देश किंकर्तव्यविमूढको मोडमा आएर ठिङ्ग उभिएको छ । बाटाहरू प्रशस्त छन् तर स्पष्ट मार्ग खुलेको छैन । साँच्चै भन्नु पर्दा देश शोकमा डुबेको छ अहिले । २०८२ भाद्र २३ र २४ गते नवपुस्ता (जेन्जी पुस्ता)द्वारा भ्रष्टाचार र भ्रष्ट सरकारका विरुद्धमा गरिएको आन्दोलनमा हालसम्मको तथ्याङ्कका आधारमा ७२ जनाले प्रत्यक्ष वा परोक्ष रूपमा प्राणको आहुती दिएका छन् ।
आन्दोलनकै उद्देश्य बोकी साँच्चै सडकमै निस्किएर सत्तापक्षको गोली लागी सहादत प्राप्त गर्ने, घाइते भई उपचारका क्रममा ज्यान गुमाएका नवपुस्ताहरू र सरकारको तर्फबाट आदेश पालना गरी आन्दोलन रोक्ने क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीहरू, त्यस्तै दोहेरो झडपमा परी वा आराजनीका कारण विभिन्न ठाउँमा ज्यान गुमाउनेहरूको फरक फरक तथ्याङ्क नभए पनि नागरिक गुमाएकाहरूको र सख्त घाइते भई उपचारार्थ रहेका भविष्यको देश हाँक्ने सारथीहरूको पीडाका कारण देश एकातिर शोकमा छ भने अर्कोतर्फ ऐतिहासिक पहिचान बोकेको देशको सर्वोच्च कार्यालय सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका कयौं सरकारी, गैरसरकारी भवनहरू लगायत जलेर खरानी भएका कारण देश शोकमा छ ।
यसबेला पुरानो राज्य सत्ता अनुरूपको प्रतिनिधि सभा विगठन गरी शोकलाई शक्तिमा रुपान्तरण गर्न पूर्व प्रधान न्यायाधीस सुशीला कार्कीले नेपाल सरकारको नेतृत्वको जोखिम उठाएकी छन् । तर मन्त्री मण्डल विस्तार हुँदा कस्तो टिम बन्ने हो र आन्दोलनमा होमिएका नवपुस्ताहरूको उद्देश्य बमोजिमका कार्य सम्पादन गरी देशलाई पुनःनिर्माण गर्न के सूत्र प्रयोग गरिने हो भन्ने कुरामा यतिखेर देश दिशाबिहिन छ , किंकर्तव्यविमूढ अवस्थामा छ । यो संकटको घडीमा ' म छु ' भन्दै अनुहार फेरेर उपस्थित हुनेहरूको पनि बिगबिगी र चलखेल गर्नेहरूको उपस्थिति बाक्लै हुन्छ । हाम्रो देशलाई सधैं परनिर्भर बनाइरहने र आत्मनिर्भर हुन नदिने साम्राज्यवादी र विस्तारवादीहरूको पनि छायाँ सल्बलाएको पनि प्रष्टै देखिन्छ । यस्तो बेलामा हात समातेर डोऱ्याउने बाहानामा खुट्टा चाल्दा छिर्के लगाउन पनि कति विदेशी शक्तिहरू उदत्त भई आफ्नो मनोकांक्षाको पासा पल्टाउन सक्रिय हुन्छन्।तसर्थ यो बेलामा परिवर्तन बाहक शक्ति पक्ष र नेतृत्व पक्षले अत्यन्तै गम्भीर र संवेदनशील भएर तत्कालीन कार्ययोजना र दीर्घकालीन कार्ययोजनाको स्पष्ट मार्गचित्र कोरेर खाका प्रस्तुत गर्नुपर्छ । बलिदानीहरूको सपना र आकांक्षा बुझेर अडिक हुनुपर्छ देश हाक्ने मार्गमा । तत्काल त नवपुस्ताको मागलाई सम्बोधन अनिवार्य गर्नुपर्छ । त्यसपछि राष्ट्र पुनः निर्माणका आधारहरू तय गरी कार्यान्वनको लय पक्डिनु पर्छ ।
यतिखेर आग्रह पूर्वाग्रहहरूको अल्झोमा मात्र अल्झिनु बुद्धिमानी होइन । दोषीलाई कारबाहीको दायरामा ल्याएर अन्य कामको कदमपहली गरिहाल्नु पर्छ । यो बेला देश बनाउने योजनाका जानकारहरूले अब नवपुस्ताले के गर्दा रहेछन् हेरौं न भनेर रमिते हुनु भन्दा पनि यसो गरे अगाडि बढ्ने मेसो बन्छ भनेर आफ्ना योजनाको खाका दिएर उत्साही पुस्तालाई हौसला बढाउनु सचेत नागरिक हुनुको अर्थ लाग्छ ।यसै सन्दर्भमा देश कसरी बनाउन सकिन्छ भन्ने सोच राख्दा चालीस वर्ष अघिको एउटा संस्मरण मेरो मस्तिष्कम पुनर्ताजगी भएर आउँछ ।
२०४०/४१ सालको कुरा हो म राजधामीमा कलेज अध्ययन गर्दाको समय अन्तरराष्ट्रिय युवा वर्षको सन्दर्भमा नेपाल भ्रमणमा आएको जापानिज हरूको टिमसँग करिब चारपाँच दिन सङ्गत गर्ने अवसर मिल्यो । उक्त टिम १०३ जनाको थियो र त्यसमा १४ वर्षको नवपुस्ता (Gen-z) देखि ९४ वर्षका वृद्ध पुस्तासम्म थिए । त्यसभित्र स्कुल कलेज पढ्दै गरेका विद्यार्थी, डाक्टर, इन्जिनियर, व्यवसायिक, राजनीतिज्ञ र कला साहित्यकर्मी पनि समावेश थिए । त्यो जापनिज समूहसँग कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवरको किनारदेखि माथि लेकसाइडका भिरसम्म वृक्षरोपण गऱ्यौं हामीले । हामी जान नसकेका अप्ठ्यारा ठाउँमा सहजै बिरुवा रोपेर उनीहरू रमाए । उनीहरूको कामप्रतिको समर्पण देखेर हामी प्रभावित भएका थियौं र उनीहरूसँग जापान समुन्नत हुनुको बारेमा अन्तरङ्ग कुराकानी गरेका थियौं । हामीले सोधेका थियौं कि "जापान एक त जलपरिवेष्ठित देश हो । प्रायजसो भूकम्प जस्तो प्राकृतिक प्रकोपले पटकपटक ध्वस्त भइरहने हुँदा अर्थतन्त्र पनि बलियो थिएन । त्यति मात्र नभई विश्वयुद्धको मारमा परी बमवर्षाले हिरोसिमा र नागासाकी जस्ता मुख्य सहरलाई खरानी मात्र होइन मरूभूमिमै परिणत गरेको थियो र नागरिकहरूमा त्रासदी र चरम निराशा पनि थियो । यस्तो कष्ट व्यहोर्नु परेको जापानले कसरी यति चाँडै राष्ट्रनिर्माण मात्र होइन विश्वकै समृद्ध र स्वावलम्बी मुलुकका रूपमा स्थापित भयो ? उनीहरू एकैपटक सबै बोल्दा रहेनछन् । तोकिएका दोभाषे व्यक्तिले उत्तर दिए" त्यति धेरै कष्ट पाइसकेपछि हामी देशतर्फ फर्कियौं ।
देशले हामी देशबासीलाई नै आह्वान गरिरहेको हामीले महसुस गऱ्यौं र सङ्कल्प गऱ्यौं । अब हाम्रो देश हामीले नै बनाउनु पर्छ भनेर हरेक स्वस्थ जापनिज नागरिकले सोह्रघण्टा काम गऱ्यौं ,पेटका लागि आठघण्टा मात्र र देशका लागि आठघण्टा । अन्य कमजोर नागरिकले जति घण्टा काम गऱ्यौं आधा मात्र पेटका लागि आधा देशका लागि नै गऱ्यौं । हामीले काम गर्दा जिब्रो कम चलायौं र हात जतिसक्दो चाँडो चलायौं ।त्यसो गर्दा निर्माणका काममा आधा लागत राज्यले व्यहोर्नु परेन । यसरी हामी समर्पित भयौं राष्ट्रप्रति । हाम्रो अर्को जिज्ञाशा थियो , प्रविधिको विकास कसरी सम्भव भयो जापानमा ? उनीहरूले प्राथमिक तहदेखि नै पठ्यक्रममा प्राविधिक शिक्षा मात्र होइन प्रयोगात्मक शिक्षा नै राखेका रहेछन् ।
कक्षाको स्तरअनुसार सानो बाट क्रमश ठूलो कक्षा र प्रविधि पनि बढाउँदै लगेछन् । विद्यार्थीले पढ्दै उत्पादन गरेका हरेक सामग्री राज्यले उचित मूल्यमा खरिद गरेर देशभर आपूर्ति गर्दो रहेछ । यसो गर्दा आफूले पढ्दा लाग्ने खर्च विद्यार्थी आफैले जुटाएर आफ्नो शिक्षा र सिर्जनाको आफैं मालिक हुन पाउँदा हौसिएर गुणस्तरीय काम गर्दो रहेछ । उनीहरूले उत्पादन गरेका सामग्री देशमा खपत भएदेखि बाहेकको राज्यले अन्यदेशसँग व्यापार गर्दो रहेछ र त्यसबाट प्राप्त आय अझ उच्चकोटीको प्रविधिमा प्रयोग गरी उच्च प्रविधि क्षेत्रको विकासमा उपयोग गर्दो रहेछ । विद्यार्थीले उत्पादन मूलक शिक्षा पाएपछि धेरै कुरामा फाइदा हुँदो रहेछ । एक विद्यार्थीले आफ्नो खर्च आफैं कमाएर अध्ययन गऱ्यो अर्को कुरा सिप सिकेपछि बेरोजगार बन्नु परेन । तेस्रो कुरा राष्ट्रको पुँजी राष्ट्रमै जम्मा भयो, राष्ट्रले अन्य राष्ट्रसँग व्यापार गरेर नाफा कमाई राष्ट्रको अर्थतन्त्र बलियो बनाउन सकियो । यो जानकारी गराइरहँदा उनीहरूले हामीलाई यो कुरा पनि सुझाए कि उनीहरूले राष्ट्र निर्माणको समयमा बाहिरी संसारप्रति चासो नै राखेनन् ।
अंग्रेजी लगायतका अन्यदेशका भाषा, संस्कृति, ऐशआराम, मनोरञ्जन जस्ता कुराहरूपटि ध्यान दिएनन् यस कारण कि बाहिरी कुरामा मन बरालिन्छ र स्वदेशी कुराहरूबाट बिमुख होइन्छ मात्र होइन आफ्नो राष्ट्र मुद्राको मूल्य समेत अन्यदेशको भन्दा सस्तो बनाए । यसो गर्दा आफना देशका नागरिकले बाहिरका सामान किन्दा महङ्गो पर्ने भयो र आफ्नै देशको सामान सस्तो हुने भयो।अर्को आफ्नो देशको उत्पादन आफ्नै देशमा खपत भयो र उभ्रिएको बाहिर निकासी गरी देशको आर्थिक व्यवस्था सुदृढ हुने भयो ।यसरी उनीहरूले प्रविधि र राष्ट्रनिर्माणको संङ्कल्पलाई द्रूतगतिमा लक्ष्यपूर्ति गरे ।
जापानिजहरूको राष्ट्र निर्माण र प्रविधि विकासको कडीलाई पक्डिएर लक्ष्य राख्ने हो भने पक्का पनि हामी देश बनाउन सक्छौं । तर दृढ सङ्कल्पित चाहिँ स्वयम् सरकार , राज्यका सरकारी , अर्धसरकारी निकाय , गैरसरकारी निकाय र स्वयम् नागरिक पनि उत्तिकै उत्साहित र इमान्दार हुन भने जरूरी छ ।
अब जग बलियो भएको, नहल्लिने, कुनै देशीविदेशी हुण्डरीले पनि हल्लाउन नसक्ने एउटा राष्ट्रिय नीति बनाऔं । त्यसपछि जसजसले पूर्व सत्तामा रहेर वा बाहिर पनि रहेर अपचलन गरेका, भ्रष्टाचार गरेर आर्जन गरेका, अकूत सम्पति जफत गरी राष्ट्रियकरण गरौं र त्यसलाई एउटा छुट्टै शीर्षकको अर्थ व्यवस्था गरौं । वर्तमान कार्यरत सरकारका प्रधानमन्त्री, मन्त्रीहरू लगायत सबै केन्द्रदेखि स्थानीय तहसम्मका निकायका पदाधिकारीहरूको निश्चित प्रतिशत रकमको अर्को शीर्षकको अर्थव्यवस्था गरौं । निजामती कर्मचारी , राष्ट्रसेवक कर्मचारी, शिक्षक, सरकारी संघसंस्था कर्मचारी, गैरसरकारी संघसंस्था कर्मचारी, निजीक्षेत्र र त्यसका कर्मचारीहरूको निश्चित प्रतिशत, वैदेशिक रोजगारमा गएका नागरिक, व्यापारी, व्यवसायीहरूको निश्चित प्रतिशतको अर्थ व्यवस्थापन गरौं । एउटा शीर्षकको रकमले राज्यलाई आवश्यक संरचनाहरू निर्माण गरौं र प्राविधिक र श्रमिकहरूलाई रोजगार बनाऔं ।
अर्को शीर्षक रकमले कलकारखाना खोलेर बेरोजगार नागरिकहरूलाई योग्यता अनुसार रोजगारी दिऔं । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी उत्पादनमा कृषिकर्मी र देशलाई नै स्वावलम्बी बनाऔं । विद्यार्थी,कर्मचारी, शिक्षक, प्राध्यापकहरूका पार्टीविशेष संगठन प्रक्रिया बन्द गरौं । व्यवसायी, व्यापारी,उद्योगी समेतले राष्ट्रलाई छर्लङ्ग योगदान पुग्ने गरीको सेवा प्रदान गरौं । गुणात्मक शिक्षाका लागि पठ्यक्रममै आमूल परिवर्तन गरी प्राथमिक शिक्षा देखि नै अनिवार्य प्राविधिक शिक्षा लागु गरौं । त्यसो गर्नाले विद्यार्थी अवस्थादेखि नै नागरिकहरू रोजगारमूलक र उम्दा प्राविधिक बन्न सक्छन् कि पछि प्राविधिकको अभाव हुने छैन । यसरी सबै तह र तप्काकाका नागरिकहरूले आधा देशका लागि आधा पेटका लागि योगदान गऱ्यौं भने थोरै वर्षमा नै राष्ट्रको पुनःनिर्माण हुन्छ भन्नेमा दुईमत छैन। विशेष गरेर नवपुस्ताका उज्यालो नेपाल देख्न चाहने भाइबहिनी र राजनीतिज्ञहरूले यो देश बनाउने सूत्र हुन सक्छ भन्ने कुरा गम्भीरताका साथ मनन् गर्न अनिवार्य छ ।
बुझ्नु पर्ने कुरा के छ भने राजनीति र त्यसले निर्धारण गरेका पदहरूमा मात्र अस्वस्थ प्रतिष्पर्धा हुन्छ तर देश बनाउने महाकार्यमा स्वस्थ प्रतिष्पर्धा हुन्छ र जित हार हुँदैन । देश बनाउन सङ्कल्प सहित कर्मयज्ञमा होमिएका कसैले पनि हार्दैन, सबैले जित्छन् । अनि त देश बनाउने सपना देखेर सडकमा उत्रिएका र देशको माटो आफ्नो रगतले भिजाएर गएका बलिदानीहरूका पवित्र आत्माहरूले जित र शान्तिको अनुभूति गर्नेछन् । अन्त्यमा सिंगो देशको जित हुन्छ, तमाम देशबासी नेपाली नागरिकको जित हुन्छ ।
जय मातृभूमि / जय आमा नेपाल
प्रकाशित: २९ भाद्र २०८२ १९:५८ आइतबार

