होइन ‘कति परिवर्तन भयो?’ भनेर सोध्न थाल्नुपर्छ। ‘कति कार्यक्रम गरियो ? होइन ‘कति जीवन बदलियो ? भनेर मूल्यांकन गर्नुपर्छ। तालिम र कार्यक्रममा ‘कति महिला सहभागी भए ? होइन ‘कति महिला आर्थिक र निर्णयात्मक रूपमा शक्तिशाली भए ?’ भनेर खोजी गर्न थाल्नुपर्छ। किनभने अब हामीलाई भाषणभन्दा परिणाम चाहिएको छ। हामीलाई सहयोग होइन, दीर्घकालीन साझेदारी चाहिएको छ।

नेपाललाई बदल्न पूर्वाधार मात्र होइन, मानिसको क्षमता पनि वृद्धि गर्नुपर्छ। मानिसको क्षमता वृद्धि गर्ने सबैभन्दा शक्तिशाली माध्यम शिक्षा नै हो। शिक्षालाई उद्यमसँग, उद्यमलाई रोजगारीसँग, रोजगारीलाई आत्मनिर्भरतासँग र आत्मनिर्भरतालाई नेतृत्वसँग जोड्न सक्यौँ भने मात्र हामीले समृद्ध नेपाल निर्माणको वास्तविक आधार तयार गर्न सक्छौँ। 

प्रकाशित: २७ भाद्र २०८३ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %