११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
विचार

विश्वव्यापी जलचक्रको संरक्षण अपरिहार्य

विश्वका सरकार र वित्तीय संस्थाले पृथ्वीको जीवनाधार प्रणालीको संरक्षण र पुनस्र्थापनाका लागि तत्काल साझा दृष्टिकोण बनाउन आवश्यक देखिएको छ। विज्ञान, अनुगमन प्रविधि र तथ्यांकीय उपलब्धतामा हाल भएका प्रगतिलाई उपयोग गर्दै अब पानीलाई वास्तवमै साझा र सीमापार सम्पत्तिका रूपमा व्यवहार गर्ने समय आइसकेको छ।

हुन पनि, विश्वव्यापी जलचक्र हाम्रो ग्रहको जीवनाधार प्रणाली हो । यो एक शक्तिशाली वातावरणीय पम्प हो, जहाँ वनहरूले वाष्पोत्सर्जनमार्फत आद्र्रता उत्सर्जन गरी वायुमण्डलमा विशाल तावा पानीका प्रवाहलाई पुनर्भरण गर्छन् । जलचक्र पृथ्वीको ‘थर्मोस्टेट’ पनि हो, जसले वाष्पीकरण र बादल निर्माणमार्फत जलवायु सन्तुलन कायम राख्छ । साथै, यो एक विशाल प्राकृतिक फिल्टर हो, जसले माटो र सिमसार क्षेत्र हुँदै बग्ने क्रममा पानीलाई शुद्ध बनाउँछ।

यसरी पृथ्वीको सम्पूर्ण जीवन यसै जलचक्रमाथि निर्भर भए पनि हाल यो अभूतपूर्व दबाबमा छ र यसले आफ्ना यी आधारभूत कार्य पूरा गर्ने क्षमता गुमाउँदै गएको छ । यही कारण संयुक्त राष्ट्रसंघले ‘विश्वव्यापी जल मन्दी’को नयाँ युग सुरु भएको चेतावनी दिएको छ । बढ्दो तापक्रम, पारिस्थितिकीय प्रणालीको विनाश र वर्षा चक्रमा आएको परिवर्तनले पानीको प्रवाह र गुणस्तर नियन्त्रण गर्ने प्राकृतिक प्रणालीहरू कमजोर बन्दै गएका छन् । यसैगरी विगतको जलविज्ञानसम्बन्धी अवस्थालाई आधार मानेर बनाइएका परम्परागत पूर्वाधारहरू वर्तमानको अस्थिरता, माटो थुप्रिने समस्या र आकस्मिक झट्काप्रति अत्यन्त संवेदनशील बन्दै गएका छन्।

यी परस्पर प्रतिस्पर्धी दबाबबाट जलचक्रलाई जोगाउन अब हामीले समग्र र प्रणालीगत दृष्टिकोण अपनाउनुपर्छ । यसको अर्थ जलचक्रलाई नै साझा पूर्वाधारका रूपमा स्वीकार गर्दै लगानी र शासन प्रणालीलाई त्यसअनुसार पुनर्संरचना गर्नु हो।

शताब्दीयौंदेखि मानव सभ्यतालाई संरक्षण गर्दै आएको प्राकृतिक पूर्वाधार जोगाउने पहिलो कदमका रूपमा सरकार, लगानीकर्ता र बहुपक्षीय विकास बैंकहरूले सम्भव भएसम्म पानीलाई प्राकृतिक वातावरणमै सुरक्षित राख्ने नीतिमा जोड दिनुपर्छ । वन, सिमसार क्षेत्र, नदी बेसिन र माटोको आवरण संरक्षण गर्ने प्रयासहरू जलचक्रमा आउने अवरोध कम गर्न तथा प्राकृतिक प्रकोपसँग जुध्न अत्यन्त महत्त्वपूर्ण हुन्छन्।

यस्ता प्रयासहरू सम्पूर्ण पारिस्थितिकीय प्रणालीलाई केन्द्रमा राखेर गरिनुपर्छ । उदाहरणका लागि पाकिस्तानको सिन्ध प्रान्तको दक्षिणपूर्वी तटमा सञ्चालन गरिएको ‘डेल्टा ब्लु कार्बन परियोजना’ विश्वकै सबैभन्दा ठुलो म्याङ्ग्रोभ पुनस्र्थापना अभियान हो । यसले करोडौं म्याङ्ग्रोभ बिरुवा रोप्न सहयोग गरेको छ, जसबाट ७५ हजार हेक्टरभन्दा बढी क्षतिग्रस्त म्याङ्ग्रोभ बिरुवा वन र वरपरको सिमसार क्षेत्र पुनर्जीवित भएका छन्।

आगामी पाँच दशकमा यसले १४ करोड २० लाख टन कार्बन डाइअक्साइड सोस्ने अनुमान गरिएको छ । साथै, यसले समुद्री आँधीबाट सुरक्षा दिनुका साथै समुद्री जैविक विविधताका लागि उपयुक्त प्रजननस्थल पनि उपलब्ध गराउँछ।

हामीले प्राकृतिक अर्थात् हरित पूर्वाधारको पुनस्र्थापनासँगै परम्परागत पूर्वाधारमा पनि लगानी गर्न आवश्यक छ, ताकि बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम र अस्थिर जलवायुबिच जल प्रणालीलाई थप लचिलो र उत्थानशील बनाउन सकियोस् । उदाहरणका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी), विश्व बैंक र इन्डोनेसिया सरकारको सहलगानीमा सञ्चालित ‘इन्डोनेसिया ड्याम परियोजना’ले बाढीविरुद्ध सुरक्षात्मक क्षमता बढाउने तथा पानी आपूर्तिका प्रमुख स्रोत जोगाउने लक्ष्य राखेको छ । यस परियोजनामा नदी गहि¥याउने, संरचनात्मक पुनःस्थापना गर्नेजस्ता इन्जिनियरिङ उपायसँगै पारिस्थितिकीय पुनस्र्थापनालाई पनि जोडिएको छ, जसले माटो थुप्रिने समस्यालाई सम्बोधन गर्छ।

हरित र परम्परागत पूर्वाधारको यस्तो संयोजनले जलवायु परिवर्तनबाट जलचक्रलाई जोगाउन न्यूनीकरण तथा अनुकूलन दुवै प्रयासलाई बल पुर्‍याउन सक्छ  तर यसका लागि सुशासन, तथ्यांक र वित्तीय प्रणालीबिच समन्वय आवश्यक छ।

शासकीय दृष्टिकोणबाट हेर्दा पानीलाई अझै पनि साझा सीमापार स्रोतभन्दा स्थानीय वस्तुका रूपमा बढी हेरिन्छ । एआइआइबीको हालैको प्रतिवेदन  ‘ह्वेयर द वाटर फ्लोज’अनुसार सन् १९७१ मा इरानको रामसरमा हस्ताक्षर गरिएको ‘रामसर महासन्धि’ विकसित अर्थतन्त्र भएका देशहरूमा, विशेष गरी साना सिमसार क्षेत्रमा प्रभावकारी देखिएको छ । तर कमजोर संस्थागत क्षमता र सीमित स्रोत भएका देशहरूमा यसको प्रभाव अपेक्षाकृत कमजोर रहेको छ।

सौभाग्यवश, विज्ञान र प्रविधिको विकासले अब पानीको प्रत्येक थोपालाई समेत ट्रयाक गर्न सक्ने भएको  छ। उपग्रह तथ्यांक, रिमोट सेन्सिङ र उन्नत मोडलिङमार्फत अहिले पानीको प्रवाह, पूर्वाधारको अवस्था र वातावरणीय परिस्थितिको वास्तविक समयमै निगरानी गर्न सकिन्छ । साथै, कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङले बाढी पूर्वानुमान सुधार्न, सिँचाइ तालिका अनुकूल बनाउन र पूर्वानुमानमा आधारित मर्मत व्यवस्थापन गर्न सहयोग गरिरहेका छन्।

यी प्रविधिहरूलाई उपयोग गरी जल शासन सुधार गर्नु जलचक्रमा लगानी विस्तार गर्ने आधार पनि बन्न सक्छ र त्यसको आवश्यकता अहिले टड्कारो छ । वर्तमान अवस्थाअनुसार सन् २०३० सम्म विश्वव्यापी जल पूर्वाधारमा आवश्यक लगानी अभाव पूरा गर्न करिब सात ट्रिलियन डलर आवश्यक पर्ने अनुमान  छ।

जलचक्र संरक्षणतर्फ वित्तीय स्रोत परिचालन गर्न बहुपक्षीय विकास बैंकहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। एआइआइबीका अनुसार पानीसम्बन्धी परियोजनाहरूमा जाने आधिकारिक विकास सहायता निरन्तर घटिरहेको छ र अहिले यो विश्वमा प्रभावित हुने कुल सहायता रकमको करिब १४ प्रतिशतमा सीमित छ । त्यसैले विकास बैंकहरूले प्राकृतिक, इन्जिनियरिङ तथा डिजिटल पूर्वाधारलाई एकीकृत गर्ने गरी जलचक्रमा लगानी बढाउनुपर्छ । साथै, सीमापार वित्तीय नीतिमा समन्वय ल्याउने आर्थिक सुधारलाई प्रोत्साहन गर्न तथा निजी क्षेत्रको लगानी पानीकेन्द्रित कार्यक्रमतर्फ आकर्षित गर्नुपर्छ।

विश्व अझ अनिश्चित र असुरक्षित जल अवस्थातर्फ गइरहेको वर्तमान सन्दर्भमा  सरकार र वित्तीय संस्थाहरूले जलचक्रको पुनस्र्थापना र संरक्षणलाई विकासको प्रमुख प्राथमिकताका रूपमा लिनु अत्यावश्यक छ । विज्ञान, अनुगमन प्रविधि र तथ्यांकमा भएका पछिल्ला प्रगतिलाई उपयोग गर्दै शासन सुधार र लगानी विस्तारका लागि विश्व समुदाय एकजुट हुनुपर्छ । पानी मानव जीवनका हरेक पक्षलाई जोड्ने आधार हो । त्यसैले जलचक्रको संरक्षणभन्दा ठुलो प्राथमिकता अरू हुन सक्दैन।

- बर्गलोफ एसियाली पूर्वाधार लगानी बैंकका प्रमुख अर्थशास्त्री हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: ११ जेष्ठ २०८३ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %