१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
विचार

क्यान्सरको व्यवस्थापन

सन् १८४५ मा क्यान्सर सेल (कोष) पत्ता लागेपछि रोग निदान गर्न वैज्ञानिकहरूले अहोरात्र काम गरे, अन्तर्राष्ट्रिय समुदायले धेरै पैसा खर्च गर्‍यो। अथाह धन खर्चेर हजारौं विज्ञहरूले ल्याबमा घोटिँदा पनि अर्बुदरोगको विश्वसनीय औषधी आएन। बेलायतको ‘द इन्स्टिच्युट अफ क्यान्सर रिसर्च’मा पाँच दशकदेखि रक्त क्यान्सरसमेत भनिने ल्युकिमिया अन्वेषणमा काम गरेका प्राध्यापक सर मेल्भिन ग्रेभ्सको विचारमा क्यान्सरको इलाज एक जटिल ब्याक्टेरिया अथवा आततायी भाइरस निको पारेजस्तो होइन। अहिलेसम्म दुई सयभन्दा बढी क्यान्सरहरू पत्ता लागेका छन्, अनि ती प्रत्येक महारोगका हाँगाबिँगासमेत रहेकाले अर्बुदरोगको संख्या हजारौंमा देख्छन् डा. ग्रेभ्स। ठुलो संख्यामा रहेका क्यान्सरहरूको इलाज महामारीजन्य हैजा, बिफर र एचआइभी/एड्सभन्दा सयौं गुणा कठिन ठान्छन् उनी। तथ्यांकको विश्लेषण गर्दा स्थापित वैज्ञानिक अनुसन्धानको परिधिमा रहेर महारोगको नियन्त्रण सम्भव देखिएन।

शरीरमा कुनै चोट लाग्दा घाउ भर्नका लागि कोषको विभाजन आवश्यक हुन्छ। त्यस्तै, घाउ भरिएपछि कोषको विभाजन रोकिन पनि त्यतिकै आवश्यक हुन्छ। अन्यथा चोट लागेको ठाउँमा मासुको मुस्लो बन्छ र शरीरको आकृति बिग्रन्छ। प्रकृतिले जीवको अस्तित्वको निरन्तरताका लागि कोषको विभाजन र बन्देजको व्यवस्था गरेको छ। कोषको विभाजनलाई उकास्ने जिनलाई अर्बुदरोगलाई उकास्ने अथवा अन्कोजिन भनिन्छ भने सेलको विभक्तिलाई रोक्नेलाई ट्युमर सप्रेसन जिन भनिन्छ। आवश्यकताअनुसार कोषको विभाजन गर्न र बन्देज लगाउन अन्कोजिन र सप्रेसन जिनहरू एक आपसमा सन्तुलित हिसाबले काम गर्छन्। यी दुई जिनको सन्तुलन बिग्रिएको अवस्थामा व्यक्ति अर्बुदरोगको सिकार हुन्छ। कोषको विभाजन गराउने जिन अत्यधिक क्रियाशील भए अथवा सेलको विभक्ति रोक्नुपर्ने जिनहरू शिथिल भएको अवस्थामा क्यान्सरले थलाउँछ।

अर्बौं एकाइ मिलेर बनेको आनुवंशिक पदार्थ डिएनएका खण्डहरूलाई जिन भनिन्छ। हाम्रो शरीरमा झन्डै ३० हजार जिन हुन्छन्। त्यसमध्ये झन्डै १२ सय जिनमा खराबी आउँदा व्यक्तिमा अर्बुदरोगको सम्भाव्यता देखिन्छ। यद्यपि हजारौं जिनमध्ये सबै जिनको प्रभाव समान हुँदैन। अथवा एउटा जिनमा कैफियत देखिनेबित्तिकै व्यक्ति महारोगको सिकार हुन्छ भन्ने होइन।

जन्मदेखि मृत्युसम्म शरीरमा कोषको विभाजन अविरत रूपमा चल्छ। त्यस्तै, सेलको विभाजन हुनका लागि डिएनएको विभक्ति पनि आवश्यक हुन्छ। मातापिताबाट आएको आनुवंशिक पदार्थ जीवनकालभरिमा खर्बौं पटक विभाजन हुन्छ। स्वस्थ जीवन बिताउनका लागि व्यक्तिको जिन बेदाग हुनु आवश्यक हुन्छ तर शारीरिक बायोलोजी अनि बाह्य वातावरणीय प्रभावका कारण समयको बहावसँगै आनुवंशिक तत्त्वमा खराबी आउँछ। डिएनएको बनोट बिग्रँदा जिनहरू कैफियतपूर्ण बन्छन्। क्यान्सरका कारक मानिएका जिनमा खराबी आउँदा व्यक्तिमा अर्बुदरोग लाग्छ।

समयको बढोत्तरीसँगै जिनमा खराबी आउने भएकाले बुढेसकालमा क्यान्सर लाग्नु अस्वाभाविक होइन  तर पछिल्लो समय ठुलो संख्यामा भर्खरका बच्चाहरूलाई समेत अर्बुदरोगले सताउन थालेको देखिन्छ। क्यान्सरका रोगीको संख्या संसारभर नै आकासिएको छ। आवधिक तथ्यांकले भिन्न इलाका र पृथक् जीवनशैलीले अर्बुदरोगको वितरणलाई प्रभावित गरेको देखिन्छ। धनी र गरिब मुलुक अनि सहर र गाउँमा बस्ने मानिसमा लाग्ने अर्बुदरोगको प्रकृति फरक देखिएको छ।

गत महिना फ्रान्सको ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’का वैज्ञानिक हाना फिडिंक सम्मिलित अनुसन्धान टोलीले संसारमा अर्बुदरोगको प्रभावलाई नवीन ढंगले चिरफार गरी महारोगबाट जोगिने उपाय प्रकाशित गर्‍यो ‘जर्नल नेचर मेडिसिन’मा। जीवनशैली परिवर्तन र सरकारी नीति तथा अभ्यासमा परिमार्जन गरे युवा अवस्थामा लाग्ने अर्बुदरोगीको संख्या घटाउन सकिन्छ भन्ने निष्कर्ष रहेको उक्त अनुसन्धानले संसारका विभिन्न भागमा गरिएका क्यान्सरसम्बन्धी अन्वेषणको नतिजालाई तथ्यपरक रूपमा विश्लेषण गरेको देखियो।

अन्यत्रझैं नेपालमा पनि अकालमै अर्बुदरोगबाट मर्नेको संख्या आकासिएको छ भन्ने तथ्यांकले देखिन्छ। पाको उमेरका कारण जिनमा आउने खराबी अनि पुस्तान्तरणबाट आउने कैफियतपूर्ण डिएनएका कारण लाग्ने क्यान्सरको नियन्त्रण काबुभन्दा बाहिरको विषय भएकाले त्यसको चर्चा यहाँ सान्दर्भिक भएन। तसर्थ दिनचर्या परिवर्तनले अर्बुदरोगको सम्भाव्यता घटाउन सकिने विषयमा भएका अनुसन्धानको निचोडलाई यो लेखमा समेट्ने प्रयास गरिएको छ।

प्रकाशित अन्वेषणहरूले क्यान्सरको महामारीका धेरै कारक देखाएका छन्। धूमपान, सूक्ष्माणुको संक्रमण, मद्यपान, मोटोपन, निष्क्रियता, प्रदूषित वायु र सूर्यको विकिरणलाई मात्र क्यान्सरको कारक देखिएको छैन, बरु बच्चालाई छोटो समय मात्र स्तनपान गराउने आमामा समेत अर्बुदरोगको सम्भाव्यता बढ्ने देखिएको छ। यद्यपि उल्लिखित सबै परिवेशको योगदान भने क्यान्सरको भयावहतामा फरक देखिएको छ।

वैज्ञानिक हानाले आफ्नो अनुसन्धानको क्रममा सन् २०२२ मा ३६ किसिमका क्यान्सरले संसारका १८५ देशमा पारेको प्रभावको अध्ययन गरिन्। झन्डै दुई करोड अर्बुदरोगीको विश्लेषण गर्दा धूमपान मात्रले नै क्यान्सरको तथ्यांकमा १५ प्रतिशत योगदान गरेको देखियो। साथै, चुरोट पिउनेहरूलाई केवल फोक्सोमा मात्र होइन, बरु घाँटी, प्यान्क्रियाज, पित्तलगायतका अंकहरूमा पनि अर्बुदरोगको सम्भाव्यता बढ्ने देखियो। चुरोटमा सयौं किसिमका रासायनिक पदार्थ रहने र त्यसमध्ये झन्डै ७० केमिकलहरू क्यान्सरका कारक देखिए। चुरोटमा पाइने बेन्जिन, एमिन, ब्युटाडाइनजस्ता क्यान्सरजन्य रासायनिक पदार्थहरूले डिएनएलाई अपरिवर्तनीय रूपमा क्षति पुर्‍याउँछन्। अत्यधिक प्रदूषणका कारण राजधानीको हावा चुरोट सेवनसँग तुलनायोग्य देखिएको छ। विषाक्त हावामा रहेका सूक्ष्म कणहरूले विभिन्न किसिमका क्यान्सरलाई उकास्ने तथ्य बिर्सनुहुँदैन। धूमपानमा निषेध र सहरी वायुलाई विश्व स्वास्थ्य संगठनको सीमाभन्दा बढ्न नदिने हो भने नेपालमा क्यान्सरका रोगीको संख्या २० प्रतिशतले घट्न सक्छ।

चुरोट–बिँडीपछि नेपालमा क्यान्सरको आयतन बढ्नुमा अल्कोहलको प्रभाव देखिन्छ। त्यस्तै, केही भाइरस र ब्याक्टेरियाले पनि क्यान्सरलाई उकास्न भूमिका खेल्छन्। ह्युमन प्यापिलोमा भाइरस, हेपाटाइटिस भाइरस अनि हेलिकोब्याक्टर सूक्ष्माणुले समेत क्यान्सरलाई उकास्छन्। धनी मुलुकले भ्याक्सिन मार्फत जीवाणुजन्य अर्बुदरोगबाट नागरिकलाई जोगाए भने गरिब देशका जनता भने आर्थिक अभावका कारण क्यान्सर खेप्न बाध्य भए।

यसै सन्दर्भमा एक फरक अन्वेषणको चर्चा सान्दर्भिक छ। क्यान्सरको वितरणलाई भौगोलिक, आर्थिक तथा सामाजिक परिवेशले कसरी निर्देशित गर्छ भन्ने विषयमा संयुक्त राज्य अमेरिकाको सियाटलस्थित युनिभर्सिटी अफ वासिङ्टनका प्राध्यापक क्रिस्टफर मुर्रेले सन् २०२२ मा प्रतिष्ठित जर्नल ‘द ल्यान्सेट’मा लेख प्रकाशित गरे।

उक्त लेखले धूमपान र मद्यपानबाट समाजलाई मुक्त गराउन सकिए विश्वमा क्यान्सरजन्य मृत्यु आधा घट्ने दाबी गरेको छ। यी निष्कर्षहरूले चुरोट र रक्सी त्याग्दा नेपालीको औसत आयुमा उल्लेखनीय वृद्धि हुने देखाउँछन्।

हाम्रो पाचन प्रणाली हजारौं प्रजातिका सूक्ष्म जीवाणुको घर हो। पेटमा पाइने सूक्ष्माणुको समूहलाई माइक्रोबायोम भनिन्छ। पाचन प्रणालीमा केही सूक्ष्माणु खराब हुन्छन् भने केही लाभदायक हुन्छन्। टेक्ससस्थित एमडी एन्डरसन क्यान्सर सेन्टरकी विज्ञ जेनिफर वार्गोका अनुसार पाचन प्रणालीमा रहेका ब्याक्टेरियाको संरचनाले क्यान्सरको दिशा निर्धारण गर्न सक्छ। चिनियाँ अनुसन्धानहरूले सिन्की, गुन्द्रुक, तामाजस्ता फर्मेन्टेड खानाले लाभदायक सूक्ष्माणु बढाउने देखाएका छन्। त्यसविपरीत चाउचाउ, बिस्कुट, चिप्स, कोक–पेप्सीजस्ता प्रशोधित खानाले हानिकारक सूक्ष्माणु बढाउँछन्।

पछिल्ला वर्षहरूमा नेपाली भान्साको स्वरूप परिवर्तन भएको छ। गुन्द्रुक, तामाजस्ता मौलिक परिकार हराउँदै गएका छन्। दाल–भात–तरकारीको सट्टा प्रशोधित खानाको प्रयोग बढेको छ। यसले माइक्रोबायोमलाई नकारात्मक रूपमा असर पार्दै युवा अवस्थामै क्यान्सर बढाएको हुनसक्ने अनुमान गरिएको छ। साथै निष्क्रिय जीवनशैली र मोटोपन पनि जोखिम कारक बनेका छन्।

चुरोट–रक्सी नियन्त्रण गर्ने, परम्परागत फर्मेन्टेड खाना अपनाउने, प्रशोधित खाना घटाउने, सन्तुलित आहार र सक्रिय जीवनशैली अपनाउने तथा दीर्घ स्तनपानलाई प्रोत्साहन गर्ने हो भने क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। जनचेतना अभिवृद्धिमार्फत रोगको बोझ कम गर्न सकिन्छ।

प्रकाशित: १७ चैत्र २०८२ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %