१२ पुस २०८२ शनिबार
image/svg+xml
विचार

डार्लिङ जेन-जी

रोनाल्ड रेगनले डेमोक्र्याटहरू अत्यधिक वामपन्थी र बढ्दो सरकारी नियन्त्रणतर्फ उन्मुख हुँदै गएको देखेर ५१ वर्षको उमेरमा रिपब्लिकन पार्टी प्रवेश गरेका थिए। म रेगनको शैली रुचिपूर्वक अध्ययन गर्छु । १९८४ अक्टोबर २६ मा फेयरफिल्ड, कनेक्टिकटमा आयोजित ‘रेगन बुस’ र्‍यालीमा उनले भनेका रहेछन्– ‘यदि हामीले आफ्नो अर्थतन्त्रलाई सबल बनायौं, सुरक्षालाई मजबुत गर्‍यौं र हामीलाई बाँध्ने मूल्यहरूलाई बलियो पार्‍यौं भने हाम्रो राष्ट्र अझ महान् बन्नेछ।’

साउन २३ मा मैले निर्दोष कलिला युवाहरूमाथि शिरमा ताकेर गोली चलाइएको घटना देखेँ। हजारौं घाइते भए र ७४ जनाको प्राण गयो। के के भयो लेख्नै कठिन छ। त्यो गोली चलाउने सरकार निर्माणमा मैले मत दिएको थिएँ। त्यसपछि मैले सोही दिन राजीनामा घोषणा गरेँ। २४ गते घरभित्र मान्छे जलाइरहे, हाम्रो प्रतिष्ठान आगो लगाइदिए। यद्यपि इमेलमार्फत राजीनामा पठाइसकेको परिस्थिति थियो। मैले दर्ज गरेको भ्रष्ट मन्त्रीहरूको बर्खास्तगी र संसद्मा भ्रष्टाचारविरुद्धको बहसको अक्षर र आवाज नजलेको सामाजिक सञ्जालमा उनीहरूले देखेनन्।

संसारलाई इतिहासले बारम्बार प्रमाणित गरेको छ– भ्रष्टाचार र नेतृत्वको कमजोरीले मुलुकलाई संकटतर्फ धकेल्छ। जब शक्ति, अवसर र जनमतको मूल्यांकन नगरी शासन चलाइन्छ, तब क्रान्ति र विद्रोह उत्पन्न हुन्छ। एल साल्भाडोर, मिश्र, भारतको अनुभवले देखाउँछ कि जनता तब मात्र उठ्छ जब न्याय, विकास र अवसर गुम्छ। नेपाल अहिले ठ्याक्कै त्यही मोडमा छ, जहाँ राजनीतिक नेतृत्वले आफ्नो शक्ति र अवसरको दुरुपयोग गरे, भ्रष्टाचार बढ्यो र युवा पिँढी असन्तुष्ट हुँदैछ।

एल साल्भाडोरको गृहयुद्धले हजारौं निर्दोष नागरिकको जीवन उजाड पार्‍यो। अमेरिकी अदालतमा मुद्दा चलाएर न्याय पाउन सकियो तर पीडितहरूको जीवन पुनर्निर्माण अझै चुनौतीपूर्ण रह्यो। मिस्रमा मुबारकको निरंकुश शासन, मोरसीको अल्पकालीन सत्ताभन्दा पृथक्, बेन्याभोलेन्ट (परोपकारी) शासक  अब्देल फत्ताह अल–सिसीको ठोस रणनीतिले देखाउँछ कि सही नेतृत्व र रणनीतिक अवसरको उपयोगले मात्र मुलुकलाई स्थायित्व र विकासको मार्गमा लग्न सक्छ।

भारतमा इन्दिरा गान्धीको आपतकाल र जनता पार्टीको उदयले देखायो कि जनमतको अवहेलना र भ्रष्टाचारको परिणामले सत्ता परिवर्तन भयो र भारतीय नागरिकले अवसरहरू गुमाउनुपर्‍यो।

नेपालमा पनि यस्तै चित्र देखिन्छ। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले बहुमत र राष्ट्रिय अवसर गुमाएको छ। कम्युनिस्ट पार्टीहरूले चीन र भारतबिचको रणनीतिक खेलमा आफ्नो प्राथमिकता विदेशी हितमा राखेका छन्।

असलग्न सिद्धान्त जस्तो दृष्टिकोण केवल हार्ने मानसिकता र असफलताको प्रमाण हो। नयाँ उद्धारकर्ता पार्टीको नेता जेल तोडेर भाग्दा दशौं हजार कैदी फरार भए, जसले कानुन र सुरक्षा संकट उत्पन्न गर्‍यो। कैदी भगाएपछि मित्रराष्ट्रहरूले बोर्डर सुरक्षा कडा गरे, युएईले त नेपालीहरूलाई भिसा नै रोकिदियो। हरेक निर्वाचनसँगै, रैडिकल र राइटिस्ट समूहहरू उठ्छन् तर स्थायित्व कायम राख्न असफल हुन्छन्।

सेप्टेम्बर विद्रोहपछि जेनजीको सरकारमा उपस्थिति छैन। जेनजीले बेरोजगारी र सामाजिक असमानताविरुद्ध सडकमा विरोध कार्यक्रम गरे तर युवा प्रदर्शनकारीको आम हत्याले संकेत देखाउँछ कि नेपाल अहिले सामाजिक अस्थिरता र अशान्तिमा प्रवेश गरिरहेको छ। भ्रष्टाचार र असमानताको बढ्दो प्रवृत्ति यदि रोकिने छैन भने क्रान्ति र विद्रोहको खतरा वास्तविक हुनेछ। ‘मन्त्री भन्ने पद त खासै केही होइन तर सच्चा मन्त्री भने वास्तवमै महत्त्वपूर्ण हुन्छ’ भन्ने विचारलाई रामेश्वर खनालज्यूको उपस्थितिले झल्काउँछ। त्यसभित्रको सानो रिक्तता भ्रष्टाचार र अत्याचारका मुद्दामा कलम चलाउनेहरू अमित ढकालजीहरूको नामले पूर्ण हुन्थ्यो।

यहीबिच एउटा पुस्ता जेनजीले केवल ‘भ्रष्टाचार नहोस्’ भन्ने माग मात्र गरेको हो, कुनै मन्त्रीपरिषद् सदस्य मागेको होइन भन्ने टिप्पणी गर्ने जेनजीहरू पनि छन् तर, वास्तविकता के हो भने कलिला जेनजीहरू अझै पनि आवाज उठाइरहेका छन्, ‘हाम्रो अजेन्डा हाइज्याक भयो।’

तर समाधान अवश्य छ। नेपालले आफ्नो भौगोलिक र रणनीतिक स्थिति, स्रोत साधन र जनशक्तिलाई सही तरिकाले उपयोग गर्न सके राष्ट्रलाई स्थायित्व, समृद्धि र सुरक्षा सुनिश्चित गर्न सक्छ। पहिलो उपाय भनेको उत्तर–दक्षिण फास्ट ट्रयाक निर्माण हो, जसले भारतको सिमाना र भौगोलिक केन्द्रसँग द्रुत पहुँच सुनिश्चित गर्छ। यसले व्यापार, आपूर्ति शृंखला र सुरक्षा दुवै बलियो बनाउँछ।

नेपालले हवाई क्षेत्र र एयरबेसहरूको निर्माणमा लगानी गर्नुपर्छ। यो केवल सुरक्षा दृष्टिले होइन तर आपतकालीन स्थिति, पर्यटन प्रवर्धन र औद्योगिक आपूर्ति चेनका लागि आवश्यक छ। हवाई क्षेत्रहरूका साथ, राष्ट्रिय पर्यटन, आधारभूत संरचना, अस्पताल, औषधी उद्योग र जीवनयापन केन्द्रहरू विकसित गर्न सकिन्छ। साथै, जनताको पुनस्र्थापना र विस्थापितहरूको सहयोग गर्न राष्ट्रिय योजनाहरू लागु गर्नुपर्छ। यसले विद्रोह र असन्तोष कम गर्न मद्दत गर्छ।

राष्ट्रिय स्रोतको उपयोग केवल संरचना निर्माणमा सीमित हुनु हुँदैन। राष्ट्रिय निकुञ्ज र बफर जोन विकास गरेर जैविक विविधता, औषधी कच्चा पदार्थको उद्योग र पर्यटनको विकास सम्भव छ। यसले वातावरणीय संरक्षण, रोजगार सिर्जना र दीर्घकालीन आर्थिक वृद्धि सुनिश्चित गर्छ। फेरि राष्ट्रपति रेगनलाई सम्झदा ‘हामी यो देशलाई फेरि निर्माण गर्न चाहन्छौं, सरकारबाट तलतिर होइन, जनताबाट माथितिर फर्केर।’

नेपालको विशिष्टीकृत मानचित्रको कारणले अन्तर्राष्ट्रिय दृष्टिकोणमा गहिरो महत्त्व राख्छ। नेपालले भारत र पश्चिमी मुलुकसँग रणनीतिक र आर्थिक सहकार्य कायम राख्नुपर्छ। भारत हाम्रो प्रमुख व्यापार साझेदार हो तर त्यसका अतिरिक्त अन्तर्राष्ट्रिय बजार र पश्चिमी सहयोगले आर्थिक स्थायित्वमा बल पुर्‍याउँछ। यसैबिच, चीनसँग शान्तिपूर्ण र कूटनीतिक सम्बन्ध कायम राख्नु आवश्यक छ, ताकि द्विपक्षीय सम्बन्धमा असन्तोष वा राजनीतिक दबाबले नेपाललाई प्रभावित नगरोस्। हाम्रो विकास, सुरक्षा र व्यापारका मुख्य साझेदारहरू भारत र पश्चिमी विश्व हुन्, त्यससँग संलग्नता कायम राख्नु अपरिहार्य छ किनभने संस्कृति र संविधानका धारहरू मिल्छन्।

नेपालको आन्तरिक राजनीति सुधार बिना यी रणनीतिक योजना अधुरै रहन्छन्। दलहरूले मात्र सत्ता नभई राष्ट्र निर्माण र अवसरको सही उपयोगमा ध्यान दिनुपर्छ। भ्रष्टाचार कम गर्न, जनताको विश्वास पुनः प्राप्त गर्न र राष्ट्रिय सुरक्षा बलियो बनाउन ठोस योजना आवश्यक छ। युवा पिँढीको आवाजलाई सरकारी अजेन्डामा समावेश नगर्ने खण्डमा सामाजिक अशान्ति र विद्रोह बढ्ने खतरा रहन्छ।

संसारका उदाहरणले स्पष्ट देखाउँछन् कि जनताको असन्तोष, भ्रष्टाचार र अवसरको दुरुपयोगले क्रान्ति जन्माउँछ। यदि नेपालले समयमै रणनीतिक योजना, पूर्वाधार विकास, युवा प्रतिनिधित्व र कूटनीतिक सन्तुलन लागु गरेन भने मुलुक स्थायित्व र विकासबाट टाढा हुनेछ तर यदि हामीले यी कदम चाल्यौं भने नेपालले एल साल्भाडोर, मिश्र र भारतको इतिहासबाट सिकेर आफ्नो मार्ग स्वतन्त्र, सुरक्षित र समृद्ध बनाउन सक्छ।

यस्तो समयमा नेपालका दलहरूले कूटनीति, रणनीतिक पूर्वाधार, युवा प्रतिनिधित्व र पारदर्शितालाई पहिलो प्राथमिकता बनाउनुपर्छ। केवल सत्ता जित्नेतर्फ केन्द्रित दृष्टिकोण र असलग्नताको सिद्धान्तले हार्ने मानसिकता, मुलुकलाई संकटतर्फ धकेल्छ। इतिहासले बारम्बार देखाएको छ कि स्थायित्व, न्याय र समृद्धि प्राप्त गर्न नेतृत्व र जनमतको सही उपयोग अपरिहार्य छ।

आजको नेपालमा चुनौती स्पष्ट छ। राजनीतिक दलहरू आन्तरिक द्वन्द्व, भ्रष्टाचार र अवसर गुमाउने प्रवृत्तिबाट टाढा हुनुपर्छ। जेनजीको आवाजलाई सुनिनु, नयाँ विकास र पूर्वाधार योजनामा उनीहरूको सहभागिता सुनिश्चित गर्नु, विस्थापितहरूको पुनर्स्थापना गर्न सहकार्य गर्नु र राष्ट्रिय सुरक्षा र पर्यटन आधारभूत संरचना विकास गर्नु अपरिहार्य छ। हामीले राष्ट्रनिर्माणको मूलधार पत्ता लगाउन सकेका छैनौं, केवल गफ गर्छौं र गैरजिम्मेवार छौं।

भ्रष्टाचार र अवसरको दुरुपयोग रोकिएन भने क्रान्ति, विद्रोह र सामाजिक अस्थिरता अपरिहार्य बन्छ तर यदि हामीले सही नेतृत्व, रणनीतिक पूर्वाधार, युवा प्रतिनिधित्व र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनको संयोजन गर्‍यौं भने नेपालले आफ्नो स्थायित्व, सुरक्षा र समृद्धिको मार्गमा स्थिरता हासिल गर्न सक्छ।

इतिहासका पाठहरू, एल साल्भाडोर, मिश्र र भारतको उदाहरण र हाम्रो आफ्नै वर्तमान अवस्थाले स्पष्ट देखाउँछन् कि नेतृत्व र अवसरको सही उपयोग, युवा सहभागिता, राष्ट्रिय सुरक्षा र रणनीतिक पूर्वाधारले मात्र देशलाई संकटबाट निकाल्न सक्छ।

नेपाल अहिले निर्णायक मोडमा छ। भ्रष्टाचार र अवसर गुमाउने राजनीति जारी रह्यो भने मुलुक सामाजिक अशान्ति, र्‍याडिकल समूहहरूको उदय र विदेशी प्रभावको नियन्त्रणमा सीमित रहिरहनेछ। अब सही कदम चाल्यौं भने युवा शक्ति, पूर्वाधार र रणनीतिक साझेदारमार्फत हामी नेपालको स्थायित्व, समृद्धि र न्याय सुनिश्चित गर्न सक्छौं। अवसर पहिचान, नेतृत्वको दृढता र जनमतको सम्मान आजको आवश्यकताको रूपमा देखा परेको छ।

राष्ट्रनिर्माण गर्ने अवसर गुमाउने सदाबहार राजनीतिकर्मी होइन। देशलाई लिडरको अभाव छ। सानो सरकार बनाउनु छ। कागजी जालो फ्याँक्नु छ। मेरो यो विचार वर्तमान राजनीतिक चुनौती, भ्रष्टाचार, युवा असन्तोष, पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्धको महत्त्व बुझाउन लक्षित छ।

–लेखक पूर्वसांसद एवं उद्यमी हुन्।

प्रकाशित: ११ आश्विन २०८२ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App