१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

भुटानी नेपालीको बालेन सरकारसँगका अपेक्षा

नागरिकता हरायो, तर पहिचान हराएन

नेपालमा हालै सम्पन्न निर्वाचनमा असाधारण बहुमतसहित स्थापित नयाँ सरकारका प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। स्थापनाको छोटो अवधिमै नागरिकको अभूतपूर्व समर्थनसहित सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछाने लगायत नवनिर्वाचित सम्पूर्ण सांसदहरूलाई हार्दिक शुभकामना।

प्रधानमन्त्रीज्यू, तपाईंले विजय हासिल गर्नुभएको झापा–५ केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, त्यही भूमिमा विगत तीन दशकदेखि गहिरो मानवीय पीडाको इतिहास पनि जीवित छ। त्यही क्षेत्रमा भूटानी नेपाली शरणार्थी शिविरहरू रहेका छन्, जहाँ आज पनि हजारौँ मानिसहरू अनिश्चित भविष्यको प्रतीक्षामा बाँचिरहेका छन्। त्यहाँ तपाईँजस्तै धेरै युवाहरू छन्: सपना छन्, इच्छा छन्, आकांक्षा छन्; तर ती सबै दबाएर उनीहरू अस्पष्ट पहिचानसहित एक प्रकारको अस्तित्वहीन जीवन बाँच्न बाध्य छन्।

उनीहरूसँग नागरिकता छैन, स्पष्ट पहिचान छैन, र भविष्यको सुनिश्चितता पनि छैन। त्यसैले सानो तर गहिरो अनुरोध छ: कृपया उनीहरूलाई सम्मानजनक रूपमा बाँच्न सक्ने वातावरण सिर्जना गरिदिनुहोस्, काम गर्ने अवसर प्रदान गरिदिनुहोस्, र कम्तीमा उनीहरूको आवाज सुन्ने प्रयास गरिदिनुहोस्।  

विगतका धेरै नेताहरूले न उनीहरूलाई विकल्प दिन सके, न उनीहरूको आवाज सुन्न सके, न उनीहरूको पीडा बुझ्न सके।

भुटानी शरणार्थी शिविर । फाइल तस्बिर

भूटानी नेपालीहरूको पीडा र नेपालको उत्तरदायित्व !

हाम्रो कथा केवल एउटा समुदायको कथा मात्र होइन; यो इतिहास, विस्थापन, पीडा, संघर्ष र पहिचानको निरन्तर खोजीको कथा हो। हाम्रा हजुरबुबा–हजुरआमाहरू नेपालका पहाड र तराईबाट अवसरको खोजीमा भूटान पुगेका थिए। त्यहाँ उनीहरूले पसिना, श्रम र विश्वासका आधारमा जीवन निर्माण गरे।  

पुस्तौँसम्म देशको विकासमा योगदान दिए, घर बनाए, मन्दिर निर्माण गरे, भाषा र संस्कृतिको संरक्षण गरे। त्यसैले हामी जन्मिँदा नेपाली भाषा बोल्ने भए पनि भूटानमा बसेकै कारण संसारले हामीलाई ‘भूटानी नेपाली’ भनेर चिन्यो। तर इतिहास सधैँ न्यायपूर्ण हुँदैन। एक दिन हामीले थाहा पायौँ-हामी त्यहीँ जन्मिए पनि, त्यहीँ हुर्किए पनि, हामीलाई त्यहाँ नागरिक भएर बाँच्न अनुमति दिइएन। हामी आफ्नै घरबाट निकालियौँ, आफ्नै जीवनबाट विस्थापित भयौँ। त्यसपछि सुरु भयो हाम्रो जीवनको सबैभन्दा पीडादायी अध्याय-शरणार्थी जीवन।

पूर्वी नेपालको झापा र मोरङका शरणार्थी शिविरहरूमा हामीले दुई दशकभन्दा बढी समय बितायौँ। त्यो जीवन केवल गरिबीको कथा मात्र थिएन; त्यो अस्थिरता, अनिश्चितता र पहिचानको संकटको कथा थियो। हजारौँ रातहरू प्लास्टिकको छानामुनि बिते। बाँसका पर्खालले बनेका झुपडीहरू नै घर बने। वर्षायाममा छानाबाट पानी चुहिन्थ्यो, कहिलेकाहीँ पानीका थोपा कानमै खस्दा निद्रा हराउँथ्यो।  

धेरै रातहरू खाली पेट सुत्नुपर्थ्यो। बिहान उठ्दा भविष्य कस्तो हुनेछ भन्ने कुनै निश्चितता हुँदैनथ्यो। दिन, महिना र वर्षहरू बिते, तर जीवन उस्तै रहिरह्यो। आज पनि करिब सात हजारभन्दा बढी मानिसहरू अझै ती शिविरहरूमा यस्तै अन्योलपूर्ण जीवन बिताइरहेका छन्। पुस्ता परिवर्तन भए पनि पहिचानको प्रश्न अझै अधुरै छ।

यो पनि सत्य हो कि हाम्रो पीडालाई धेरैले बुझे र सहयोग पनि गरे। तर कहिलेकाहीँ हाम्रो विषय राजनीतिक बहस र आर्थिक स्रोतको विषय बनेको अनुभूति भयो। वर्षौँसम्म छलफल, बैठक र परियोजनाहरू बने; शिविर आसपास भौतिक पूर्वाधार विकास भए; तर शरणार्थीहरूको जीवनमा स्थायी समाधान आउन सकेन। हामी कुनै राजनीतिक मुद्दा मात्र होइनौँ-हामी एउटा जीवित समुदाय हौँ, जसको इतिहास छ, भाषा छ, संस्कार छ र अस्तित्व छ।

अन्ततः अन्तर्राष्ट्रिय समुदायको पहलमा हाम्रो समुदायका हजारौँ मानिसहरू अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, नर्वे, डेनमार्क र नेदरल्याण्ड्स गरी आठ देशमा पुनःस्थापित भए। आज हामी संसारभर छरिएका छौँ। हामीसँग घर छन्, रोजगारी छन्, शिक्षा र स्वास्थ्यका अवसर छन्। धेरैले आर्थिक स्थिरता पनि पाएका छन्। तर एउटा सत्य अझै जीवित छ: जहाँ बसे पनि पूर्ण स्वामित्वको अनुभूति गर्न कठिन हुन्छ। भौतिक सुविधा भए पनि आत्मिक शान्ति पाउन गाह्रो हुन्छ, किनकि हामीले आफ्नो जन्मभूमि गुमाएका छौँ। यही पीडाका कारण सयौँ युवाहरूले आत्महत्याको बाटो रोज्नु परेको तथ्य पनि विद्यमान छ।

आज हामी कानुनी रूपमा विभिन्न देशका नागरिक भइसकेका छौँ, तर नागरिकता परिवर्तन भए पनि पहिचान सजिलै परिवर्तन हुँदैन। हाम्रो भाषा नेपाली हो, संस्कार नेपाली हो, सोच र सामाजिक चेतना नेपाली समाजले निर्माण गरेको हो। त्यसैले हामी अझै नेपालको राजनीति, विकास, सामाजिक परिवर्तन र आध्यात्मिक यात्रासँग गहिरो रूपमा जोडिएका छौँ।

आज पनि हाम्रो दैनिक जीवनमा नेपाल जीवित छ। घरका सामग्रीदेखि पूजा सामग्री, कपडा, ढाकाटोपी, गुन्द्रुक, अचार- सबै नेपालबाटै ल्याइन्छ। हाम्रो भान्साको स्वाद, गीत-संगीत, चाडपर्व मनाउने तरिका-सबैमा नेपालकै सुगन्ध छ। विदेशमा जन्मिएका सन्तानलाई पनि हामी नेपाली भाषा सिकाउँछौँ, दशैँ-तिहार मनाउन सिकाउँछौँ। भूकम्प वा कोभिड महामारीजस्ता संकटका बेला हामीले सकेजति सहयोग पठाएका छौँ। मन्दिर निर्माण, पाठशाला सञ्चालन, गौशाला र सामाजिक कार्यहरूमा पनि योगदान दिएका छौँ। यो कुनै औपचारिक कर्तव्य होइन-यो भावनात्मक सम्बन्धको परिणाम हो।

भुटानसँग टाढिएको सम्बन्ध यो मनमा सधैँ नेपाल 

आज वास्तविकता के हो भने भूटानसँग हाम्रो सामाजिक वा राजनीतिक सम्बन्ध लगभग समाप्त भइसकेको छ। तर नेपालसँगको सम्बन्ध कहिल्यै टुटेन, किनकि हाम्रो भाषा, संस्कार र जीवनको महत्वपूर्ण अध्याय नेपालमै जोडिएको छ। तर अझै एउटा पीडादायी सत्य बाँकी छ-पूर्वी नेपालको शरणार्थी शिविरहरूमा हजारौँ नेपालीभाषी भूटानी शरणार्थीहरू अझै पनि अनिश्चित जीवन बाँचिरहेका छन्। उनीहरू न भूटानका नागरिक मानिन्छन्, न नेपालका। उनीहरूसँग स्पष्ट पहिचान, अधिकार र भविष्यको सुनिश्चितता छैन। यो केवल राजनीतिक विषय होइन-यो मानवता, पहिचान र न्यायको प्रश्न हो।

आज पनि “भूटान” भन्ने शब्दबाट हामी पूर्ण रूपमा टाढा हुन सकेका छैनौँ, किनकि हाम्रो जन्म त्यहीँ भएको थियो। यदि कुनै समयमा नेपालले हाम्रो पहिचानलाई औपचारिक रूपमा स्वीकारेको भए, सायद आज हामी विश्वको जुनसुकै कुनामा बसे पनि गर्वका साथ “हामी नेपाली हौँ” भन्न सक्थ्यौँ।

ॐ सेन्टर दिव्यधाम ओहायो अमेरिका । जहाँ  विश्व भुटानी हिन्दू संगठनले १५० एकड जग्गा किनेर विश्व स्तरीय वैदिक अध्ययन केन्द्र बनाउँदैछ । तस्बिर:मोहराज शर्मा ।

हाम्रो पुस्ता पहिचान खोज्दै बिस्तारै हराउँदै गयो। तर आज पनि यही पुस्ताले आफ्ना सन्तानलाई नेपाली भाषा, संस्कार र नेपालको महत्व सिकाइरहेको छ। तर नयाँ पुस्ता अन्योलमा छ-भूटानसँग सम्बन्ध छैन, नेपालले औपचारिक रूपमा स्वीकारेको छैन। यही द्विविधामा उनीहरू हुर्किरहेका छन्।

त्यसैले नयाँ नेतृत्वसँग हाम्रो अर्को गहिरो अनुरोध छ-यी नेपाली मूलका बालबालिकाको मनमा रहेको नेपालप्रतिको माया र चासोलाई जोगाइदिनुहोस्। यदि यो सम्बन्ध जीवित रह्यो भने संसारभर छरिएका यी पुस्ता भविष्यमा नेपालका लागि ठूलो सम्पत्ति बन्न सक्छन्। उनीहरू केवल प्रवासी होइनन्-नेपाल र विश्वबीचको सेतु बन्न सक्छन्।

हालैको निर्वाचनले नेपालमा नयाँ राजनीतिक अध्याय सुरु भएको संकेत दिएको छ। नयाँ नेतृत्वप्रति जनताको ठूलो अपेक्षा देखिएको छ। पुराना अभ्यासप्रति निराश जनता अब नयाँ सोच र दिशाको खोजीमा छन्। यस परिवर्तनले देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूमा पनि आशा जगाएको छ।

नागरिकता जहाँको भए पनि मन नेपाली

यस सन्दर्भमा हाम्रो विनम्र अनुरोध छ-झापा र मोरङका शरणार्थी शिविरहरूमा अझै बसिरहेका नेपालीभाषी शरणार्थीहरूको आवाज सुन्नुहोस् र स्थायी समाधानका लागि पहल गर्नुहोस्। हामी राजनीतिक लाभ होइन, मानवीय समाधान चाहन्छौँ। दशकौँदेखि अस्थायी जीवन बिताइरहेका मानिसहरूलाई सम्मानजनक जीवन, स्पष्ट पहिचान र सुरक्षित भविष्य दिनु ऐतिहासिक न्याय हुनेछ।

कहिलेकाहीँ म आफैँसँग सोध्छु-कहिले, कसरी र किन हामी आफ्नै बाटोबाट छुट्यौँ? बाल्यकालका ती दिनहरू अझै सम्झना छन्। बिहान पिताले रेडियो नेपालमा बज्ने शंखध्वनि सुन्नुहुन्थ्यो, जसले घरमा शान्ति ल्याउँथ्यो। दशैँको टीकाका दिन उहाँ भन्नुहुन्थ्यो, “अब नेपालमा राजाले टीका उठाउनुभयो रे, हामीले पनि टीका लगाउनुपर्छ।” सायद हामी भौगोलिक रूपमा टाढा भयौँ, तर भावना र प्रेमले कहिल्यै अलग हुन दिएन।

“एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने भावनाले आशा जगाएको छ। यदि यो व्यवहारमा उतार्न सकियो भने हजारौँ मानिसहरूको जीवनमा नयाँ आशा पलाउन सक्छ।

हामीलाई थाहा छ: आज हामी कानुनी रूपमा नेपालका नागरिक होइनौँ। तर एउटा सत्य अटल छ-नागरिकता जहाँको भए पनि मन नेपाली नै हुन्छ। हामी संसारका नागरिक हौँ, तर हाम्रो मूल नेपाली हो। जहाँ भए पनि, हामी नेपाली हौँ।

पुनश्च: नवनिर्वाचित सम्पूर्ण सांसदहरूलाई बधाई तथा सफल कार्यकालको लागि अग्रिम शुभकामना।

अमेरिकामा बसोबास गर्ने धिमाल विश्व भूटानी हिन्दू संगठनका अध्यक्ष हुन् ।

प्रकाशित: १४ चैत्र २०८२ १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %