४ वैशाख २०८३ शुक्रबार
image/svg+xml
विचार

दलित मुक्तिका दार्शनिक धार

प्रसिद्ध विद्वान् सर्जक यू पोत्तरका ‘उठ, जाग ए! भोका नांगा, जाग संसारका दुःखी’, ‘सुन्दर संसार रचना गर्न न्यायका लागि गर्जी, बाँध्ने छैन परम्पराको साङ्लोले’, ‘जाग ए ! श्रमिक हो, नयाँ जगमा पृथ्वी उठ्नेछ, संसार हाम्रो हुनेछ’ जस्ता गीतिविचारले चालु संसारको जाति, धर्म, रङको आधारमा हुने उत्पीडनको संरचनालाई समाप्त गर्न मानिस अन्तर्राष्ट्रिय जाति हुने कुरा व्यक्त गरेका छन्। वर्गीय, जातीय शोषण र उच्च जातीय अहंकारवादको समूल नष्ट गर्ने दर्शन यी गीतमा पाइन्छ।  

कम्युनिस्टहरूले १८७२ मा फ्रान्समा पेरिस कम्युनको नयाँ साम्यवादी राज्यसत्ता स्थापित गर्न सबै गरिब, दुःखी जनतालाई क्रान्तिप्रति जुझारु बनाउन लेखक पोत्तरले यी गीत लेखेका थिए। यिनै विचारदर्शनको भावले नेपाली समाजमा स्थिर वर्गीय उत्पीडन तथा जातीय दमनको चेतनालाई परास्त गर्नुपर्छ। यसका लागि क्रान्तिकारी वर्गले सांस्कृतिक क्रान्तिका आध्यात्मिक धक्का, गति र रूपान्तरणमार्फत समाजलाई फेर्छ। वर्तमान नेपाली समाजमा ग्रामीण वर्ग संघर्षलाई सहरिया विद्रोहसँग जोड्दै विशाल जनसंघर्षको माध्यमले छुवाछुतको पीडालाई समाप्त गर्नुपर्छ।

राज्यसत्ताले हजारौं वर्षदेखि दलितलाई कानुन बनाएरै दमन गरी दास बनाएर राख्यो । त्यसकारण राज्य अहिले पनि जातीय उत्पीडनका लागि जिम्मेवार छ। युगौंदेखि दलितप्रति राज्यद्वारा शोषण गर्न बनेको जातीय दमनको सामाजिक सत्ताको संरचनाले दलितलाई उत्पीडन गर्दै रहेको छ। २१ औं शताब्दीमा पनि समकालीन शासक वर्गले दलितलाई शोषण गर्न ज्ञान, शिक्षा, चेतना, सत्ता र सम्पत्तिबाट वञ्चित गर्दै आएको छ। हिजोदेखि शासक वर्गले समाजको आर्थिक, सामाजिक तथा सबै खाले सत्तामा पहुँचका लागि दलितलाई निषेध गरेको थियो। अझै त्यो दलितमाथिको उत्पीडन समाजमा कायम छ। अब यसलाई भत्काउन वैज्ञानिक समाजवादी क्रान्तिको धारबाट सामाजिक बदलावको कार्यदिशासहित अगि बढ्नुपर्छ।

दार्शनिक रूपमा समाज विकासको चरित्रलाई हेर्दा आदिम साम्यवादको विघटनपछि व्यक्तिगत सम्पत्ति र त्यसको स्वामित्वको रक्षा गर्ने राज्यको संरचना स्थापना भयो। जसबाट राज्यको विकास र शासक वर्गको वर्गीय स्वार्थको रक्षाका लागि विभिन्न वर्गहरूबिच संघर्ष चलिरह्यो। राज्यको विलोपीकरण गर्दै समाजवादी वर्गविहीन समाज निर्माणको अभ्यास प्रगतिशील वर्गले गरेको देखिन्छ  तर चालु वर्ग अन्तरविरोधको स्वरूप वर्गीय संरचनाको अस्तित्व समाप्त नहुँदासम्म समाजमा वर्गसंघर्ष चलिरहन्छ। राज्य एउटा वर्गद्वारा अर्को वर्गहरूको शोषण गर्ने यन्त्र हो। त्यसकारण वर्गहरूको शोषणको अन्त्य गर्न राज्यको विलोपीकरण अनिवार्य हुन्छ। राज्यले सम्पूर्ण जनताको हितमा काम गर्दैन, यो आफ्नो वर्गीय स्वार्थअनुसार चल्छ। त्यसकारण अन्तरविरोध एउटा धक्का हो, रूपान्तरण हो, गति हो, जसले उत्पीडनको निरन्तरतामा क्रमभंगता ल्याउँछ। यही वैचारिक, सैद्धान्तिक प्रक्रियाबाट वर्गीय, जातीय, लैंगिक तथा सबै खाले अन्यायपूर्ण सत्ताहरू नष्ट गर्न सांस्कृतिक चेतका साथ वर्गीय मुक्ति तथा जातीय मुक्तिको फ्युजनको आधारमा संघर्ष अघि बढ्नुपर्छ।

क्रान्तिकारी वैचारिक धारका आधारमा समाजको क्रान्तिकारी वर्गले नयाँ राज्यसत्ता प्राप्त गरेपछि अधिरचना (उपरी संरचना) मा परिवर्तन ल्याउनुपर्छ। यदि परिवर्तन ल्याउन सकेन भने क्रान्तिको लक्ष्य बोकेको नयाँ राज्यसत्ता लामो समयसम्म टिकिरहन सक्दैन। त्यहाँ पुरानो राज्यसत्ताको अधिरचनाको बलले नयाँ राज्यसत्तालाई भत्काउन बल प्रयोग गर्छ, जो प्रतिक्रान्तिको स्वरूपबाट नयाँ राज्यसत्ता स्खलित भएर जान्छ। संसारका धेरै क्रान्तिमा समाजको उथलपुथलको अवस्थाबाट आएको नयाँ राज्यसत्तामा हिजोका क्रान्ति योद्धाहरू क्रान्तिकारी बनिरहने धारबाट नयाँ सत्तालाई बचाउन सफल भएको अवस्था कम छ।

क्रान्तिकारी वर्गमा क्रान्तिपछि देखिने अवसरवादी धारले क्रान्तिको ओजस्वी तागत जीवित राख्न सक्दैन। त्यसकारण असमावेशी सरकार आफैं पतन भएर जान्छ। नेपालमा भएको जेनजी विद्रोहले एमाले–कांग्रेसको गठबन्धनमा रहेको बलियो सरकार पनि २४ घण्टाभित्र ध्वस्त हुनुलाई यसको उदाहरणका रूपमा हेर्न सक्छौं।  

अहिले देशप्रति समर्पित त्यागको मात्राले प्रशिक्षित गर्दै नैतिकता, स्वाभिमान, सुशासनको क्रान्तिकारी विचारले देशलाई उन्नत बनाउने नयाँ वर्गसत्ता जन्मेको देखिँदैन। क्रान्तिका महान् त्याग–बलिदानका असीम मोडहरूलाई अनन्तसम्म जीवित राख्ने नैतिकताको बल नेताहरूमा देखिएन, बरु बिस्तारै भत्किएको देख्छौं । हिजोका क्रान्तिकारी बनेका साथीहरू नाम, पद, पैसा, प्रतिष्ठाको लोभमा भ्रष्ट, नैतिकहीन र समाजविरोधी बनेकाले क्रान्तिको उपलब्धिलाई बचाउन सकेको स्थिति छैन। खासगरी हिजो आफूलाई क्रान्तिकारी भन्ने तप्काले अहिले आत्मसमर्पणवादी, विसर्जनवादी, संशोधनवादी, सुखभोगवादी र प्रतिक्रियावादी धारबाट भ्रष्ट र पतन हुँदै आफैं पलायन भएर गएको देखिन्छ। ‘मर्ने सँगै, बाँच्ने सँगै’ भन्ने उच्च त्यागको भाव बोकेको युद्धको क्रान्तिकारी तप्का आज चिराचिरा भएर विखण्डित भएको छ। अहिले जेनजी विद्रोहको राप र तापले सत्तामा आएको रास्वपाले जनताको मुक्तिमा के गर्ला, हेर्न बाँकी छ।

राज्यसत्ताले दलितमाथि शोषणको प्रतिनिधित्व गर्छ भने हामीले त्यही जातीय वर्गीय शोषणको जडतालाई भत्काउन दलितहरू सत्तामा पुग्न अनिवार्य हुन्छ। किनकि सबै कुराको फैसला सत्ताले गर्छ। त्यसकारण दलितका लागि सत्ता प्रधान हो। अब दलितलाई सत्तामा स्थापित गर्ने संविधानको धारा ४० को दलित मौलिक हक उपधारा १ देखि ६ सम्म कानुन बनाई तत्काल लागु गर्नुपर्छ । संविधान बनाएर क्रान्तिको एउटा अध्याय पूरा गर्दा वर्गसंघर्षको प्रक्रियाले निरंकुश सामन्ती राजतन्त्रको कालो युगलाई भत्काउन १७०३ दलितले सहादत प्राप्त गरेर देशका लागि ठुलो बलिदान गरे तर सत्ताले संविधानको धारा बनाएर जातीय छुवाछुतको युगीन दासत्वलाई समूल अन्त्य गर्न सकेको छैन। त्यसका लागि वर्ग संघर्ष र जातीय संघर्षका दुई प्रवर्गको उचित संयोजनद्वारा पुँजीवादी क्रान्तिको पूर्ण विकास गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको आधार तयार गर्नु अनिवार्य छ। अब दमनविरुद्ध लड्न सांस्कृतिक क्रान्तिका कार्यक्रमहरू सुरु गर्नु अनिवार्य छ। संविधानको प्रस्तावनामा उल्लेख भएअनुसार सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्न क्रान्तिकारी कार्यक्रम सञ्चालन गर्नुपर्छ।

नेपाली समाजमा देशका सबै खाले सामाजिक–आर्थिक क्रूरताविरुद्धको संघर्षमा दलितहरू वर्गसंघर्षको भट्टीमा खारिएर क्रान्ति योद्धाका रूपमा देशका लागि बलिदान दिँदै आएको कुरा साँचो हो। दलित ऐतिहासिक सर्वहारा क्रान्तिधर्मी वर्ग हो, जसले जिते संसार जित्ने, हारे छुवाछुतको दासत्वको हतकडी लाग्ने भन्ने विचारले प्रशिक्षित भएर क्रान्तिमा अघि बढ्ने हैसियत राख्छ। दलितहरू उत्पीडित जनताको समग्र मुक्तिको दिशामा क्रान्तिकारी रुचिसाथ सबै खाले उत्पीडनविरुद्धको विद्रोहमा संलग्न हुँदै आएका छन्। २०८२ भदौ २३ र २४ गतेको जेनजी विद्रोहमा तीन जना दलित जेनजीले सहादत प्राप्त गरे, पचास जना घाइते भए। जेनजी विद्रोहमा पनि दलित एउटा क्रान्तिको शक्ति बनेर उच्च अन्तिम दिनसम्म लड्ने शक्तिका रूपमा आफूलाई स्थापित गरेको थियो। छुवाछुतलाई जीवित राख्ने जुनसुकै राजनीतिक, सांस्कृतिक शक्तिको प्रतिरोध गर्दै जातीय उत्पीडनबाट मुक्तिका लागि सबै लाग्नु आवश्यक छ । त्यसका लागि समाजको अग्रगामी वर्गसँग मिलेर संयुक्त संघर्षद्वारा समाज रूपान्तरणको आन्दोलनलाई अघि बढाउनु जरुरी छ।

प्रकाशित: ४ वैशाख २०८३ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %