नेपालमा नयाँ सरकार बनेलगत्तै उसले मानिसको दीर्घ आयुजत्तिकै लामो १०० बुँदाको कार्य योजना अघि सार्यो।सधैंजस्तै नेपाली जनता उत्साहित भएका छन्। सयले धेरै कुराको संकेत गर्छ– पहिलो त यसले पूर्णता जनाउँछ।मापनको यो एउटा बेन्चमार्क हो। सय डिग्री (सेल्सियस) मा पानी उम्लिन्छ। अन्तरिक्षमा पृथ्वीको साँध करमान रेखा १०० किलोमिटरमै छ। मानिसको उमेर पनि सयतर्फ उन्मुख छ।यस शताब्दीको अन्तसम्म १०० वर्ष पुग्ने मानिसहरू करोडको संख्यामा हुनेछ ।मानिसको दीर्घ जीवनले समाजको स्वास्थ इंगित गर्छ। विज्ञान र प्रविधिले यसलाई टेवा दिइरहेको छ।
नेपालमा २००७ साल (सन् १९५१) मा प्रजातन्त्र स्थापना हुँदा नेपाली जनताको सरदर आयु ३४ वर्ष थियो।सात सालको क्रान्तिलाई नेतृत्व दिने प्रायः सबै युवा पुस्ताका थिए, आजभोलिको भाषामा तिनीहरू जेनजी उमेरका थिए । राजा त्रिभुवन ४५ वर्षका थिए, उनलाई नेपाल फर्काउने पार्टीका बिपी कोइराला, जसले लगत्तै गृहमन्त्रीको पद सम्हाल्न पुगे, भक्खर ३७ वर्षका थिए। बिपी कोइराला २०१५ सालमा सम्पन्न संसदीय चुनावबाट निर्वाचित पहिलो प्रधानमन्त्री बने। त्यसबेला शिक्षा मन्त्री परशुनारायण चौधरी भएका थिए, उनी ३३ वर्षका लक्का जवान थिए। अठार महिनापछि तिनलाई अपदस्थ गर्ने उतिबेलाका राजा महेन्द्र ३८ वर्षका हुँदा हुन्, जो ५० वर्ष नबित्दै हृदयाघातले बिते। कोइरालालाई घाँटीको क्यान्सर भयो, उनी ६८ वर्ष बाँचे, त्यतिन्जेल औषधि विज्ञानमा अभूतपूर्व विकास भइसकेको थियो।
नेपालको पहिलो संसदीय निर्वाचन २०१५ सालमा भएको थियो ।संख्याले संसद्मा नेपाली कांग्रेसको उपस्थिति दुई तिहाइ थियो। अधिकांश सांसदहरू युवा थिए। उमेरले २१ पुगेकाले मतदान गरेका थिए। जम्मा १९ जनाको मन्त्री मण्डल थियो। मन्त्रीहरूको सरदार उमेर ४०–४२ हुँदो हो (सबैको उमेर भेटिएन)। यहाँ मन्त्रीको उमेरको होइन, नेपाली नागरिकको उमेरको चर्चा गर्दैछौं, जुन बढी महत्त्वको कुरा हो ।त्यतिबेला नेपाली नागरिकहरूको सरदार आयुमा महिलाको ३८.४ वर्ष र पुरुषको ३७.७ वर्ष थियो। सन् १९५० को दशकमा पाँच वर्ष नपुग्दै बित्ने बालमृत्युदर २३ प्रतिशत थियो। हाम्रो स्थिति कहालीलाग्दो थियो।
पछिल्लो आमनिर्वाचनसम्म आइपुग्दा देशले झन्डै आठ दशकको यात्रा तय गरिसकेको थियो। नेपालीको सरदर आयु दुगुनाले बढेको छ, महिलाको ७२.७–७३.८ वर्ष पुगेको छ भने पुरुषको ६८.२–६९.६ वर्ष। बालमृत्युदर ३.१ प्रतिशतमा घटेको छ। यसको श्रेय उपलब्ध स्वास्थ्य सेवा मूलतः हाम्रा ५५ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई जान्छ।
गत महिना जतिबेला हामी सरकार कसको बन्यो र १०० बुँदे काम कसरी पुरा होला भन्ने गोरखधन्दाका चिया गफ गर्दै थियौं, ती स्वास्थ्यकर्मीहरू चोक–चोकमा गरिबका छोराछोरीलाई जुकाको ओखती बाँड्ने र खुवाउने कर्ममा तल्लिन थिए। हाम्रा १७.६ प्रतिशत केटाकेटीहरूमा पेटमा जुका लाग्ने रहेछ। स्वास्थ्य विज्ञानले भन्छ, जुकाको दीर्घकालीन संक्रमणले बच्चाहरूको बौद्धिक विकासमा अवरोध र विद्यालयमा कमजोर प्रदर्शन निम्त्याउन सक्छ। नेपालीको आइक्यु कम हुनुमा कतै जुकाको त भूमिका छैन?
त्यसो त १८औं शताब्दीको मध्यसम्म पनि युरोपका मानिसहरूको सरदर आयु ३० देखि ४० वर्षको बिचमा थियो। अहिले त्यस्तो आयु ८१.७ वर्ष पुगेको छ। त्यहाँको बालमृत्युदर ०.४ प्रतिशत मात्र छ, जबकि २०० वर्ष पहिले त्यहाँ दुई तिहाइ बच्चा पाँच वर्ष नकट्दै बित्थे, कारण थियो रोगव्याधि, फोहोर र कुपोषण। युरोपको जीवनस्तरमा आमूल परिवर्तन आउनुको मूल कारण विज्ञानको आत्मसात र वैज्ञानिक आविष्कारहरू थिए।
अठारौं शताब्दीको अन्त्यसम्म बिफर युरोपको सबभन्दा ठुलो चुनौती थियो ।सन् १७९६ मा डाक्टर एडवार्ड जेनर (१७४९–१८२३) ले बिफरविरुद्धको खोप पत्ता लगाए, जुन उनले जन्तुजनावरबाट सर्ने का उपक्सबाट निकालेका थिए। पहिलो खोप उनले आफ्नो बगैंचामा काम गर्ने कामदारको आठ वर्षीय छोरो जेम्स फिफ्सलाई लगाए। जेम्स बिफरबाट सधैंका लागि मुक्त भए। उनले ६८ वर्षको जीवन बाँचे। जेनरले विकास गरेको सुन्दा सामान्य लाग्ने तर अद्वितीय वैज्ञानिक अविष्कारले करोडौं बच्चाहरूको ज्यान जोगाइदियो। विश्व स्वास्थ्य संघका अनुसार हाम्रो समाज अब बिफरमुक्त भइसकेको छ।
फ्रान्सेली वैज्ञानिक लुई पास्चर (१८२२–१८९५) ले तीन छोरीहरू गुमाउनुपर्यो। उनीहरू ससानै थिए, ठुली १२ वर्षकी र सानी दुई वर्षकी। यो सन् १८६० दशकको कुरा थियो। युरोपमा टाइफाइड ज्वरोले थुप्रै केटाकेटीलाई आक्रान्त पार्थ्याे। सन् १८६१ मा पास्चरले ‘जीवाणु सिद्धान्त (जर्म थ्योरी)’ अघि सारे र भने कि मानिसहरूमा लाग्ने रोगको एउटा प्रमुख कारण हाम्रा आँखाले देख्न नसकिने किटाणुहरू हुन्। तन्त्रमन्त्र, देवी–भाकल, अन्धविश्वासले जरो गाडेको युरोपेली समाजका लागि यो अपत्यारिलो कुरा थियो। पास्चरले वैज्ञानिक प्रयोगसहित यस कुरालाई सिद्ध गरिदिए। आधुनिक चिकित्सा विज्ञान यसैमा अडेको छ, हाम्रो उपचार यसैका आधारमा हुने गर्छ र हामी लामो जीवन जिउन सकिरहेका छौं।
आफ्नै घरको कुरा गर्नुपर्दा मैले आफ्नी हजुरआमाको ममता पाउन सकिनँ, तिनी म नजन्मँदै युवावस्थामै बितिसकेकी रहिछन्। त्यसो त मेरा बुबा, जो सात सालका प्रजातन्त्र सेनानी थिए, उहाँले पनि आमाको न्यानो माया पाउनुभएन किनकि बुबा सानै हुँदा मेरी हजुरआमाको देहान्त भएको थियो। हजुरआमाको मृत्यु झाडापखालाबाट भएको थियो। यस्तो रोगमा बान्ता हुन्छ, पखाला चल्छ तर अज्ञानताका कारण पानी खुवाइन्न अनि शरीरमा पानीको मात्रा कम भएर बिरामीको मृत्यु हुन्छ।
केही वर्षअगाडि नेपाली छापामा जाजरकोटको एउटा तस्बिर छापिएको थियो। एउट दलित परिवारको फोटो थियो त्यो, भर्खरै श्रीमती गुमाएका घरमुली दैलोमा एउटा सानो छोरो र निलो फ्रक लगाएकी सानी छोरीसित टोलाएर बसिरहेको देखिन्थ्यो। क्याप्सनमा लेखिएको थियो, उभिरहेकी छोरीको पनि भोलिपल्ट ज्यान गयो। मृत्युको एउटै कारण थियो – झाडापखाला, जुन फोहोर पानीमा पाइने एक प्रकारको ब्याक्टेरियाले गर्दा हुन्छ। यो संसारभरकै भयावह समस्या हो।
सन् १९६० को दशकतिर दुई जना स्वास्थ्य वैज्ञानिकहरू डा. डेभिड नलिन र डा. रिचर्ड कास पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा कार्यरत थिए। उहाँहरूले झाडापखालाबाट बिरामीलाई बचाउने एउटा गजबको उपाय पत्ता लगाउनुभयो कि त्यस्ता बिरामीलाई पानी खानबाट वञ्चित गर्ने होइन कि नुन–चिनीसहितको पानी खुवाउने। घरैमा बनाउन सकिने नुन–चिनी–पानी, जीवनजल बन्यो र यसले करोडौं मानिसको ज्यान बचाइदियो। आजभोलि यो वैज्ञानिक उपचार विधि विश्वभरि प्रसिद्ध छ। यसलाई पुनर्जलीय उपचार ओरल रिहाइड्रेसन थेरापी (ओआरटी) भनिन्छ। कुरा के हो भने दिसापखाला लाग्दा मानिसको मृत्यु शरीरमा पानीको अभाव निर्जलीकरण (डिहाइड्रेसन) भएर हुने हो।
उपलब्ध तथ्यांक र प्रकाशित अनुसन्धानले के देखाउँछ भने चिकित्सा विज्ञान र स्वास्थ्य उपचारमा वैज्ञानिक आविष्कारहरू भएसँगै मानव जातिको जीवन जोगियो र तिनको आयु पनि क्रमशः बढ्दै गयो। जस्तै सन् १९२८ मा डा. अलेकजेन्डर फ्लेमिङ (१८८१–१९५५) ले पेनिसिलिनको अविष्कार गरे। एकप्रकारको ढुसी प्रजातिबाट उत्पादन गरिने एन्टिबायोटिक पेनिसिलिनले ५० करोडभन्दा बढी मानिसको ज्यान बचाइदिएको छ। दोस्रो विश्व युद्धताका किटाणुजन्य संक्रमणका कारण १८ प्रतिशत सिपाहीहरूको ज्यान जान्थ्यो, पेनिसिलिनले यसलाई एक प्रतिशतभन्दा मुनि झारिदियो।
केही वर्ष पहिले हामीले कोभिड–१९ को वैश्विक महामारी भोग्यौं। यसबाट विश्वको कुल जनसंख्याको १० प्रतिशत संक्रमित भएका थिए र संक्रमितमध्ये करिब एक प्रतिशतको मृत्यु भएको थियो। एक सय वर्षअगाडि यस्तै प्रकारको रोगव्याधि स्पेनिस–फ्लुको महामारी हुँदा करिब ५० करोड अर्थात् त्यसबेलाको कुल जनसंख्याको चौथाइभन्दा बढी मानिस संक्रमित भएका थिए र त्यसमध्ये १० देखि २० प्रतिशतको मृत्यु भएको थियो। पछिल्लो महाव्याधिबाट मानिसको ज्यान बच्नुको एउटै कारण समयमै उपलब्ध वैज्ञानिक स्वास्थ्य चेतना र खोप थियो।
नेपालको प्रसंग जोड्दा पछिल्लो आमनिर्वाचनले युवा पुस्ताको काँधमा राज्यको बागडोर सुम्पेको छ। नयाँ उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले दुई तिहाइको सिटमा जिताएका छन्। माथि उल्लेख भएझैं अहिले बनेको सरकारको मन्त्रिमण्डलमा पनि युवा पुस्ताको उपस्थिति बाक्लो छ, उमेरका हिसाबले औसतमा ४० वर्ष वा त्योभन्दा कम होला। मन्त्रिमण्डल गठन भएलगत्तै सरकारले ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ सार्वजनिक गर्यो। यसले मुख्य रूपमा सुशासन, प्रशासनिक पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा आमूल परिवर्तन गर्ने लक्ष्य राखेको छ।
मानिसको दीर्घ आयुजत्तिकै लामो उल्लिखित कार्यसूची राम्रो हुँदाहुँदै पनि त्यसमा एउटा अत्यन्त महत्त्वपूर्ण विषय छुटेको छ। त्यो हो– विज्ञान तथा प्रविधि। विज्ञान, प्रविधि र नवप्रवर्तनबिना सरकारले हासिल गर्न खोजेका अधिकांश सूचीहरूको गन्तव्यमा पुग्न सकिन्न।
माथिको स्वास्थ्य सम्बन्धि संक्षिप्त वर्णन वैज्ञानिक अविष्कारबाट मानव हितका निम्ति भएका उल्लेख्य कार्यमध्येको एउटा सानो अंश हो। हाम्रा कैयौं अभिलाषा र योजनाहरू विज्ञानले पूरा गरिरहेको छ। तथापि, विगतदेखि नै विज्ञान र प्रविधिमा सरकारहरूको ध्यान न्यून छ। यसको मापन अनुसन्धान तथा विकासमा हाम्रो लगानीबाट गर्न सकिन्छ, जुन ०.४ प्रतिशतभन्दा कहिल्यै बढेन, जबकि विश्वको यस्तो लगानी औसतमा एक प्रतिशत छ। फलस्वरूप खोपजस्तो आधारभूत सेवाका लागि पनि नेपालले अरूको मुख ताकेर बस्नु परिरहेको छ। कोभिड–१९ को बेला भुटानबाट समेत हामीले खोप लिएको कुरा सबैले सम्झेकै छौं।
अहिलेलाई हामीले जापानजस्तो विकसित मुलुकको दाँजोमा जान हतारो गर्नुपर्दैन, तर नयाँ सरकारले कमसेकम वैज्ञानिक अनुसन्धान र प्रविधि विकासमा आफ्नो प्रतिवद्धता देखाएको भए उनका कार्य–योजनाहरू वस्तुपरक छन् भन्ने कुराको आभास दिने थियो। विज्ञान प्रविधिलाई विकासको इन्जिन मानिन्छ। नेपालमा सरकारहरूको योजना कस्तो देखियो भने तिनले रेलगाडीभन्दा लामा कार्यक्रमहरू बनाउँछन् तर तीसँग इन्जिन नै हुँदैन। यो कस्तो भयो भने उनीहरू नदी तर्न डुंगामा सवार त भए तर खियाउने बहना नै छुटाए।बहनाबिना डुंगा अघि बढ्छ कसरी?
लेखक नास्टका प्राज्ञ एवं मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालयमा उपाध्यक्ष हुन्।
प्रकाशित: २४ वैशाख २०८३ १०:३१ बिहीबार

